
“सुखको जीवन जिउन भनेर कैलाली झरेकी थिएँ। सोचेको जस्तो सजिलो रहेन,” भन्छिन् रुपकला भाट, अछामकी स्थायी बासिन्दा, अहिले कैलालीको जानकी गाउँपालिका–८, पहाडीपुरमा स्थायी रूपमा बसोबास गरिरहेकी छन्। पहाडको जीवनभन्दा केही सहज होला भन्ने अपेक्षामा परिवारसहित तराई झरेकी थिइन्, तर जीवनको नयाँ अध्याय चुनौतीले भरिएको थियो।
नयाँ गाउँ, नयाँ परिवेश। समाजसँग घुलमिल हुन सजिलो थिएन। छिमेकीलाई चिन्ने, सामाजिक सम्बन्ध बनाउने, र दैनिक जीवनको आवश्यकता धान्न अझ गाह्रो। साँझ–बिहानको छाक टार्न मुस्किल थियो। आयको स्थायी स्रोत थिएन, कामको खोजी थियो।
त्यही समयमा, रोजगारीको खोजीमा श्रीमान् कृष्ण भाट भारत हानिए। “भारत पुगे पनि अवस्था सजिलो थिएन,” रुपकला सम्झिन्छिन्, “केही वर्षको संघर्षपछि श्रीमान् फर्किनुभयो र भन्नुभयो—अब आफ्नै देशमा केही गर्छु।”
वि. सं.२०७० साल। रुपकलाको जीवनमा नयाँ मोड आयो। छिमेक लघुवित्त वित्तीय संस्थाको पथरैया शाखासँग आबद्ध भइन्। सुरुवातमा ३०,००० रुपैयाँ कर्जा लिई एउटा भैंसी किन्नु भयो। “भैंसीबाट दुध बेच्ने, घरको खर्च चलाउने र ऋण तिर्ने काम सुरु गरें,” उनी भन्छिन्।
समयसँगै पशुपालन विस्तार गर्दै गइन्। अहिले रुपकला भाटसँग १०–१५ वटा उन्नत जातका भैंसी छन्। “अब दुध आफैंले बेच्दिन, व्यापारी आफैं घरमै आउँछन्,” उनी हाँस्दै भन्छिन्।
आफ्नो मेहनत र छिमेकको साथले रुपकलाको जीवन पूर्ण रूपमा परिवर्तन भयो। केही वर्षमै आफ्नै घर बनाइन्। दुई वटा मिनि टिलर मेसिन किनिन्—खेतीपाती सजिलो भयो। श्रीमानलाई बाइक किनिदिइन्—गल्ला खरिदविक्री व्यवसाय सुरु गर्न।
आज उनका श्रीमान् धान र गहुँको खरिद–बिक्री केन्द्र सञ्चालन गर्छन्। गाउँका किसानहरू उनकैमा अन्न बिक्री गर्छन्। दुबै जना मिलेर घर चलाउँछन्, व्यवसाय चलाउँछन्।
रुपकला भाटको जीवन परिवर्तनसँगै उनको ध्यान अब सन्तानको शिक्षामा केन्द्रित छ। “छोराछोरीलाई राम्रो पढाइरहेकी छु। मलाई भोलिको दिनमा उनीहरूले कहिल्यै संघर्ष गर्न नपरोस् भन्ने लाग्छ,” उनले भनिन।
आज रुपकलालाई गाउँलेहरू सफल महिला उद्यमीको रूपमा चिन्ने गर्छन्। समाजमा सबैले “गरे के हुँदैन” भन्ने उदाहरणका रूपमा लिन्छन्। उनलाई हेरेर अरू महिलाहरू पनि स्वरोजगार बन्न प्रेरित भएका छन्।
“छिमेक लघुवित्तको ठूलो गुन छ। मैले जीवनमै कहिल्यै बिर्सन सक्दिन,” रुपकला भावुक हुँदै भन्छिन्।
रुपकला भाटको कथा हजारौं नेपाली महिलाको सपना र संघर्षको प्रतिनिधि कथा हो। साहस, इमानदारी र लगनशीलता भएको व्यक्तिले अवसर पाउँदा के कति परिवर्तन सम्भव छ भन्ने सन्देश यो कथाले दिन्छ। छिमेक लघुवित्तजस्ता संस्था केवल ऋण दिने होइन, आशा जगाउने माध्यम पनि हुन्।
गरे के हुँदैन—रुपकला भाटले देखाइन्, सपना साकार पार्न संकल्प र सहारा दुवै जरुरी छन्।
(लेखक: हरिचन्द्र भट्ट)