भ्रष्टाचारले सार्वजनिक शासन प्रणाली, आर्थिक विकास र सामाजिक न्यायलाई गम्भीर रूपमा कमजोर बनाउँदै आएको छ, जसको नियन्त्रण केवल कानुन, दण्ड वा राज्य संयन्त्रको प्रयासले मात्र सम्भव हुँदैन। भ्रष्टाचार बहुआयामिक समस्या भएकाले यसको सामना गर्न जनता, नागरिक समाज, गैरसरकारी संस्था, निजी क्षेत्र, शैक्षिक प्रतिष्ठान तथा अन्य सबै सरोकारवालाहरूको साझा प्रतिबद्धता, निरन्तर जागरुकता र समन्वयात्मक प्रयास र निगरानी अपरिहार्य हुन्छ। जब समाजका सबै पात्रहरूले सार्वजनिक स्रोत र अधिकारको प्रयोगप्रति चासो राख्दै प्रश्न गर्ने, अनियमितताविरुद्ध आवाज उठाउने र सदाचारको पक्षमा उभिने संस्कृतिलाई आत्मसात् गर्छन्, तब मात्र पारदर्शिता र जवाफदेहिताको आधार मजबुत हुन्छ। यही बहुपक्षीय सहभागिता र समन्वयमा आधारित भ्रष्टाचार निवारणको अवधारणा मार्फत दिगो सुशासन निर्माणको सम्भावनाह रहन्छ ।
भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरण हो । साधारण जनजीवनमा भ्रष्टाचार लाई आर्थिक अपराधसंग जोडिने गरिन्छ । भ्रष्टाचार बेइमानी वा अपराधको एक रूप हो जसमा व्यक्ति वा सङ्गठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरुपयोग गर्दछन्। भ्रष्टाचार एक सामाजिक अपराध पनि हो जो विश्वव्यापी रूपमा लगभग सबै देशहरूमा विभिन्न अनुपातमा नियमित रूपमा देखा पर्दछन्। हालैका तथ्याङ्कहरूले भ्रष्टाचार बढ्दै गएको देखाउँछ। प्रत्येक राष्ट्रले भ्रष्टाचारको नियन्त्रण र नियमन र अपराधको काम अगाडी बढाउंदै आए पनि भ्रष्टाचार नियन्त्रणको काम चुनौतीको रुपमा रहदै आएको छ।
भ्रष्टाचारका प्रकारहरु
क) स्वरूपका आधारमा
१. घुस (Bribery)
सेवा, निर्णय वा सुविधा प्राप्त गर्न नगद, वस्तु वा अन्य लाभ दिनु वा लिनु।
२. अधिकारको दुरुपयोग (Abuse of Authority/Power)
कानुन र नियम विपरीत पद वा अधिकारको प्रयोग गरी व्यक्तिगत वा नातेदारको फाइदा गर्नु।
३. हिसाब किताबको गडबडी (Embezzlement)
सरकारी वा संस्थागत सम्पत्ति, रकम वा स्रोतलाई निजी प्रयोजनमा प्रयोग गर्नु।
४. अनियमितता (Irregularities)
खरिद, ठेक्का र वित्तीय व्यवस्थापनमा कानुनी प्रक्रिया, मापदण्ड र नियमको पालना नगरी काम गर्नु ।
५. कमिसनखोरी (Kickback)
ठेक्का, आपूर्ति वा सेवा सम्झौतामा गैरकानुनी रूपमा प्रतिशत वा रकम लिने दिने कार्य।
६. नातावाद र कृपावाद (Nepotism & Favoritism)
योग्यता र प्रतिस्पर्धा बिना आफन्त, नजिकका व्यक्ति वा पक्षलाई अवसर र सुविधा दिनु। प्रतिस्पर्धा गराइएपनि छनौटमा नातावाद र कृपावाद हावी हुनु ।
७. ठगी (Fraud)
झुटा विवरण, नक्कली कागजात वा गलत सूचना प्रयोग गरी आर्थिक वा अन्य लाभ लिनु।
८. अवैध सम्पत्ति आर्जन (Unlawful accumulation of wealth)
कानुनी आम्दानीको स्रोत देखाउन नसक्ने गरि सम्पत्ति, धन वा सुविधा संकलन गर्नु।
९. नीतिगत भ्रष्टाचार (Policy Corruption)
नीति, कानून वा निर्णयहरू नै निश्चित व्यक्ति वा समूहको हितमा प्रयोग गरिनु।
१०. संस्थागत भ्रष्टाचार
संस्थागत संरचना र प्रक्रियामै भ्रष्ट आचरणले जरा गाड्नु।
ख) तहका आधारमा
1. सानो तहको भ्रष्टाचार (Petty Corruption)
सेवा प्रवाहमा हुने साना तिना घुस, फाइल अड्क्याउने, सेवामा ढिलाइ।
2. Grand Corruption (ठूलो तहको भ्रष्टाचार)
नीति, ठूला आयोजना, खरिद र बजेट विनियोजनमा हुने भ्रष्टाचार।
3. Systemic Corruption (संस्थागत)
संगठनकै प्रणालीमै भ्रष्ट अभ्यास संस्थागत रूपमा मौलाएको अवस्था।
ग) क्षेत्रगत आधारमा
1. राजनीतिक भ्रष्टाचार – नीति निर्णयमा राजनीतिक तहकोअनुचित प्रभाव
2. प्रशासनिक भ्रष्टाचार – सेवा प्रवाह र कार्यान्वयन तहमा हुने भ्रष्टाचार
3. वित्तीय/राजस्व भ्रष्टाचार – कर, भन्सार, राजस्व प्रशासनमा हुने भ्रष्टाचार
भ्रष्टाचारको प्रभाव
सेवा प्रवाहमा भ्रष्टाचारको प्रभाव
