गीतजस्तै छन् गीतकार डा.दामोदर रेग्मी – नगेन्द्रराज रेग्मी, साहित्यकार


मानिस सजिलै जन्मन्छ, तर व्यक्तित्व जन्माउन भने निकै कठिन हुन्छ । वर्षौ वर्षको परिश्रम, सङ्घर्ष, त्याग, चुनौति, बलिदान र घामपानीहरु सहँदै जन्मिएको व्यक्तित्वलाई भने हामी दीगो मान्दछौं । भनिन्छ नि— गमलामा हुर्काइएको बिरुवा भन्दा हावाहुरी सहँदै बाँचेको विरुवा बढी टिक्न सक्छ । हो यस्तै परिस्थितिसँग सामना गरेर अगाडि बढेका एउटा व्यक्तित्वको बारेमा म यहाँ केही चर्चा गर्ने प्रयास गर्दैछु । त्यो व्यक्ति हो— डा.दामोदर रेग्मी ।
सुरुमै एउटा स्पष्टीकरण दिन मन लागेको छ । एउटा रेग्मीले दोश्रो रेग्मीको बारेमा केही आत्मश्लाघाहरु ओकल्दैछ कि भन्ने लाग्न सक्छ । म पनि सुरुका दिनमा केही असमञ्जस्य परिस्थितिमा नपरेको होइन । कमसल स्रष्टा र उसको सिर्जनालाई फुक्र्याएर ‘लाहुरे समालोचक’ बन्न मलाई पनि किञ्चित रहर छैन । अनावश्यक प्रोत्साहन दिँदै जाने हो भने सिकर्मीले पनि आफ्नो औलामा हथौडा हान्न थाल्छ रे यो कुरालाई मैले राम्रोसँग अनुभूत गरेको छु । त्यसै पनि बहुविधामा विभक्त एउटा स्रष्टाका बारेमा एक बसाइको लेखनीबाट परख गर्नु दुर्लङ्घ्य यात्रा गर्नु बराबर भए पनि केही कोर्ने धृष्ट प्रयास गर्दैछु ।
दामोदर रेग्मीलाई हामी मूख्यतः एउटा प्रशासनिक व्यक्तित्वका रुपमा चिन्ने गर्दछौ । नेपाल सरकारको निजामति प्रशासनको उच्च तह अर्थात् सचिवसम्म भएर अवकाश ग्रहण गर्नसक्नु भनेको नेपालको परिप्रेक्ष्यमा कुनै चानचुने कुरा किमार्थ होइन । पश्चिम नेपालको दूरदराज पाल्पाको एउटा गाउँबाट काठमाडौ खाल्डोभित्र छिरेर उनले यो शिखर कुनै तथास्तुको भरमा प्राप्त गरेका अवश्य होइनन् । त्यसका लागि कति कडा मेहनत, लगानी, अभ्यास र परिश्रमको भट्टामा आफूलाई पोलेर त्यो व्यक्तित्व निर्माण गरे होला ? यो अध्ययनको छुट्टै विषय बन्न सक्छ । उनले आफ्नो पदीय दायित्व निर्वाह गर्ने क्रममा सचिव भएर चित्त बुझाउँदै कुर्सी ओगटेर बसिदिएका भए हामीहरुले यो लेख्ने दुख गर्नै पर्दैनथ्यो । नयाँ–नयाँ खोज र उध्र्वगामी सोच बोक्दै हिड्ने बानीनै उनको मूख्य विशेषता र असाधारण कर्म हुन गएको छ । अर्थात् यसैका कारणले आज हामी सबैले उनको यशोगान गाउन वाध्य बनेका छौ ।
नेपालको सङ्घीयतालाई समाजमा कसरी सामञ्जस्य कायम गराउने भन्ने बारेमा उनको राम्रो विज्ञता रहेको देखिन्छ । त्यो बोहक व्यवस्थापन र वित्त व्यवस्थापनमा उनले दिएको योगदान पनि उच्च छ । हुनत उनको अध्ययन पनि लगभग यिनै बिषयहरुमा केन्द्रीत भएका कारणले पनि उनलाई अलिकति सहज भएको हुन सक्छ । जे होस् उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर गरे भने चीनको छिन्ह्वा विश्वविद्यालयबाट पनि अन्तर्राष्ट्रिय जनप्रशासनमै स्नातकोत्तर गर्न भ्याए । अझ त्यत्तिले मात्र उनको चित्त बुझेन भारतको