रेडियो नेपालदेखि युट्युबसम्म : बेल बहादुर परियारको निरन्तर यात्रा

नागरिक पाना
२०८२ माघ २२, बिहीबार ०२:०५

लोक तथा दोहोरी संगीतको यात्रामा निरन्तर संघर्ष र साधनाको कथा बोकेका गायक बेल बहादुर परियारको नयाँ सिर्जना ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक भएको छ । मङ्गलबार बर्दिबासमा आयोजित विशेष कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो औपचारिक रूपमा दर्शक–श्रोतामाझ ल्याइएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरे । विमोचनपछि भिडियो प्रोजेक्टरमार्फत प्रदर्शन गरिँदा उपस्थित दर्शकले गीत र दृश्यको खुलेर प्रशंसा गरेका थिए ।

गीतमा गायक बेल बहादुर परियार र गायिका प्रतिमा अर्यालको सशक्त स्वर सुन्न सकिन्छ । शब्द र संगीतमा पनि परियार स्वयंको हस्ताक्षर रहेको छ । राजिव शाहले एरेञ्ज, मिक्स तथा मास्टरिङ गरेको गीतको भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय समेटिएको छ । भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफी राजाराम सिंखडा र छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय कलाकारलाई पहिचान दिलाउँदै राष्ट्रियस्तरसम्म पुर्‍याउन सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले गायक परियारलाई एक प्रतिबद्ध सर्जकको रूपमा उल्लेख गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए ।

प्रमुख अतिथि सारदा देवी थापाले परियारको लामो सांगीतिक यात्राको स्मरण गर्दै कठिन परिस्थितिमा पनि हार नमान्ने उनको स्वभावको प्रशंसा गरिन् । उनले जनवादी चेतनासँग जोडिएका गीतमार्फत समाजलाई सन्देश दिँदै आएका परियारलाई अझ व्यापक रूपमा चिनाउन मिडियाले भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

आफ्नो गीत विमोचनका क्रममा गायक परियारले रेडियो नेपालबाट सुरु भएको यात्रादेखि आजसम्मका संघर्ष, आरोह–अवरोह र साधनाका अनुभव साझा गरे । उनले स्रष्टाले सिर्जनालाई माया गर्ने दर्शक–श्रोताकै कारण आफू अझै सक्रिय रहन सकेको बताए ।