अल्फा जेनेरेशनको सपनामा समृद्ध नेपाल- डा. दामोदर रेग्मी

नागरिक पाना
२०८२ आश्विन १८, शनिबार ०६:५५

म रुपेश, १० वर्षको बालक, अल्फा जेनेरेशनको सदस्य। म सधैंजसो स्कुलको किताब पढ्छु, मोबाइलमा खेल पनि खेल्छु साथसाथै मोबाइल संगै पढ्छु पनि, अनि बेलुकी आमाबुबासँग देशका कुरा सुन्छु। देश भन्नासाथ मेरो मनमा एउटा ठूलो प्रश्न आउँछ “नेपाल कहिले समृद्ध हुन्छ होला ?”
मेरो बुबा अमुक राजनीतिक दलको समर्थक पनि हुनुहुन्छ। बुबा भन्नुहुन्छ “समृद्धि ल्याउने जिम्मा हाम्रो पुस्ताले पूरा गर्न सकेनौं, हामी सच्चिन तयार भएनौं अब तिमीहरू जस्ता नयाँ पुस्ताबाट मात्र यो सम्भव छ।” बुबालाई सोध्न मन थियो “किन आफ्ना नेताहरुलाई सच्याउन सक्नु भएन भनेर” भनेर तर उत्तर मलाइ थाहा नै थियो त्यसैले सोधिन । म बाल मनले सोचिरहन्छु— “के यो जिम्मा हामीले मात्रै बहन गर्नुपर्ने हो? अनि जेनेरेशन X, Y, Z ले के गर्नुपर्छ त?”
एक दिन विद्यालय गएको बेला साथीहरूले ठूलो उत्साहका साथ भने “रुपेश! तिमीले सुनेको छौ? अहिले काठमाडौँमा जेनेरेशन Z का युवाहरू आन्दोलन गरिरहेका छन्। उनीहरू परिवर्तन खोजिरहेका छन्।” मैले सोधेँ “कस्तो परिवर्तन र किन ?” साथीले उत्तर दियो “जेनेरेशन Z का दाजु असीमका अनुसार यो आन्दोलनले न्याय, समानता, रोजगारी र अवसरको परिवर्तन ल्याउंछ रे।”
म भन्न थालें “हामीभन्दा ठूला दाजु दिदीहरूले आन्दोलन गरिरहेका छन् भने, त्यो त हाम्रो भविष्य सुरक्षित बनाउनकै लागि हो नि। त्यसो भए हामी अल्फा जेनेरेशनबाट त अझ ठूलो अपेक्षा छ।”
साँझ बुबा मलाई बजारतिर लिएर जानुभयो त्यहां टोलको चियापसलमा जेनेरेशन X (बुबा उमेरका) र जेनेरेशन Y (दाजु उमेरका) मानिसहरू राजनीति र आन्दोलनको बारेमा बहस गरिरहेका थिए।“यी जेनेरेशन Z का केटाकेटीहरू सडकमा उत्रिएर के हुन्छ? परिवर्तनको लागि त भित्री सोच बदल्नुपर्छ,” एक जना काका (Gen X) ले भन्नुभयो। “तर काका, परिवर्तन सोचले मात्रै हुँदैन, दबाबले पनि आउँछ। हामीले बोल्नैपर्छ, आन्दोलन गर्नैपर्छ,” अर्को दाजु (Gen Y) ले जवाफ दिए। Gen X र Gen Y तर्क वितर्क गर्दै थिए । Gen X हरुका कुरा सुन्दा परिवर्तन आवश्यक छ तर परिवर्तन गर्न कठीन छ भन्ने भाव आउंथ्यो भने Gen Y हरुका कुरा सुन्दा आशावादी भविष्य छ भन्ने भाव आउंथ्यो । बुबा Gen Y को कुरामा सहमति जनाउंनुहुन्थ्यो यसो गर्दा म खुशी पनि हुन्थें किनकी उहां Gen X मा पर्नुहुन्थ्यो ।
म चुपचाप सुनिरहेँ। मेरो मनमा चाहिँ हलचल भइरहेको थियो “यी सबैले आफ्ना ढंगले योगदान दिन खोजिरहेका छन्। तर अल्फा जेनेरेशनको नजरमा त यी सबै हाम्रो भविष्यका लागि हो। यदि तपाईंहरूले सही बाटो कोर्न सक्नुभयो भने मात्रै हामी सजिलै हिँड्न सक्छौं।”
राति ओछ्यानमा पल्टिएको बेला, म आफ्नै मनसँग कुरा गरिरहेको थिएँ “रुपेश, तिमीलाई सबै पुस्ताले हेरिरहेको छ। तिमीहरूको पुस्ताले नयाँ संसार बनाउनु पर्छ। तिमीहरूले प्रविधि जानेका छौ, डिजिटल संसार बुझेका छौ। तर केवल उपकरण प्रयोग गरेर मात्र समृद्धि आउँदैन। मनमा इमानदारी, परिश्रम र एकताबिना भविष्य सम्भव छैन।” त्यो सोच्दा मलाई डर पनि लाग्छ किनकी हाम्रा हजुरवुवा पुस्ताका नेताहरु इमान्दार बन्न सकेनन् कहिलेकाही धिक्कार्न पनि मन लाग्छ तर धिक्कारेर मात्र के गर्नु समय वितिसकेको छ अव सुधार्नु वाहेकको विकल्प केही छैन । तर आशा पनि जाग्छ हजुरवुवा पुस्ताका केही नेताहरुले विगारे, बुबा पुस्ता सुधार भन्दा यथास्थितिमा रमाए आफ्ना नेतका गलत कर्तुत विरुध्द बोल्न सकेनन्, अव Gen Y र Gen Z को होस्टेमा हैंसे थप्ने दायित्व हाम्रो पनि हो ।
केही दिनपछि म आमासँग काठमाडौँ जाँदा भद्रकाली वरिपरिको सडकमा नारा लगाउँदै हिँडिरहेका जेनजीका युवाहरू देखेँ। उनीहरू जोशमा थिए, तर अनुहारमा पीडा पनि थियो। मैले एउटी दिदीलाई सोधें “दिदी, तपाईंहरू किन यति दुख गरेर सडकमा उत्रिनु भएको?”
