राजनीति केवल सत्ता प्राप्ति वा निर्णय प्रक्रियामा संलग्न हुने मात्र होइन; यो जनताको विश्वास, छवि र लोकप्रियता कायम राख्ने कला पनि हो। आधुनिक राजनीतिमा दल वा नेता आफूलाई जनतासँग जोड्ने, विश्वास जित्ने, र दीर्घकालीन प्रभाव कायम राख्ने प्रक्रिया कुनै कम्पनीले आफ्नो ब्रान्ड व्यवस्थापन गर्ने तरिकासँग धेरै मिल्दोजुल्दो छ। यस अर्थमा, राजनीतिक दलहरुलाई सार्वजनिक ब्राण्ड व्यवस्थापकको रूपमा पनि हेर्न सकिन्छ।
सफल ब्रान्ड व्यवस्थापनका लागि कम्पनीले सेवाग्रहीको माग अनुसार चल्न सक्नु पर्दछ। उदाहरणका लागि, नोकिया, कोडाक, वा ब्ल्याक बेरी जस्ता कम्पनीहरूले सुरुमा अत्यधिक लोकप्रियता हासिल गरे पनि, प्रविधि र बजार बदलिँदा समयमै अनुकूलन नगरेको कारण पछि अस्तित्व गुमाए। राजनीतिमा पनि यहि नियम लागू हुन्छ । जब दल विशेष वा नेता विशेष नयाँ सामाजिक, आर्थिक, वा प्रविधिक परिस्थितिसँग अनुकूल हुन सक्दैनन् भने उनीहरूको लोकप्रियता घट्छ र जनविश्वास कमजोर हुन्छ उनीहरु क्रमश पलायन हुदै जानु पर्ने हुन्छ।
सफल कम्पनीहरूले आफ्नो ब्रान्डको लोकप्रियता कायम राख्न धेरै रणनीतिहरू र अभ्यासहरू अपनाउँछन्। पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा भनेको ग्राहकको विश्वास जित्ने क्षमता हो। कम्पनीले आफ्नो उत्पादन वा सेवाको गुणस्तर निरन्तर उच्च राखेर ग्राहकको अपेक्षा पूरा गर्नुपर्छ। यदि उत्पादको गुणस्तर घट्यो वा सेवाको गुणस्तरमा कमी आयो भने, ग्राहकहरूको विश्वास घट्छ र ब्रान्ड कमजोर हुन्छ। दोस्रो हो नवीनता (Innovation) निरन्तर अपनाउनु आवश्यक छ। बजारको माग, प्रविधि, र ग्राहकको रुचि निरन्तर परिवर्तन भइरहन्छ। जसले आफ्ना उत्पादन र सेवामा नवीनता ल्याउँदैन, त्यो ब्रान्ड पछि पर्छ। उदाहरणका लागि, मोबाइल फोन उद्योगमा सफलता पाएको ब्रान्डहरूले हरेक वर्ष नयाँ मोडल, फिचर र डिजाइन ल्याएर ग्राहकको ध्यानाकर्षण गराउँछन्। तेस्रो पक्ष हो सशक्त मार्केटिङ र ब्रान्डिङ अनिवार्य हुन्छ। ग्राहकहरूलाई ब्रान्डको मूल्य, विश्वास, र विशिष्टता सम्झाउने काम निरन्तर हुनुपर्छ। विज्ञापन, सामाजिक संजाल, अभियान, र सार्वजनिक सम्बन्धका माध्यमबाट ब्रान्डलाई जीवित राख्न सकिन्छ। साथै, ग्राहकसँग सिधा संवाद र सहभागिता बढाएर ब्रान्डको साखलाई सकारात्मक राख्न सकिन्छ। ग्राहक अनुभव (Customer Experience) उत्कृष्ट बनाउनु पनि महत्वपूर्ण छ। उत्पादन वा सेवा खरीद गर्दा ग्राहकले व्यक्त गर्ने अनुभवले ब्रान्डको साख निर्धारण गर्छ। छिटो, सहज, र लाभदायी सेवा उपलब्ध गराउने कम्पनीहरूको ब्रान्ड सधैं लोकप्रिय रहन्छ।सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) पनि ब्रान्ड लोकप्रियता कायम राख्न सहयोग पुर्याउँछ। समाजमा योगदान दिने, वातावरणीय र सामाजिक मुद्दामा सचेत रहनु, र समुदायसँग जोडिनुले कम्पनीको सकारात्मक छवि बनाउँछ।