अन्नामलाई विश्वविद्यालयबाट मूल्य शिक्षा र आध्यात्मिकता विषयमा फेरि स्नातकोत्तर नै गर्न पुगे । विश्व व्यापार सङ्गठन स्वीट्जरलैण्डबाट व्यापार नीतिमा डिप्लोमा गरेर अन्त्यमा उनले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘कौटिल्यकालीन भन्सार प्रशासनका सन्दर्भमा नेपालको प्रशासन सुधारको प्रभावकारिता’ विषयमा विद्यावारिधि उपाधि हाँसिल गरे । विभिन्न तलिम, प्रशिक्षणहरु दिन जिल्ला–जिल्लामा उनलाई अहिले पनि भ्याइनभ्याइ भएको देखिन्छ । जागीरे जीवनमा अहोरात्र खटेर कुनै दाग नलागी सकुशल सेवा निवृत्त भएका रेग्मीको अवकाश पछिको जीवन अझ सक्रिय र कृयाशील भएर अगाडि बढिरहेको देखिन्छ । निसन्देह यो खुशीको कुरा हो । यसरी अहिले पनि निरन्तर रुपमा विद्याव्यशन र यसैको सेरोफेरोमा उनी सकृय छन् भन्दा कुनै फरक पर्दैन ।
लेखन र प्रकाशनमा उनले आफूलाई उत्तिकै क्रियाशील गराइरहे । यसक्रममा उनले थुप्रै पुस्तकहरुको प्रकाशन गर्न पुगे । जसमा— सड्घीय शासन प्रणाली, सुशासन र विकास, नेपालमा सङ्घीयताका अवसर र चुनौतिहरु, प्रशासनमा व्यावसायिकता र सदाचारिता, शासन प्रणाली र सार्वजनिक मामिलाको व्यवस्थापन, अर्थ वित्त र राजश्व प्रशासन, शासकीय प्रबन्धका नवीनतम आयामहरु, कौटिल्यको आलोकमा नेपालमा भन्सार प्रशासन लगायत एकदर्जन जति सिङ्गो कृतिहरु समेत लेख्न भ्याए । यो जाँगर र सकृयताको मुहान कहाँबाट कहिलेसम्म आउँछ यो कुरा भने भेटमा सोध्नु पर्ला भन्ने ठानेको छु । उनले हालसम्म दुई हजार भन्दा बढी अनुसन्धानमूलक लेख–रचनाहरु प्रकाशन गरिसकेको कुरा थाहा हुन्छ भने विभिन्न कार्यपत्र, गोष्ठीपत्र तथा अवधारणापत्रहरु तयार गर्ने काममा पनि उनी संलग्न भइरहेका छन् । मानौ उनी यो जगत्मा लेख्न र पढ्नकै लागि जन्मिएका हुन् ।
अब म मूल विषयतर्फ लाग्दैछु । उनको एउटा नदेखिएको र नलेखिएको व्यक्तित्वको पाटोमा केही कोर्ने प्रयास गर्दैछु । त्यो क्षेत्र हो— गीत सङ्गीत र सिर्जनाको ।
हरेक कवि गीतकार हुन्छ, तर हरेक गीतकार कवि नहुन पनि सक्छ भनिन्छ । तर दामोदर रेग्मी दुवै क्षेत्रमा संलग्न भएको कुरा थाहा हुन्छ । साहित्यिक क्षेत्रमा उनको नजानिदो पदार्पण भने कविकै रुपमा हुन पुग्यो । उनले स्कुल पढ्दादेखिनै अतिरिक्त कृयाकलापमा भाग लिन थालिसकेका थिए । अनि यसैक्रममा कविता लेख्न सिकेको र पाठ गर्न थालेको कुरा उनकै स्वीकारोक्तिबाट थाहा हुन्छ । सुरुमै म फुच्चे कवि भइसकेको थिएँ (नागरिक पाना २०८२ ज्येष्ठ ७, २०८२)। उनको कवि र गीतकार व्यक्तित्व सायद निजामति सेवा, अध्ययन प्रकाशनले ओझेलमा पर्यो भन्न सकिन्छ अथवा सर्जक स्वयं अन्य धेरै क्षेत्रतर्फ छितरिएकाले ओझेलमा पारिदिए । मनमा अङ्कुरित बिरुवा त्यसै त्यसै कचल्टिएर यत्तिका वर्षसम्म कसरी बस्न सक्यो होला ? यस्ता कारुणिक, संवेदित, कोमल र सुललीत गीतकारले आफ्ना चेतनाको प्रकाशपुञ्जलाई कसरी गुम्स्याएर राख्न सके हुन् यत्तिका वर्षसम्म ? के उनले यही जागीर नामको वृत्तिका कारण अर्को सिर्जनात्मक क्षेत्रलाई यसरी हेला गरेर छिँडीमा मिल्काउन मिल्थ्यो ? यसको उचित उजुरी कहाँ लाग्ने ? र गीतिक्षेत्रलाई पुर्याएको हानीको क्षतिपूर्तिको हर्जाना कसले तिर्ने ? कि स्वयं सर्जकले ? यसरी मेरो मनमा यस्ता मनोगत र लहडी भावनात्मक प्रश्न र जिज्ञासाहरु पनि उठ्न पुगे । जे होस् उनलाई गीतकार बन्ने भावभूमि पहिले जन्मिएको कवि प्रतिभाकै कारण प्राप्त भएको हो भन्न चाहिँ निसन्देह सकिन्छ । युवा वयका स्वर्णिम उमेरहरुमा गीत र कविताहरु लेख्नु, फुर्नु र गुनगुनाउनु सामान्य कुरा नै हुन् । तर यतिखेर पछिल्लो कालखण्डमा मात्र उनको यो क्षेत्र प्रखर र उर्वर रुपमा देखापर्न आएको छ । के सबै क्षेत्रबाट मन अघाएपछि वा निवृत्त भएपछि मानिस साहित्यको सेवा गर्न आइपुग्छ ? सायद अक्षरको आयु अरु भन्दा केही लामो हुन्छ भनिन्छ त्यही भएर त होइन ?
साहित्य र कलाविहीन मानिस सिङ पुच्छर नभएको पशु समान हुन्छ भनेर हाम्रा नीतिशास्त्रमा पनि उल्लेख गरिएको छ । हुन पनि आमाको गर्भबाट निस्कनासाथ च्यार्र…च्यार्र..को साङ्गीतिक आवाजबाट हाम्रो जीवन सुरु हुन पुग्छ । बाल्यकालमा हाम्रा आमा, हजुरआमाहरुले लोरी सुनाएर सुताएको क्षण, युवावयामा निकालेका सुसेली वा गुन्गुनाहट, वार्धक्य उमेरमा आएर गाइएका भजन कीर्तन वा पौराणिक ग्रन्थहरुको सस्वर वाचन के यी हाम्रा जीवनका अभिन्न अङ्ग होइनन् ? साङ्गीतिक ताल, सुर र लयहरु होइनन् ? जो हामी जन्मदेखि मृत्यु पर्यन्त कुनै न कुनै रुपमा सुनिरहन्छौ गाइरहन्छौं । अतः गीत सङ्गीतको महिमा अतुलनीय छ, अवर्णनीय छ ।
साहित्यका विविध विधाहरु मध्येको एउटा विधा हो— गीत । यसलाई यदाकदा सरल विधा पनि भन्ने गरिएको छ । आफूलाई प्रकट गर्न, आफ्ना विचार भावनाहरु प्रदर्शन गर्न मानिसहरु सर्वप्रथम गीतलाई नै माध्यम बनाउने गर्दछ, अथवा कविताको क्षेत्रलाई नै रोज्न पुग्छ । सुरु सुरुका दिनमा सायद यो क्षेत्रमा लाग्ने व्यक्तिहरुलाई लेख्न सहज लागेर पनि हुनसक्छ यो माध्यमलाई अख्तियार गर्न पुगेका हुन्छन् । तर उनीहरु त्यसपछि फेरि गीत लेख्न त्यति इच्छा गर्न छाड्छन् र भन्छन्— यो त युवायुवतीहरुले अझ आल्हाडपनका केटाकेटी, प्रेमीप्रेमिकाहरुले लेख्ने विषय हो भनेर लाञ्छना लगाएर आफू पन्छिन्छन् । त्यसपछि उनीहरु यो विधामा आउने दुस्साहस सितिमिति गर्दैनन् पनि, किनभने राम्रो गीत लेख्न निकै दक्षता नै चाहिन्छ । आफूले हार खाएर नसके पछि अङ्गुर अमिलो भने जस्तै कुरा हो यस क्षेत्रलाई हेय गर्नु भनेको । अतः गीति क्षेत्रमा लाग्नु कुनै सामान्य विषय पटक्कै होइन । आफूले स्तरीय गीत लेख्न नसकेपछि आउने अभिव्यक्ति हो यो भन्ने बुझ्नु पर्छ । अतः गीत लेख्नु कुनै चानचुने कुरा किमार्थ होइन ।
