दार्चुलाको मार्मा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला सिंहले लटिनाथ मन्दिर तथा लटिनाथ माविको हाताभित्रै “हिमानी ट्रेडर्स एण्ड सप्लायर्स” सञ्चालन गरी मदिरा डिलर राखेको भन्दै स्थानीय स्तरमा विवाद चर्किएको छ। उक्त पसल विद्यालय क्षेत्रबाट करिब ४०–५० मिटरको दूरीमा मात्रै रहेको स्थानीयहरूको भनाइ छ। स्थानीय ऐन तथा नियमअनुसार विद्यालय आसपास कम्तीमा ५०० मिटर टाढा मात्र मदिरा बिक्री वितरण गर्न पाइने व्यवस्था रहे पनि पालिकाकै उपाध्यक्षबाटै नियम उल्लङ्घन भएको आरोप लगाइएको छ।

स्थानीयका अनुसार व्यवसाय सञ्चालन गरिएको जग्गा लटिनाथ मन्दिरको नाममा रहेको छ। किता नम्बर ६१६ रहेको उक्त जग्गा २०४२ सालदेखि नै लटिनाथ मन्दिरको नाममा दर्ता भएको बताइएको छ। करिब ५० रोपनी क्षेत्रफल रहेको मन्दिरको जग्गामध्ये झण्डै २० रोपनी अतिक्रमण गरी ३५ वटा पसल निर्माण गरिएको स्थानीयले दाबी गरेका छन्।
विद्यालय नजिकै मदिरा डिलर सञ्चालन हुँदा शैक्षिक वातावरण प्रभावित हुने भन्दै अभिभावक र स्थानीयले चिन्ता व्यक्त गरेका छन्। धार्मिक तथा शैक्षिक क्षेत्रकै बीचमा व्यवसाय सञ्चालन गर्नु नियमविपरीत मात्र नभई सामाजिक रूपमा पनि अनुपयुक्त भएको उनीहरूको भनाइ छ।
यस विषयमा सम्बन्धित निकायले अनुगमन गरी ऐनअनुसार कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन्। साथै मन्दिरको नाममा रहेको सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउन समेत उनीहरूले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !