
जीवनमा कोही वृत्ति मात्र अँगाल्छन्, कोही पेशावृत्तिका साथ साहित्य सिर्जना र अरु क्षेत्रमा पनि समान रुपमा सक्रिय रहन्छन् । दामोदर रेग्मीले लामो समय निजामती सेवालाई आफ्नो वृत्तिका रुपमा अपनाए पनि अरु विषयविधामा पनि त्यत्तिकै सक्रिय भए र अविश्रान्त लागि रहेका छन् । लेखन, साहित्य र गीत–सङ्गीतमा लाग्नु उनको आत्मिक प्रेरणा हो । किनकी यो पेशा होइन, यस्ता विधामा लाग्दा आत्मानन्द बाहेक अन्य पाइदैन । तर यसले युग, समाज र पुस्ताहरुलाई डो¥याउन मद्दत गर्दछ । अर्को शब्दमा भन्दा यसले सामाजिक प्रजननशीलतालाई उकेरा दिन्छ ।
दामोदर रेग्मीलाई दुई दशकअघि देखि नै चिन्थें । कुनै समय हामी एकै निकायमा काम गर्थ्यौं, हाम्रो निकाय नीति व्यवस्थापन गर्ने केन्द्रीय निकाय थियो । निरन्तर काम र अध्ययनमा लाग्ने बानी मैले त्यतिबेलादेखि नै पाएको छु । सरकारी सेवामा लाग्ने धेरैजसो मानिसहरु पदलाई जिम्मेवारीभन्दा पनि अवसरका रुपमा लिन्थे । रेग्मी तिनमध्ये थोरैमा पर्थे जो स्वप्रेरणाले काम गर्थे, काम नै कार्यप्रेरणा सम्झन्थे र कामबाट बचेको समय अध्ययन–अध्यपनमा लगाउथे । उनलाई नजिकबाट नियाल्दा पनि उनको साहित्यिक व्यक्तिबाट म परिचित थिइन । म आफू पनि बचेको समय निवन्ध, कथा, समालोचना र नियात्रा लेख्थे, हामीले काम गरेका संगठनमा केही अव्व्वल कवि र अन्य विधाका स्रष्टा थिए तर उनको गीति व्यक्तित्व मैले ठम्याएको थिइन । शायद उनको अन्तरङ्ग मैले पढ्न सकेको रहेनछु ।
जागिरको क्रममा हामी एकै ठाउमा रहन सम्भव थिएन, म प्रमोशन भएर अन्य कार्यालयमा लागेँ, उनी पनि त्यसैगरी वृत्तियात्रामा अन्यत्र पुगें । त्यसपछि भने उनका गीत तथा विचार प्रधान लेख रचनाहरु प्रकाशन÷प्रसारणमा आए । मैले थाहा पाए उनको अर्को व्यक्तित्व पनि रहेछ । व्यवस्थापकीय व्यक्तित्वले सिर्जनात्मक व्यक्तित्वलाई कसरी थिच्दो रहेछ भन्ने पनि लाग्यो, जुन आफ्नैमा पनि मैले अनुभव गरेको थिएँ । व्यवस्थापनको जिम्मेवारीमा लागिरहँदा मनभित्र मडारिएका उकुसमुकुसले उही समय र सर्जमिनमा सिर्जनात्मक रुपान्तरण पाउँदैनन् र व्यक्ति आफैभित्रको अन्तद्वन्द्वमा गहिरिन्छ । वृत्तिलाई पनि अन्याय नगर्ने र आफ्नो विवेकलाई पनि न्याय गर्ने सन्तुलनमा आउन समयले पनि दिदैन । यस अवस्थामा वृत्ति प्रधान हो र सिर्जना सहायक । जसले गर्दा सिर्जनाशक्ति गुम्सिएर बस्छ । कसैगरी बचेको समय मात्र सिर्जनामा लगाउन अतिरिक्त मिहेनत र लगन चाहिन्छ, स्वार्थलाई समर्पण गर्नु पर्दछ । मैले त्यसै गरेको थिएँ । रेग्मीले पनि त्यसै गरे–वृत्तिजिम्मेवारी र आत्मिक आदेशलाई कसैगरी सन्तुलनमा ल्याए र अहिलेको दामोदर रेग्मीको पहिचान निर्माण भयो । यसबाट अन्य पेशामा लागेकाहरु सिर्जनामा आउन प्रेरणा दिएको छ भन्ने मलाई लाग्दछ । यस्तै व्यक्तित्व मैलै डा.