लेखकको कलमले समाजको आवाज बोल्नु पर्दछ- डा. दामोदर रेग्मी,प्रशासनविद तथा गीतकार


 

डा. दामोदर रेग्मी विशिष्ट श्रेणीका पूर्व सचिव तथा संघीय सार्वजनिक वित्त व्यवस्थापन, प्रशासन र नीति निर्माणका विज्ञ हुन्। पाल्पा तानसेनमा जन्मिएका उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा, चीनको Tsinghua University बाट अन्तर्राष्ट्रिय जनप्रशासनमा, भारतको Annamalai University बाट मूल्य शिक्षा र आध्यात्मिकता (M.Sc.) मा स्नातकोत्तर गरेका छन्। उनले विश्व व्यापार संगठन (WTO, स्विट्जरल्यान्ड) बाट व्यापार नीतिमा डिप्लोमा प्राप्त गरेका छन्। भन्सार प्रशासन सुधार, सार्वजनिक खरिद, संघीयता, र स्थानीय शासन प्रणालीमा उनले उल्लेखनीय योगदान दिएका छन्। ‘कौटिल्यकालीन भन्सार प्रशासन’ सन्दर्भमा गरिएको आफ्नो पीएचडी अनुसन्धानका आधारमा उनले नीति सुधारका थुप्रै पहल अघि सारेका छन्। हाल स्वतन्त्र रूपमा प्रशिक्षक, लेखक र सल्लाहकारको भूमिकामा क्रियाशील छन्। संघीयता, प्रशासन र सुशासनसम्बन्धी उनका १२ पुस्तक र २००० भन्दा बढी लेख प्रकाशित छन्। Damodar Regmi नामक उनको फेसबुक सामाजिक सञ्जाल Mini e-Library को रुपमा रहेको छ भने उनी युट्युब च्यानलमार्फत उनले ज्ञानको प्रवाहलाई अझ प्रभावकारी बनाएका छन्। डा. दामोदर रेग्मी आधुनिक गीतसाहित्यमा पनि सशक्त योगदान दिने बहुप्रतिभाशाली स्रष्टा हुन्। गहिरो भाव, समाजप्रति उत्तरदायित्व र जीवनदर्शनले भरिएका उनका गीतहरू सन्देशमूलक र प्रेरणादायी छन्। उनका रचनाहरूमा देशप्रेम, नैतिकता, आत्मचिन्तन र सकारात्मक सोचको झल्को पाइन्छ। सहज शब्द र सशक्त अभिव्यक्तिको संयोजनमा लेखिएका उनका गीतहरू विभिन्न सांगीतिक कार्यक्रमहरूमा प्रस्तुत भइसकेका छन्। गीतमार्फत समाजमा चेतना फैलाउने उद्देश्य बोकेका रेग्मीको गीतकार क्षमता उनको बहुआयामिक प्रतिभाको अर्को उत्कृष्ट पक्ष हो।यिनै व्यक्तित्व संग विविध विषयहरुमा सम्वाद गर्न गैरहेका छौं ।

तपाई एक सुपरिचित लेखक र गीतकार पनि हुनुहुन्छ लेखकको दायित्व के हुनु पर्दछ भन्ने लाग्दछ यहांलाई?

लेखक समाजको चेतनशील व्यक्ति हो, जसले विचार, भावना र यथार्थलाई शब्दमा बाँधेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्य गर्दछ। लेखकको दायित्व भनेको केवल सूचना प्रवाह र  मनोरञ्जन प्रदान गर्नु मात्र होइन, समाजमा चेतना, सुधार र परिवर्तन ल्याउने जिम्मेवारी पनि हो। लेखकले सत्य, यथार्थ र विवेकपूर्ण विचारहरू प्रस्तुत गर्दै सामाजिक विषयहरुमा समेत आवाज उठाउनुपर्छ। उसले विभिन्न वर्ग, लिंग, जाति वा समुदायको संवेदना र अवस्था आफ्ना लेखनमा समेटी समाजका विविध पक्षलाई प्रतिनिधित्व गर्नुपर्छ। साथै, लेखकले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा योगदान दिनुपर्छ। सकारात्मक सोच, नैतिक मूल्य र समावेशी दृष्टिकोणको प्रवर्द्धन गर्नु लेखकको महत्वपूर्ण दायित्व हो। यसरी हेर्दा, लेखक केवल स्रष्टा मात्र नभई समाजको मार्गदर्शक, सुधारक र चेतनाका वाहक पनि हुन्। लेखकको कलमले समाजको आवाज बोल्नु पर्दछ ।