यसलाई किफायती विधा पनि भनिन्छ । किनभने गीत लेख्न धेरै शब्दहरु खर्च गर्नु पर्दैन । नभन्दै थोरै शब्दहरुको प्रयोग, छोटो बसाई र लघु आकारमा तयार गरिने भएको हुँदा त्यसो भनिएको हुँदो हो । तर यसो भन्दैमा गीतमा रस, लालित्य, गहन भाव जस्ता कुराहरु नचाहिने भन्ने कुरा कदापि हुँदैन । गीत लेखन पनि अरु जत्तिकै वा त्यो भन्दा पनि बढी जटिल कुरा हो । हो यसमा धेरै लामो महाभारत लेख्नु पर्दैन, पढ्नलाई धेरै समय पनि लाग्दैन तर यसो भन्दैमा शब्दका भरमार मालाहरु पहिर्याइदिएर मात्र पनि राम्रो गीत बन्दैन । शब्दका रास मात्र थुपारेर राम्रो महल कदापि ठडिदैन । अनुप्रास, अन्त्यानुप्रास, तुकबन्दीहरु मिलाएर गहन भाव दिने शब्दहरुको सही संयोजन गर्न सकियो भने गीत गीत जस्तो हुन पुग्छ । गीत त पानीजस्तो गतिशील र प्रवाहशील बनेर सुललीत रुपमा बग्न सक्नु पर्छ । गीतमा जीवनको रङ आएन भने, सूक्ष्म अन्तर्दृष्टि छैन भने, ताल, लय र तुक भएन भने, एउटा शब्दले वा वाक्यले अनेक शब्द वा भाव दिन सकेन भने त्यो निरर्थक हुन जान्छ । कुरुप हुन सक्छ । अझ गीतका ती छोटा हरफहरुले अनेक वाक्यांश लेखे बराबरको अर्थ दिनसक्नु पर्छ । खरायोले पाठा जन्माए जस्तो गरी अथवा कारखानाबाट हुतुतुतु जतिपनि सामान उत्पादन गरे जसरी शब्दहरु मात्र थुपारेर, संख्या मात्र बढाएर गुणविहीन र कलाविहीन लेखिने गीत गीत होइनन् । गुणवत्ताले मात्र गीतको महत्ता पनि झल्कन्छ ।
गीतकार व्यक्तित्वः
दामोदर रेग्मीले दुईदर्जन जति गीत लेखेको देखिन्छ । तर अधिकांश गीतहरु भने उनले आफ्नो जागीरे जीवनको अवकाश ग्रहण पछि नै लेखेको र रेकर्ड गरेका हुन् । उनका रेकर्डेड गीतको संख्या भने सात आठवटा भन्दा बढी छैनन् । यो छोटो कालावधिमा उनले देखाएको सिर्जना र सक्रियतालाई हेर्दा यो निकै उपलब्धिमूलक र महत्वपूर्ण कुरा मान्न सकिन्छ । कोरोनाले देशलाई आक्रान्त पारेको एक समयमा यात्रामा निस्कनु पर्ने परिस्थिति परेछ सर्जकलाई । गाडीमा गीत बजिरहेको थियो । बजेको गीत गहिरिएर सुन्दै गएँ, तर त्यो गीत–गीत थिएन । गीतमा हुनु पर्ने शब्दहरु थिएनन् तर त्यसको स्वर र सङ्गीत भने अपूर्व थियो, मनोहारी लाग्यो उनलाई लय, धून र स्वर । गीतका शब्दहरुलाई कविताको रुपमा उनले हेर्न थाले । गीत त कविताकै विस्तारित रुप पो रहेछ भन्ने भावना उनको मनमा भित्रियो । अब जुनसुकै बेलामा गीत सुन्दा पनि यही सोचाइ उनको मनमा दोहोरिन थाल्यो । ‘स्कूले जीवनको फुच्चे कवि अब गीतकार बन्ने धून आफूमा सवार भयो’ उनी भन्छन् । यो उनको यस क्षेत्रमा लाग्दाको रचनागर्भ थियो ।
