लटिनाथ मन्दिरको जग्गा अतिक्रमणबारे विवाद चर्कियो, विषय दबाउन रास्वपाको जिल्ला नेतृत्व सक्रिय

नागरिक पाना
२०८३ बैशाख १३, आईतवार १५:२४

दार्चुला जिल्लाको मार्मा गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लटिनाथ मन्दिरको जग्गा अतिक्रमण भएको विषय पुनः चर्चामा आएको छ। मन्दिरको जग्गा संरक्षणको माग गर्दै स्थानीय युवाहरूले आवाज उठाएपछि लामो समयदेखि थाती रहेको विवाद सतहमा आएको हो।

स्थानीय युवाहरूले नाम नबताउने सर्तमा नागरिकपानालाई दिएको जानकारी अनुसार २०७७ सालदेखि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्दिरको जग्गा अतिक्रमणबारे सम्बन्धित निकायलाई पटक–पटक पत्राचार गर्दै आएको छ। तर, यसअघि रहेका राजनीतिक नेतृत्व र सम्बन्धित निकायले प्रभावकारी कदम नचालेका कारण अतिक्रमण यथावत रहेको उनीहरूको आरोप छ।

पछिल्लो समय वर्तमान सरकारले देशभर सार्वजनिक तथा धार्मिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेपछि लटिनाथ मन्दिरको अतिक्रमण पनि हट्ने आशा स्थानीयले गरेका थिए। तर, स्थानीय युवाहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकै पालिका र जिल्ला नेतृत्वले नै अहिले यो विषय दबाउन प्रयास गरिरहेको आरोप लगाइएको छ।

स्थानीय स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति सुरेन्द्र सिंहले उक्त जग्गा “सहमति” मा अतिक्रमण गरिएको भन्दै विषयलाई पार्टी केन्द्र तथा सरकारसम्म नपुगाउन जिल्ला तहमा हारगुहार गरेका थिए। त्यस्तै, जिल्ला सभापति राजेश सामन्तले पनि यो विषय सार्वजनिक रूपमा नउठाउन आफ्ना कार्यकर्तालाई समेत नबोल्न निर्देशन दिएको स्थानीय युवाहरूको दाबी छ।

स्थानीयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बद्ध गाउँपालिका सभापति सुरेन्द्र सिंह, सचिव राजेश बिष्ट लगायतले अतिक्रमण गरिएको भनिएको मन्दिरको जग्गामा संरचना निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका छन्। यसले धार्मिक सम्पदा संरक्षणमा गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ छ।

स्थानीय युवाहरूले लामो समयदेखि अख्तियारको पत्राचार हुँदाहुँदै पनि कारबाही नहुनु र अहिले उल्टै विषय दबाउने प्रयास हुनु चिन्ताजनक भएको बताएका छन्। उनीहरूले निष्पक्ष छानबिन गरी अतिक्रमण तत्काल हटाउन तथा दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।