धर्मगुरू स्वयं धर्मनिरपेक्ष गणतन्त्रवादी दलको उम्मेदवार हुँदा ‘धर्म जोगिन्छ’ ?

नागरिक पाना
२०८२ माघ ७, बुधबार ०४:०४

समाजको आत्मा धर्म हो, र धर्मको जीवित प्रतिनिधि धर्मगुरू ।उनी केवल पूजा–पाठका अगुवा मात्र होइनन्, उनी सभ्यताको नैतिक मेरुदण्ड हुन्। इतिहासले देखाएको छ—जहाँ धर्मगुरू स्वतन्त्र रहे, त्यहाँ समाजको चेतना सन्तुलित रह्यो; जहाँ उनी सत्ता र दलको छायाँमा पुगे, त्यहाँ धर्म स्वयं संकुचित हुँदै गयो।
आजको सन्दर्भमा एउटा गम्भीर प्रश्न उठेको छ—यदि धर्मगुरू स्वयं धर्मनिरपेक्ष र गणतन्त्रवादी राजनीतिक दलको उम्मेदवार बन्छन् भने, के साँच्चै “धर्म जोगिन्छ” ? कि त्यो केवल भावनात्मक आश्वासन मात्र हो?
यो प्रश्न केवल व्यक्ति–विशेषसँग सम्बन्धित छैन; यो धर्म, राजनीति र सभ्यताको सम्बन्धसँग गाँसिएको मौलिक विमर्श हो।

धर्मगुरूको मौलिक स्थान सत्ता भन्दा माथि हुन्छ । “स्वदेशे पुज्यते राजा विद्वान् सर्वत्र पुज्यते” अर्थात् राजा या नेताहरू स्वदेशमा मात्र सम्माननीय हुन्छन् तर विद्वान् वर्गहरू स्वदेश र परदेशमा पनि पुजिन्छन् । यसरी हेर्ने हो भने “पण्डिता: समदर्शिन:” अर्थात् ज्ञानीहरूले राजादेखी प्रजासम्म सम्पुर्ण प्राणिहरूलाई समान भावले देख्नुपर्छ भनिएको छ । तर कुनै एक दलविशेषको उम्मेदवार कसरी समदर्शी बन्न सक्छ ?
यो शास्त्रव्यवहारप्रतिकूल ठहरिन्छ ।
धर्मगुरु समाजका सबै वर्ग, विचार र आस्थामाथि उभिएको नैतिक केन्द्र हुन्। उनी राजा–रंक, धनी–गरिब, सत्ताधारी–विपक्षी सबैका लागि समान हुन्छन्। यही निरपेक्ष नैतिक हैसियत नै उनको शक्ति हो। जब धर्मगुरू कुनै दलको टिकट लिएर चुनावी मैदानमा उत्रिन्छन्, उनी स्वतः एउटा विचारधारात्मक खेमाको प्रतिनिधि बन्छन्। त्यस क्षणदेखि उनी सम्पूर्ण समाजका गुरू रहँदैनन्; उनी आफ्नै दलका समर्थकका गुरूमा सीमित हुन थाल्छन्। जसले उनलाई समर्थन गर्दैन, उसको दृष्टिमा उनी अब गुरू होइनन्—राजनीतिक प्रतिद्वन्द्वी बन्छन्। यसरी धर्मगुरूको सार्वभौमिकता समाप्त हुन्छ।
धर्म राजनीति भन्दा माथि हुन्छ। राजनीति समयसापेक्ष, सत्ता–केन्द्रित र सम्झौतामुखी हुन्छ; धर्म शाश्वत, मूल्य–केन्द्रित र सत्यनिष्ठ हुन्छ। धर्मगुरू राजनीतिमा प्रवेश गर्दा धर्म राजनीतिमा उक्लिँदैन—बरु राजनीति धर्ममा पस्छ। परिणामतः धर्म स्वतन्त्र रहँदैन, दलको सीमाभित्र बाँधिन्छ।