एक अञ्जुली मायाको उपहार छरिदेउ… नामक गीत नै उनको प्रथम रेकर्डेड गीत हो । जसलाई आनन्द कार्कीको स्वर र किरण कँडेलको संगीतले सिंगारिएको छ । अलिकति हाँस्नु तिमी अलिकति म हाँसुला… गीतमा प्रतापदास र अन्नु चौधरीको स्वर रहेको छ भने डि.बि.लामाको सङ्गीत छ । उनको तेस्रो गीत भनेको सिरोटोले छुँदै छुन्न… भन्ने हो । यसको स्वर तथा सङ््गीत मुरलीधरको रहेको छ । उनको गीत सङ्ग्रहको नाम नै यही शीर्षकबाट जुराइएको छ । डाँडापारी घाम डुब्यो तिमी किन आएनौ… नामक गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् भने डि.बिं. लामाको सङ्गीत छ । जिन्दगीको पाठशालाले धेरै पढायो… भन्ने गीतको स्वर आनि छोङ््ग डोल्मा र सङ्गीत कीर्ति न्यौपानेको रहेको छ । यो मनको चाहना अल्झियो तिमीमा…गीतमा सुरेश लामा र दीपा लामाको स्वर रहेको छ अनि सङ्गीत डि.बि.लामाको छ । बालबालिकाको सामूहिक स्वरमा उनको बाल गीत पनि रेकर्डेड छ, जसको सङ्गीत बि पि वाग्लेले दिएका छन् । यसरी हालसम्म उनका सातवटा गीतहरु रेकर्ड भएर श्रोतामाझ गुञ्जन आइपुगेका छन् । उनको गीतलाई स्वर र सङ्गीत दिएर सजाउने व्यक्तित्वहरु पनि उत्तिकै स्वनामधन्य महारथीहरु भएकोले सफल गीत बन्न सकेको हो भन्न सकिन्छ । कुनै एउटा गीत सफल हुन केवल राम्रो रचना मात्र भएर सम्भव हुँदैन त्यसको लागि स्वर र सङ्गीतको पनि उत्तिकै तलमेल मिलेको हुनुपर्दछ । अतः रेग्मीले यो गीत, सङ्गीत र स्वरको त्रिवेणीलाई मिलाएर संयोजन गर्न पनि उत्तिकै मेहनत गरेको महसुस हुन्छ ।
अलिकति हाँस्नु तिमी, अलिकति म हाँसुला
बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुँला…
झट्ट दृष्टि राख्नेका लागि दामोदर रेग्मी प्रणय गीतका गीतकार जस्ता पनि नलाग्ने होइनन् । किनभने उनका गीतमा प्रायः दुई आत्माको मिलन, बिछोड, प्रेमी प्रेमिका बीचको सम्वाद र सम्बन्धका बारेमा चर्चा हुन्छ । तर अलि नजिक पसेर उनका गीतलाई गहिरिएका अध्ययन गर्दा भने त्यो मात्र नभएर जीवनमा आइपर्ने अनेकौ घटना—परिघटनामा उनको कलम बग्ने सामथ्र्य राख्दछ । त्यसमा प्रायः सकारात्मक सोच, जीवनदर्शन, सामाजिक चेतना, देशप्रेम, आत्मचिन्तन, नैतिक शिक्षा आदि अन्तरसम्बन्धित भएर आउँछन् । जीवनमा आइपर्ने सुखदुख, सङ्घर्ष, अप्ठ्यारा र चुनौतिहरुलाई पार गर्ने नैतिक बल र साहसका कुराहरु दिन पनि उनी उत्तिकै अगाडि छन् । सहज शब्दमा सशक्त अभिव्यक्ति पोखिएको एउटा सुन्दर गीतको नमुना यस्तो छ—
जिन्दगीको पाठशालाले धेरै पढायो
कहिले हँसायो कहिले रुवायो…
यस्ता जीवनोपयोगी गीत लेखेर उनले आधुनिक गीति साहित्यलाई छोटो समयमै निकै उर्वर बनाउँदै अगाडि बढाउने सौभाग्य पाएका छन् । यो हामी सबैको लागि खुसीको विषय हो ।
कम शब्दमा धेरै भाव पोखिनु नै गीतको विशेषता हो । गीत पढ्दा जति मज्जा आउँछ सुन्दा त्यो भन्दा बढी भावविभोर हुन सकिन्छ । जति गीत सुन्दा त्यसको आनन्द आउँछ पढ्दा नआउन सक्छ वा कम आउँछ । त्यसै पनि गीतमा शब्दहरु कम हुन्छन् । कम शब्द खर्च गरेर बढी भाव पोख्न सकियो भने त्यो गीत कसिलो र शसक्त हुन जान्छ । यसैले गीतमा शब्दको किफायत गरिन्छ । एउटा सशक्त गीतले भनेको भन्दा नभनेको कुराहरुको भाव बढी दिन सक्नु पर्छ । कमसेकम श्रोताले त्यो अनुमान गर्न सकुन् । त्यस्तो गीत कालजयी हुन्छ, सफल मानिन्छ । कालजयीको अर्थ हो समयलाई जितेको । त्यसैले समयको सीमामा नबाँधिने वा सार्वकालिक, शाश्वत र अमर रचना वा प्रतिभा नै कालजयी हुन् । अङ्ग्रेजीमा कालजयी रचनालाई क्लासिक्स भनिन्छ । यसको अर्थ महान् पनि हो । कालजयीपनको पहिलो शर्त हो— परिपक्वता । प्रायः कालजयी रचना परपक्व मानसको उपज हुन्छ । रचनाको भाषामा परिपक्वता तब आउँछ जब रचनाकारको मानसमा अतीतको आलोचनात्मक बोध हुन्छ, चेत हुन्छ, वर्तमानमा विश्वास हुन्छ र भविश्यका बारेमा कुनै सन्देह हुँदैन । दामोदरका गीतहरुले पनि त्यही बाटो हिड्ने लय पक्रिएको देखिन्छ ।
गीतकारले जब गीत लेख्न थाल्छ उसले आफ्नो शब्दका जालहरु यसरी फिँजाउँछ कि माछाहरु फत्र्याक्क फत्र्याक्क पर्न सकुन् । यसरी आफ्ना गीतका शब्द शब्दले श्रोतालाई बढी भन्दा बढी लठ्ठ पार्न सक्नु नै गीतको लोकप्रियता हो । यस्ता गीत नै प्रभावशाली र सर्वप्रिय हुन्छ । भाषा खिप्तै सही शब्दको सही ठाउँमा उपयोग गरेर कल्पनाको भूगोल विचरण गर्दै लेखिएको गीत स्वभाविक र रमाइलो मानी श्रवण गर्छ रसास्वादन गर्छ श्रोताले । यसतर्फ रचनाकारले गम्भीरतापूर्वक ध्यान दिनै पर्छ । दामोदर रेग्मीका गीतको धरातल र भावभूमि दह्रो भए पनि कहिँ कतै अलि शील्पले टलक्क टल्कन नसकेको अनुभूति हुन्छ । अतः फिनिसिङमा चाहिँ उनले अलिकति ध्यान दिनु आवश्यक देखिन्छ ।
लेखक दामोदर र गीतकार दामोदर बिल्कुल फरक व्यक्तित्वका रुपमा देखा पर्दछन् । लेखक दामोदर अनुसन्धानमूलक गहिराईमा पुगेर कृति लेख्ने स्रष्टा हुन् जो वस्तुगत, तथ्यगत र स्पष्ट देखिन्छन् भने गीतकार दामोदर कल्पनाशील, कोमल फूलजस्ता संवेदित, प्रेमिल र रोमान्सले भरिएका, भावुक र कहिलेकाहीँ भावनामा बहकिएका व्यक्ति जास्ता लाग्छन् । यो भनेको विधागत स्वभाविक स्वभाव नै हो । अतः विद्वत्ताको सगरमाथा आरोहण गरिसकेका गीतकारले हाम्रा मानवीय चरित्रहरुको, भावनात्मक आवेग संवेगहरुको सूक्ष्म अध्ययन अनुसन्धान र विश्लेषण गरेर रस निचोरेर जीवनको गूढ रहस्य पत्ता लगाउँदै सार्थक गीत लेख्ने शब्द सामथ्र्य अझ बढेर जाओस् । उपाधि र प्रज्ञाको त्यो उच्चासनमा पुग्ने सौभाग्य सब कोहीलाई सितिमिति मिल्दैन । अत उनको जाँगर, जागरण र उत्साह भरेर हामीले उनीबाट अझ अरु थप गहन सामग्रीहरु पाउने आशा अपेक्षाका साथ हार्दिक शुभेच्छा र शुभकामना प्रकट गर्नु यस प्रसङ्गमा समीचिन ठान्दछु । अस्तु ।।
खोटाङ, मार्से बतासे ४ हालः जडिबुटी काठमाडौ
नगेन्द्रराज रेग्मी सुपरिचीत साहित्यकार हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीव्दारा लिखित गीतकारको कलमबाट साभार गरिएको हो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको