राजनीतिक दलमा पारम्परिक यथास्थितिवाद र सुधारको द्वन्द- डा. दामोदर रेग्मी, प्रशासनविद तथा गीतकार

नागरिक पाना
२०८२ पुष ३०, बुधबार ००:२२

राजनीतिक दलहरू लोकतान्त्रिक व्यवस्थाका अभिन्न अंग हुन् र देशको नेतृत्व, नीति निर्माण तथा शासन प्रक्रियामा निर्णायक भूमिका खेल्दछन्। तर इतिहासले देखाएको छ कि धेरै दलमा परम्परागत यथास्थितिवादी संरचना, शक्ति–केन्द्रमा केन्द्रित निर्णय प्रक्रिया र पुराना अभ्यासहरूले नवप्रवर्तन र सुधारका प्रयासलाई निरन्तर चुनौती दिँदै आएका छन्। विभिन्न दलहरुभित्र यस यथास्थितिवादलाई परीक्षण गरिनु पर्ने बहस व्यापक रुपमा उठेको छ र नवप्रवर्तन तथा आन्तरिक सुधारको दिशामा कदम चाल्नुपर्ने स्पष्ट सन्देशहरु मुखरित हुदै गैरहेका छन्। यद्यपि, पुराना नेतृत्व संरचना, स्थायी चलन र राजनीतिक स्वार्थका कारण सुधारको कार्यान्वयनमा अवरोध र द्वन्द्व उत्पन्न हुने अवस्था विद्यमान छ। यस सन्दर्भमा राजनीतिक दलमा यथास्थितिवाद र सुधारको द्वन्द्व केवल वैचारिक मतभेद मात्र नभई नेतृत्व, प्रक्रिया र सदस्यहरूको मनोवृत्तिसँग गहिरो रूपमा जोडिएको सामाजिक–राजनीतिक चुनौतीको रूपमा देखा परेको छ।
प्रजातान्त्रिक शासन प्रणाली जनताद्वारा जनताको लागि सञ्चालन गरिने शासन प्रणाली हो । यस्तो शासन प्रणालीले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने, राज्य सञ्चालनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जनाउने, सरकारलाई जवाफदेही बनाउन र समान अवसरका आधारमा विकासमा सहभागी हुन सक्ने वातावरण सिर्जना गर्छ । पारदर्शिता, जवाफदेहिता, समावेशिता र कानूनी राज्यको अभ्यासले प्रजातान्त्रिक शासनलाई बलियो बनाउँछ । त्यसैले प्रजातान्त्रिक शासन प्रणाली न्याय, समानता र स्वतन्त्रतामाथि आधारित सर्वोत्कृष्ट शासन प्रणाली मानिन्छ, जसले नागरिकलाई राज्यको मालिकको रुपमा व्यवहार गर्ने र तदनुरुपको अधिकारको प्रत्याभूति दिलाउँछ ।
प्रजातान्त्रिक शासन प्रणालीमा राजनीतिक दलहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । दलहरू जनताको विचार, आवश्यकता र अपेक्षालाई नीतिगत एजेन्डामा रूपान्तरण गर्ने माध्यम हुन् । तिनले नागरिकलाई संगठित गरेर चुनावमा उम्मेदवार प्रस्तुत गर्ने, सरकार बनाउन वा प्रतिपक्षमा बसेर सरकारलाई जवाफदेही बनाउने कार्य गर्छन् । प्रजातन्त्रमा दलहरूले राजनीतिक सचेतना जगाउने, नागरिक सहभागिता सुनिश्चित गर्ने, नीति निर्माणमा बहस र छलफललाई प्रोत्साहन गर्ने जस्ता सकारात्मक योगदान गर्छन् ।साथै, समावेशिता, विविधता र जनताको आवाजलाई प्रतिनिधित्व गर्दै दलहरूले लोकतान्त्रिक मूल्य र संस्थालाई मजबुत बनाउन मद्दत पुर्‍याउँछन् । दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा प्रजातान्त्रिक शासनलाई गतिशील र उत्तरदायी बनाउने मुख्य आधार हो ।