अर्जुनदेव भट्टमा देखेको छु, जो चिकित्सकको जिम्मेवारीमा रहेर साहित्य सिर्जनामा अहोरात्र लागेका छन् । डा.भोला रिजाल र राममान तृषितले पनि चिकित्सा र गीतलाई साथसाथ अपनाए । विमल कोइराला, युवराज मैनाली, प्रह्लाद पोखरेल, रमेश विकल, दिनेश अधिकारी, लव गाउलेहरु यस कोटीमा पर्दछन् । विश्व साहित्य नियाल्दा चिकित्सक भएर पनि आन्तोन चेखोव, जोहन किट्स, कार्लोस विलियम्स, साहित्यबाट स्थापित भएको देखिन्छ । खालिद हुसेनी कर्मचारी भएर पनि साहित्यमा लागे, उनको काइट रनर धेरैको मनमा सजेको छ । विज्ञान, व्यवस्थापन, प्रविधि, प्राध्यापन, इञ्जिनियरिङ्ग क्षेत्रमा पेशावृत्ति अवलम्वन गरेका मानिसहरु आफ्ना पेशामा रहेका मानवीय संवेदनाका उकुसमुकुसहरु कला, साहित्य सिर्जना मार्फत प्रकाशन गर्छन् । प्रकाशनमार्फत पेशाको सीमित घेराबाट उन्मुक्त आकाशमा आइपुग्छन् । मुक्तिको फराकिलो आकाशमा ओर्लिन्छन् र रमाउछन् । दामोदर रेग्मी यसै कोटीमा पर्दछन् । मैले त सार्वजनिक जीवनमा देखेका पीडा–वेथिति र आफैमाथि भएको अन्यायलाई पनि साहित्यको कलेवरमा प्रस्तुति गरेको छु ।
रेग्मीका गीतबाट म पनि प्रभावित छु । मलाई लाग्छ मानवीय संवेगलाई कलापूर्ण गेयशुलभ अभिव्यक्ति दिएपछि त्यो गीत बन्छ । गीति संरचनामा स्थायी–अन्तराका आवृत्ति हुन्छ, आरोह र अवरोहको एउटा सङ्गति हुन्छ । कालजयी गीतकार शब्द, संरचना, भावना र शिल्पलाई एउटा लयमा कुदेर गीत बनाउँछन् । यो कविता काव्यको उपविधा हो । नेपाली गीतकारहरु किरण खरेल, राममान तृषित, दिनेश अधिकारी, यादव खरेल र रत्नशमशेर थापाको पदचाप रेग्मीले पक्डिदैछन् । उनका थुप्रै गीत छायाङ्कन भै स्रोताहरुको मन जितिरहेका छन् ।
उनका गीतको प्रवृत्ति विश्लेषण गर्दा प्रेम, प्रणय, प्रकृति र प्रोत्साहन उनका गीतका प्रधान विषय हुन् । जिन्दगीको पाठशाला नैतिक आचरण र कर्मलाई प्रोत्साहन गर्ने गीत हो । अलिकति हास्नु तिमी माया र पिरतीको ढुकढुकी हो । यो मनको चाहना युवाहरुलाई पे्रमिल परिवेशमा उतार्ने गीत हो । एक अञ्जुली माया मायाका भावनालाई प्रकृतिको उपमासाथ उतारिएको गीत हो । सिरोटोले छुँदै छुन्न बेजोड शब्दशक्तिको गीति प्रहार हो जसले सङ्गीतप्रेमी सबैलाई भुतुक्क पार्छ । डाडा पारी घाम डुव्यो विरह र प्रतीक्षाको आत्मिक भाव हो । आजका हामी बालक अर्लि रिडरदेखि च्पाप्टर रिडिङ उमेर समूहसम्मका बालबालिकाका लागि लेखिएको बालगीत हो, बालसाहित्यले सकारात्मक उर्जा र नैतिक आचरणलाई प्रधानता दिन्छ । यो गीतले त्यसै गरेको छ । उनका गीतहरु उनका मनबाट सिर्जना भएर हाम्रा मनसम्म आइपुुग्छन् । मनको स्पर्श गरेर निस्केका भावनाहरु साँच्चै युवा ढुकढुकी हुन् । गीत लेख्न उमेर र अवस्थाले छेक्दैन भन्ने पनि देखाएको छ ।
