युवा कमजोर बन्दै: असंगठन, स्वार्थ र नेतृत्व संकट मुख्य कारण

नागरिक पाना
२०८३ बैशाख २०, आईतवार १२:१०

काठमाडौँ, बैशाख २०

देशभरका युवाहरूबीच देखिएको असंगठन, नेतृत्वप्रतिको अविश्वास र व्यक्तिगत स्वार्थको प्रवृत्तिले युवा शक्ति क्रमशः कमजोर बन्दै गएको विश्लेषण गरिएको छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय विश्लेषकहरूले युवाहरूको वर्तमान अवस्थाले समग्र परिवर्तनको अभियानमा चुनौती थपिरहेको बताएका छन्।

विशेषगरी, युवाहरू संगठित हुन नसक्नु सबैभन्दा ठूलो समस्या रूपमा देखिएको छ। सामूहिक शक्ति निर्माणमा असफल हुँदा युवाहरूको आवाज प्रभावहीन बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।

यस्तै, युवा नेतृत्वलाई स्वीकार नगर्ने प्रवृत्तिले पनि नयाँ सोच र ऊर्जालाई रोकिरहेको छ। धेरै युवाहरू पुराना नेतृत्वकै पछाडि लाग्ने, तर आफ्नै पुस्ताको नेतृत्वलाई अवसर नदिने प्रवृत्ति बढ्दो छ।

निर्णयमा अडिग नरहने बानीले पनि युवाहरूलाई अस्थिर बनाएको बताइन्छ। एउटै विषयमा स्पष्ट धारणा कायम राख्न नसक्दा आन्दोलन र संगठन दुवै कमजोर हुने गरेका छन्।

संगठनभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनु अर्को गम्भीर चुनौतीका रूपमा देखिएको छ। पद, पहुँच र व्यक्तिगत फाइदाका लागि संगठनको उद्देश्यलाई बेवास्ता गर्ने प्रवृत्तिले सामूहिक लक्ष्यमा असर पारिरहेको छ।

त्यसैगरी, केही युवाहरू कुनै एक नेताको मात्र पछुवा बन्ने र मुद्दा तथा विचारभन्दा व्यक्तिलाई प्राथमिकता दिने प्रवृत्तिमा पनि वृद्धि भएको छ। यसले आलोचनात्मक सोच र स्वतन्त्र निर्णय क्षमतालाई कमजोर बनाएको विश्लेषकहरूको भनाइ छ।

नजिकका नेताहरूको प्रलोभनमा पर्नु, पटक–पटक धोखा खाँदा पनि सचेत नहुनु, तथा आफ्ना अधिकारका लागि संघर्ष गर्न नसक्नु जस्ता व्यवहारले युवाहरूको आत्मविश्वास घटाउँदै लगेको छ।

यसबाहेक, आफ्नै वर्तमानभन्दा नेताको स्वार्थमा बढी चिन्तित रहने, श्रम शोषण भएकोप्रति बेखबर रहने, र बहुमूल्य समय खेर गएकोबारे संवेदनशील नहुने प्रवृत्तिले पनि समस्या झन् जटिल बनाएको छ।

संगठनात्मक शक्तिको महत्व नबुझ्नु र आपसी सहकार्यको सट्टा एक अर्काको खेदो खन्ने प्रवृत्तिले युवाहरूबीच एकता कमजोर बनाइरहेको छ।

मनिष यादवका अनुसार अब युवाहरूले आत्मचिन्तन गर्दै संगठित हुन, आफ्नै नेतृत्व विकास गर्न र मुद्दा केन्द्रित राजनीतिमा सक्रिय हुन आवश्यक रहेको छ। यसो हुन सकेमा मात्र युवा शक्ति प्रभावकारी रूपमा समाज परिवर्तनको नेतृत्व गर्न सक्षम हुने विश्वास गरिएको छ।

 

मनिष यादव समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष हुन्।