पछिल्लो चरणमा प्रजातान्त्रिक शासन प्रणालीलाई सबल बनाउनुपर्ने प्रमुख जिम्मेवारी बोकेका राजनीतिक दलका नेतृत्वहरू एकाध अपवाद वाहेक व्यक्तिगत तथा गुटगत स्वार्थपूर्तिमा बढी केन्द्रित भएको देखिन्छ । जनताको विश्वास, आशा र आकांक्षा पूरा गर्ने जिम्मेवारी बोकेका नेताहरू सत्तासंघर्ष, पद र स्रोत–साधनको बाँडफाँटमै व्यस्त हुँदा सुशासन, पारदर्शिता र जवाफदेहिताजस्ता प्रजातान्त्रिक मूल्यहरू कमजोर भएका छन् । दलका शीर्ष नेताहरूले संस्थागत सुधार र दीर्घकालीन नीति निर्माणभन्दा तत्कालिक राजनीतिक लाभलाई प्राथमिकता दिन थालेका कारण जनतामा निराशा बढ्दै गएको छ । यस्तो प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउनुका साथै राजनीतिक दलप्रतिको आस्था घटाउने काम गरेको छ, जसको दीर्घकालीन असर प्रजातन्त्रको सबलीकरणमा नकारात्मक देखिएको छ ।
प्रजातान्त्रिक शासन प्रणाली सबल बनाउनुपर्ने अवस्थामा दलका नेतृत्वहरू आफ्ना निहीत स्वार्थपूर्ति गर्ने सीमित कार्यकर्ताको उक्साहट र विचौलियासँगको लसपस बढ्दै जादा उनीहरूले विगतको संघर्षको धरातल, दायित्व र आदर्श पहिचानलाई बिर्सन थालेका छन् । जनताको अधिकार, स्वतन्त्रता र समानताको लागि गरिएको बलिदानलाई स्मरण गर्नुभन्दा पनि सीमित समूहको हित र लाभले प्राथमिकता पाउन थाले । विचौलियाको प्रभाव बढ्दै जांदा निर्णय प्रक्रिया अपारदर्शी बन्दै गयो र सीमित कार्यकर्ताको अनावश्यक दबाबले संस्थागत अभ्यासभन्दा व्यक्ति केन्द्रित राजनीति हावी भयो । यसले लोकतन्त्रलाई बलियो बनाउने आदर्श मार्ग कमजोर बन्दै गयो।
नेतृत्वमा प्रजातान्त्रिक आचरण र नैतिकता क्रमशः क्षय हुँदै गएको वर्तमान अवस्थाले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको छ । प्रजातन्त्रको मूल आत्मा नै सहमति, जवाफदेहिता, पारदर्शिता र सत्ता हस्तान्तरणको स्वस्थ परम्परा हो तर दलका नेताहरूमा आजीवन नेतृत्व कब्जा गर्ने लालसा तीव्र रूपमा बढ्दै गएको छ । एकै नेताले दशकौँसम्म पार्टीको शीर्ष जिम्मेवारी ओगटिरहने प्रवृत्तिले आन्तरिक लोकतन्त्रलाई निष्प्रभाव मात्र बनाएको छैन, नयाँ पुस्ताको नेतृत्वमा जाने सम्भावनालाई समेत अवरुद्ध गरेको छ । यसैबीच, सत्तामा पुग्ने लोभमा विचारधारा, नीति र सिद्धान्तलाई बिर्सेर जुनसुकै किसिमको गठबन्धन गर्नेसम्मको प्रवृत्ति बढ्दै गए । आदर्शभन्दा सत्ता केन्द्रित राजनीतिले दललाई अल्पकालीन लाभप्रति आकर्षित बनाएको छ, जसका कारण प्रजातान्त्रिक मूल्यहरू विस्थापित हुँदै गए । यस्तो व्यवहारले जनतामा निराशा, संस्थागत कमजोरी र राजनीतिक अस्थिरता जन्माएको छ । समयअनुरूपको सोच, मूल्य र कार्यशैली आत्मसात नगर्दा नयां पुस्तासँग दूरी बढ्दै गएको छ, जसले प्रजातान्त्रिक शासन प्रणालीमा पुस्तान्तरण र नयाँ विचारको प्रवाहलाई कमजोर बनाएको छ ।