धर्मनिरपेक्षता : सिद्धान्त र व्यवहारको अन्तर
शाब्दिक अर्थमा कुनैपनी धर्मप्रति अपेक्षा नराख्नु भन्ने अर्थले युक्त भए तापनि संविधानत: सैद्धान्तिक रूपमा धर्मनिरपेक्षता भनेको राज्यले सबै धर्मप्रति समान व्यवहार गर्नु हो भनेर अर्थ्याइएको यो अवधारणा स्वयंमा नकारात्मक होइन। तर हाम्रो जस्तो सभ्यतामा, व्यवहारिक स्तरमा धर्मनिरपेक्षताको नाममा परम्परा, संस्कार, मठ–मन्दिर, गुरूकुल, वैदिक चेतना आदिलाई सार्वजनिक जीवनबाट विस्थापित गर्ने प्रवृत्ति देखिएको छ।
धर्मनिरपेक्ष राजनीति प्रायः धर्मलाई “निजी आस्था” मा सीमित गर्न खोज्छ। धर्मलाई समाजको मार्गदर्शक चेतनाबाट हटाएर घरको कुनामा थुन्ने मानसिकता विकास हुन्छ। यस्तो वैचारिक धार बोकेको दलको उम्मेदवार बनेको धर्मगुरूले “धर्म जोगिन्छ” भन्नु वैचारिक रूपमा विरोधाभासी देखिन्छ।
धर्म जोगिनु भनेको केवल मन्दिर खुला रहनु होइन। धर्म जोगिनु भनेको संस्कार जीवित रहनु हो, जीवनपद्धति शुद्ध रहनु हो, नैतिक अनुशासन समाजको केन्द्रमा रहनु हो। यदि धर्म सार्वजनिक चेतनाबाट नै हटाइँदैछ भने, सत्ता भित्र बसेर धर्म कसरी सुरक्षित हुन्छ?
इतिहास साक्षी छ—जब धर्म सत्ता अधीन भयो, धर्म कमजोर भयो।
युरोपमा चर्च जब राजसत्ताको उपकरण बन्यो, तब आध्यात्मिकता हरायो र प्रतिक्रियास्वरूप उग्र धर्मविरोधी आन्दोलन जन्मियो।
भारतवर्षमा पनि जहाँ–जहाँ धर्म सत्ता–केन्द्रित भयो, त्यहाँ धर्म साधना होइन, साधन बन्यो।
धर्मगुरू जब राजनीतिक प्रतिस्पर्धामा उत्रिन्छन्, उनी पनि जित–हार, आरोप–प्रत्यारोप, सम्झौता र रणनीतिमा बाँधिन्छन्। यस प्रक्रियामा सत्य मौन हुन्छ, विवेक सम्झौतामा पर्छ, र धर्मको गरिमा खुम्चिन्छ।
धर्म जोगिनु भनेको सत्ता भित्र पस्नु मात्र होइन।
धर्म जोगिनु भनेको संस्कारलाई शिक्षामा जीवित राख्नु हो , चेतनालाई समाजको मूलधारमा स्थापित गर्नु हो , राजनीतिलाई नैतिक अनुशासनमा बाँध्नु हो , र सत्तालाई स्मरण गराइरहनु कि ऊ सर्वोच्च होइन।
धर्मगुरूहरू राजनीतिक दलका अनुयायी बनेर होइन, राजनीतिलाई नै धर्मको अनुशासनमा झुकाएर धर्म जोगाउँछन्। धर्म तब सुरक्षित हुन्छ, जब धर्मगुरू सत्ता भन्दा माथि उभिन्छन्, र सत्ता धर्मको नैतिक सीमाभित्र बाँधिन्छ।

निष्कर्षमा भन्नुपर्दा धर्मगुरूहरू स्वयं धर्मनिरपेक्ष गणतन्त्रवादी दलको उम्मेदवार बनेर “धर्म जोगिन्छ” भन्नु भावनात्मक रूपमा आकर्षक भए पनि वैचारिक रूपमा कमजोर छ। यसले धर्मलाई स्वतन्त्र शक्ति बनाउने होइन, राजनीतिक संरचनाको एक खण्डमा सीमित गरिदिन्छ। धर्मको सुरक्षा सत्ता भित्र होइन, धर्मको आत्मा समाजको केन्द्रमा जीवित रहनुमा हुन्छ। धर्म तब जोगिन्छ, जब धर्मगुरूहरू राजनीतिक दलका अनुयायी होइनन्, बरु राजनीतिक शक्तिहरू धर्मका नैतिक अनुशासनका अनुयायी बन्छन्।

आचार्य राघव मौद्गल्य (राजन प्रसाद उपाध्याय)
काठमाडौ , नेपाल