स्वपरिवर्तन, मूल्यनिष्ठ नेतृत्व र सामाजिक रूपान्तरण- कमल देव रेग्मी, डा. दामोदर रेग्मी

नागरिक पाना
२०८३ कार्तिक ८, शनिबार १४:३२

विषय प्रवेश
आज मानव सभ्यताले विज्ञान, प्रविधि, सञ्चार, शिक्षा, चिकित्सा र भौतिक विकासका क्षेत्रमा अभूतपूर्व उपलब्धि हासिल गरेको छ। मानिसले पृथ्वीको एक कुनाबाट अर्को कुनासम्म क्षणभरमै सम्पर्क स्थापित गर्न सक्छ, अन्तरिक्षको अन्वेषण गर्न सक्छ र प्रकृतिका अनेक रहस्य पत्ता लगाउन सक्छ। तर विडम्बना के छ भने, बाह्य संसारमा यति धेरै प्रगति हुँदाहुँदै पनि मानिसको आन्तरिक संसारमा शान्ति, सन्तोष, प्रेम, सहिष्णुता र आत्मीयताको अभाव बढ्दै गएको छ। भौतिक समृद्धि बढेको छ, तर मानसिक तनाव पनि बढिरहेको छ। सम्पर्कका साधन विस्तार भएका छन्, तर सम्बन्धहरूमा दूरी बढिरहेको छ। अधिकारप्रतिको चेतना बढेको छ, तर कर्तव्यबोध कमजोर हुँदै गएको देखिन्छ।
आज विश्वले युद्ध, हिंसा, आतंकवाद, भ्रष्टाचार, सामाजिक विभेद, पारिवारिक विघटन, वातावरणीय विनाश र मानसिक अशान्तिजस्ता बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको छ। यी समस्याका राजनीतिक, आर्थिक, सामाजिक र संरचनात्मक कारणहरू छन्। त्यसैले यिनको समाधानका लागि प्रभावकारी नीति, न्यायपूर्ण व्यवस्था, उत्तरदायी नेतृत्व र सामूहिक प्रयास अनिवार्य छन्। तर यति हुँदाहुँदै पनि एउटा आधारभूत प्रश्न उठ्छ—के बाह्य व्यवस्था परिवर्तन गरेर मात्र विश्वमा स्थायी शान्ति र सद्भाव स्थापना गर्न सकिन्छ? कि परिवर्तनको प्रक्रिया मानिसको चेतना, सोच, दृष्टिकोण र व्यवहारबाट पनि सुरु हुनुपर्छ? यही प्रश्नको उत्तर हो—“स्वपरिवर्तनद्वारा विश्वपरिवर्तन” (World Transformation through Self-Transformation)। यस अवधारणाले संसार परिवर्तन गर्ने जिम्मेवारी अरूलाई  सुम्पने प्रवृत्तिभन्दा माथि उठेर आफूभित्र परिवर्तनको सुरुवात गर्न प्रेरित गर्दछ। हामीले अरूबाट इमानदारी अपेक्षा गर्छौँ भने आफू इमानदार बन्नुपर्छ। अरूले प्रेम गरून् भन्ने चाहन्छौँ भने आफू प्रेमपूर्ण हुनुपर्छ। समाजमा शान्ति चाहन्छौँ भने आफ्ना विचार, वाणी र व्यवहारमा शान्तिको अभ्यास गर्नुपर्छ। यसरी व्यक्तिगत रूपान्तरणलाई पारिवारिक, सामाजिक, राष्ट्रिय र विश्वव्यापी रूपान्तरणसँग जोड्ने जीवनदृष्टि नै स्वपरिवर्तनद्वारा विश्वपरिवर्तन हो।