कार्यकर्ताको दलप्रतिको परम्परागत झुकाव र आफूले समर्थन गर्ने दललाई स्वतः भोट दिने प्रवृत्तिले नेपालको निर्वाचन प्रणालीमा देखिने एक विशेष अनुमानयोग्य अवस्था हो । यसले गर्दा दलहरू मतका आधारमा लोकप्रियता त कायम राख्न सफल भएका छन्, तर वास्तविक अर्थमा लोकतान्त्रिक मूल्य र सुशासनको कार्यान्वयनमा कमजोर देखिएका छन्। मतदाता प्रायः व्यक्तिगत वा पारिवारिक, जातीय, क्षेत्रीय वा पुराना सम्बन्धका आधारमा दललाई समर्थन गर्नेनै गर्ने हुँदा दलहरू जनताको आवश्यकताअनुसार नीति निर्माण र कार्यक्रम कार्यान्वयनमा उत्तरदायी हुन बाध्य हुनु परेन। यस्तो प्रवृत्तिले चुनावी लोकप्रियता र शासनको गुणस्तरबीचको स्पष्ट दूरी देखाउँछ। दलहरूले मत त पाउँछन्, तर सुशासन, पारदर्शिता र जनताका वास्तविक लाभको वितरणमा असफल भइरहेका कारण लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सबलीकरणमा प्रतिकूल प्रभाव पार्दछ। यसले मतदाता र दलबीचको विश्वास कमजोर बनाउँछ र जनतामा लोकतन्त्रप्रतिको उदासीनता बढाउँछ, जसको दीर्घकालीन असर केवल राजनीतिक स्थिरतामा नभई सामाजिक र आर्थिक विकासमा पनि परिरहन्छ। जेनजीको आगमन पश्चात अवको विगतको यो सुनिश्चित समीकरण सदा सर्वदा पूर्वानुमानयोग्य बनिरहन सक्दैन ।
युवाहरु परिवर्तन र नवप्रवर्तनका संवाहकहरु हुन् । यिनीहरु सम्वेदनशील विचारक, सन्देशवाहक र नेतृत्वकर्ता पनि हुन्। अहिले नेपालमा युवाहरुको संख्यात्मक बाहुल्यता रहेको छ जसलाई जनसांख्यिक लाभ भनिन्छ। यो समूहले शासन प्रणालीका पात्रहरुको व्यवहारमा प्रजातान्त्रिक संस्कार र संस्कृतिको अपेक्षा गरिरहेको छ, योग्यता प्रणालीको व्यवहारिक अवलम्बन खोजिरहेको छ शासन प्रणालीमा सहभागिता खोजिरहेको छ । यहि विचारको प्रतिनिधित्व गर्ने अहिलेको नया पुस्ता जेनजी प्रविधिमैत्री, विश्वका उदीयमान दृष्टिकोणहरुमा आधारित र स्वतन्त्र विचारप्रति दृढ रहेको छ। यो पुस्ता पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासन प्रणाली चाहन्छ । जेनजी पुस्ताले भ्रष्टाचार, अवसरवाद र विचौलियाको जालोमा फसेको परम्परागत राजनीतिक संस्कृतिलाई चुनौती दिँदै सामाजिक सञ्जाल, सचेतना अभियान र प्रत्यक्ष सरोकारमार्फत राजनीतिको सार्वजनिक जवाफदेहिता खोज्न थालेका छन् । उनीहरूको सक्रियताले पुरानो पुस्तालाई दबाब सिर्जना गर्दै प्रजातान्त्रिक मूल्यमा सुधार गर्नुपर्ने आवश्यकता बलियो बनाइदिएको छ । उनीहरूको सक्रिय सहभागितालाई सकारात्मक दिशामा परिचालन गर्ने अवसर सिर्जना गर्न सकियो भने प्रजातन्त्र सबलीकरणको अभियानले सार्थकता पाउनेछ । यद्यपि यो पुस्ता संग पनि पुनरोत्थान शक्तिहरुवाट आउन सक्ने अवरोध र घुसपैठलाई रोक्न सक्ने विवेकसम्मत कौशलता र आन्दोलनमा गरिएका प्रतिबध्दताहरुलाई जनताले अनुभूति गर्ने गरि प्रक्रियागत पूर्णताका साथ कार्यान्वयनमा ल्याउने चुनौतीको रास पनि ठूलै छ ।साथै विद्यमान राजनैतिक वातावरण र सामाजिक मनोविज्ञानको परिवेशमा आफ्नो उपस्थिति सवल र दिगो वनाउन यो पुस्तासंग पनि विविध अवसर र चुनौतीहरु रहेका छन्।
अहिले जेनजीको आन्दोलनले परम्परागत प्रजातान्त्रिक शक्तिहरुलाई सत्ताबाट बहिर्गमन गराइदिएको छ र तत्कालै सत्तामा पुनरागमनको संभावनालाई न्यून गराइदिएको मात्र नभै कार्यकर्ता र मतदाताहरु वीचमा रहेको अपनत्वमा ह्रास ल्याइदिएको छ । विकसित वर्तमान परिवेशमा अनुकुलन हुन र पुरानो स्थितिमा फर्कन अव केही समयको लागि असंभवप्राय बन्न पुगेको छ।यद्यपि प्रजातन्त्रमा दलविहीन अवस्था र दलहरुको कमजोर स्थितिलाई पनि राम्रो मानिदैन यसर्थ यी दलहरु परिवर्तित परिवेशमा अनुकुलित हुन दलहरूमा रूपान्तरण र पुस्तान्तरण अपरिहार्य आवश्यकता बनेको छ ।
