कथाकारको दृष्टिमा गीतकार डा. दामोदर रेग्मी-विवेक शर्मा गौतम, कथाकार


मित्र डा. दामोदर रेग्मी संग मेरो पहिलो भेट अमृत क्याम्पसमा भएको थियो। हामी एम एस सी का सहपाठी अन्तरङ्गी हौं ।उहाँ भद्र,सरल,शालिन,मिलनसार,मिजासिलो मृदुभाषि र जिज्ञासु हुनुहुन्थ्यो,हुनुहुन्छ। चार दशक अगाडि नै हामी साथी बन्यौं। विद्वता, आत्मीयता र सरल व्यवहारले हाम्रो मन साथीको मालामा उनियो । विद्यार्थी जीवनका संघर्ष,अध्ययन,हाँसो-ठट्टा र साझा सपना साटासाट गरिएका ती दिनहरू अझै मानसपटलमा ताजा छन्।अमृत छात्रावासको क्यान्टीनको त्यो सानो कुनो, जहाँ हामी दिनहुँ संगै बसेर खाना खाँन्थ्यौं, आज पनि सम्झिँदा मन भरंग हुन्छ । डा. दामोदर रेग्मीसँगको त्यो आत्मीय मित्रता केवल कक्षाकोठासम्म सीमित थिएन। हामीले जीवनका योजना, भविष्यका सपना र अध्ययनका गहिरा कुरा पनि त्यही थालको छेउमै साटासाट गर्थ्यौं। भात, तरकारी र साथमा ज्ञानको स्वाद पनि उत्तिकै मिठो लाग्थ्यो । त्यो पल्लवित जीवन, जहाँ सरलता र संघर्ष सँगसँगै हिँड्थे, कहिल्यै नबिर्सिने सम्झनाको कडी बनेर आज पनि मनमा जीवित छन्।
एक दिन डा. दामोदर रेग्मीले उत्साहित स्वरमा भन्नुभयो, “मेरो नाम संचय कोषमा निस्क्यो।” त्यो खबरले मलाई खुशी बनायो । उत्सुकताले मलाई उहाँको अफिससम्म तान्यो, र म उहाँको कार्यस्थल हेर्न गएँ। संगै बसेर पिएको त्यो चिया, साधारण लागे पनि हाम्रो मित्रताको अर्को अध्याय बन्यो । कुर्सीमा आत्मविश्वासका साथ बसेका उहाँलाई देख्दा, मैले पहिलोपटक उहाँको जागिरे जीवनको गहिराइ अनुभव गरेँ। विद्यार्थी जीवनका साथीलाई जिम्मेवारीपूर्ण भूमिकामा देख्दा गर्वको अनुभूति हुनेनै भयो । त्यतिबेलै अध्ययन र कामलाई संगै संगै लिएर जाँदा उहाँलाई परिश्रमी र अति मेहनति भन्ने मैले बुझें ।
डा. दामोदर रेग्मी र म हाम्रो जीवनको यात्रामा आ-आफ्ना कर्मका दिशातिर अघि बढ्दै गयौं। अध्ययन, पेशा र व्यक्तिगत जिम्मेवारीले हामीलाई फरक बाटोतिर डोर्यायो। सुरुवातमा नियमित सम्पर्कमा रहेका हामी क्रमशः आ-आफ्ना व्यस्त जीवनशैलीमा अल्झिदै गयौं। समयसँगै कुराकानी कम हुँदै गयो र अन्ततः हाम्रो सम्पर्क निकै पातलो भयो। यध्यपी भौगोलिक,व्यवहारिक र व्यावसायिक दूरीले हामीलाई अलि टाढा बनायो । हाम्रो पुरानो मित्रता भने सधैं हृदयमा अमिट रह्यो। जीवनको गति कहिलेकाहीँ सम्बन्ध भन्दा अगाडि बढ्दो रहेछ।
