नेपाल निजामती कर्मचारी युनियनले शिक्षक आन्दोलनलाई समर्थन गर्दै सरकारलाई गम्भीर चेतावनी

नागरिक पाना
२०८२ बैशाख ९, मंगलवार १४:४०

काठमाडौं, नेपाल निजामती कर्मचारी युनियनले विद्यालय शिक्षक तथा कर्मचारीहरूले अगाडि सारेको आन्दोलनलाई पुनः समर्थन गर्दै सरकारलाई शैक्षिक क्षेत्रमा निजामती कर्मचारी परिचालन नगर्न कडा आग्रह गरेको छ।

युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ कि शिक्षक महासङ्घले उठाएका मागहरू शिक्षाको गुणस्तर सुधार र शैक्षिक हितसँग प्रत्यक्ष सम्बन्धित छन्, जसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ।

विज्ञप्तिमा कक्षा १२ को परीक्षा लगायतका शैक्षिक गतिविधिमा निजामती कर्मचारी परिचालन गर्ने सरकारको सम्भावित योजनाप्रति गम्भीर आपत्ति जनाइएको छ। युनियनले यस्तो कदम निजामती कर्मचारीहरूको पेशागत मर्यादा र तटस्थ भूमिकामाथि प्रहार हुने जनाएको छ।

“निजामती कर्मचारीलाई प्रयोग नगरी विगतमा जस्तै विद्यालय शिक्षक र कर्मचारी मार्फत परीक्षा लगायतका सम्पूर्ण शैक्षिक गतिविधिहरू संचालन गर्न वातावरण बनाइनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।

नेपाल निजामती कर्मचारी युनियनले राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकतालाई आत्मसात गर्दै शिक्षक आन्दोलनसँग ऐक्यबद्धता प्रकट गरेको हो।