यहांले गीत र प्रशासनिक लेख दुवै लेख्नु भएको छ गीत लेखन र अन्य प्रशासनिक लेखनमा के फरक पना रहेको हुन्छ ?

गीत लेखन र प्रशासनिक लेखन दुई भिन्न प्रकृतिका सिर्जनात्मक अभ्यासहरू हुन्, जसमा उद्देश्य, शैली, भाषा, संरचना र लक्षित पाठक वर्गमा उल्लेखनीय अन्तर पाइन्छ। गीत लेखन भाव, भावना, कल्पना र कलात्मक अभिव्यक्तिमा केन्द्रित हुन्छ, जसले संगीतको माध्यबाट मानवीय संवेदनालाई उजागर गर्छ। यसमा लय, छन्द र अलंकारको प्रयोग गरिन्छ। यता, प्रशासनिक लेखन भने यथार्थ, तथ्य, नीति र औपचारिकतामा आधारित हुन्छ। यसमा स्पष्ट, संयमित र उद्देश्यपरक भाषा प्रयोग गरिन्छ, जसले निर्णय प्रक्रिया, सूचनाको आदानप्रदान वा कार्यान्वयनलाई मार्गदर्शन गर्छ। गीत लेखनमा सिर्जनात्मक स्वतन्त्रता उच्च रहन्छ भने प्रशासनिक लेखनमा विधि, नियम र संरचनाको पालना अनिवार्य हुन्छ। यसरी हेर्दा, गीत लेखन भावना र सौन्दर्यको माध्यम हो भने प्रशासनिक लेखन तर्क, तथ्य र उत्तरदायित्वको अभिव्यक्ति हो। दुवै लेखन शैलीको आफ्नै महत्त्व भए पनि तिनको प्रयोग र प्रभावका क्षेत्रहरू फरक–फरक छन्।

अनि समानता?

यद्यपि गीत लेखन र प्रशासनिक लेखन फरक प्रकृतिका लेखन शैलीहरू हुन्, यिनीहरूमा केही समानता पनि पाइन्छ। दुबै लेखनमा स्पष्ट अभिव्यक्ति अत्यन्त महत्वपूर्ण हुन्छ, किनभने पाठक वा श्रोता बुझ्ने ढंगमा सन्देश दिनु जरुरी हुन्छ। त्यस्तै, दुबै प्रकारका लेखनमा उद्देश्यको स्पष्टता हुनु आवश्यक हुन्छ—गीतले भावनात्मक प्रभाव पार्ने लक्ष्य राख्छ भने प्रशासनिक लेखनले सूचना वा निर्णय पुर्‍याउने। यस्तै गरी, दुबै लेखनले पाठक वा लक्षित समूहलाई प्रभावित पार्न सक्ने शक्ति राख्छन्। त्यसैले, चाहे गीत होस् वा प्रशासनिक दस्तावेज, सफल लेखनका लागि विचारको स्पष्टता, उद्देश्यको सजगता र पाठकप्रतिको जिम्मेवारी साझा विशेषता हुन्।

तपाईले लेख्नु भएका पुस्तकहरु के के हुन् र यिनका सन्देशहरु के के हुन्?