• सेवा प्रवाहमा ढिलाइ : घुस, कमिसन र अनौपचारिक लेनदेनका कारण सेवा समयमै नपाइने, सेवाको अतिरिक्त लागत बढ्ने।
• सेवाको असमान पहुँच: पहुँच, शक्ति वा पैसावालाले प्राथमिकता पाउने; गरिब, महिला, अपांगता भएका व्यक्ति र सीमान्तकृत वर्ग पछाडि पर्ने।
• सेवाको गुणस्तरमा गिरावट: योग्यताभन्दा सम्बन्ध र लेनदेनका आधारमा निर्णय हुँदा सेवा प्रभावकारी नहुनु।
• प्रशासनप्रति नकारात्मक धारणा: कर्मचारीलाई “सेवा प्रदायक” भन्दा “अवरोधका सिर्जनाकर्ता” को रूपमा हेरिने अवस्था।
• प्रशासनिक वैधतामा ह्रास : राज्य र नागरिक सम्बन्ध कमजोर भै प्रशासनिक वैधता घट्ने ।
विकास व्यवस्थापनमा भ्रष्टाचारको प्रभाव
• स्रोतको दुरुपयोग र चुहावट: विकास बजेट लक्ष्यअनुसार प्रयोग नहुनु; “कमिसन–केन्द्रित” वा स्व लाभको दृष्टिवाट आयोजना छनोट हुनु।
• कम गुणस्तरीय पूर्वाधार: ठेक्का, खरिद र सुपरिवेक्षणमा भ्रष्टाचार हुँदा निर्मित पूर्वाधारहरु गुणस्तरयुक्त र टिकाउ नहुने संरचना निर्माण हुने। मर्मतमा ठूलो रकम खर्च हुने।
• योजना कार्यान्वयनमा ढिलाइ: निर्णय प्रक्रियामा लेनदेन खोजिँदा समय र लागत बढ्नु। योजना कार्यान्वयनमा ढिलाइ हुदा समय र लागत बढ्न जानु।
• नवप्रवर्तन र निजी लगानी निरुत्साहित: अनिश्चितता र अपारदर्शी अवस्थाले लगानी वातावरण बिग्रनु। नवप्रवर्तन नहुनु निजी लगानी निरुत्साहित हुंदा स्वस्थ्य व्यवसायिक वातावरण निर्माण हुन नसक्नु ।
• विकासको कमजोर प्रतिफल : विकास “खर्च” हुने तर “परिणाम” नदेखिँने जसले विकासको प्रतिफललाई कमजोर बनाउंछ।
जनविश्वासमा भ्रष्टाचारको प्रभाव
• राज्यप्रति अविश्वास: नीति, कानुन र निर्णय स्वार्थ समूहका लागि बनेको अनुभूति हुने ।समग्र संरचना र यसका पात्रहरु नै भ्रष्ट हुन् भन्ने सन्देश जाने । असल र सदाचारमा रहने व्यक्तिहरु पनि यो आरोपबाट ग्रसित हुनु पर्ने।
• कानुन पालनमा गिरावट: “सबै भ्रष्ट छन्” भन्ने धारणा सामान्यीकरण हुंदा नियमको परिपालना भन्दा भनसुनवादले प्रश्रय पाउने ।
• नागरिक सहभागिता कमजोर: मतदान, सामाजिक उत्तरदायित्व र निगरानीमा जनताको उदासीनता बढ्ने । नागरिक सहभागिता कमजोर हुदै जाने ।
• लोकतान्त्रिक संस्थाको वैधता संकट:सरकारका अंगहरु खासगरि संसद, सरकार र प्रशासनप्रति सम्मानमा ह्रास आउनु । यसले शासन प्रणाली कमजोर र अस्थिर बन्छ।
भ्रष्टाचारका पात्रहरु
भ्रष्टाचार निम्न दुई पक्षहरुको अन्तरक्रियाबाट हुने प्रक्रिया हो—
• माग पक्ष (Demand Side): घुस माग्ने सार्वजनिक पदाधिकारी
• आपूर्ति पक्ष (Supply Side): घुस दिने व्यक्ति, निजी क्षेत्र, बिचौलिया, सेवा प्रदायक
परम्परागत रूपमा भ्रष्टाचार नियन्त्रण माग पक्षमै केन्द्रित भए पनि, आपूर्ति पक्षलाई समेत नियन्त्रण नगर्दा सम्म भ्रष्टाचार न्यूनीकरण सम्भव हुँदैन ।
भ्रष्टाचारमा माग पक्ष(Demand Side)
भ्रष्टाचारको सन्दर्भमा माग पक्ष भन्नाले घुस, सुविधा वा अवैध लाभ माग्ने कर्मचारी, प्रशासनिक अधिकारी तथा राजनीतिक व्यक्तिलाई जनाउँछ। अधिकार, पद, निर्णय र शक्तिको दुरुपयोग गरी सेवाग्राही वा व्यवसायीबाट अवैध लाभ लिनेहरु यस समूहमा पर्दछन्।
भ्रष्टाचारमा कर्मचारी, प्रशासनिक तथा राजनीतिक व्यक्तिहरूको भूमिका
क) पद र अधिकारको दुरुपयोग
सेवा प्रवाहमा ढिलाइ गर्ने, फाइल अड्काउने माध्यम बनाइ घुस दिन बाध्य बनाउने व्यवहार ।
ख) नीतिगत निर्णयमा हस्तक्षेप
राजनीतिक वा उच्च प्रशासनिक तहबाट ठेक्का, सरुवा, बढुवा, लाइसेन्स, अनुमति आदिमा व्यक्तिगत वा दलगत स्वार्थका लागि अवैध लाभ प्राप्ति।
ग) प्रणालीगत भ्रष्टाचारको संरक्षण
• अधीनस्थ भ्रस्ट कर्मचारीलाई संरक्षण गर्ने
• अनुसन्धान कमजोर बनाउने
• दोषीलाई कारबाही नगर्ने
• भ्रष्टाचारलाई संस्थागत बनाउने भूमिका।
घ) डर र दबाब सिर्जना
सेवाग्राहीलाई “काम रोकिदिने”, “समस्या बनाइदिने” भन्ने मनोवैज्ञानिक दबाब सिर्जना गरि घुस दिन बाध्य बनाइने।
ङ) राजनीतिक संरक्षण र दण्डहीनता
राजनीतिक व्यक्तिको संरक्षणमा कर्मचारी निडर रूपमा भ्रष्टाचार गर्छन् यसले दण्डहीनताको संस्कृति विकास हुन्छ।
आपूर्ति पक्षमा भ्रष्टाचारलाई प्रश्रय दिने र घुस दिन बाध्य हुने पक्षहरू
आपूर्ति पक्ष (Supply Side) भन्नाले घुस दिने, मिलेमतो गर्ने वा अवैध लाभ उपलब्ध गराउने व्यक्ति वा समूहलाई जनाउँछ। यसमा निम्न दुई प्रकारका भूमिकाहरु देखिन्छन्—
(क) जानाजानी भ्रष्टाचारलाई प्रश्रय दिने पक्ष (Active Enablers)
(ख) प्रणालीगत बाध्यता वा दबाबका कारण घुस दिन बाध्य हुने पक्ष (Compelled Participants)
भ्रष्टाचारलाई जानाजानी प्रश्रय दिने पक्षहरु (Active Enablers)
यी पक्षहरूले आफ्नो स्वार्थपूर्तिका लागि भ्रष्टाचारलाई बढावा दिन्छन्।
(क) ठेकेदार र व्यवसायी
• ठेक्का हात पार्न, प्रतिस्पर्धा हटाउन
• लागत वृद्धि, गुणस्तरहीन काम ढाकछोप गर्न
• कर छुट, भन्सार सहुलियत लिन
(ख) निजी कम्पनी र कार्टेलिङ्ग समूह
• मिलेमतो गरेर बजार नियन्त्रण
• नियामक निर्णयहरू आफू अनुकूल बनाउने
(ग) दलाल / बिचौलिया
• घुसको सहजकर्ताको भूमिका
• प्रणाली र पदाधिकारीबीच लेनदेनको सेतु बन्ने
(घ) परामर्शदाता र एजेन्ट
• प्राविधिक मूल्यांकन र बोलपत्र कागजात मिलाउने
• नीति र निर्णय प्रक्रियामा अप्रत्यक्ष प्रभाव
(ङ) राजनीतिक–आर्थिक स्वार्थ समूह
• नीति निर्माणमा प्रभाव
• नियुक्ति, सरुवा, निर्णयमा लेनदेन
घुस दिन बाध्य हुने पक्षहरु (Compelled Participants)
यी पक्षहरू स्वार्थभन्दा बढी प्रणालीगत कमजोरीका कारण घुस दिन बाध्य हुन्छन्।
(क) सर्वसाधारण नागरिक
• सेवा प्रवाहमा ढिलाइ, अनावश्यक झन्झट टार्न
• सेवा पाउन विताउनु पर्ने समयको लागत भन्दा घुसको रकम कम हुनु।
(ख) साना व्यवसायी
• लाइसेन्स, नवीकरण, कर फर्छ्यौट
• निरीक्षण/अनुगमनबाट जोगिन
(ग) सेवाग्राही किसान, मजदुर, उद्यमी
• अनुदान, अनुमति, राहत प्राप्त गर्न
• फाइल अगाडि नबढ्ने वातावरण
(घ) नयाँ उद्यमी
• दर्ता, अनुमतिपत्र, वातावरणीय स्वीकृति
• अनावश्यक नियामकीय अवरोध पार गर्न
बाध्यताको मुख्य कारणहरू
• पदाधिकारीमा अत्यधिक विवेकाधिकार (Discretion Power)
• प्रक्रियागत जटिलता र ढिलाइ
• सूचनाको अभाव
• दण्डहीनता र उजुरीको डर
• “घुस बिना काम हुँदैन” भन्ने सामाजिक मान्यता
भ्रष्टाचारमा अन्य प्रमुख पात्रहरू (Beyond Active Enablers & Compelled Participants)
१. सहजकर्ता वा मध्यस्थ (Facilitators / Intermediaries)
• भ्रष्टाचारलाई सम्भव, छिटो र सुरक्षित बनाउने पात्र
• दलाल, बिचौलिया, एजेन्ट
• कानुनी प्रक्रिया “मिलाइदिने” व्यक्तिहरू
• राजनीतिक पहुँच दिलाइदिने नेटवर्क
भूमिका:
• माग र आपूर्तिबीचको सहज सम्बन्ध सेतु
• काम र रकमको सुनिश्चितता, सन्देश र भरोसाको व्यवस्थापन
• जोखिम घटाउने (Risk Absorber)
२. मौन लाभग्राही (Silent Beneficiaries)
• प्रत्यक्ष संलग्न नभए पनि लाभ लिन पाउने पात्रहरु
• परिवारका सदस्य
• साझेदार कम्पनी
• अन्य व्यक्ति/संस्था
भूमिका:
• अवैध लाभ उपभोग
• सम्पत्ति लुकाउने/विस्तार गर्ने
३. संरक्षक (Protectors / Shield Providers)
• भ्रष्टाचारबाट जोगाउने शक्ति
• राजनीतिक संरक्षणदाता
• उच्च तहका प्रशासनिक संरक्षक
• अनौपचारिक “पावर नेटवर्क”
भूमिका:
• अनुसन्धान रोक्ने सामर्थ्य राख्ने पात्रहरु
• सरुवा पदस्थापन/दबाब व्यवस्थापन
• दण्डहीनता कायम राख्ने
४. प्रणाली निर्माता (System Designers & Rule Makers)
• अवसर सिर्जना गर्ने संरचनात्मक पात्र
• नीति निर्माता
• नियम/प्रक्रिया डिजाइन गर्ने निकाय
• अत्यधिक विवेकाधिकार दिने संरचना
भूमिका:
• अस्पष्ट, जटिल वा स्वार्थमैत्री नियम बनाउने
• नीतिगत भ्रष्टाचारको आधार तयार गर्ने
५. सामाजिक स्वीकार्यता दिने पात्र (Normalizers)
• भ्रष्टाचारलाई ‘सामान्य’ बनाउने