सिरेटोले छुँदै छुन्न गीतिसङ्ग्रहमा रेकर्ड भएका २४ गीतहरुले जीवनका विभिन्न मोडहरुलाई समाएका भावनाहरु अभिव्यक्त भएका छन् । नविर्सिने कथा त्यो मीठो पाना तिमी, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, तारा जूनको त्यो रातमा, त्यो लजालु मुस्कानको तीर नहान, विर्सने पो कसरी परेली कुरिरहेछ लगायतका गीतहरु प्रेम प्रणयमा कुदिएका सुन्दर सुसेली हुन् । प्रकृतिको मुटुमा साँच्ने कि जस्ता गीतले प्रेम प्रणयलाई प्रकृतिमा पुुर्याएको छ । केही गीतहरु विरह वेदनामा त केही प्रेम बासनामा छन् । साझा विशेषता सबै गीतहरु मनमुटुुबाट मुुल फुटेर छुटेको छहरा हुन्, त्यसैले ती हृदयस्पर्सी छन् । गीत मष्तिष्कबाट होइन हृदयबाट जरुवा फुटेर मनमजेरीसम्म पुग्छन् भन्ने रेग्मीको गीतले देखाएको छ । शब्दहरु सल्लल वगेका सरल र सरस छन्, अभिब्यक्तिमा मधुर माधुर्यमय ध्वन्यात्मकता छ । यस अर्थमा रेग्मीका गीत उनको युग, उनको बय र उनकै समयमा गीत हुन् । अचेलका गीतहरु मन छुने होइन, शरिरलाई च्वास्स छुन्छन्, न कि नाद, मधुरता, लय र तालको हर्दिकतामा रहन्छन् । त्यसैले अचेलका गीत शरिरका हुन्, रेग्मीका गीत मनका । रेग्मीले गीत यात्रामा किरण खरेल र चेतन कार्की जस्ता हस्तीको बाटो समाएका छन् । गीतहरु खारिदै र खिरिदै छन् ।
दामोदर रेग्मी कवितामा, लेख रचनामा, गीतमा, व्यवस्थापनमा र विचारमा देखिएको नाम हो । यी सबै विषयविधामा उनको समान सहभागिता छ, लगनशीलता र निरन्तरको समर्पण छ । उनी सबै ठाउमा दौडिदा उनको सिर्जनाको प्रधान विधा चाँहि छायाँमा पर्ला वा पाउनु पर्ने जति समय र साथ नपाउला कि भन्ने चिन्ता लाग्छ । तर उनको सक्रियता र समर्पण लोभलाग्दो छ, पक्कै त्यसो हुन दिने छैनन् । उनको अविश्रान्त सक्रियता र समर्पणका कारण नै आजको दामोदर रेग्मीको पहिचान बनेको हो ।
प्रशासनमा दामोदर रेग्मी सुशासनको पक्षपाती हुन् भने गीतहरुमा प्रेम प्रकृतिका पुजारी । समसामयिक लेख रचनामा उनी समयको आवाज र आवश्यकता बोल्दछन् । उनको दृष्टिकोणमा पूर्वीय चिन्तनको प्रभाव छ । उनी जे बोल्छन्, लेख्छन् आफै भएर आफूलाई अन्तरवोध गरेर लेख्छन्–बोल्छन् । त्यसैले उनका अक्षर र शब्दमा युगको आवश्यकता, समयको चेत र जीवनको अभिष्ट छ । निवृत्तिपछि उनको सिर्जनाले अरु उर्वर समय पाएको छ । उनको गीति तथा सिर्जना यात्रा निरन्तर अगि बढोस् भन्ने शुभकामना । @mainalugopi
गोपी मैनाली वरिष्ठ स्रष्टा, समालोचक र विचार निर्माता हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीव्दारा लिखित गीतकारको कलमबाट साभार गरिएको हो