दार्चुला — सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक स्थल लटिनाथ मन्दिरको अर्बौँ मूल्य बराबरको जग्गा अहिले अतिक्रमणमा परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। मार्मा गाउँपालिकामा अवस्थित मन्दिरको स्वामित्वमा रहेको सार्वजनिक जमिनमा भू–माफिया र केही स्थानीय व्यापारीले कब्जा जमाएर व्यावसायिक संरचना निर्माण गरेको आरोप छ। स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको बेवास्ताका कारण मन्दिरको अस्तित्व नै संकटमा पर्ने अवस्था सिर्जना भएको बताइएको छ।
मन्दिरको जग्गामा हाल ३६ भन्दा बढी व्यावसायिक पसल सञ्चालनमा छन्।
धार्मिक प्रयोजनका लागि छुट्याइएको भूमिमा व्यावसायिक गतिविधि बढ्दै जाँदा पनि सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको आरोप लागिरहेको छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो देखाउँदै पटक–पटक पत्राचार गरेको स्रोतले जनाएको छ। आयोगले मन्दिरको जग्गाको लगत संकलन गर्न, वास्तविक अवस्था अध्ययन गर्न तथा अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएको बताइएको छ।
तर अख्तियारको ताकेता भए पनि जिल्ला प्रशासन कार्यालय र मार्मा गाउँपालिकाबाट ठोस कदम नचालिएको स्थानीयको गुनासो छ। प्रशासनको मौनताले अतिक्रमणकारीलाई थप प्रोत्साहन मिलेको उनीहरूको आरोप छ। स्थानीयवासीले मन्दिरको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व जोगाउन तत्काल छानबिन गरी अतिक्रमण हटाउन माग गरेका छन्।

तपाईको प्रतिक्रिया !