हामी सवै जिन्दगीको पाठशालाका विद्यार्थी हौं जसले हामीलाई सदा सकारात्मक र आशावादी बन्न प्रेरित गरिरहन सक्नु पर्दछ
वरिष्ठ प्रशासनविद् एवं नवोदित गीतकार डा. दामोदर रेग्मी संभावना बोकेका गीतकारको रुपमा उदाउनु भएको छ। उहाँद्वारा लिखित थुप्रै गीतहरू अहिले चर्चामा रहेका छन् । सिरेटोले छुदै छुन्न गीति संग्रह लगायतका उहाँको कैयन गीतहरुको स्वरांकन र म्यूजिक भिडियो सार्वजनिक भए पछि उहाँ अहिले नेपाली संगीतमा एउटा आशालाग्दो गीतकारको रुपमा चिनिनुहुन्छ। डा.रेग्मीका हरेक शब्दमा नयाँ खाेज र सन्देशले लोकप्रिय गायक गायिका र संगीतकार संगको सहकार्य नै उहाँद्वारा रचना गरिएका गीतका विशेषताहरु हुन् । उहाँले शब्द रचना गर्नुभएको गीतमा ख्याति प्राप्त एवं लोकप्रिय कलाकारहरूले गीत गाउन संगीत दिन र अभिनय गर्न इच्छा देखाइरहेका छन् । यिनै परिवेशमा रहेर डा. दामोदर रेग्मी संग गरिएको अन्तरंग कुराकानीको सार प्रस्तुत गरिएको छ ।
तपाइको गीत लेखन कार्य कसरी शुरु भयो?
पहिले पहिले गीत नलेखेपनि मलाई अरुका गीत सुन्न भने खुवै इच्छा थियो । बेलाबखत रेडियो नेपालमा गीत फरमाइस गर्ने पनि गरिन्थ्यो । लोकप्रिय गीतमा गरिन्थ्यो फरमाइस । रेडियोमा गीत बज्नुपूर्व संचालकले फरमाइसकर्ताको रुपमा आफ्नो नाम उच्चारण गर्दा खुव खुशी लाग्थ्यो र अरु कसैले कुनै दिन भेट्दा रेडियोमा तपाइको नाम आएको थियो राम्रो गीत फरमाइस गर्नु भएको रहेछ भन्ने सुन्दा त खुशीको सीमा रहदैनथियो । रेडियो नेपालको बाल कार्यक्रममा केही कविता र निबन्ध पठाइयो केही प्रशारित पनि भए । सुप्रसिध्द गीतकार तथा कार्यक्रम संचालक किरण खरेलले रेडियो नेपालमा चलाउनु भएको एउटा कार्यक्रममा पूरै कार्यक्रमका गीतहरु मेरो कथामा आधारित भएर बजेको थियो त्यो धेरै जनाले सुन्नु पनि भएको रहेछ ।
स्कूलमा पढ्दा शुक्रवार नियमित रुपमा हुने कविता वादविवाद निबन्ध लगायतका अतिरिक्त क्रियाकलापहरुमा भाग लिने जांगरले मलाई लेखन कार्य तर्फ प्रेरित गरायो । विद्यालयका ती दिनहरुमा भविष्यमा कुनै साहित्यकार गीतकार कवि वा लेखक बनुलां भन्ने कुनै पूर्व निर्धारित उद्देश्य अनुसार लेख्ने कार्य गरिएको पनि थिएन ।विद्यालयको पढाइ सकेपछि कलेज जीवन शुरु संगै कविता लेख्न चटक्कै छोडियो, जांगर नचलेर हो वा सृजनशीलता समाप्त भएर हो यसको कारण भने म संग अहिले सम्म पनि छैन । तर लेख लेख्ने र प्रकाशन गराउने काम भने धीमा गतिमा बढ्दै गयो ।कछुवा गतिको यो लेखाइले अलि पछि गएपछि खरायो गति समाउन पुग्यो ।पछि कुनै घटना विशेषले गीत लेख्न थालियो । अलि पछि केही गीतहरु समेटेर सिरेटोले छुदै छुन्न नामक गीति संग्रह पनि तयार हुन पुग्यो ।
गीत लेख्दा के कुरामा ध्यान दिने गर्नु भएको छ?
गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिन्छ । गीतकारहरु कहिलेकाहीँ त्यो कथाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ गीत सिर्जना गर्ने गर्दछन्।कथाको पात्रको रुपमा आफूलाई राखेर गीत वा कविता सिर्जना गरियो भने त्यो रचना बढी वास्तविकतामा आधारित हुन्छ ।आम मानिसहरु जस्तै सर्जकहरु पनि यही समाजका व्यक्ति हुन्। समाजमा हुने विभिन्न घटनाहरुवाट सर्जकहरु उत्ति नै प्रभावित भैरहेका हुन्छन। उनीहरुको लेखनको मूल श्रोतनै सामजिक परिवेश र सो परिवेश भित्रका पर्यावरणहरु हुन् ।लेखक कहिले पनि सामाजिक परिवेश र पृष्ठभूमिबाट बाहिर जानै सक्दैन । ती परिवेशहरुमा केही आकर्षकपना नयांपना सिर्जनशीलता र साजसज्जा थपेर पाठक श्रोता वा दर्शकको मन आकर्षित गर्ने क्षमता सर्जकहरुमा भने पक्कै हुन्छ । साथै यस्ता रचनाहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नु पर्दछ । सर्जकहरु कुनै सिर्जनाका उत्पादनकर्ता मात्र होइनन् यिनीहरु सकारात्मक समाज निर्माणका सम्बाहकहरु पनि हुन् ।मैले लेखेको सिरेटोले छुदै छुन्न गीति संग्रहका अधिकांश गीतहरुलाई यहि धारमा प्रस्तुत गर्ने प्रयास गरेको छु यो धारलाई धेरैले रुचाइदिनु भएको छ तथा सकारात्मक प्रतिक्रिया समेत प्राप्त भैरहेको छ।
तपाइको गीति संग्रह सिरेटोले छुदै छुन्न वारेमा केही वताइदिनोस न?
मेरो गीति संग्रह सिरेटोले छुदै छुन्नमा नविर्सने कथाको मीठो पाना तिमी, धर्तीकी अप्सरा, सिरेटोले छुदै छुन्न, हराभरा जीवन हाम्रो प्रेमको, मनको वेदना कुन चिठी लेखुं, तारा जूनको यो रातमा, प्रकृतिलाई मुटुमा सांच्ने कि, केही पाइला तिमी चाल, कथाको विसर्जन , कथाले जे माग्यो त्यो भोगिदिएं, खियाउं नग्रा यहि देशको खातिर सेवा, त्यो लजालु मुस्कानले तीर नहान, हांसोमा रहेछ कृतिम चास्नी, वासन्ती सुवास लिएर तिमी आउन, बादल लाग्यो त्यो डांडापारी खुल्ने हो कहिले, विर्सेर पनि नविर्सने त्यो असीम याद, आज फेरी प्रेमिल वर्षा वर्षायो, शायद जिन्दगी यस्तै रहस्यको जाल छ, विसाउं कि कथा अव यात्रा नै छैन, विर्सने पो कसरी परेली कुरिरहेछ, खुशीको बहार छायो, एक अञ्जुली मायाको उपहार छरिदेउ, अप्सरा भुलाउने लाली त्यो यौवन, बन्द पाना पुस्तकका एकान्तमा पल्टाउनु र जिन्दगीको यो पाठशालाले धेरै पढायो शीर्षकका गीतहरु समावेश छन् ।
तपाइले लेखेका गीत अरुले त रुचाउंछन् ती गीत आफैलाई मन पर्छ कि पर्दैन वा आफ्नो गीतमा आफूलाई कस्तो अनुभूति प्राप्त हुन्छ?