प्रजातान्त्रिक शासन प्रणाली सबल बनाउन दलहरू समयअनुरूप परिमार्जन गर्नु पर्नेमाग दलभित्र उठे पनि त्यति सशक्त बन्न सकिरहेको छैन किनकी नेतृत्वको दीर्घकालीन निरन्तरताको वातावरणले नयाँ पुस्ताले नेतृत्व लिने अवसर अवरुद्ध गरेको छ । पुस्तान्तरण नभए दलहरू जनतासँगको सम्बन्ध कमजोर हुँदै जान्छ र नयाँ पुस्ताले चाहेको पारदर्शी, जवाफदेही र परिणाममुखी राजनीतिक अभ्यास सम्भव हुँदैन । रूपान्तरण भन्नाले दलहरूले आफ्नो कार्यशैली, संगठनात्मक ढाँचा, नीति तथा कार्यक्रमलाई वर्तमान पुस्ताको सोच, प्रविधिमैत्रीपन र विश्व परिप्रेक्ष्यसँग मेल खाने गरी सुधार्नु आवश्यक छ । पुस्तान्तरण भन्नाले नयाँ पुस्तालाई नेतृत्वमा आउन अवसर दिने, संस्थागत व्यवस्थामा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र जिम्मेवारी हस्तान्तरण गर्ने संस्कृतिलाई स्थापित गर्नुपर्ने हुन्छ । जेन–जी वा वर्तमान पुस्ताको सक्रियता, ऊर्जा र नवप्रवर्तनशील सोचलाई आत्मसात गर्न नसक्ने दलहरू क्रमशः अप्रासंगिक बन्दै जाने सम्भावना प्रबल छ । त्यसैले दलहरूले रूपान्तरण र पुस्तान्तरणको अवधारणालाई तत्काल आत्मसात गरि कार्यान्वयनमा ल्याउनु अपरिकार्य बनेको छ ।
दलहरूमा रूपान्तरण र पुस्तान्तरण सुनिश्चित गर्न स्पष्ट, व्यवस्थित र दीर्घकालीन रणनीति आवश्यक छ । सबैभन्दा पहिला, दलभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनु अत्यावश्यक छ; यसको अर्थ नेतृत्व चयन, नीति निर्माण र निर्णय प्रक्रियामा पारदर्शिता, निष्पक्ष प्रतिस्पर्धा र सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु हो। दोस्रो, नयाँ पुस्तालाई नेतृत्वको अवसर दिने संरचनात्मक व्यवस्था गर्नुपर्छ । दलहरुले आफ्ना मूल्य, दृष्टि र संगठनात्मक संस्कृति समयानुकूल रूपान्तरण गर्नुपर्ने हुन्छ; परम्परागत ढिलासुस्ती, स्वार्थकेन्द्रित गठबन्धन र व्यक्तिवादी निर्णय प्रक्रियाको सट्टा परिणाममुखी, पारदर्शी र जिम्मेवार नेतृत्व प्रवर्द्धन गर्नुपर्ने हुन्छ। नेतृत्व विकासका कार्यक्रम, प्रशिक्षण र मार्गदर्शन प्रणालीको स्थापना गरेर युवालाई दक्ष, सक्षम र नवप्रवर्तनशील बनाइने वातावरण सिर्जना गर्नुपर्छ। पाँचौं, समाज, प्रविधि र विश्व परिप्रेक्ष्यसँग तालमेल राख्दै नीति, कार्यक्रम र सञ्चार रणनीतिलाई सुधार्नु आवश्यक छ ताकि नयाँ पुस्ताले दलमा विश्वास राख्दै सक्रिय सहभागिता जनाउन सकोस्। अन्ततः, रूपान्तरण र पुस्तान्तरण केवल व्यक्तिसापेक्ष नीति नभई संस्थागत मूल्यका रूपमा अंगिकार गर्नुपर्ने हुन्छ; यसले दलको दीर्घकालीन स्थिरता, जनविश्वास र प्रजातान्त्रिक शासन प्रणालीको सबलीकरणमा निर्णायक भूमिका खेल्छ।