• समाजका प्रभावशाली व्यक्ति
• “सबैले गर्छन्” भन्ने धारणा फैलाउने समूह
• घुसलाई सुविधा शुल्क ठान्ने संस्कार
भूमिका:
• नैतिक प्रतिरोध कमजोर बनाउने
• सामाजिक दबाब हटाउने
६. कमजोर निगरानीकर्ता (Weak Regulators & Watchdogs)
• हेर्नुपर्ने तर नहेर्ने पात्र
• नियामक निकाय
• आन्तरिक लेखा/अनुगमन संयन्त्र
• निरीक्षण निकाय
भूमिका:
• आँखा चिम्लिने (Willful Blindness)
• चयनात्मक कारबाही (Selective Punishment)
७. कानुनी आवरण दिने पात्र (Legal Launderers)
• कागजात मिलाउने कानुनी पदाधिकारी/प्राविधिक विज्ञ
• परामर्शदाता
• फर्जी रिपोर्ट बनाउने संस्था
भूमिका:
• अवैधलाई वैध बनाउन सहयोग गर्ने
• प्रमाण नष्ट वा कमजोर बनाउन सहयोग गर्ने
८. निष्क्रिय दर्शक (Passive Bystanders)
• जान्दाजान्दै पनि मौन रहने पात्रहरु
• सहकर्मी
• संस्था/समुदाय
• सेवाग्राही समूह
भूमिका:
• उजुरी नगर्ने
• गलत अभ्यासलाई निरन्तरता दिने
भ्रष्टाचार बढ्नुमा आपूर्ति पक्षको भूमिका
• छिटो काम गराउने, नियम छल्ने वा विशेष लाभ लिने चाहना
• प्रतिस्पर्धा हटाई ठेक्का/लाइसेन्स हात पार्ने उद्देश्य
• दण्डहीनता र कमजोर निगरानीको फाइदा उठाउने प्रवृत्ति
• “घुस नदिए काम हुँदैन” भन्ने सामाजिक मनोभावबाट प्रभावित
• यसले प्रणालीगत (Systemic) भ्रष्टाचार लाई संस्थागत बनाउँछ।
भ्रष्टाचारको इकोसिस्टम (Ecosystem of Corruption)
भ्रष्टाचार जन्मिने, फैलिने, संरक्षण हुने र निरन्तर चलिरहने व्यक्ति, संस्था, प्रक्रिया, संस्कार र शक्ति सम्बन्धहरूको जालोलाई भ्रष्टाचारको इकोसिस्टम भनिन्छ। भ्रष्टाचार कुनै एक व्यक्तिको एकल प्रयास वा चाहनाबाट मात्र हुने होइन, सम्पूर्ण प्रणालीले मिलेर बनाएको वातावरण हो।
भ्रष्टाचारको इकोसिस्टमका मुख्य घटकहरू
क) प्रमुख पात्र
• राजनीतिक नेतृत्व
• उच्च प्रशासनिक अधिकारी
• कर्मचारी
• बिचौलिया (दलाल)
• ठेकेदार, व्यवसायी
• कहिलेकाहीँ मौन सहमत नागरिक
सबैले आ–आफ्नो भूमिकाबाट भ्रष्टाचारलाई चलायमान बनाउँछन्। यी सम्बन्धित पात्रहरु भ्रष्टाचार बढ्नुमा आ आफ्ना ठाउंमा दोषी छन् ।
ख) शक्ति र अधिकारको संरचना
• अत्यधिक विवेकाधिकार
• शक्ति केन्द्रीकरण
• निर्णय प्रक्रियामा अपारदर्शिता
• शक्ति + विवेक – जवाफदेहिता = भ्रष्टाचार Corruption (C) = Monopoly (M) + Discretionary Power (D)- Accountability (A) or Transparency (T) । यो सूत्र अनुसार एकाधिकार र विवेकजन्य अधिकारको मात्रा बढ्दा भ्रष्टाचार बढ्दछ भने जवाफदेहिता वा उत्तरदायित्व बढ्दा भ्रष्टाचार कम हुने गर्दछ।
ग) कानुनी तथा संस्थागत कमजोरी
• कमजोर कार्यान्वयन
• ढिलो न्याय
• अनुसन्धानमा राजनीतिक हस्तक्षेप
• दण्डहीनता
• यी सवैले भ्रष्टाचार जोखिम होइन, अवसर बन्छ।
घ) आर्थिक प्रलोभन र स्वार्थ
• ठेक्का, कर छुट, लाइसेन्स
• अवैध कमिसन
• कालोधन, सम्पत्ति सँग्रह
ङ) सामाजिक संस्कार र मानसिकता
• “घुस नदिई काम हुँदैन” भन्ने भावना
• “सबैले गर्छन्” भन्ने सोचमा व्यापकता
च) सूचना असमानता र अपारदर्शिता
• नागरिकलाई अधिकार थाहा नहुनु
• प्रक्रिया जटिल र गोप्य हुनु
• दलाल र बिचौलियाको उपस्थिति ।
भ्रष्टाचारको इकोसिस्टम चक्र
• शक्ति र पद प्राप्त
• विवेकाधिकारको दुरुपयोग
• घुस/कमिसन माग वा दिने वातावरणको सिर्जना
• अवैध लाभ प्राप्ति
• राजनीतिक/प्रशासनिक संरक्षण
• अनुसन्धान अवरुद्ध वा ढिलो अनुसन्धान
• दण्डहीनता
• भ्रष्टाचार पुनः दोहोरिन्छ
भ्रष्टाचारको पर्यावरण
भ्रष्टाचारको पर्यावरण भन्नाले भ्रष्टाचार जन्मिने, फैलिने र संस्थागत हुने वातावरण, अवस्था र संरचनागत कारणहरूको समष्टिलाई बुझिन्छ। यो केवल व्यक्तिको नैतिक कमजोरी मात्र नभई नीति, प्रणाली, संस्कृति र व्यवहारको अन्तरसम्बन्धबाट बनेको जटिल परिवेश हो। यसलाई निम्न पक्षहरुबाट स्पष्ट गर्न सकिन्छः
१. संस्थागत पर्यावरण