यो प्रश्नको उत्तर दिनु त्यति सजिलो छैन जसरी हर आमालाई आफ्ना सवै सन्तान सुन्दर र प्यारा लाग्छन् । गीतकारलाई पनि आफूले लेखेका सवै गीतहरु आफूलाई मन पर्नु स्वभाविकै हो । तथापी कहिलेकाही केही गीतहरु अलि बढी नै मन पर्ने गर्दछ ।अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला वोल रहेको गीत लेखनकै क्रममा विशेष मन परको थियो । जिन्दगीको पाठशालले धेरै पढायो पनि लेखनकै क्रममा मन परेको गीतमा पर्दछ । अन्य गीतहरु पनि मन परेकै हुन्छ किनकी सर्जकलाई आफ्नो सिर्जना मन नपर्ने हुदैन । गीत लेख्दाको अनुभूति र गीतले संगीत र स्वर पाए पछिको अनुभूति भने फरक हुन्छ। गीत जव शव्दमा मात्र रहन्छ तव त्यमा भाव र कथा रहेको हुन्छ । तर जव गीतले संगीत स्वर र अभिनय पाउंछ गीत अझै आकर्षक बन्दछ ।
गीत लेखनमा गीतकारको भूमिका के हुन्छ?
गीत लेखनमा गीतकारको भूमिका अत्यन्त महत्वपूर्ण र रचनात्मक हुन्छ, जसले संगीत र शब्दको माध्यमबाट भावनात्मक, सांस्कृतिक र सामाजिक प्रभाव पुर्याउन सक्छ। गीतकार भनेको यस्तो सिर्जनशील व्यक्ति हो जसले सुर र तालसँग मिलेर एउटा सन्देश वा भावनालाई व्यक्त गर्ने शब्दहरू लेख्छ। गीतकारको रचनात्मकता, सोच, र अनुभव गीतको गहिराइ र प्रभावलाई निर्धारण गर्छ। गीतकारको भूमिका कला र संस्कृतिको संरक्षण र प्रचार प्रसार गर्नु पनि हो हो। सामाजिक, सांस्कृतिक, र व्यक्तिगत भावनाहरूको प्रभावपूर्ण प्रस्तुति गर्ने जिम्मेवारी गीतकारको हो। सृजनात्मकता, सामाजिक जिम्मेवारी, र संगीत र शब्दको सामन्जस्य बीचको सन्तुलन गीतकारका प्रमुख कार्यहरू हुन् ।सिरेटोले छुदै छुन्न गीति संग्रहको सामाजिक सञ्जालव्दारा सार्वजनिक र यसका केही गीतहरुको स्वरांकन तथा भिडियो म्यूजिक सार्वजनिक भएपछि म गीतकारको अर्को भूमिकामा समेत आउन पाउनु मेरो लागि खुशीको कुरा हुन गएको छ ।गीतकारको यो भूमिकाले समाजका यावत घटना वा परिवेशलाई शव्द मार्फत आफ्ना रचनामा समावेश गर्ने दायित्व पनि थपिएको छ ।
गीतकारका शव्दहरु संगीतकारकहां पुगेपछि व्यापक परिवर्तन हुन्छन् जसवाट गीतकारले परिकल्पना गरेको भाव मर्छ भन्ने पनि गरिन्छ नि यहांलाई के लाग्छ?
