ग्रामीण जनजीवनको समग्र पक्षको चित्रण गर्ने गेयात्मक अभिव्यक्ति नै लोकगीत हो । मानवीय अध्ययन , अनुभव र अनुभूतिको आधारमा सिर्जना गरिएका गेयात्मक शब्द रचनालाई आधुनिक गीत भनिन्छ । लोकगीतलाई लोकगीत भनिन्छ भने आधुनिक गीतलाई गीत मात्र पनि भनिन्छ । गीतलाई गाना पनि भनिन्छ । यधपी गीत भन्नाले गाउनका लागि तयार पारिएको रचना हो भने गाना भन्नाले गाइसकेको गीत हुन्छ ।
कालक्रमसंगै लोकगीतकै भाका र भावबाट समय सापेक्ष हुँदै शब्द संरचना र फराकिलो अर्थ युग चेतना सँगै नवीनतम साँगितिक शैलीमा आधुनिक गीतहरू प्रस्तुत हुँदै आएका छन् । आदिगायक सेतुरामद्वारा गाई रेकर्डिङ ( वि.सं.१९६५) गरिएको ” राम प्यारा हुन् …” बोलको गीतलाई आधुनिक नेपाली गीतको प्रसारण आरम्भ विन्दु मानिएको छ । महाकवि देवकोटा , सिद्धिचरण श्रेष्ठ , गोपालप्रसाद रिमाल,युद्धप्रसाद मिश्र , भूपि शेरचन, माधव घिमिरे, केवलपुरे किसान लगायतका अग्रजहरूले नेपाली गीतमा आधुनिक शब्द भाव र शिल्पको प्रवेश गराए।
वि.सं. २००७ साल चैत २० गते रेडियो नेपालको स्थापना भएसंगै आधुनिक गीतपनि नेपाली संगीतको एक विधाको रूपमा प्रतिष्ठापित हुँदै गयो ।लोक,शास्त्रीय , गजल र पश्चिमी संगीतलाई संयोजन गर्दै मास्टर रत्नदास प्रकाश,अम्बर गुरूङ , नातिकाजी, गोपाल योञ्जन जस्ता संगीतकारहरूले नेपाली गीतमा संगीत भरी आधुनिकीकरण भित्र्याएका थिए । ईश्वर वल्लभ, किरण खरेल , राममान तृषित, माधव खनाल, म.वि.वी.शाह,रमेश धिताल,बैरागी काँइला, अगमसिंह गिरि, रत्न शमशेर थापा, क्षेत्रप्रताप अधिकारी , दिनेश अधिकारी ,हरिभक्त कटुवाल , चाँदनी शाह, कृष्णप्रसाद घिमिरे ,राजेन्द्र थापा,सुवास चन्द्र ढुङ्गेल,रमेश दाहाल लगायतका गीतकारहरूले समयानुकूल शब्द संरचना गरी सुगम गीतहरू रचना गर्दै गए । यही सुगम शैलीका गीतहरूलाई आज आधुनिक गीत भनिएको छ ।
यसै परिप्रेक्ष्यमा आधुनिक नेपाली गीतलाई व्यापिकरण गर्नाका लागि संभावना बोकेका उदियमान गीतकारको रूपमा शोध खोज सोंच ओज र अठोटमुखी व्यक्तित्वका धनी डा. दामोदर रेग्मी अवतरित हुनुभएको छ । लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन -६ बर्तुङ जन्मी राष्ट्रसेवक कर्मचारीको रूपमा कार्यसम्पादन गर्ने सिलसिलामा हाल उहाँ काठमाडौंमा स्थायी बसोबास गर्दै आउनु भएको छ ।
” कौटिल्यको अर्थशास्त्र र नेपालमा यस्को प्रभाव ” शीर्षकमा विधावारिधि गर्नु भएका डा. रेग्मीले नेपाल सरकारको प्रशासन , नीति निर्माण,सार्वजनिक वित्त व्यवस्थापन र अनुसन्धानको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको छ । प्रतिभाशाली बहुमुखी व्यक्तित्वको रूपमा पहिचान बनाउन सफल डा. दामोदर रेग्मी गीतकारको रूपमा समेत प्रतिष्ठापित हुँदै हुनुहुन्छ ।
” गीत त कविताकै विस्तारित रूप रहेछ । शब्द हुँदा कविता बन्दो रहेछ । संगीत र स्वर मिल्यो भने गीत बन्दो रहेछ ।” भनी गीतलाई परिभाषित गर्नु भएका गीतकार रेग्मीद्वारा रचित एवं चर्चित गायक गायिकाद्वारा स्वर प्रदान गरिएका केही शोध, खोज , सोंच, ओज र अठोटपूर्ण गीतहरू यस प्रकार रहेका छन् :-
” जिन्दगीको पाठशालाले धेरै पढायो
कहिले हसायो कहिले रुवायो”
बोलको गीत सुमधुर स्वरकी धनी शान्तिप्रिय गायिका आनी छोइङ डोल्माद्वारा गाइएको छ । यो गीत शोधपूर्ण रहेको छ । जन्म मृत्यु जीवन जिन्दगी जीवनयात्रा सबै रहस्यमय बिषयबस्तु हुन् । रहस्यको अनुसन्धान गरेर कोहि पनि निष्कर्षमा पुगेको छैन । जिन्दगीनै पाठशाला हो । पाठशालाभित्र धेरै अनुसन्धानका बिषयहरू हुन्छन् । यसर्थ तिम्रो हाम्रो सबैको जीवन नै एक शोधमयी रहेको छ।
” संगै जिउने वाचा कसम , कसममै बिलायो
समर्पित भै बाच्ने रहर रहरमै बिलायो”
वाचा कसमहरू किन बिलाए त ? यो खोजको बिषयबस्तु रहेको छ । खोजेजस्तो पाउने भए यो सृष्टि कस्तो हुन्थ्यो होला ? खोज्दा खोज्दै नै जिन्दगी बितेको पत्तै हुँदैन । प्राप्ति र समाप्ति , आशा र निराशामै दिनचर्या बितिरहन्छ र पनि खोजेको के हो ? लक्ष्यमुखि सन्टुष्टी कहाँ भेटिन्छ ?
