डा. दामोदर शब्दका शिल्पकार- भागवत खनाल, साहित्यकार


मानिसलाई चाहिने मुख्य कुरा आत्मिक सन्तुष्टि हो । उमेरको यो मुकाममा पुग्दा आफ्नै कर्ममा प्रसन्नता हासिल हुनु सानो कुरा होइन । मनुष्यको खुसी ऊ स्वयंको कर्मले निर्धारण गर्छ रे । उदाहरण डा. दामोदर रेग्मी हुन् । साधा जीवन, शालीन स्वभाव र नुहेको व्यक्तित्वका धनी दामोदर एक सुसभ्य सज्जन हुन् ।  कहिल्यै अहमत्याइँ र पदीय रोब नदेखाउने उनी थोरै शब्दमा धेरै कुरा भन्न सिपालु छन् ।

सृजनशील सज्जनता उनको सञ्चित धन हो भने अभिमानविहीन विनम्रता उनको गहना  । शिष्ट व्यक्तिले आफूलाई मात्र नभई समाजलाई समेत सौहार्द बनाउँछ । दामोदर रेग्मी तमाम सृजनशील पाल्पाली युवाका लागि प्रेरणाका स्रोत हुन् ।

डा. रेग्मी लेख्छन्, “विद्यालयमा निबन्ध र कविता लेख्ने क्रममा थालिएको यात्राले कलेज जीवनमै मलाई लेखकको रूपमा चिनायो। लेखन मेरो अभिव्यक्तिको माध्यम बन्यो । सार्वजनिक प्रशासन, राजस्व, संघीयता, वित्तीय संघीयता, व्यवस्थापन, सार्वजनिक वित्त र अर्थशास्त्रजस्ता सामयिक विषयहरुमा लेख लेख्दै गएँ। समयसँगै यस्ता लेखहरू विभिन्न पत्रपत्रिका, जर्नल र अनलाइन प्लेटफर्महरूमा प्रकाशित हुन थाले ।”

रेग्मी सृजनशील छन् । उनी आफ्ना सृजनामा यस्तो कुरा ल्याउन निपुण छन्, जुन कुरा पहिले थिएन । एउटा गीतकारका नाताले उनमा कल्पनाशील कोमलता छ । एउटा प्रशासकका नाताले उनी नेपाललाई राम्रोसँग चिन्छन् । एउटा गद्य लेखकका नाताले उनी परिपक्व विचारक हुन् । उनी भन्छन्, “विविध परिवेश, मानिस र परिस्थितिहरूको नजिकबाट साक्षात्कार गर्ने अवसरले मेरो अन्तर्मनमा शब्दहरूको सजीव स्पन्दन जगायो ।”

माता कमला र पिता गणेशप्रसाद रेग्मीका पुत्र दामोदरको जन्म पाल्पाको तानसेनमा भएको हो । उनी सानै उमेरदेखि कुशाग्र एवं शान्त रूपले चतुर थिए । उनले आइएस्सीसम्मको अध्ययन तानसेनमै पूरा गरेका थिए । डा. दामोदर अक्षरका उपासक हुन् । उनी लेखेर र पढेर कहिल्यै थाक्दैनन् । देश – विदेशका विभिन्न शिक्षण संस्थाबाट अनेकौं विषयमा उच्च शिक्षा हासिल गरेका उनी तानसेनका गौरवमध्ये एक हुन् ।

एउटा कुशल मूर्तिकारमा सुन्दर मूर्ति निर्माण गर्ने कौशल रहे झैं डा. दामोदरमा शब्दको कलात्मकता छ । उनी एउटा सफल गीतकारका साथसाथै शब्दका शिल्पकार पनि हुन् । उनको अक्षर यात्रा भविष्यमा झनै समुन्नत र समृद्ध हुँदै जाओस् । शब्दको सागरमा जलक्रीडा गर्दै जाँदा कहिल्यै थकाइ महसुस नहोस् । मित्र दामोदरको प्रकाशोन्मुख  “गीतकारको कलम”ई बुकले सफलताको शिखर चुमोस् । हार्दिक शुभकामना ।

(साहित्यकार भागवत खनालको यो आलेख डा. दामोदर रेग्मीको “गीतकारको कलम” ई बुक बाट साभार गरिएको हो)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको