वैदिक संस्कार: अव्यवस्था र पुनर्जागरण

नागरिक पाना
२०८२ माघ ३, शनिबार ०२:५२

वैदिक संस्कार केवल जीवनका कर्मकाण्ड होइनन्; ती जीवनलाई संस्कृत, संयमित र अर्थपूर्ण बनाउने दिव्य विधान हुन्। वैदिक ऋषिहरूले मानव जीवनलाई ब्रह्माण्डीय ऋतसँग समायोजन गराउने उद्देश्यले गर्भाधानदेखि अन्त्येष्टिसम्म सोह्र संस्कारको व्यवस्था गरेका थिए। यी संस्कार केवल बाह्य औपचारिकता मात्र होइनन्; तिनीहरूले मन, बुद्धि र आत्माको क्रमिक परिष्कार सुनिश्चित गर्छन्।

मनुस्मृतिमा स्पष्ट उल्लेख छ— “संस्कारैर्द्विजतां याति बीजाद्विज इवाधमः।” अर्थात् संस्कारद्वारा नै मनुष्य द्विज बन्छ, जसरी बीउ संस्कारपछि अंकुर बन्छ। यसले मानव जीवनमा संस्कारको अपरिहार्यता र गहिरो अर्थ उद्घाटित गर्छ। तर आज यी संस्कारहरू अव्यवस्थित, सतही, औपचारिक र प्रदर्शनमुखी बन्दै गएका छन्। विवाह, व्रतबन्ध, नामकरण, अन्त्येष्टि—सबैमा विधि बाँकी छ, तर आत्मा हराउँदै गएको छ। कर्म भइरहेको छ, तर चेतना छैन। वैदिक संस्कारको मुख्य उद्देश्य बोध हो—जीवनका प्रत्येक चरणमा चेतनाको परिष्कार हो । मुण्डकोपनिषद्को एउटा सूत्र छ -“सत्येन लभ्यस्तपसा ह्येष आत्मा।” आत्मा सत्य, तप र अनुशासनद्वारा प्राप्त हुन्छ। संस्कार तिनै साधन हुन्। तर आज संस्कार ‘कर्म’ मात्र बनेका छन्, ‘साधना’ होइनन्। मन्त्र उच्चारण हुन्छ, तर अर्थ बुझिँदैन। जब मन्त्रको भाव हराउँछ, जप ध्वनिमात्र रहन्छ। मानिसले “के गर्नुपर्छ?” जान्छ, तर “किन गर्नुपर्छ?” भन्ने जिज्ञासा हराउँछ।

वैदिक परम्परामा प्रत्येक संस्कार मनोवैज्ञानिक र आध्यात्मिक रूपान्तरणको सोपान हो। नामकरणले पहिचान स्थिर गर्छ, अन्नप्राशनले निर्भरता बाट स्वतन्त्रतर्फको संकेत दिन्छ, उपनयनले बालकलाई विद्या र अनुशासनको पथमा प्रवेश गराउँछ, विवाहले स्वकेन्द्रित जीवनबाट सहजीवनतर्फ मोड्छ, अन्त्येष्टिले अनित्यताको बोध गराउँदै वैराग्य जागृत गर्छ। यी सबै संस्कार जीवनका चरणहरू स्पष्ट पार्ने चेतनात्मक स्तम्भ हुन्।

आज संस्कारहरू व्यावसायिक संरचनामा बाँधिएका छन्। विवाह, यज्ञ, व्रतबन्ध ‘प्याकेज’ मा उपलब्ध छन्। शुल्क, समय र सुविधाको आधारमा संस्कार नापिन्छ। शास्त्रले भने कर्मको मूल्य भाव मा राखेको छ— “भावग्राही जनार्दनः।” श्रीमद्भागवतमहापुराणको यस् अर्धश्लोकमा भनिएको छ भगवान् भाव ग्रहण गर्नुहुन्छ, बाह्य पदार्थ होइन। तर आज भावभन्दा रकम प्रधान भएको छ। यज्ञमा अग्नि छ, तर श्रद्धा छैन; मन्त्र छ, तर मनन छैन। व्यावसायिकरणले संस्कारलाई समय–सीमित कार्यक्रम बनाएको छ—“एक घण्टामा सकिने पूजा”, “तीन घण्टामा विवाह।” जबकि संस्कारको स्वभाव नै अवकाश र एकाग्रता हो। जहाँ चाँडोपन आउँछ, त्यहाँ चेतना टिक्दैन।

वैदिक संस्कृति गुरु–शिष्य परम्परामै बाँचेको थियो। छान्दोग्य उपनिषद् भन्छ—“आचार्याद्धैव विद्या विदिताः।” अर्थात् विद्या आचार्यबाटै प्राप्त हुन्छ। गुरुकुलीय परम्परा क्षय हुँदा संस्कार सिकाउने गहिरो पद्धति हरायो। परिणामतः मन्त्र बिग्रिए, विधि मिश्रित भए, मर्यादा कमजोर बन्यो। जब गुरु छैनन्, तब परम्परा केवल अनुकरणमा सीमित हुन्छ। आधुनिक जीवनशैलीले सरलता र छिटोपनलाई प्राथमिकता दिन्छ। संस्कार धैर्य, समय र अनुशासन माग्छन्। गीतामा भनिएको छ -“श्रद्धावान् लभते ज्ञानम्।” अर्थात् श्रद्धावान्ले मात्र ज्ञान प्राप्त गर्छ। जब श्रद्धा हराउँछ, संस्कार अर्थहीन बन्छ। आधुनिकताको अन्धानुकरणले मानिसलाई आफ्नो जरा बिर्साउँछ।

संस्कार मूलतः पारिवारिक संस्कृतिमा जीवित रहन्छन्। संयुक्त परिवार विघटनसँगै अभ्यास कमजोर भयो। पहिले बालकले घरमै पूजा, व्रत, जप देख्थ्यो। आज घरमा त्यो वातावरण छैन। संस्कार जीवनको दैनिक अभ्यास होइन, ‘विशेष अवसर’ को कार्यक्रम मात्र बनेको छ।
वैदिक युगमा संस्कार जीवनको स्वाभाविक लय थिए। ऋग्वेदमा मानव जीवनलाई ऋतसँग समायोजन गर्ने चिन्तन स्पष्ट देखिन्छ। तैत्तिरीय ब्राह्मणमा विवाहलाई यज्ञकै स्वरूप मानिएको छ—पति र पत्नी यज्ञका दुई आहुति हुन्। तर कालान्तरमा दर्शनबाट विच्छेद भएपछि संस्कार कर्मकाण्डमा सीमित हुँदै गए, र आधुनिक युगमा तिनको रूप अझ संकुचित भयो।

ऋषिहरू केवल आध्यात्मिक दृष्टा मात्र थिएनन्; उनीहरू गहिरा मनोवैज्ञानिक पनि थिए। आधुनिक मनोविज्ञानले पनि जीवनका मोडमा Ritual को महत्त्व स्वीकार गर्छ। संस्कारले संक्रमणकाल सुरक्षित बनाउँछन्। जब यस्ता संस्कार कमजोर हुन्छन्, व्यक्ति आन्तरिक रूपमा दिशाहीन बन्छ।
आजको युवापुस्तामा देखिने अस्थिरता, पहिचान संकट, सम्बन्ध विच्छेद—यी सबै संस्कारको क्षयसँग सम्बन्धित छन्। संस्कार हराउँदा जीवनका चरणहरू धुमिल हुन्छन्—बालक अचानक वयस्क बन्न खोज्छ, वयस्क जिम्मेवारीबाट भाग्छ, वृद्ध एक्लिन्छ।

संस्कार केवल व्यक्तिगत साधना होइन; ती सामाजिक अनुशासनका आधार हुन्। मनुस्मृतिमा भनिएको छ— “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।” अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता रमाउँछन्। संस्कारित व्यक्ति नै अनुशासित समाजको आधार हो।
आजको शिक्षा प्रणाली दक्षता उत्पादनमा केन्द्रित छ, चरित्र निर्माणमा होइन। वैदिक शिक्षाको मूल सूत्र थियो—“सा विद्या या विमुक्तये।” तर आधुनिक शिक्षा केवल रोजगारीमा केन्द्रित छ। संस्कार बिना विद्या खड्ग जस्तै हुन्छ—शक्ति छ, दिशा छैन।
संस्कारको पुनर्जागरण भनेको केवल पुराना विधि फर्काउनु होइन; त्यसको चेतना पुनःस्थापित गर्नु हो। तैत्तिरीयोपनिषद् भन्छ—“सत्यं वद, धर्मं चर।” यसको अर्थ हो संस्कार जीवनको नैतिक आधार बनून्।

पुनर्जागरणका उपाय:
1. तात्त्विक शिक्षा: संस्कारको अर्थ, प्रतीक र दर्शन बालकदेखि बृद्धसम्म बुझाउने।
2. आचार्यको पुनःस्थापना: प्रशिक्षित, अनुभवी आचार्यले विधि र भाव दुवै सिकाउने।
3. सामूहिक उत्सव: पारिवारिक मात्र होइन, सामाजिक चेतनाको पर्व बनाउने।
4. भावनात्मक अनुभूति: मन्त्र र विधि केवल उच्चारण होइन, अनुभूति र मनन बन्नुपर्छ।
5. आधुनिकता र परम्पराको समन्वय: सरलता अपनाइने, तर मूल चेतना नहराउने।

संस्कारको पुनर्जागरणले व्यक्तिगत मात्र होइन, सामाजिक र राष्ट्रिय जीवनमा पनि सकारात्मक प्रभाव पार्छ। संस्कारित व्यक्तिले कर्तव्य, मर्यादा र उत्तरदायित्व बुझ्छ। यस्तो व्यक्ति नै स्थिर समाज र समृद्ध राष्ट्रको आधार हुन्छ।
अन्ततः, वैदिक संस्कार बाह्य कर्म मात्र होइनन्; ती आत्मालाई परिष्कृत गर्ने साधना हुन्। जब कर्ममा बोध, विधिमा भाव र परम्परामा चेतना पुनःस्थापित हुन्छ, तब संस्कार अव्यवस्थित हुँदैन। संस्कारको पुनर्जागरण भनेको आफ्नै संस्कृति, चेतना र आत्मिक पहिचानको पुनर्जागरण हो। यहीले भविष्यको सभ्य, संयमित र समृद्ध समाजको निर्माण गर्दछ।
यस् अर्थमा संस्कार नबिर्सनु, केवल गर्ने मात्र होइन, बुझ्ने, अनुभव गर्ने र जीवनमा उतार्ने अभ्यास गर्नु नै वास्तविक वैदिक संस्कारको सार हो।

लेखक :- स्वावलम्बी फाउण्डेसन नेपाल नामक संस्थाका संस्थापक अध्यक्ष हुन् आचार्य राघव मौद्गल्य(राजन प्रसाद उपाध्याय)