मैले  लेखेका पुस्तकहरुमा संघीय शासन प्रणाली सुशासन र विकास, नेपालमा संघीयताका अवसर र चुनौतीहरु, प्रशासनमा व्यावसायिकता र सदाचारिता, शासकीय प्रबन्ध प्रशासन र व्यवस्थापन, शासकीय प्रणालीका समसामयिक मुद्दाहरु, कौटिल्यको आलोकमा नेपालको भन्सार, शासकीय प्रबन्धका नवीनतम आयामहरु, अर्थ वित्त र राजस्व प्रशासन, शासन प्रणाली र सार्वजनिक मामिलाको व्यवस्थापन हुन् भने अन्य दुइ पुस्तकहरु सहलेखनमा प्रकाशित भएका छन् ।यी पुस्तकहरू संघीय शासन प्रणाली, सुशासन, प्रशासनिक सुधार, राजस्व र वित्तीय व्यवस्थापनजस्ता विषयमा आधारित छन्, जसले नेपालको सार्वजनिक प्रशासनलाई अधिक प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने दिशामा मार्गदर्शन गर्ने प्रयास गरिएको छ । “संघीय शासन प्रणाली सुशासन र विकास” र “नेपालमा संघीयताका अवसर र चुनौतीहरू” संघीय संरचनाको प्रभावकारी कार्यान्वयनमा केन्द्रित छन् भने “प्रशासनमा व्यावसायिकता र सदाचारिता” तथा “शासकीय प्रणालीका समसामयिक मुद्दाहरू” प्रशासनिक नैतिकता र सुधारमा जोड दिइएको छ ।  “कौटिल्यको आलोकमा नेपालको भन्सार” पूर्वीय दर्शन र नेपालको आधुनिक अर्थ व्यवस्थालाई जोड्ने एउटा प्रयास हो। समग्रमा यी पुस्तकहरुको मूल सन्देश भनेको उत्तरदायी शासन, दक्ष प्रशासन र समावेशी विकासलाई प्रवर्द्धन गर्नु हो, जसले सुशासनमार्फत जनताप्रति उत्तरदायी, पारदर्शी र परिणाममुखी राज्य निर्माणमा सहयोग पुर्‍याउँछ।

अव लागौ यहांको गीति यात्रा तर्फ यहांले गीत लेखन कसरी शुरु गर्नु भयो?

स्कूलमा पढ्दा नियमित रुपमा हुने अतिरिक्त क्रियाकलापहरुमा भाग लिने जांगरले मलाई लेखन कार्य तर्फ प्रेरित गरायो । कोभिडको समय थियो कतै कामविशेषले यात्रा गरिरहेको थिएं । गाडीमा कुनै गीत बजिरहेको थियो । गाडीमा बजेको त्यो गीत मैले सुनिरहेको गीत थिएन । तर त्यो गीतको संगीत र स्वर भन्दा शव्द तिर मेरो मन आकर्षित भयो । गीतका ती शव्दहरुलाई मैले कविताको रुपमा हेरें, लाग्यो गीत त कविताकै विस्तारित स्वरुप रहेछ शव्द हुदा कविता बन्दो रहेछ संगीत र स्वर मिल्यो भने गीत बन्दो रहेछ  भन्ने भावना मनमा भित्रियो। अव जुनसुकै वेला गीत सुन्दा यहि सोचाइ दोहोरिन थाल्यो । लाग्यो स्कूले जीवनमा त म पनि फुच्चे कवि त थिएं । यी गीतका शव्द र मेरा कविताका शव्द त उस्तै छन् म पनि गीतकार बन्न सक्छु कि भन्ने मनमा आयो र लेख्न शुरु गरें।

यहांको गीतमा कुन कुन गायक गायिकाले स्वर दिनु भएको छ? यी गीतहरुमा अभिनय र निर्देशन कसको रहेको छ?