अनुत्तरित प्रश्नको रूपमा रहेको यो खोजपूर्ण गीत चर्चित गायक मुरलीधरले गाएका छन् ।
” डाँडापारि घाम डुब्यो तिमी किन आएनौ
चराहरू बास बसिसके तिमी अझै आएनौं ”
गायिका समीक्षा अधिकारीद्वारा गाइएको प्रस्तुत गीत सोंचनीय रहेको छ । डाँडा , घाम, चरा, बासलाई बिम्ब र प्रतिकात्मक रूपमा लिदै शुभारम्भ गरिएको गीतको बोलले नै धेरै कुरामा सोच्न बाध्य बनाएको छ । सोच्दा सोच्दै जीवन घर्किन्छ र पनि मानिसले आशा मारेको हुँदैन । विश्वास र आशामा नै संसार अडिएको छ ।
” एक अञ्जुली मायाको उपहार छरिदेऊ
त्यो मुटु भित्रको सन्दुकको को हीरा फोरिदेऊ ”
आहा कति ओजपूर्ण शब्द अर्थ भएको गीतको संरचना, जुन गीत प्रसिध्द गायक आनन्द कार्कीद्वारा गाइएको छ । आनन्द कार्कीले गाउँदै आएका सबै गीतहरू ओजपूर्ण रहेका छन् । ओजपूर्ण शब्द चयन गरी गीत रचना गर्नुहुने डा . रेग्मीका गीतले बौद्धिक स्रोताहरूलाई समेत आकर्षण गरेको छ ।
” अलिकति हाँस्नु तिमी अलिकति म हाँसुला
बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुला”
प्रताप दास र अनु चौधरीद्वारा गाइएको यो गीतले अठोट जाहेर गरेको छ । एकअर्काप्रति प्रतिबद्धता व्यक्त गरेको छ । आशा मात्रै होइन भरोसा दिइएको छ । समर्पणलेनै जीवन र जिन्दगीलाई सुखद चलायमान बनाउने भाव व्यक्त गरेको छ । नर नारीको रूपमा मानिस भएर जन्म लिएपछि बाँचुन्जेल सुकर्म गर्न अठोट लिन सिकाएको छ । माया माया र मायाभित्र नै सम्पूर्ण प्राप्ति हुने अठोट गरिएको छ ।
डा.दामोदर रेग्मीका अरू पनि थुप्रै गीतहरू छन् । उहाँका गीतहरू युगीन र संदेश संप्रेशित छन् । गीतहरू श्रवण गर्नाका लागि सामाजिक सञ्जाल,फेसबुक पेज, युटुव च्यानल र टिकटकभित्र प्रवेश गर्नुपर्दछ । यसका साथै एल्बम र डिजिटल पुस्तकालयभित्र पहुँच हुनु पनि जरुरी छ । आशा छ क्रमिक रूपमा सबै स्रोताहरूको पहुँच डा. रेग्मीको गीतहरू सम्म पुग्नेछ । सांगीतिक रूप लिई गानाका रूपमा आएका गीतहरूलाई स्टेज कार्यक्रम मार्फत प्रस्तुत गर्ने; विधालय ,शिक्षालय र विभिन्न संघसंस्थाहरूले आयोजना गर्ने साँस्कृतिक एवं सांगीतिक कार्यक्रमहरूमा समेत प्रस्तुति गर्न सकियो भने गीतको व्यापिकरण हुँदै जान्छ र गीतकारको माग सहितको पहिचान सर्वत्र हुँदै जानेछ । समयानुकूल शब्द संयोजन गरी आधुनिक गीतकारको रूपमा संगीत विधाभित्र सम्मिलन हुनुभएका सिद्धहस्त गीतकार डा. दामोदर रेग्मीको आगामी दिन अझ कालजयी गीतमय बनिरहोस् । शुभकामना ! शुभयात्रा !
(पुष्कर अथक रेग्मी साहित्यकार तथा शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीको इ बुक गीतकारको कलमबाट साभार गरिएको हो )