कमजोर संस्था, अस्पष्ट अधिकार–दायित्व, जटिल कार्यविधि, अत्यधिक विवेकाधिकार र कमजोर आन्तरिक नियन्त्रण प्रणालीले भ्रष्टाचारलाई मलजल गर्छ।
२. कानुनी तथा नीतिगत पर्यावरण
कानुनको अस्पष्टता, विरोधाभासी व्यवस्था, कार्यान्वयनको कमजोरी, दण्डहीनता र ढिलो न्याय प्रणालीले भ्रष्ट आचरणलाई प्रोत्साहन दिन्छ।
३. राजनीतिक पर्यावरण
राजनीतिक हस्तक्षेप, संरक्षणवाद, सत्ताको दुरुपयोग, दलगत स्वार्थ र राजनीतिक–प्रशासनिक गठजोडले भ्रष्टाचारलाई संरक्षित बनाउँछ।
४. प्रशासनिक पर्यावरण
पारदर्शिताको अभाव, कार्यसम्पादनमा जवाफदेहिताको कमी, सेवा प्रवाहमा ढिलासुस्ती र कर्मचारी व्यवस्थापनको कमजोरीले भ्रष्टाचारलाई सहज बनाउँछ।
५. आर्थिक पर्यावरण
गरिबी, बेरोजगारी, आय असमानता, न्यून तलब–सुविधा र अवसरको सीमितताले भ्रष्टाचारतर्फ आकर्षण बढाउँछ।
६. सामाजिक–सांस्कृतिक पर्यावरण
घुसलाई “ सेवा प्रवाह र प्राप्तिको सहज प्रक्रिया” ठान्ने मानसिकता, नातावाद कृपावादलाई सामाजिक रूपमा स्वीकार गर्ने संस्कार, मौन सहमति र सामाजिक दबाबले भ्रष्टाचारलाई सामान्यीकरण गर्छ।
७. नैतिक र मूल्यगत पर्यावरण
व्यावसायिक नैतिकताको क्षय, सार्वजनिक सेवाप्रति उत्तरदायित्वको कमी, मूल्य शिक्षा कमजोर हुनु र आदर्श नेतृत्वको अभावले भ्रष्टाचारलाई बढावा दिन्छ।
८. सूचना र पारदर्शिता पर्यावरण
सूचनामा नागरिकको पहुँचको कमी, खुला तथ्याङ्क नहुनु, नागरिक निगरानी कमजोर हुनु र प्रविधिको न्यून प्रयोगले भ्रष्टाचार लुकाउन सजिलो बनाउँछ।
भ्रष्टाचार नियन्त्रणमा समाजको भूमिका
भ्रष्टाचार नियन्त्रणमा समाजको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। सचेत र जिम्मेवार समाजले भ्रष्टाचारलाई सामान्य व्यवहारका रूपमा स्वीकार नगरी गलत अभ्यासका विरुद्ध आवाज उठाउने गर्दछ। नागरिकहरूले पारदर्शिता र जवाफदेहिताको माग गर्नु, सार्वजनिक सेवामा घुस नदिनु नलिनु, अनियमितता देखेमा उजुरी गर्नु र कानुनको पालना गर्नु समाजको मुख्य दायित्व हो। सञ्चार माध्यम, नागरिक समाज, सामाजिक संस्थाहरू र शैक्षिक प्रतिष्ठानहरूले मूल्य र नैतिकताको प्रवर्द्धन गर्दै भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्दछन्। साथै सामाजिक दबाब, नैतिक बहिष्कार र सकारात्मक उदाहरण प्रस्तुत गर्ने संस्कृतिले भ्रष्ट आचरणलाई निरुत्साहित गर्छ। यसरी समाज सक्रिय, सचेत र नैतिक बनेमा मात्र भ्रष्टाचार नियन्त्रण दिगो र प्रभावकारी हुन सक्छ।
भ्रष्टाचार नियन्त्रणमा समाजका पात्रहरु
भ्रष्टाचार नियन्त्रणमा समाजका प्रमुख पात्रहरू विभिन्न तह र भूमिकामा सक्रिय हुन सक्दछन् । यी पात्रहरूको समन्वित प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण प्रभावकारी र दिगो बन्न सक्छ। भ्रष्टाचार नियन्त्रणमा समाजका पात्रहरु :
१. नागरिक (Individuals/ Citizen)
सचेत नागरिकले घुस नदिने–नलिने अभ्यास, कानुनी प्रक्रिया अपनाउने, अनियमितता विरुद्ध उजुरी गर्ने र सार्वजनिक जवाफदेहिताको माग गर्ने भूमिका खेल्छन्।
२. नागरिक समाज र गैरसरकारी संस्था (Civil Society,NGOs)
नागरिक समाज, गैर सरकारी संगठनहरुले निगरानी, अनुसन्धान, जनचेतना अभिवृद्धि, सामाजिक बहस र नीतिगत दबाबमार्फत भ्रष्टाचारविरुद्ध सक्रिय भूमिका निर्वाह गर्छन्।
३. सञ्चार माध्यम (Media)
छापा, रेडियो, टेलिभिजन र डिजिटल मिडिया, ;माजिक सञ्जालले अनुसन्धानात्मक पत्रकारिता, सूचना प्रसार र सार्वजनिक बहसमार्फत भ्रष्टाचार उजागर र नियन्त्रणमा सहयोग पुर्याउँछन्।
४. शिक्षालय (Education Sector)
विद्यालय, कलेज, विश्वविद्यालय र शिक्षक–प्राध्यापकहरूले मूल्य शिक्षा, नैतिकता र नागरिक चेतनाको विकास गर्दै दीर्घकालीन भ्रष्टाचार नियन्त्रणमा योगदान दिन्छन्।
५. निजी क्षेत्र र व्यवसायी समुदाय (Private Sector)
