गिग अर्थतन्त्रका अवसर र चुनौतीहरु – डा. दामोदर रेग्मी

नागरिक पाना
२०८२ माघ २२, बिहीबार १३:१२

विश्व अर्थतन्त्र संरचनागत रूपमै रूपान्तरणको चरणमा छ। औद्योगिक युगको स्थायी रोजगारी, निश्चित कार्यघण्टा र संस्थागत सुरक्षामा आधारित श्रम सम्बन्धले क्रमशः रुप परिवर्तन गर्दै डिजिटल प्लेटफर्म, प्रविधि र काममा आधारित श्रम प्रणालीतर्फ उन्मुख भइरहेको छ। यही परिवर्तनको उपजका रूपमा गिग अर्थतन्त्र (Gig Economy) को उदय भएको हो, जसले कामलाई स्थायित्वभन्दा पनि परियोजना, सेवा वा कार्यसम्पादनसँग जोड्ने गर्दछ । यसले रोजगारीको परम्परागत बुझाइलाई पुनःपरिभाषित गरेको छ।
गिग अर्थतन्त्रको प्रमुख विशेषता कामको समय र कार्यक्षेत्रमा लचिलोपन हो। यसमा श्रमिकले आफ्नो समय, सीप र रुचिअनुसार काम छनोट गर्न सक्छन्। डिजिटल प्लेटफर्ममार्फत सेवा आदान प्रदान हुने भएकाले कार्यालयीय भौगोलिक सीमाहरू महत्वहीन बन्दै गएका छन्। यो प्रणालीले युवाहरू, विद्यार्थी, महिलाहरू र बहुआयामिक सीप भएका व्यक्तिहरूलाई श्रम बजारमा सहज प्रवेशको अवसर दिएको छ। नेपालजस्ता विकासोन्मुख देशमा, जहाँ औपचारिक क्षेत्र सीमित छ, गिग अर्थतन्त्र वैकल्पिक आम्दानी र आत्मनिर्भरता तर्फको सम्भावना बनेको छ।
गिग अर्थतन्त्रमा कामका स्वरूपहरू परम्परागत स्थायी रोजगारीभन्दा भिन्न, कार्य–आधारित र लचिलो प्रकृतिका हुन्छन्। यस प्रणालीमा श्रमिक र रोजगारदाताबीच दीर्घकालीन औपचारिक सम्झौताभन्दा पनि निश्चित सेवा, परियोजना वा समयावधिका लागि काम गर्ने सम्बन्ध कायम हुन्छ। डिजिटल प्लेटफर्म यसको मुख्य माध्यम हुने भएकाले कामको स्वरूप प्रविधि केन्द्रित, परिणाम उन्मुख र बजार मागसँग प्रत्यक्ष जोडिएको हुन्छ।
गिग अर्थतन्त्रको मूल आधार लचिलोपन, डिजिटल मध्यस्थता र स्वतन्त्र श्रम सम्बन्ध हो। यसमा डिजिटल प्लेटफर्महरूमार्फत सेवा प्रदायक र सेवाग्राहीलाई प्रत्यक्ष जोड्ने काम गर्छन्। अन्तर्राष्ट्रिय सन्दर्भमा यसलाई नवउदार अर्थनीतिसँग जोडेर पनि विश्लेषण गरिएको छ, जहाँ श्रम बजारलाई लचिलो बनाउने नाममा राज्यको नियामक भूमिका कमजोर पारिएको देखिन्छ। यसले रोजगारीको पहुँच त विस्तार गरेको छ, तर श्रम सुरक्षाको प्रश्नलाई भने जटिल बनाउने संभावना छ ।
गिग अर्थतन्त्रले श्रम बजारमा प्रवेशका अवरोधहरू कम गरेको छ। युवाहरू, विद्यार्थी, महिलाहरू तथा बहु सीप भएका व्यक्तिहरूले आफ्नै समय र क्षमताअनुसार काम गर्न सक्ने वातावरण बनेको छ। विकासोन्मुख मुलुकहरूमा, जहाँ औपचारिक क्षेत्र सीमित छ, गिग अर्थतन्त्र वैकल्पिक आम्दानी, आत्मनिर्भरता र उद्यमशीलताको अवसरका रूपमा देखा परेको छ। डिजिटल अर्थतन्त्रसँग यसको सम्बन्धले रोजगारीलाई विश्वव्यापी बजारसँग समेत जोडेको छ।
गिग अर्थतन्त्रमा प्रमुख रूपमा डिजिटल प्लेटफर्ममा आधारित सेवा प्रवाह हुने गर्दछ जसअन्तर्गत राइड शेयरिङ, खाना तथा सामग्री डेलिभरी, घरेलु सेवा, मर्मत तथा प्राविधिक सहयोग पर्दछन्। यस्ता कामहरू मोबाइल एप वा अनलाइन प्लेटफर्ममार्फत उपलब्ध गराइन्छन् र श्रमिकले कामको समय तथा परिमाण आफैं छनोट गर्न सक्छन्। यस प्रकारका काममा प्रवेश सहज भए पनि आम्दानी अनिश्चित र श्रम सुरक्षा कमजोर हुने प्रवृत्ति देखिन्छ।
त्यसैगरी डिजिटल फ्रीलान्सिङ र ज्ञानमा आधारित काम गिग अर्थतन्त्रको अर्को महत्वपूर्ण स्वरूप हो। लेखन, ग्राफिक डिजाइन, सफ्टवेयर विकास, डाटा विश्लेषण, अनलाइन शिक्षण र परामर्शजस्ता कामहरू परियोजना–आधारित रूपमा गरिन्छन्। यी कामले उच्च सीप भएका श्रमिकलाई विश्वव्यापी बजारसँग जोड्ने अवसर प्रदान गरे पनि प्रतिस्पर्धा तीव्र र पारिश्रमिक अस्थिर हुने समस्या रहन्छ।
गिग अर्थतन्त्रमा अस्थायी, मौसमी र अनुबन्ध आधारित काम पनि समावेश हुन्छन्। तालिम, अनुसन्धान, कार्यक्रम व्यवस्थापन, परामर्श सेवा र छोटो अवधिका व्यावसायिक कार्यहरू यस श्रेणीमा पर्दछन्। यस्ता कामले पेशागत स्वतन्त्रता त दिन्छन्, तर दीर्घकालीन रोजगारी सुरक्षा र सामाजिक सुरक्षाको अभाव स्पष्ट देखिन्छ।
समग्रमा, गिग अर्थतन्त्रका कामका स्वरूपहरू लचिलो, विविध र प्रविधि–आधारित छन्। यिनले श्रम बजारमा नयाँ अवसर सिर्जना गरे तापनि श्रम असुरक्षा, आय अनिश्चितता र अधिकार संरक्षणको चुनौतीसँग गाँसिएका छन्। त्यसैले, यी कामका स्वरूपलाई औपचारिक श्रम संरचनासँग समायोजन गर्दै श्रमिक मैत्री नीतिगत व्यवस्था आवश्यक देखिन्छ।