एक अञ्जुली मायाको उपहार छरिदेउ मेरो पहिलो रेकर्डिंग भएको गीत हो यसमा आनन्द कार्कीको स्वर र किरण कडेलको  संगीत रहेको छ । अलिकति हांस्नु तिमी अलिकति म हांसुला शव्द रहेको गीतमा गायक प्रताप दास र गायिका अन्नु चौधरी रहनु भएको छ भने संगीत डि. बि. लामाको रहेको छ । तेश्रो रेकर्डिंग भएको गीत सिरेटोले छुदै छुन्न हो जुन मेरो गीति संग्रहको  नाम पनि हो यसमा मुरलीधरको स्वर र संगीत रहेको छ । डाँडापारी घाम डुब्यो तिमी किन आएनौ बोल रहेको अर्को गीतमा समीक्षा अधिकारीको स्व र र  डि. बि. लामाको संगीत रहेको छ । जिन्दगीको पाठशालाले धेरै पढायो बोलको गीतमा आनि छोइंग डोल्माले स्वर दिनु भएको छ भने किर्ती न्यौपानेको संगीत रहेको छ । यो मनको चाहना अल्झियो तिमीमा बोल रहेको गीतमा सुरेश लामा र दीपा लामाले स्वर दिनु भएको छ भने डि. बि. लामाको संगीत रहेको छ । अर्को एक बालगीतमा बालवालिकाको समूह स्वर रहेको छ यसमा बि पि वाग्लेले संगीत दिनु भएको छ । एक अञ्जुली मायाको उपहार छरिदेउमा दिपेन्द्र खत्री, सोनु ढुंगाना र आनन्द कार्कीको अभिनय रहेको छ र निर्देशन सियोन श्रेष्ठको रहेको छ । यसै गरि  अलिकति हांस्नु तिमी अलिकति म हांसुला शव्द रहेको गीतमा रामहरि खड्का र सृष्टि खड्काको अभिनय तथा नितिन चन्दको निर्देशन रहेको छ। जिन्दगीको पाठशालाले धेरै पढायो बोलको गीतमा कलाकार मिथिला शर्माको अभिनय रहेको छ र यसको निर्देशन कृष्णदेव रुपाखेतीले गर्नु भएको छ । यो मनको चाहना अल्झियो तिमीमा प्रभात पल ठकुरी र अप्सना बलामीको अभिनय तथा उत्तम श्रेष्ठ सिसिरको निर्देशन रहेको छ ।

यहांको अन्य गीतहरुको अतिरिक्त जिन्दगीको पाठशालाले धेरै पढायो र अलिकति हांस्नु तिमी यी दुवै गीतहरु लेखन र गायनका दृष्टिले अति लोकप्रिय रहे यसको कारण के होला?

यी दुवै सकारात्मक सोचमा आधारित रहेर रचना गरिएका गीतहरु हुन् । यी दुवै गीतहरुले जीवन एक संघर्ष हो अप्ठ्यारा उल्झन समस्या सर्वत्र हुन्छन् चुनौतीलाई उर्जाको रुपमा लिइ प्रयत्नरत रहनु पर्दछ यसले सकारात्मक परिणति दिन्छ भन्ने मूल सन्देश गीतमा रहेको छ गीतको यो भावलाई गायक गायिका र संगीतकारले राम्रो संग समाइदिनु भएको छ । शायद यसै कारणले पनि होला।  अन्य गीतका भावहरुपनि यसै धारमा रहेका छन् र ती गीतहरु पनि श्रोता दर्शकहरुले रुचाइदिनु भएको छ ।

यहांको गीतमा लोकप्रिय गायक गायिका र कलाकारहरुको साथ रहेको छ यसको कारण के होला ?

गीत गायनको क्रममा उहांहरुसंग भेट हुदै गयो एक कलाकार ले अर्को कलाकारलाई मेरो गीतमा स्वर दिन वा अभिनय दिन आग्रह गरिदिनु भयो । मूलत उहांहरु मेरो गीतको शव्द भाव वाट प्रेरित हुनु भएको कुरा विभिन्न अन्तरवार्ताहरुमा उहांहरुले बताउनु भएको छ । खासमा हामी दुवै एक अर्काको सकारात्मक पक्षमा सहकार्य गर्न पाएका छौं ।

(प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीका अन्य थप सामग्रीहरु https://www.facebook.com/regmi.d/, https://www.youtube.com/@dr.damodarregmi मा पढ्न र सुन्न सकिन्छ तथा [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ )

#drdamodarregmi


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको