आज सरस्वती पूजा देशभर उत्साहका साथ मनाइँदै छ। विद्यालय, क्याम्पस, पुस्तकालय र मठ–मन्दिरमा देवी सरस्वतीको पूजा हुँदैछ, पुस्तक र कलममा टीका लगाइँदै छ। तर यो दृश्यसँगै एउटा गम्भीर प्रश्न पनि उभिएको छ— के हामी वास्तवमै सरस्वतीको पूजा गरिरहेका छौँ, कि केवल एउटा परम्परा निभाइरहेका छौँ?
सनातन परम्परामा सरस्वती सूचना की देवी होइनन्, उनी विवेक की देवी हुन्। ऋग्वेद ले सरस्वतीलाई नदी मात्र होइन, चेतनाको प्रवाह मानेको छ—
“प्र नो देवी सरस्वती वाजेभिर्वाजिनीवती।”
यसको आशय स्पष्ट छ— सरस्वतीले बाहिरी उपलब्धि होइन, आन्तरिक प्रज्ञा प्रदान गर्छिन्। तर आजको शिक्षा प्रणालीले प्रज्ञाभन्दा प्रतिस्पर्धा, चरित्रभन्दा प्रमाणपत्र र विवेकभन्दा अंकतालिकालाई प्राथमिकता दिइरहेको यथार्थ हामी सबैका अगाडि छ।
“विद्यां चाविद्यां च यस्तद्वेदोभयं सह।”
विद्या र अविद्याको भेद नबुझिएको समाज अन्ततः भ्रमित हुन्छ। आज हामी शिक्षित छौँ, तर विवेकशील छैनौँ; जानकार छौँ, तर उत्तरदायी छैनौँ। यही अवस्थाले समाजमा बढ्दो असहिष्णुता, असत्य वाणी र नैतिक विचलन जन्माइरहेको छ।
सरस्वती पूजाको प्रतीकात्मकता यसै सन्दर्भमा अत्यन्त अर्थपूर्ण छ। हंसवाहन देवीले नीर–क्षीर विवेक सिकाउँछिन्— सत्य र असत्य छुट्याउने साहस। तर सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म आज असत्य, अफवाह र आवेग हावी छन्। वाणी, जुन सरस्वतीको मुख्य तत्त्व हो, आज सबैभन्दा बढी प्रदूषित बनेको छ।
मनुस्मृति ले भन्छ—“न हि विद्यायाः समं मित्रम्।”
विद्याजस्तो मित्र अरू कुनै छैन। तर जब शिक्षा बजारमुखी मात्र हुन्छ, विद्या मित्र होइन, साधन मात्र बन्छ। यही कारण महाभारत को भनाइ आज झन् सान्दर्भिक देखिन्छ—
“विद्या विवादाय धनं मदाय।”
अविद्याले विवाद जन्माउँछ, धनले अहंकार; तर विद्या विनय जन्माउँछ। आज समाजमा विवाद र अहंकार बढ्दै जानु संयोग होइन, विद्या क्षीण हुँदै जानुको संकेत हो।
यसकारण सरस्वती पूजा आजको दिनमा आत्मसमीक्षाको अवसर हुनुपर्छ। विद्यालय र विश्वविद्यालयले आफूलाई प्रश्न गर्नुपर्छ— के हामी विद्यार्थीलाई केवल रोजगारीका लागि तयार गरिरहेका छौँ, कि जिम्मेवार नागरिक बनाइरहेका छौँ? अभिभावकले सोच्नुपर्छ— अंक कि संस्कार? राज्यले बुझ्नुपर्छ— शिक्षा नीतिमा नैतिकता र दर्शनको स्थान कहाँ छ?
सरस्वती पूजा भनेको मूर्तिमा फूल चढाएर समाप्त हुने कर्मकाण्ड होइन। यो सत्य वाणी बोल्ने, निरन्तर अध्ययन गर्ने, आलोचनात्मक सोच विकसित गर्ने र ज्ञानलाई मानवहितमा प्रयोग गर्ने सामूहिक संकल्प हो। जबसम्म शिक्षा र विद्या पुनः एक–आपसमा जोडिँदैनन्, तबसम्म सरस्वती पूजा केवल औपचारिक पर्वमै सीमित रहन्छ।
अन्ततः, सरस्वती पूजा आजको समाजका लागि एउटा सन्देश हो— ज्ञान बिना शक्ति अन्धो हुन्छ, र विवेक बिना शिक्षा खतरनाक हुन्छ। यही चेतना पुनर्जागृत गर्न सक्नु नै सरस्वती पूजाको वास्तविक सफलता हो।

तपाईको प्रतिक्रिया !