व्यवसायिक सदाचार, पारदर्शी कारोवार, कर अनुशासन र घुस–कमिसनबाट टाढा रहने अभ्यासले निजी क्षेत्र भ्रष्टाचार नियन्त्रणको साझेदार बन्छ।
६. धार्मिक, सांस्कृतिक र सामाजिक अगुवा (Social Activists)
धार्मिक नेता, समाजसेवी, बौद्धिक व्यक्तित्व र समुदायका अगुवाहरूले नैतिक मूल्य, इमानदारी र सार्वजनिक हितको सन्देश फैलाउँछन्।
७. युवा र विद्यार्थी (Youth and Students)
युवाहरूले सचेत अभियान, सामाजिक सञ्जाल प्रयोग, नवप्रवर्तन र निगरानी गतिविधिमार्फत भ्रष्टाचारविरुद्ध सशक्त आवाज बन्न सक्छन्।
८. पीडित र सेवाग्राही (Service Seekers)
सेवा लिन जाँदा भ्रष्टाचारको सामना गर्ने पीडित र सेवाग्राहीहरूले उजुरी, गुनासो र अनुभव साझा गरेर प्रणाली सुधारमा सहयोग पुर्याउँछन्।
भ्रष्टाचार विरोधी समाज निर्माणको आवश्यकता
भ्रष्टाचारले सुशासन, आर्थिक विकास, सामाजिक न्याय र सार्वजनिक विश्वासलाई गम्भीर रूपमा कमजोर बनाउँछ यसैले भ्रष्टाचार विरोधी समाज निर्माण आवश्यक छ। भ्रष्टाचारले स्रोतको दुरुपयोग, असमानता, गरिबीको चक्र र राज्यप्रति निराशा बढाउँछ, जसको असर समग्र समाजमा दीर्घकालसम्म पर्छ। त्यसैले इमानदारी, पारदर्शिता र जवाफदेहिता मूल मूल्यका रूपमा स्थापित नभएसम्म दिगो विकास सम्भव हुँदैन। भ्रष्टाचार विरोधी समाज निर्माण गर्न नागरिक चेतना अभिवृद्धि, मूल्य र नैतिक शिक्षाको प्रवर्द्धन, कानुनको निष्पक्ष कार्यान्वयन, दण्डहीनताको अन्त्य, पारदर्शी सार्वजनिक सेवा, प्रविधिको प्रयोग, स्वतन्त्र सञ्चार माध्यम र सक्रिय नागरिक समाज आवश्यक हुन्छ। साथै, व्यक्तिगत आचरणबाटै घुस नदिने–नलिने संस्कृतिको विकास, सामाजिक दबाब र उदाहरणीय नेतृत्वले भ्रष्टाचारविरुद्धको सोच र व्यवहार दुवै परिवर्तन गर्न सकिन्छ।
भ्रष्टाचार विरोधी समाज निर्माणका चरणहरु
१. चेतना र संवेदनशीलता अभिवृद्धि
भ्रष्टाचारका असर, कानुनी परिणाम र नैतिक पक्षबारे नागरिकलाई सचेत गराई भ्रष्टाचारलाई अस्वीकार्य व्यवहारका रूपमा स्थापित गर्नु।
२. मूल्य र नैतिक शिक्षाको विकास
विद्यालयदेखि समाजसम्म इमानदारी, जिम्मेवारी, सार्वजनिक हित र नागरिक कर्तव्यलाई जीवन–मूल्यका रूपमा विकास गर्नु।
३. कानुनी तथा नीतिगत सुदृढीकरण
स्पष्ट, व्यावहारिक र कडा कानुन निर्माण, प्रभावकारी कार्यान्वयन र दण्डहीनताको अन्त्य सुनिश्चित गर्नु।
४. संस्थागत सुधार र क्षमता विकास
सार्वजनिक संस्थामा पारदर्शी प्रक्रिया, आन्तरिक नियन्त्रण प्रणाली, पेशागत क्षमता र कार्यसम्पादनमा आधारित व्यवस्थापन लागू गर्नु।
५. पारदर्शिता र प्रविधिको प्रयोग
सूचनामा सहज पहुँच, विद्युतीय शासन, खुला तथ्यांक र डिजिटल सेवामार्फत मानवीय स्वविवेकाधिकार घटाउनु।
६. नागरिक सहभागिता र सामाजिक निगरानी
नागरिक, नागरिक समाज, सञ्चार माध्यम र समुदायको सक्रिय निगरानी तथा जवाफदेहिताको अभ्यास बढाउनु।
७. नेतृत्व र उदाहरणीय आचरण
राजनीतिक, प्रशासनिक र सामाजिक नेतृत्वले आफैं उदाहरण प्रस्तुत गरी नैतिक मानक स्थापित गर्नु।
८. प्रोत्साहन र संरक्षण व्यवस्था
इमानदार आचरणलाई सम्मान, भ्रष्टाचार उजागर गर्नेहरूका लागि संरक्षण (Whistleblower Protection) र सुरक्षित उजुरी प्रणाली सुनिश्चित गर्नु।
९. निरन्तर मूल्याङ्कन र सुधार
नीति, प्रणाली र व्यवहारको नियमित समीक्षा गरी आवश्यक सुधार गर्दै भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिनु।
भ्रष्टाचार विरोधी समाज निर्माणका अवरोधहरु
१. दण्डहीनताको संस्कार
भ्रष्टाचार गरे पनि सजाय नहुने वा प्रक्रिया लम्बिने अवस्था रहँदा गलत अभ्यासलाई निरन्तरता मिल्छ।
२. राजनीतिक संरक्षण र हस्तक्षेप
भ्रष्टाचारमा संलग्न व्यक्तिलाई राजनीतिक शक्ति र पहुँचले जोगाउने प्रवृत्तिले समाजमा गलत सन्देश जान्छ।
३. कमजोर संस्थागत क्षमता
अनुसन्धान, निगरानी र कार्यान्वयन गर्ने निकायहरूको स्रोत, दक्षता र स्वतन्त्रताको अभाव।
४. सामाजिक स्वीकार्यता र मौनता