अधिकांश गिग श्रमिकहरू औपचारिक श्रम सम्बन्धको दायराबाहिर रहन सक्दछन् । श्रम ऐन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, बीमा, पेन्सन तथा रोजगार सुरक्षाबाट उनीहरू वञ्चित छन्। ‘स्वतन्त्र श्रमिक’ भन्ने अवधारणाले श्रमिकमाथि जोखिम सार्ने काम गरेको छ भने प्लेटफर्म कम्पनीहरूले न्यूनतम दायित्वमा अधिकतम लाभ लिइरहेका छन्। यस अर्थमा गिग अर्थतन्त्र लचिलो भए पनि श्रमिक मैत्री हुन नसक्ने जोखिम यसको नकारात्मक आयाम हो ।
नेपालको सन्दर्भमा गिग अर्थतन्त्र तीव्र गतिमा फैलिँदै छ। राइड–सेयरिङ, खाना तथा सामग्री डेलिभरी, अनलाइन फ्रीलान्सिङ, अस्थायी तालिम, परामर्श तथा डिजिटल सेवामा युवाको आकर्षण बढ्दो छ। तर यस क्षेत्रलाई निर्देशित गर्ने स्पष्ट कानुनी र नीतिगत ढाँचाको अभाव छ। कर प्रणाली, श्रमिक दर्ता, सामाजिक सुरक्षा योगदान, प्लेटफर्मको उत्तरदायित्व र विवाद समाधान संयन्त्र अस्पष्ट हुँदा गिग अर्थतन्त्र अनौपचारिकताको नयाँ स्वरूप बन्दै जाने जोखिम पनि देखिन्छ।
अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ कि गिग अर्थतन्त्रलाई पूर्ण रूपमा अस्वीकार गर्नु व्यवहारिक विकल्प होइन। समाधान सन्तुलित नियमनमा निहित छ। राज्यले गिग श्रमिकलाई श्रमिककै रूपमा पहिचान गर्दै न्यूनतम सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र दुर्घटना सुरक्षाको व्यवस्था गर्नुपर्छ। प्लेटफर्म कम्पनीहरूलाई श्रमिक कल्याणप्रति उत्तरदायी बनाउने कानुनी दायित्व निर्धारित हुनु आवश्यक हुन्छ। साथै सीप विकास, डिजिटल साक्षरता र सरल कर प्रणालीमार्फत गिग अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रसँग जोड्नुपर्छ।
डा. दामोदर रेग्मी प्रशासनविद, गीतकार तथा प्रोलिफिक लेखक हुन्