नेपालको वर्तमान राजनीति : यथार्थ, संकट र अपेक्षित मार्ग
राजनीति कुनै एक दल, व्यक्ति वा सत्ताको खेल मात्र होइन; यो राष्ट्रको सामूहिक चेतना, नैतिक स्तर र भविष्य निर्माणको आधार हो। नेपालको वर्तमान राजनीतिक अवस्था हेर्दा जनमानसमा एक प्रकारको प्रश्न उब्जिएको छ— “राजनीतिमा के हुँदैछ, र वास्तवमै के हुनुपर्थ्यो?”
नेपालको वर्तमान राजनीतिक अवस्था
सत्ता–केन्द्रित राजनीति
आज नेपालको राजनीति नीतिभन्दा सत्ता मा केन्द्रित देखिन्छ। एकातिर सरकार बनाउने र ढाल्ने खेल चलिरहेको अवस्थाले स्थायी व्यवस्था र राष्ट्रिय अखण्ड नीतिनिर्माण तथा स्थायी व्यवस्थायोग्य रणनीतिक कार्यहरूले प्रश्रय पाएको अवस्था छैन । त्यसैमा गठबन्धनको अंकगणित, मन्त्रालयको भागबण्डा आदि विषयले मात्र राष्ट्रिय बहस ओगटेको छ। यहि स्वस्वार्थनिहित योजनाका कारण राज्य सञ्चालनको मूल उद्देश्य जनकल्याण होइन, सत्ताको निरन्तरता बनेको अनुभूति हुन्छ ।
वैचारिक विचलन
राजनीतिक दलहरूका घोषणापत्र र व्यवहारबीच ठूलो अन्तर देखिन्छ। समाजवादको कुरा गर्नेहरू सत्तामा पुग्नासाथ पूँजीवादी विलासी जीवन जिउने र २ दिन अगाडी मात्र उग्र रोदनका साथ गरिएको सुशासनको नारा सत्ताशिन भएपछि भुलेजस्तो गर्ने गरेको खल्लो ईतिहास बनाउन सफल छन् । सरकारबाहिर हुँदै गर्दा सरकारबाटै सम्भावित परिवर्तनको दाबी गर्नेहरू आफू त्यही स्थान र ओहदामा हुँदा पुर्खाको बिंडो संरक्षण गरेजस्तै गरि आफैले विरोध गरिरहेको पुरानो सरकारको पुरानै प्रवृत्तिको अनुसरण गरिरहेको अवस्था छ । यसले राजनीतिलाई विचारविहीन अभ्यास , स्वार्थनिहित पदलोलुपता र नि:सन्देह खुला चुनौतिमुक्त स्वार्थ पूरा गर्ने जागिरको रुपमा सीमित गरिदिएको छ।
दलभित्रको आन्तरिक अलोकतन्त्र
नेतृत्व पुस्तौंदेखि उही अनुहारमा सीमित छ। जनताले चाहेर पनि नयाँ नेतृत्व पाउने कुनै आधार देखिदैन । जसको शक्ति उसैको भक्तिको चरम सीमा दलीय नेतृत्वमा स्पष्टतम देखिन्छ । राष्ट्र र राष्ट्रियताप्रति सशक्त बन्न खोज्नेहरूलाई पनि पार्टी अध्यक्ष वा सभापतिहरूका अन्धभक्त नै बन्नुपरेको बुझिन्छ । अन्यथा वहिष्कार , दण्ड सजाय र निस्कासन सम्म गरिएको घटनाहरू सुन्न पढ्न र बुझ्न सकिन्छ । नेतृत्व चयनमा पनि निर्वाचनभन्दा मनोनयन गर्ने परम्परा अत्यधिक देखिन्छ । अनेकौं चलखेल , अनेकौं रणनीतिको प्रयोग गरेर भएपनि उच्च ओहदामा रहेको व्यक्ति नमरुन्जेल उत्तराधिकारीले अवसर पाउने अवस्था हुदैन । यहि व्यवस्थाले गर्दा राष्ट्रिय निर्णय समेत केही व्यक्तिमा मात्र सीमित भएको अवस्था छ । निर्णायक बनेकै व्यक्तिमा पनि यति दम्भ र आततायी प्रवृति देखिन्छ कि राष्ट्र र राष्ट्रियताप्रति प्रश्न उठाउने कार्यकर्तालाई समेत दण्ड दिन तयार छ । यस प्रवृतिले दललाई संस्था होइन, व्यक्तिको निजी संरचना बनाइदिएको छ।