दिदीले मेरो टाउकोमा हात राख्दै भन्नु भयो “हामी तिमीहरूको लागि, रुपेश। हामीले भोगेका दुःख तिमीहरूले भोग्न नपरोस् भन्ने चाहना हो।”
त्यो वाक्य मेरो मुटुमा गहिरो चोट भएर बस्यो। म मनमनै कसम खाएँ “एकदिन म यो आन्दोलनलाई परिणाममा पुर्‍याउने पुस्ताको प्रतिनिधि बन्नेछु।”
एकदिन विद्यालयमा “मेरो सपना” भन्ने निबन्ध लेख्ने गृहकार्य आएको थियो। मैले यसरी लेखेँ— “मेरो सपना हो समृद्ध नेपाल। यहाँ हरेक बालबालिकाले पढ्न पाओस्, युवाले रोजगारी पाओस्, वृद्धले सम्मान पाओस्, अनि राजनीति केवल सत्ताको खेल नभई जनसेवाको माध्यम बनोस्। यो सपना पूरा गर्न हाम्रो पुस्ताले डिजिटल सीप र नयाँ सोच प्रयोग गर्नुपर्नेछ। तर त्यो भन्दा पहिले अघिल्ला पुस्ताले ढाँचा बनाउनुपर्छ। हाम्रो अपेक्षा यही हो तपाईंहरूले बाटो बनाइदिनुहोस्, हामी त्यहाँ फूल फुलाउँछौं।”
”अल्फा पुस्ताका धेरै किशोर–किशोरीहरूले अहिले भइरहेको जेनजीको आन्दोलनलाई मिश्रित भावनाका साथ नियालेका छन्। उनीहरू सामाजिक सञ्जालमार्फत आन्दोलनको प्रत्येक गतिविधि चाँडै थाहा पाउने भएकाले घटनाको नजिकबाट अनुभव गर्छन्। उनीहरूलाई लाग्छ कि आन्दोलनले उठाएका मुद्दा जायज छन्, तर त्यसमा देखिएको हत्या र विध्वंशले न्याय खोज्ने उद्देश्य कमजोर बनाइदियो। हामीले भविष्यमा बस्नुपर्ने समाज अहिंसामा आधारित, सहिष्णु र सिर्जनशील हुनुपर्छ। यदि आजका आन्दोलनहरू हत्या, तोडफोड र डरमात्र फैलाउने शैलीमा अघि बढे भने त्यसको पीडा हामी सवै माथि पर्छ। यसमा सरकार र आन्दोलनकारी पक्ष दुवै संवेदनशील बन्नु पर्दछ । सरकारले दमन गर्नु हुदैन आन्दोलनकारी पक्षले आन्दोलनमा घुसपैठलाई रोक्न सक्नु पर्दछ।किनकी सरकार र आन्दोलनकारी दुवैमा नेपाली नै छन् । एक नेपालीको चोटमा अर्को नेपालीको मुटु दुख्नु पर्छ ।“
सरले मेरो निबन्ध पढेर मुस्कुराउँदै भन्नु भयो “रुपेश, तिमी अल्फा जेनेरेशन मात्र होइन, भविष्यको नेतृत्व गर्ने पुस्ता पनि हौ।” सरको स्याब्बासीले हर्षित त भएं नै तर सरले स्याब्बासी शब्दसंगै कांधमा थप जिम्मेवारी छोडिदिनु भएको महशुस गरें।
आज पनि जब आन्दोलनका समाचार सुन्छु, चियापसलका बहस सुन्छु, वा विद्यालयमा सपनाबारे कुरा गर्छु, मेरो मनमा एउटै कुरा आउँछ “समृद्ध नेपाल केवल एउटा पुस्ताले बनाउन सक्दैन। जेनेरेशन X ले अनुभव दिनुपर्छ किनकी त्यहां पनि धेरै असल मानिसहरु हुनुहुन्छ केही गलत नेतृत्वले उहाहरुलाई उठ्न नदिएको मात्र हो, जेनेरेशन Y ले जेनेरेशन X का गलत तत्वलाई परास्त गर्दै त्यहां रहनु भएका असल मानिसको अनुभव लिइ हाम्रो नीति र संरचना मजबुत बनाउनुपर्छ, जेनेरेशन Z ले आवाज उठाइ शान्त संघर्ष गर्नुपर्छ, अनि हामी अल्फा जेनेरेशनले त्यो सपना पूरा गर्न प्रतिबध्द रहनुपर्छ।” यो जिम्मेवारी ठूलो छ, तर बाल मनमा अझ ठूलो आशा पनि छ। किनभने म विश्वास गर्छु “हाम्रो पुस्ता केवल सपना देख्दैन, त्यसलाई व्यवहारमा उतार्छ।”