घुसलाई “सामान्य काम छिटो गराउने उपाय” ठान्ने मानसिकता र अन्याय देखेर पनि नबोल्ने प्रवृत्ति।
५. पारदर्शिताको कमी
सूचनामा पहुँच सीमित हुनु, निर्णय प्रक्रिया गोप्य रहनु र सार्वजनिक विवरण नखुलाउनु।
६. कानुनी जटिलता र ढिलासुस्ती
अस्पष्ट कानुन, लामो न्यायिक प्रक्रिया र कमजोर अभियोजनले विश्वास घटाउँछ।
७. आर्थिक दबाब र असमानता
गरिबी, बेरोजगारी, न्यून तलब र अवसरको अभावले अनैतिक व्यवहारतर्फ धकेल्न सक्छ।
८. नैतिक मूल्यको क्षय
मूल्य शिक्षा कमजोर हुनु, सार्वजनिक सेवाप्रति प्रतिबद्धता घट्नु र अनुकरणीय नेतृत्वको अभाव।
९. उजुरीकर्ताको असुरक्षा
भ्रष्टाचार उजागर गर्ने व्यक्तिलाई प्रतिशोध, धम्की वा सामाजिक दबाब पर्नु।
१०. प्रविधिको सीमित उपयोग
विद्युतीय शासन, डिजिटल निगरानी र डेटा–आधारित प्रणालीको अपूर्ण प्रयोगले मानवीय विवेकाधिकार बढ्नु।
भ्रष्टाचार विरोधी समाज निर्माणका अवरोधहरू र भ्रष्टाचार विरोधी समाज निर्माणका चरणहरुमा तादाम्यता
भ्रष्टाचार विरोधी समाज निर्माणका अवरोधहरू र निर्माणका चरणहरू एक–अर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्। अवरोधहरू पहिचान नगरी चरणहरू कार्यान्वयन गर्न खोज्दा प्रयास सतही हुन्छ भने चरणगत रणनीति नबनाई अवरोध हटाउन खोज्दा दिगोपन आउँदैन। त्यसैले यी दुईबीच तालमेल कायम गर्नु अत्यावश्यक हुन्छ।
दण्डहीनताको संस्कार भ्रष्टाचारको सबैभन्दा ठूलो अवरोध हो। यसको समाधानका लागि कानुनी तथा नीतिगत सुदृढीकरणको चरणमा कडा तर निष्पक्ष कानुन, समयबद्ध अनुसन्धान र शीघ्र न्याय प्रणाली लागू गर्नुपर्छ। जब सजाय सुनिश्चित हुन्छ, तब सामाजिक रूपमा भ्रष्टाचार अस्वीकार्य बन्छ। राजनीतिक संरक्षण र हस्तक्षेपको अवरोधलाई सम्बोधन गर्न नेतृत्व र उदाहरणीय आचरणको चरण प्रभावकारी हुन्छ। राजनीतिक र प्रशासनिक नेतृत्व स्वयं पारदर्शी र जवाफदेही बनेमा संस्थागत सुधार सहज हुन्छ र समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ। कमजोर संस्थागत क्षमता अवरोधलाई संस्थागत सुधार र क्षमता विकासको चरणसँग जोड्नुपर्छ। अनुसन्धान, निगरानी र कार्यान्वयन गर्ने निकायहरूलाई स्रोत, दक्ष जनशक्ति र प्रविधि प्रदान गर्दा चरणगत सुधार व्यवहारमा उतार्न सकिन्छ। सामाजिक स्वीकार्यता र मौनताको अवरोधलाई चेतना र मूल्य शिक्षाको विकासको चरणसँग तालमेल गरिनुपर्छ। नागरिक चेतना, नैतिक शिक्षा र सार्वजनिक बहसमार्फत घुस–कमिसनलाई सामान्य ठान्ने मानसिकता परिवर्तन गर्न सकिन्छ। पारदर्शिताको कमी र सूचनाको अभावलाई पारदर्शिता र प्रविधिको प्रयोगको चरणसँग जोड्नुपर्छ। विद्युतीय शासन, खुला तथ्याङ्क र डिजिटल सेवा विस्तारले मानवीय विवेकाधिकार घटाउँछ र भ्रष्टाचारका अवसर संकुचित गर्छ। आर्थिक दबाब र असमानताको अवरोधलाई नागरिक सहभागिता र सामाजिक निगरानीको चरणसँग समन्वय गर्दै रोजगारी, सेवा सुधार र अवसर विस्तारका नीतिसँग जोड्नुपर्छ। यसले नागरिकलाई प्रणालीप्रति विश्वास दिलाउँछ।
उजुरीकर्ताको असुरक्षाको अवरोधलाई प्रोत्साहन र संरक्षण व्यवस्थाको चरणसँग तालमेल गरिनुपर्छ। सुरक्षित उजुरी प्रणाली र सूचनादाताको संरक्षणले समाजलाई सक्रिय बनाउँछ। अवरोध पहिचान, चरणको प्राथमिकता निर्धारण, चरण कार्यान्वयन, अवरोध क्रमशः हटाउने प्रक्रियामा सहसम्बन्धको आवश्यकता रहन्छ । यी पक्षहरुमा निरन्तर समन्वय कायम राख्न सकियो भने मात्र भ्रष्टाचार विरोधी समाज निर्माण व्यवहारिक, प्रभावकारी र दिगो बन्न सक्छ।
सदाचारिता सहितको प्रतिबद्धता र प्रतिबद्धता सहितको सदाचारिता