ठीक यसरी नै राजनीतिक दलले आफ्नो ब्रान्ड वा साख कायम राखिराख्न यस्तै प्रकारका कदमहरु चालिराख्नु आवश्यक हुन्छ । यसको लागि सबैभन्दा पहिला, जनताको विश्वास जित्नु राजनीतिक ब्रान्डको आधार हो। जसरी कम्पनीले उत्पादनको गुणस्तर र सेवाको विश्वसनीयतामा ध्यान दिन्छ, राजनीतिक दलले पनि वाचा पूरा, नीति कार्यान्वयन, र पारदर्शिता कायम राख्नुपर्छ। यदि दलले आफ्नो प्रतिवद्धता पूरा गर्न असफल भयो भने, जनताको विश्वास घट्छ र दलको ब्रान्ड कमजोर हुन्छ। यस सन्दर्भमा पारदर्शिता, जवाफदेहिता, र नैतिक नेतृत्व अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछन्।
नवीनता (Innovation) अपनाउनु राजनीतिक दलको लोकप्रियता कायम राख्न अनिवार्य नै हुन्छ। समयसँगै नागरिकको चाहना, प्रविधि, र सामाजिक संरचना परिवर्तन हुन्छ। सफल ब्रान्डहरू जसरी हरेक वर्ष नयाँ मोडल वा उत्पादन ल्याएर ग्राहकको ध्यानाकर्षण गर्छन्, राजनीतिक दलले पनि नयाँ नीति, योजना र सुधार ल्याउनुपर्छ। उदाहरणका लागि, युवापुस्ताको आवाज सुन्ने, डिजिटल संचार प्रयोग गर्ने, रोजगारी, शिक्षा, र स्वास्थ्य क्षेत्रमा समयानुकूल योजना ल्याउने काम दलले गर्नुपर्छ। पुराना सोच र अडानमा अडिएर बस्दा दल अप्रासंगिक हुन सक्छ।
सशक्त संचार र ब्रान्डिङ दलको लोकप्रियताको लागि अर्को अपरिहार्य पक्ष हो । कम्पनीले विज्ञापन, मार्केटिङ, र सामाजिक संजालमार्फत आफ्नो ब्रान्डको मूल्य र विश्वास कायम राख्छ। राजनीतिक दलले पनि यही रणनीति अपनाउनुपर्छ। निरन्तर संवाद, अभियान, सामाजिक संजालको प्रयोग, प्रेस ब्रिफिङ, र सार्वजनिक सम्बन्धले दलको छवि जनतासँग सकारात्मक रूपमा कायम राख्छ। जनतालाई स्पष्ट सन्देश पुर्याउनु, आफ्नो उद्देश्य र दृष्टिकोण जनतासँग साझा गर्नु, र दलको मूल मान्यतालाई स्मरण गराउनु यसमा मुख्य भूमिका खेल्दछ।
कम्पनीले उत्पादन वा सेवा प्रयोग गर्दा ग्राहकलाई सहज र लाभदायी अनुभव दिन्छ, राजनीतिक दलले पनि सेवा वितरण, कार्यक्रम कार्यान्वयन, र नागरिक समस्या समाधानमा दक्षता देखाउनुपर्छ। नागरिकले सेवा सहज, छिटो, र प्रभावकारी पाउँदा दलको छवि बलियो हुन्छ। यसले ब्रान्डलाई दीर्घकालीन लोकप्रियता दिन्छ।