जीवनको विविध आयाममा योगदान पुर्‍याउँदै अगाडि बढिरहनुभएका गीतकार, साहित्यकार तथा नेपाल सरकारको प्रशासन, नीतिनिर्माण, सार्वजनिक वित्त व्यवस्थापन र अनुसन्धान क्षेत्रमा विशेष योगदान दिनुभएका डा. दामोदर रेग्मी नेपाल सरकारको उच्च पदस्थ कर्मचारी भएर काम गर्नु भयो। उहाँ अहिले सेवानिवृत्त हुनुहुन्छ। तैपनि आफ्ना सबै क्षेत्रमा त्यत्तिकै सकृय हुनुहुन्छ।
डा. रेग्मीलाई बुझ्न मेरा लागि एउटा लघुकथा सन्दर्भित गर्न चाहान्छु । कुनै समय, एक स्थानमा एक पात्र हुन्छ, जो दिनको उज्यालोमा सरकारको प्रशासनिक भार र दराजमा नीतिनिर्माणका ठेली थुपार्दै ,रातको चकमन्न अॅध्यारोको समयमा विशिष्ट औपचारिक अध्ययन,सामाजिक कथाब्यथा र कविताका अक्षरहरूलाई गीत संगीत साहित्यमा ढाल्दै जान्छ । ऊ छोटो समयमा कुशल प्रशासक कवि, कथाकार,गीतकार समग्र साहित्यकार भएर एक्कासी झुलुक्क निस्कन्छ,बिहानीको सूर्य झैं । यस्तै एउटै पात्रमा देखिने विविधता, गहिराइ, र समर्पणका अभिव्यक्तिहरू डा. दामोदर रेग्मीको व्यक्तित्वमा बहुआयाम झल्कन्छ । एक कथाकारका लागि यस्ता पात्रहरू कल्पनाबाट होइन, यथार्थबाट जन्मिन्छन्  | उहाँ जस्तो बहुआयामिक व्यक्तित्वले नै साहित्य, गीतसंगीतका कथालाई जीवन्तता दिन्छन्।
गीतकारको रूपमा डा.रेग्मीले सिर्जना गर्नुभएको गीतहरू केवल लय र शब्दको संयोजन मात्र होइनन्, ती गीतहरू मनको कथा हुन्। कथाकार जस्तै, उहाँले पनि शब्दहरूबाट जीवनका अनुभूतिहरू बुन्नु भएको छ । कहिले मायाका चोखोपन देख्नुहुन्छ, कहिले विछोडका वेदनाहरू, कहिले देशप्रेमको हुंकार त कहिले शान्त सामाजिक चेतनाको सन्देश । उहाँका गीतहरू कथाहरू जस्तै आफ्नै गतिमा बग्छन्, श्रोताको हृदय छोएर ।
पछिल्नो समयमा उहाँका गीतरचनाहरु एक अञ्जुली मायाको उपहार छरिदेउ, जिन्दगीको पाठशाला,सिरेटोले छुदै छुन्न र अलिकति हाँस्नु तिमी अलिकति म हाँसुला जस्ता गहिरा भाव र कथा लुकेका गीतहरु नेपाली समाजको मन मुटुमा भिज्न सफल भईसकेका छन्। यी गीतहरुलाई जीवन्त बनाउने ख्याति प्राप्त वरिष्ठ कलाकारहरुको अहम भूमिका छ। उहाँहरू पनि बधाईका पात्र हुनुहुन्छ। लघुकथाकारको नजरमा डा. दामोदर रेग्मीका गीतहरू केवल भावनात्मक मनोरञ्जनको माध्यम मात्र होइनन्, ती समाजको गहिरो चित्रण गर्ने साहित्यिक कथा कविताका दस्तावेज झैँ लाग्छन्। लघुकथा जस्तै छोटो, गहिरो र सारगर्भित भावमा उनले आफ्ना गीतहरू प्रस्तुत गर्छन्। एक लघुकथाकारले हेर्दा उनका गीतहरूमा पात्रहरू देखिन्छन्—कहिलेकाहीँ पीडामा रोइरहेका, कहिलेकाहीँ आशामा मुस्कुराइरहेका । गीत सुन्नेहरूको दिमागमा झट्का दिइरहेका । कालजयी स्मृतिमा बसिरहेका ।