त्यसकारण राजनीति र जनताको दूरी बढ्दो छ। युवाहरू राजनीतिप्रति वितृष्ण छन् । परिणामस्वरूप युवाहरू देश निर्माण छोडेर वैदेशिक रोजगारीमा निर्भर भएको अबस्था छ । यस्तै अवस्थाले गर्दा उद्यमशील युवाहरुको पलायन हुनुपर्ने बाध्यता नै बनेको अवस्था छ । यदि कुनै युवा विदेशिन नचाहेकै अवस्थामा पनि स्वदेशभित्र उसको सीप र ऊर्जा खेर जानुबाहेक अर्को उपलब्धी छैन । यो नेपाल र नेपालीको ललागी दीर्घकालीन राष्ट्रिय कमजोरी नै बनेको छ
नेपालको राजनीतिमा के हुनुपर्छ? (अपेक्षित दर्शन)
नैतिक राजनीतिमा पुनःस्थापना हुनुपर्छ धर्मशास्त्रको “राजधर्म” सँग जोडिएर राजा होस् वा जननिर्वाचित शासक जोसुकै भए तापनि “प्रजासुखे सुखं राज्ञः”(जनताको सुखमै शासकको सुख हुन्छ) भन्ने नीतिगत सिद्धान्तमा रहि राजनीतिक निर्णयहरू निश्वार्थ न्याय र कर्तव्य बाट निर्देशित हुनुपर्छ र नीति–केन्द्रित शासन हुनुपर्छ । सत्ता केन्द्रित नभइ नैतिक प्रतिस्पर्धा हुनुपर्छ।
प्रमुख प्राथमिकतामा गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, स्वदेशमै रोजगारी , कृषि र उद्योगको आधुनिकीकरण, ऊर्जा र पर्यटनको सदुपयोग गरिनुपर्छ । हरेक दलले के गर्छु भन्दा पनि कसरी गर्छु भन्ने कुरालाई स्पष्ट गर्नुपर्छ। दलभित्र लोकतान्त्रिक संस्कारलाई प्रमुख मान्नुपर्छ र नेतृत्वमा समयसीमा बनाउनुपर्छ । दलीय नेतृत्वका लागि पारदर्शी निर्लागीका साथसाथै आम जनताको विचारको सम्मान गरिनुपर्छ । विशेषगरी पुरानै विचार र शैलिभन्दा परिस्कृत , विकासवादी चेतनाका साथसाथै युवालाई नेतृत्वमा स्थान दिनैपर्छ । यसरी संचालित दलहरू जब लोकतान्त्रिक बन्दछन् , तबमात्र राज्य पनि लोकतान्त्रिक बन्छ।
युवाको निर्णायक भूमिका
युवालाई केवल झण्डा बोक्ने कार्यकर्ता होइन, नीति निर्माता बनाइनुपर्छ। स्टार्टअप, अनुसन्धान, प्रविधि र स्थानीय शासनमा युवाको नेतृत्व अपरिहार्य छ।
राष्ट्रिय मुद्दामा सहमति
दल फरक हुन सक्छन्, तर राष्ट्रिय अखण्डता, संविधानको रक्षा, संघीयताको सुदृढीकरण, आर्थिक आत्मनिर्भरता , आदि विषयमा साझा दृष्टिकोण अनिवार्य छ।
धार्मिक–दार्शनिक दृष्टिबाट राजनीतिलाई हेर्ने हो भने
पूर्वीय दर्शनमा राजनीति सेवा साधना हो, व्यापार होइन।
राजनीतिज्ञ भनेको त्याग, तपस्या र उत्तरदायित्व बोकेको सेवक
हो, शासक मात्र होइन। जब राजनीतिमा धर्म (नैतिकता) हराउँछ, त्यहाँ केवल शक्ति बाँकी रहन्छ र शक्ति नियन्त्रणविहीन भयो भने विनाश निश्चित हुन्छ।
नेपालको समस्या राजनीति हुनु होइन, राजनीति गर्ने चेतना कमजोर हुनु हो। यदि नीति प्रधान बन्यो, नैतिकता स्थापित भयो, युवाशक्ति नेतृत्वमा आयो र दलभित्र लोकतन्त्र बलियो बन्यो भने नेपालको राजनीति रोग होइन, उपचार बन्न सक्छ।
—
काठमाडौ ,नेपाल
(व्याकरणाचार्य, दर्शनाचार्य , कथावाचक एवं ज्योतिषी

तपाईको प्रतिक्रिया !