सामाजिक उत्तरदायित्व र समुदायसँगको सम्बन्ध पनि दलको लोकप्रियता कायम राख्न महत्त्वपूर्ण छ। कम्पनीहरूले CSR (Corporate Social Responsibility) मार्फत समाजमा योगदान पुर्याउँछन्, त्यसैगरी राजनीतिक दलले पनि सामाजिक न्याय, वातावरणीय संरक्षण, र जनकल्याणका कार्यक्रमहरू लागू गरेर आफ्नो छवि सकारात्मक राख्न सक्छ। समुदायसँग जोडिनुले जनताको विश्वास र समर्थन बढाउँछ।
लगातारको विश्वास निर्माण दलको दीर्घकालीन लोकप्रियता सुनिश्चित गर्छ। सफल कम्पनीहरूले गुणस्तर, नवप्रवर्तन, र ग्राहक विश्वास निरन्तर कायम राख्छन्। राजनीतिक दलले पनि नीति सुधार, नेतृत्वमा नवप्रवर्तन, र जनताको अपेक्षा पूरा गरेर आफ्नो लोकप्रियता कायम राख्न सक्छ। यदि दलले समयसँगै सुधार नगरे वा पुराना सोचमा अडिग रह्यो भने, जनताको मनबाट दलको ब्रान्ड अप्रासंगिक हुन थाल्छ।
सफल राजनीतिक ब्रान्ड व्यवस्थापनमा नेतृत्वको गुणस्तर अत्यन्त महत्वपूर्ण हुन्छ। नेतृत्वले समयको परिवर्तन बुझ्न, रणनीति बनाउन, र दलको उद्देश्य जनताको आवश्यकतासँग मिलाउन सक्नुपर्छ। जसरी कमजोर नेतृत्वले कम्पनीलाई बजारबाट हटाउँछ, त्यसै गरी कमजोर नेतृत्वले दलको लोकप्रियता घटाउँछ। यहाँ युवा नेतृत्वको अवसर दिनु, अनुभवी नेतृत्वको मार्गदर्शनमा सुधार ल्याउनु, र निर्णय प्रक्रियामा पारदर्शिता राख्नु अत्यावश्यक छ।
यसरी राजनीति पनि एक प्रकारको सार्वजनिक ब्रान्ड व्यवस्थापन अर्थात Public Brand management हो जहाँ नेता Brand Ambassador हुन् नीति Product हो कार्यकर्ताहरु Marketing Officers र जनता Customer हुन् । यदि Product राम्रो छैन भने सो दल प्रति विश्वास घट्दै जाने गर्दछ। यो परिस्थितिलाई नबुझ्दा Brand Expire को सिद्धान्त राजनीतिमा लागू गर्दा समयानुकुल परिवर्तन नहुने नेतृत्व हराउँदै जान्छ, जनताको आवश्यकता नबुझ्ने नीति असफल हुन्छ र जन विश्वास गुमाउदै राजनीतिक अस्तित्व समाप्त हुदै जान्छ।
राजनीतिक दलको लोकप्रियता सार्वजनिक ब्रान्ड व्यवस्थापन जस्तो हुन्छ। कम्पनीको ब्रान्ड जस्तै, दलको ब्रान्डलाई सशक्त राख्न जनताको विश्वास, नीति नवप्रवर्तन, सेवा अनुभव, संचार रणनीति, सामाजिक उत्तरदायित्व, र नेतृत्वको गुणस्तरको निरन्तर व्यवस्थापन आवश्यक हुन्छ। जसले परिवर्तनशील समाज, प्रतिस्पर्धात्मक राजनीतिक वातावरण, र विविध सामाजिक आवश्यकतालाई समयमै बुझेर काम गर्छ, त्यो दल दीर्घकालीन रूपमा लोकप्रिय रहन्छ।
डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्
राजनीतिमा सार्वजनिक ब्राण्ड व्यवस्थापन- डा. दामोदर रेग्मी

तपाईको प्रतिक्रिया !