यो गुनासो मैले पनि सुन्ने गरेको छु । यसमा आंशिक सत्यता पनि छ । तर मेरो सन्दर्भमा त्यसो हुन पाएको छैन ।आनन्द कार्कीको गायनवाट मेरो पहिलो गीतको रेकर्डिंग शुरु भएको हो जसमा गीतको वोल”एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ” रहेको थियो । २०७९ सालको घोडेजात्राको दिन थियो संगीतकार किरण कडेलको प्रज्ञा स्टुडियोमा गीत रेकर्ड भयो । मैले सुन्ने गरेको थिएं गीतकारको शव्द गायक र संगीतकारमा पुगेपछि उहांहरुको चाहना अनुसार र लयको माग बमोजिम परिवर्तन हुन्छ । धेरै तर मेरो यो गीतमा त्यस्तो भएन ।यो कौशलताको प्रदर्शनले उहाहरु दुवैले कुशल गायक र संगीतकारको अमिट छाप छोड्नु भयो ।शव्दहरु गीतकारका सम्पत्ति हुन् शव्दले दिएको भावलाई सोही शव्दमा स्वर र संगीतले आकर्षक बनाउने क्षमता उहांहरु दुवैले प्रमाणित गरिदिनु भयो । मैले दिएकै शव्द र लाइनहरु यथास्थितमै स्वरांकन हुन सक्यो। गीतका हरेक अंश, शव्द, वाक्यको संगीत र स्वरमा कसरी तादाम्यता कायम गर्ने विषयमा संगीतकार र गायक दुवै संवेदनशील रहेको मैले पाएं। यसरी मेरो पहिलो गीतले मेरो भावमा अन्याय सहनु परेन । यसपछिका अन्य गीतहरु पनि यहि रुपमै अगाडी बढे । जव गीतकार र संगीतकारको विचमा गीत रेकर्डिंग पूर्व छलफल हुन्छ गीतकारका शव्द यथास्थितिमै स्वराङ्कन हुने गर्दछ । तर गीतकारले आफ्नो शव्दलाइ लयको तालमेल संग र अनुप्रास संग तालमेलभने मिलाउनु पर्दछ ।
यहां कुशल प्रशासनविद र अर्थविद पनि हुनुहुन्छ यो बहु आयामिक भूमिकाको वीचमा सन्तुलन कसरी कायम गर्नु हुन्छ?
गीतकारको भूमिकामा आइसकेपछि प्रशासक र गीतकारको अन्तरसम्बन्ध वा गीतकार कोमल हृदयका हुन्छन प्रशासक कडा हृदयका यसमा कसरी सन्तुलन मिलाउनु हुन्छ भन्ने प्रश्न मलाइ हरेक अन्तरवार्ताहरुमा सोध्न थालियो । मेरो उत्तर एउटै रह्यो एउटा व्यक्तिको रूपमा, एउटा प्रशासकको रूपमा वा समाजका अन्य भूमिकामा रहँदा पनि म यही समाजको एउटा व्यक्ति हुँ। समाजका विभिन्न घटनाक्रमहरूप्रति म उत्तिकै प्रभावित हुन्छु। सिर्जना भनेको समाजमा घटेका विभिन्न घटनाक्रमको प्रभावबाट जन्मने चिज हो। समाजका विभिन्न चिजबाट जतिखेर हृदय प्रभावित हुन्छ, त्यतिबेलै सिर्जनाको जन्म हुने हो। बाटोमा हिँड्दा राम्रो फुल देखियो, एउटा राम्रो प्रेमिल जोडी देखियो भने हिँड्दा हिँड्दै पनि साहित्य सिर्जना हुनसक्छ। कहिलेकाहीँ त्यो घटनाको पात्र मै हुँ कि भन्ने अनुभूतिका साथ म गीत सिर्जना गर्ने गर्छु। प्रशासक कडा हुन्छन् साहित्यकार कोमल, तपाईंले यी दुईवटाको सामञ्जस्य कसरी गर्नुहुन्छ भनेर समेत प्रश्न सोधिएको छ। प्रशासक पनि समाजकै एउटा पात्र हो। प्रशासकले धेरै मान्छेलाई सेवा दिनुपर्ने हुन्छ। मसँग सेवा लिन आउने विभिन्न प्रकृतिका सेवाग्राहीहरु हुनुहुन्थ्यो। देशका कुना कन्दराबाट मानिस आउनु हुन्थ्यो। उहाँहरूलाई सेवा प्रवाह गर्ने क्रममा उहाँहरूका विचार, भावना, वेदना, पीडा, खुसी, सुखलाई पनि हामीले सुन्ने गर्छौं। प्रशासक र साहित्यकारको विवेक प्रयोग गर्दै मैले उहाँलाई दिने सुविधा दिँदा कानुनको पालना गर्ने क्रममा बहकिनु हुँदैन। कानुनको पूर्ण परिपालना गर्नुपर्छ तर कठोर बन्नु हुँदैन। कुनै सेवाग्राहीको काम गर्दा मलाई दिनभर लाग्थ्यो मैले दुई घण्टा चाँडो काम गरिदिँदा उहाँले आज रातिको नाइट बसको टिकट काटेर गाउँ फर्कन सक्ने अवस्था छ भने प्रशासकले चाँडो काम गर्ने प्रयास गरिदिनुपर्छ। ढिलो गरिँदा एक दिन समय लम्बिने, होटेलमा बस्नुपर्ने, बढी खर्च हुने कुरालाई म मनन गर्थे। त्यो समयमा मलाई प्रशासकमात्र बन्न मन लाग्थेन, साहित्यिक हृदयले छुन्थ्यो।
यहांको सहकार्य सेलिव्रेटी संगीतकार गायक गायिका र कलाकारहरु संग भएको देखिन्छ यस्तो अवसर कसरी जुट्यो?