सार्वजनिक पदाधिकारीहरूमा सदाचारिता सहितको प्रतिबद्धता र प्रतिबद्धता सहितको सदाचारिता दुवैको पूर्व अवलम्बन बिना भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन, किनकि भ्रष्टाचार केवल कानुनी कमजोरी वा निगरानीको अभावबाट मात्र उत्पन्न हुँदैन, यो मुख्यतः व्यक्तिको नैतिक चरित्र, मूल्यबोध र सार्वजनिक दायित्वप्रतिको आन्तरिक उत्तरदायित्वबाट जन्मिने वा रोकिने प्रवृत्ति हो। सदाचारिता बिनाको प्रतिबद्धता औपचारिक र देखावटी मात्र हुन्छ, जसले नीतिगत निर्णयहरूमा इमानदारी, पारदर्शिता र निष्पक्षता कायम गर्न सक्दैन; त्यस्तै, प्रतिबद्धता बिना सदाचारिता व्यक्तिगत सदगुणमा मात्र सीमित रहन्छ र संस्थागत सुधार, सेवाग्राहीप्रतिको उत्तरदायित्व तथा परिणाममुखी कार्यसम्पादनमा रूपान्तरण हुन सक्दैन। सार्वजनिक पदाधिकारीहरूलमा पद, शक्ति र स्रोतलाई व्यक्तिगत लाभको साधन होइन, सार्वजनिक हितको माध्यम ठान्ने मानसिकता नीतिनिर्माणदेखि कार्यान्वयनसम्म विकसित हुनु आवश्यक हुन्छ। यसको अवलम्बनले निर्णय प्रक्रियामा विवेक, सत्यको पक्षमा उभिने साहस, र अनैतिक दबाबको प्रतिरोध गर्ने क्षमता पैदा गर्छ, जसले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँछ र बाह्य निगरानीलाई पनि सहयोग पुर्याउँछ। साथै सदाचारिता र प्रतिबद्धताको संयोजनले संस्थागत संस्कृति निर्माण हुन्छ जहाँ नियम पालन डरका कारण होइन, कर्तव्यबोधका कारण हुन्छ; जहाँ पारदर्शिता दायित्व होइन, स्वाभाविक अभ्यास बन्छ र जहाँ जवाफदेहिता दण्डको भय होइन, पेशागत गर्वको विषय बन्छ।
साझा जिम्मेवारी साझा दायित्व
भ्रष्टाचार निवारण केवल राज्य संयन्त्र वा कानुन कार्यान्वयन निकायको जिम्मेवारी मात्र नभई जनता, नागरिक समाज, गैरसरकारी संस्था, निजी क्षेत्र, शैक्षिक प्रतिष्ठान तथा अन्य सबै सरोकारवाला पात्रहरूको जागरुक, निगरानीपूर्ण र समन्वयात्मक भूमिकाबाट मात्र सम्भव हुने साझा अभियान हो। जनता स्वयं सचेत र सक्रिय नहुँदा भ्रष्टाचार मौन स्वीकृतिको संस्कृतिमा रूपान्तरण हुन्छ, तर नागरिकले आफ्नो अधिकार र दायित्वबोधका साथ सार्वजनिक सेवा प्रवाह, बजेट खर्च र निर्णय प्रक्रियामा प्रश्न उठाउने, सूचनाको अधिकार प्रयोग गर्ने र अनियमितताविरुद्ध आवाज उठाउने अभ्यास गरेमा भ्रष्टाचारका अवसरहरू स्वतः सिमित हुन्छन्। नागरिक समाज र गैरसरकारी संस्थाहरूले सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ, स्वतन्त्र अनुगमन र नीतिगत वकालतमार्फत राज्य र निजी दुवै क्षेत्रलाई जवाफदेही बनाउने सेतुको भूमिका खेल्छन्। निजी क्षेत्रले निष्पक्ष प्रतिस्पर्धा, संस्थागत सुशासन र स्वनियमनलाई अंगीकार नगरेसम्म भ्रष्टाचार आपूर्ति माग दुवै पक्षबाट निरन्तर रहिरहन्छ। त्यसैले इमानदार व्यवसायिक अभ्यास र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनिवार्य हुन्छ। शैक्षिक प्रतिष्ठानहरूले मूल्यमा आधारित शिक्षा, अनुसन्धान र सार्वजनिक बहसमार्फत दीर्घकालीन चेतना निर्माण गर्छन्, जसले भ्रष्टाचारलाई सामान्य ठान्ने सोचलाई चुनौती दिन्छ। यी सबै पात्रहरूबीच प्रभावकारी समन्वय, सूचना साझेदारी, संयुक्त अभियान, प्रमाणमा आधारित बहस र संस्थागत सहकार्य स्थापित हुँदा निगरानी सुदृढ हुन्छ, दण्डहीनता घट्छ र सुशासनको वातावरण निर्माण हुन्छ। बहुपक्षीय जागरुकता, निरन्तर निगरानी र समन्वित अभियानले मात्र भ्रष्टाचारका संरचनात्मक कारणहरूलाई कमजोर पार्दै दिगो रूपमा भ्रष्टाचार निवारण संभव बनाउँछ।
उपसंहार
भ्रष्टाचार निवारण एकल संस्थाको प्रयासले होइन, सबै सरोकारवालाहरूको साझा प्रतिबद्धता र समन्वित कार्यबाट मात्र सम्भव हुन्छ। जनता सचेत र सक्रिय हुँदा, नागरिक समाज र गैरसरकारी संस्थाहरूले निरन्तर निगरानी र वकालत गर्दा, निजी क्षेत्रले सदाचार र निष्पक्षतालाई अंगीकार गर्दा, र शैक्षिक प्रतिष्ठानहरूले दीर्घकालीन मूल्य–आधारित चेतना निर्माण गर्दा भ्रष्टाचारका संरचनात्मक आधारहरू कमजोर हुन्छन्। यी सबै प्रयासहरूबीच प्रभावकारी समन्वय स्थापित भएमा दण्डहीनता अन्त्य भई सार्वजनिक प्रशासन र समाजमा सुशासनको संस्कृति संस्थागत हुन्छ।

तपाईको प्रतिक्रिया !