यदि दलहरूमा रूपान्तरण र पुस्तान्तरणमा ढिलाइ वा असफलता हुन्छ भने त्यसका नकारात्मक प्रभाव केवल नयाँ पुस्तामा मात्र सीमित हुँदैन, दलभित्रै र आम जनसमुदायमा समेत अस्वीकार्यता बढ्न थाल्छ। नयाँ पुस्ताले नेतृत्व र संस्थागत संरचनामा आफ्नो स्थान नपाउँदा निराशा, असन्तुष्टि र उदासीनता महसुस गर्छ, जसले उनीहरूको राजनीतिक सहभागिता घटाउँछ। त्यस्तै, दलका पुराना सदस्यहरू पनि परिवर्तनको अभाव र व्यक्तिवादी, स्वार्थकेन्द्रित निर्णय प्रक्रियाले भित्रभित्रै असन्तुष्ट हुन्छन्; उनीहरू पारदर्शिता र जवाफदेहितामा विश्वास गुमाउँछन् र संगठनात्मक सम्बन्ध कमजोर बन्छ। जनसमुदायमा समेत दलप्रति भरोसा घट्छ; मतदाता र समर्थकहरूले दललाई जनताका अपेक्षा र आवश्यकता बुझ्न नसक्ने, केवल स्वार्थपूर्ति गर्ने संस्था रूपमा हेर्न थाल्छन्। यसको परिणामस्वरूप पार्टीको वैधता, लोकप्रियता र सामाजिक आधार कमजोर हुन्छ, र दीर्घकालीन रुपमा लोकतन्त्र र सुशासन दुवै संकटमा पर्न सक्छन्। यसैले, रूपान्तरण र पुस्तान्तरणमा ढिलाइले केवल नेतृत्वको मुद्दा होइन, सम्पूर्ण दल र लोकतान्त्रिक प्रणालीको विश्वसनीयता र सबलीकरणमा नकारात्मक प्रभाव पार्ने कुरा स्पष्ट हुन्छ।
यदि दलहरूले समयमै चारित्रिक प्रजातान्त्रिक रूपान्तरण र पुस्तान्तरणका संरचनागत र व्यवहारगत उपाय अपनाएनन् भने, जनतासँगको सम्बन्ध कमजोर हुने, नेतृत्व र दलप्रतिको अस्वीकृति अझै बढ्ने अवस्था सिर्जना हुन्छ। हिंजोका दिनमा शासन प्रणालीमा सक्रिय सरोकारवाला बन्न नसकेको जेनजी अव यसको एक प्रमुख प्रतिस्पर्धी वा दावेदारमा रुपान्तरित भएको छ। यो अवस्था दलहरुको लागि चुनौती र अवसर दुवै हो । त्यसैले परिवर्तित राजनैतिक पर्यावरणमा आफूलाई अनुकुलित बनाउन अव दलभित्र आन्तरिक लोकतन्त्र सुदृढ पार्ने, सामयिक रुपमा नेतृत्व हस्तान्तरणको स्पष्ट नीति लागू गर्ने, युवा र नवप्रवर्तनशील सदस्यलाई अवसर दिने, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासन अभ्यासलाई संस्थागत मूल्यका रूपमा अंगीकार गर्ने कदमहरू तत्काल आवश्यक छ।
राजनीतिक दलहरुमा पारम्परिक यथास्थितिवाद र सुधारको द्वन्द्व अस्थायी मतभेद वा नेतृत्व विवाद मात्र नभई संरचनागत, मूल्यगत र व्यवहारगत समस्या हो। पुराना अभ्यास, शक्ति–केन्द्रमा केन्द्रित संरचना र व्यक्तिपरक स्वार्थका कारण रूपान्तरणको कार्यान्वयनमा चुनौतीहरू अझै विद्यमान छन्। दलले दीगो लोकतान्त्रिक अभ्यास, नेतृत्व प्रशिक्षण, स्पष्ट नीति–रूपरेखा र सदस्य सहभागितामा आधारित नवप्रवर्तनलाई आत्मसात नगरेसम्म यथास्थितिवादको दबाब निरन्तर रहनेछ। त्यसैले राजनीतिक दलको दीगो सशक्तीकरण र प्रशासनिक सुधार केवल प्रस्ताव पारित गर्ने स्तरमा सीमित नरहँदा, वास्तविक रूपान्तरण कार्यान्वयन गर्दै आन्तरिक संस्कृति र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ। यथास्थितिवाद र सुधारको द्वन्द्वलाई बुद्धिमत्तापूर्वक व्यवस्थापन गर्न सकिएमा मात्र दल जनमुखी, उत्तरदायी र परिणाममुखी बन्न सक्षम हुनेछ।

(डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्)