यो एउटा अवसर नै हो मेरा शव्दहरुले आनन्द कार्की आनि छोइंग डोल्मा मुरलीधर समीक्षा अधिकारी प्रताप दास अनु चौधरी सुरेश लामा र दीपा लामा जस्ता सुपरिचित गायक गायिकाको स्वर पाउन सक्यो ।किरण कडेल डि वि लामा किर्ति न्यौपाने मुरलीधर र वि पि वाग्लेको संगीत सजिन पायो । मिथिला शर्मा सोनी ढुंगाना दिपेन्द्र खत्री रामहरि खड्का सृष्टि खड्का प्रताप पाल ठकुरी अप्सना बलामी जस्ता कलाकारको अभिनय तथा सियोन श्रेष्ठ नितिन चन्द कृष्णदेव रुपाखेती र उत्तम श्रेष्ठ सिसिरको निर्देशन पाउन सक्यो साथै पर्दा फछाडि रहने अन्य सवै प्राविधिकहरुको भूमिका पनि प्रभावकारी रहन पुग्यो । वास्तवमा उहांहरुले म संग सहकार्य गरिदिनु भयो मेरो शव्द रुचाइदिनु भयो यो मेरो अहोभाग्य पनि हो ।
अवको योजना के छ?
गीत वा कुनै रचना सामाजिक परिवेशलाई शव्दमा रुपान्तरण गर्ने कला मात्र होइन यसले सामजिक जीवनका पक्षलाई कल्पनाको आकर्षक आवरणमा प्रस्तुत गरिदिने र गीतको भाव र निष्कर्ष सकारात्मक र आशावादी हुनु पर्ने र यस्ता सिर्जनाहरु तुलनात्मक रुपमा रुचाइने गर्दो रहेछ । यसर्थ सर्जकहरु पनि समाजको काल्पनिक दृष्यलाई सकारात्मकताको सन्देश प्रवाह गर्न सक्ने संवाहकहरु पनि हुन् । मेरा आगामी गीतका भाव र शव्द फरक हुन सक्लान तर हाल स्वरांकन भैसकेका केही पाइला तिमी चाल्नु जंघार म तारिदिउंला र जिन्दगीको पाठशालाले धेरै पढायो बोलका गीतहरुले एउटा सकारात्मकता र आशावादिताको सन्देश प्रवाह गर्न सके जस्तै यहि धारलाई समाउने उत्प्रेरणा पनि मिलेको छ किनकी हामी सवै जिन्दगीको पाठशालाका विद्यार्थी हौं जसले हामीलाई सदा सकारात्मक र आशावादी बन्न प्रेरित गरिरहन सक्नु पर्दछ । किनकी
जिन्दगीको पाठशालाले धेरै पढायो , कहिले हसायो कहिले रुवायो
जीवनका पहलु सवै सिकायो
बाधा विघ्न आउंछन धेरै नमानी रत्ति, दुखमा आंशु पुछि सुखमा नमात्ति
व्यथाहरु लुकाइ हास्न सिकायो , भत्केका ती आशालाई जोड्न सिकायो
ओइलाएको मन भित्र नयां सोच पलायो, चुनौतीको सामनामा उर्जा दिलायो
पौरखी यी हातमा भाग्य जुरायो, सकारात्मक बन्दै हिड्न बाटो देखायो
साथै प्रशासनिक र व्यवस्थापकीय अनुभवलाई बाँड्ने काम त गरिरहने छु साथै गीत संगीत क्षेत्रमा समेत सक्रिय भूमिका निभाउने नै छु ।