साहित्यमा गहिरो रुचि राख्दै व्यावसायिक जीवनमा सार्वजनिक नीतिको जटिल संरचनामा सन्तुलन बनाउँदै हिँड्नु,चानचुने कुरा होइन। कथाकारले जस्तै समाजका तह-तहलाई बुझ्न सक्ने दृष्टि चाहिन्छ, जसबाट नीति बनाउन सकिन्छ, बजेटको प्राथमिकता तोक्न सकिन्छ, अनि जनताको पीडा बुझ्न सकिन्छ। डा. रेग्मीको व्यावसायिक यात्रामा देखिने यो समझदारी, तथ्य विश्लेषणमा आधारित नीति निर्माणको दृष्टिकोण, अनि प्रशासनिक क्षमता कुनै कल्पना होइन।यो वास्तवमै देशको नीतिगत विकासमा योगदान पुर्‍याउने कुरा हो। लेख्दा जुन स्तरको साधना,अनुसन्धान, गहिरो सोच र भावनात्मक अन्तरदृष्टि चाहिन्छ, यी सबै उहाँको काम,भाव र कलममा झल्किन्छन्।
एक कथाकारको दृष्टिकोणबाट हेर्दा, डा. रेग्मी कुनै सामान्य पात्र हनुहुन्न । उहाँका एक दर्जन भन्दा बढी पुस्तकहरू र करिब दुई हजार भन्दा बढी अनुसन्धान लेख तथा साहित्यिक रचनाहरु प्रकाशित भइसकेका छन्। उहाँ एक प्रेरक चरित्र हुनुहुन्छ, जसले आफ्नो जीवनका अध्यायहरू गीत गजल कविता र सेवामार्फत पस्कीरहनुभएको छ। हरेक सिर्जना, चाहे त्यो शब्दको होस् वा नीति निर्माणको, कुनै कथाभित्रको सन्देश जस्तै लाग्छ । हुन त उहाँले सिर्जना गर्नुभएका गीतहरू आफैमा कथाहरू हुन्, जसले धेरैको मन छोएको छ। अनि, उहाँको सेवा क्षेत्रले असंख्य जनताको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको छ । कसैको लागि शिक्षाको पहुँच बनाएको छ, कसैको लागि स्वास्थ्य सेवा सजिलो बनाएको छ, त कसैको लागि रोजगारको सम्भावना जन्माएको छ।ति सबै कथा लघुकथामा आयाम,बुनोट र पात्रहरूले खेलेका भूमिका जस्तै हुन्।
जब साहित्य सिर्जना एउटा कथाको आयाम भएर आउँछ र त्यसले सर्जकलाई आदर्श बनाउॅछ, तब तिनी केवल शब्दहरू मात्र हॅुदैनन्, समाजमा भावना र प्रेरणा बन्छन्। डा रेग्मीका सिर्जनाहरू अझ बढी जनमानसमा पुगुन्, साहित्यिक सिर्जनाले नयाँ पिँढीलाई प्रेरणा दिओस्, अनि नीति-निर्माण गीत संगीत अनुसन्धानमा आधारित सेवाले देशलाई अझ सक्षम र समृद्ध बनाउने दिशामा ठोस टेवा पुगोस्।
डा. दामोदर रेग्मीले ‘गीतकारको कलम’ शिर्षकको e-book प्रकाशन गर्न लाग्नु भएकोमा मेरो साहित्यिक श्रद्दा,गहिरो सम्मान र उक्त पुस्तकको सफलताको शुभकामना व्यक्त गर्दछु।

(विवेक शर्मा गौतम कुशल कथाकार हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीको इबुक ‘गीतकारको कलम’ बाट साभार गरिएको हो)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको