छिमेक लघुवित्तलाई स्वावलम्बन विकास केन्द्रको ३४औं वार्षिकोत्सवमा सम्मान


काठमाडौं, श्रावण २८ — स्वावलम्बन विकास केन्द्र (CSD) ले आफ्नो ३४औं वार्षिकोत्सव काठमाडौंको Yellow Pagoda Hotel मा भव्य रूपमा सम्पन्न गरेको छ। सामाजिक विकास, वित्तीय समावेशीकरण तथा ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरू, संस्था तथा समूहहरूलाई यस अवसरमा सम्मान गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षण छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रह्यो। ग्रामीण उद्यमशीलता प्रवर्द्धन, महिला सशक्तिकरण तथा वित्तीय समावेशीकरणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै, छिमेक लघुवित्तलाई संस्थागत उत्कृष्ट उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको हो। यस पुरस्कारअन्तर्गत नगद रु. २,००,००० सहितको प्रमाणपत्र माननीय सूचना तथा सञ्चार मन्त्री श्री पृथ्वी सुब्बा गुरुङ मार्फत संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो।

छिमेक लघुवित्तको तर्फबाट पुरस्कार ग्रहण कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र जोशी, प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारी, DCEO दिलीपकुमार श्रेष्ठ लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित सबै कर्मचारीहरू र CSD परिवारप्रति संस्थाले हार्दिक आभार प्रकट गर्दै, “अबको निकास – घरघरमा उद्यमशीलता विकास” भन्ने नारासहित भविष्यमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्यो।

थ्री जीरो क्लबको गठन, विस्तार र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्धक श्री प्रकाश राजवंशीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।  राजवंशीले वित्तीय संस्थाका सम्पूर्ण शाखा कार्यालयहरूसँग घनिष्ठ समन्वय र सहकार्य गर्दै १०० भन्दा बढी थ्री जीरो क्लब गठन गरी, यस अभियानलाई सफलतापूर्वक अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री श्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार र उद्यमशीलता विकासका लागि लघुवित्त संस्थाहरूको भूमिकालाई प्रशंसा गर्दै, यस्तो सम्मानले संस्थालाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको समापन CSD का अध्यक्ष श्री शंकर मान श्रेष्ठको समापन मन्तव्य तथा धन्यवाद ज्ञापनसहित सम्पन्न भयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको