सत्ता, सभ्यता र ‘भिक्षावृत्ति’ : समकालीन राजनीतिक चरित्रको विश्लेषण
समकालीन नेपाली राजनीतिमा एउटा मौन तर गम्भीर रूपान्तरण भइरहेछ। हिन्दुत्व, परम्परा र सभ्यताप्रति आलोचनात्मक दृष्टि राख्ने राजनीतिक संरचनाभित्रै केही हिन्दु गुरूहरू प्रतिनिधित्व खोज्दै प्रवेश गर्न आतुर देखिन्छन्। सतहमा हेर्दा यो समावेशिता वा राजनीतिक बहुलता जस्तो लाग्न सक्छ। तर गहिरिएर हेर्दा, यो केवल सभ्यताको प्रश्न होइन—यो चरित्रको प्रश्न हो, अझ स्पष्ट शब्दमा भन्नुपर्दा, यो भिक्षावृत्तिको आधुनिक रूप हो। यहाँ भीख धनको छैन, यहाँ भीख स्वीकृतिको छ। यहाँ कटौरा हातमा होइन,
यहाँ चेतना नै कटौरामा राखिएको छ।
“म हिन्दु हुँ, मलाई पनि स्थान देऊ।”
“म गुरू हुँ, मलाई पनि टिकट देऊ।”
“भित्र पसेर परिवर्तन गर्छु।”
यी वाक्यहरू राजनीतिक रणनीति जस्ता देखिए पनि, यथार्थमा यी आत्मसमर्पणका भाषा हुन्। किनकि जसले प्रवेश नै आफ्नो मूल्य स्थगित गरेर गर्छ, उसले भित्र गएर ती मूल्य जोगाउन सक्दैन।
गुरुको ऐतिहासिक भूमिका र आजको विचलन
हिन्दु सभ्यतामा गुरू केवल धार्मिक उपदेशक होइन। गुरू सभ्यताको नैतिक मेरुदण्ड हो—जो शक्तिलाई प्रश्न गर्छ,जो राजालाई धर्म सम्झाउँछ, जो एक्लै उभिन सक्छ।
ऋषिहरू दरबारमा गए, तर दरबारका सेवक बनेनन्।
राजाहरू ऋषिको शरणमा पुगे, ऋषि राजाको चरणमा झुकेनन्।
आज भने दृश्य उल्टिएको छ।गुरूहरू दरबारको ढोकामा उभिएका छन्, सत्तासँग अनुग्रह मागिरहेका छन्,
र मौनताको मूल्यमा आफ्नो पहिचान जोगाइरहेका छन्। यो केवल वैचारिक विचलन होइन। यो गुरूत्वको अवमूल्यन हो।
जब गुरु स्वयं सत्ताको कृपामा बाँच्न थाल्छ, तब ऊ मार्गदर्शक रहँदैन, ऊ प्रणालीको पाङ्ग्रो बन्छ।
यी व्यक्तिहरूको सबैभन्दा प्रचलित तर्क हो— “हामी भित्र पसेर परिवर्तन गर्छौं।” तर इतिहास र राजनीति दुवैले एउटा कठोर सत्य सिकाएका छन् । प्रणाली परिवर्तन गर्न चाहनेले पहिले आफ्नो मूल्य बचाउनुपर्छ। जसले प्रवेश नै मौनताबाट गर्छ,
जसले सुरुवात नै सम्झौताबाट गर्छ। उ क्रमश: सत्ताको भाषामा बोल्न सिक्छ, सत्ताको डरमा सोच्न थाल्छ, सत्ताको गणनामा आफ्नो विवेक तौल्छ। ऊ “समय आएपछि” भन्न थाल्छ, ऊ “यथार्थ राजनीति” को नाममा आफ्नै आत्मालाई स्थगित गर्छ र एकदिनऊ त्यही संरचनाको सबैभन्दा आज्ञाकारी अङ्ग बन्छ।
यो रणनीति होइन। यो आत्मघातको क्रमिक प्रक्रिया हो।
हिन्दु दर्शनको मूल आत्मा आत्मनिर्भरता हो । शास्त्रमा भनेको छ “उद्धरेदात्मनाऽत्मानं” अर्थात् आफ्नै आत्माले आफूलाई उकास।
यस सभ्यताले कहिल्यै यस्तो शिक्षा दिएन— पहिले निहुर, पहिले चुप लाग, पहिले आफ्नो मूल्य थन्क्याऊ,अनि अवसर पाएपछि
सत्य बोल।
सभ्यता भीख मागेर जोगिँदैन। आत्मा सौदाबाजीबाट बाँच्दैन।
जब समाजले यस्तो भिक्षावृत्तिलाई स्वाभाविक मान्न थाल्छ,
तब राजनीति सिद्धान्तबाट हटेर सौदाबाजीमा रूपान्तरित हुन्छ।
तब गुरू मार्गदर्शक होइन, सुविधा–याचक बन्छ।
तब मूल्यभन्दा अवसर ठूलो ठानिन्छ। यही क्षणबाट सभ्यताको क्षय सुरु हुन्छ।
सम्मानको मापदण्ड अनुसार यी व्यक्तिहरूलाई गाली गर्नु आवश्यक छैन। उनीहरू व्यक्तिगत रूपमा श्रद्धेय हुन सक्छन्।
तर उनीहरूलाई “हिन्दुत्वका प्रतिनिधि” भनेर स्वतः शिरमा राख्नु
बौद्धिक रूपले गलत र सभ्यतागत रूपले अन्यायपूर्ण हुन्छ।
किनकि हिन्दु हुनु पहिचान हो, तर हिन्दुत्व बोक्नु साहस हो।
जो साहस त्यागेर सत्ताको ढोकामा उभिएको छ, जो मौनताको मूल्यमा आफ्नो चेतना जोगाइरहेको छ, जो आत्मालाई कटौरामा राखेर स्वीकृति मागिरहेको छ ऊ हिन्दु हुन सक्छ तर हिन्दुत्वको वाहक कहिल्यै हुन सक्दैन ।
सभ्यताको रक्षा न नाराबाट हुन्छ, न सम्झौताबाट। यो सुरु हुन्छ
एकै आधारबाट , आत्मसम्मानबाट।
सत्ता, सभ्यता र ‘भिक्षावृत्ति’ : समकालीन राजनीतिक चरित्रको विश्लेषण

तपाईको प्रतिक्रिया !