स्वपरिवर्तनको अर्थ र अवधारणा

स्वपरिवर्तन भन्नाले आफ्नो सोच, दृष्टिकोण, भावना, बानी, संस्कार, चरित्र र व्यवहारमा सकारात्मक तथा सचेत परिवर्तन ल्याउने प्रक्रियालाई बुझिन्छ। यो आफ्नो बाह्य रूप, पद, प्रतिष्ठा वा परिस्थितिमा परिवर्तन ल्याउने विषय मात्र होइन; आफूलाई बुझ्ने, आफ्ना कमजोरी पहिचान गर्ने र तिनलाई सुधार्दै जीवनलाई उच्च मूल्य र आदर्शअनुरूप अघि बढाउने आन्तरिक यात्रा हो।
मानिस प्रायः आफ्ना समस्याका लागि बाह्य परिस्थिति, अरू व्यक्तिको व्यवहार वा सामाजिक व्यवस्थालाई जिम्मेवार ठान्छ। निश्चय नै बाह्य परिस्थितिले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। तर यस्ता परिस्थितिको सामना गर्दा हामी कस्तो प्रतिक्रिया दिन्छौँ, कस्तो निर्णय गर्छौँ र कस्तो व्यवहार प्रस्तुत गर्छौँ भन्ने कुरामा हाम्रो आन्तरिक अवस्थाको महत्त्वपूर्ण भूमिका हुन्छ।
स्वपरिवर्तनको पहिलो चरण आत्मनिरीक्षण हो यसमा आफ्ना विचार, भावना, उद्देश्य र व्यवहारलाई निष्पक्ष रूपमा हेर्ने कुराहरु पर्दछन्। यसको दोस्रो चरण हो आत्मस्वीकार जसमा आफूभित्र रहेका कमजोरीलाई बहाना नबनाई स्वीकार गर्ने कुराहरु पर्दछन्। यसको तेस्रो चरणमा  संकल्प पर्दछ जसमा सुधारका लागि स्पष्ट उद्देश्य निर्धारण गर्ने कुराहरु पर्दछन्। यसको चौथो चरण अभ्यास  पर्दछ जसमा दैनिक जीवनमा सकारात्मक परिवर्तनलाई व्यवहारमा उतार्ने कुरा पर्दछ। यी सवै कार्यहरुको निरन्तर अभ्यासबाट नयाँ बानी र संस्कारको विकास हुन्छ। यस अर्थमा स्वपरिवर्तन कुनै एक दिनको संकल्प वा क्षणिक भावनात्मक अनुभव होइन। यो जीवनभर चलिरहने आत्मविकासको प्रक्रिया हो। यसको लक्ष्य आफूलाई अरूभन्दा श्रेष्ठ बनाउनु होइन, हिजोको आफ्नै अवस्थाभन्दा आज अझ सचेत, संयमित, करुणामय र जिम्मेवार बन्नु हो।

विश्वपरिवर्तनको आधार : व्यक्ति र विश्वबीचको सम्बन्ध
विश्व समाज असंख्य व्यक्तिहरूको सामूहिक अस्तित्वबाट निर्मित हुन्छ। परिवार, समुदाय, संस्था, राष्ट्र र अन्तर्राष्ट्रिय संरचनाहरूको निर्माण मानिसकै विचार, निर्णय र व्यवहारबाट भएको हुन्छ। त्यसैले व्यक्तिको चेतना र सामाजिक व्यवस्थाबीच गहिरो अन्तरसम्बन्ध छ। उटा परिवारमा रिस, अहंकार, अविश्वास र असहिष्णुता हावी भएमा त्यहाँ द्वन्द्व उत्पन्न हुन्छ। त्यही परिवारमा संवाद, सम्मान, सहयोग र क्षमाशीलताको अभ्यास भएमा सम्बन्धहरू सुदृढ हुन्छन्।  यही सिद्धान्त समाज र राष्ट्रको तहमा पनि लागू हुन्छ।

विचार परिवर्तन : रूपान्तरणको पहिलो खुड्किलो
मानव व्यवहारको आधार विचार हो। हामीले कुनै व्यक्ति, घटना वा परिस्थितिलाई कसरी बुझ्छौँ भन्ने कुराले हाम्रो भावना र प्रतिक्रियालाई प्रभावित गर्छ। एउटै परिस्थितिमा दुई व्यक्तिले फरक प्रतिक्रिया दिनुको एउटा कारण उनीहरूको सोच्ने तरिका फरक हुनु हो। नकारात्मक विचारले भय, शंका, ईर्ष्या, क्रोध र निराशालाई बढाउन सक्छ। सकारात्मक तथा यथार्थपरक विचारले आशा, धैर्य, समाधानमुखी दृष्टिकोण र आत्मविश्वास विकास गर्न सहयोग पुर्‍याउँछ। तर सकारात्मक चिन्तन भन्नाले वास्तविक समस्यालाई अस्वीकार गर्नु वा सबै कुरा राम्रो छ भनेर मान्नु होइन। यसको वास्तविक अर्थ समस्यालाई स्वीकार गर्दै सम्भावित समाधान खोज्ने र आफ्नो नियन्त्रणमा रहेका पक्षमा जिम्मेवार कदम चाल्ने क्षमता विकास गर्नु हो।उदाहरणका लागि, असफलतालाई आफ्नो सम्पूर्ण क्षमताको अन्तिम प्रमाण मान्नुको सट्टा त्यसबाट सिक्ने अवसरका रूपमा लिन सकिन्छ। अरूको सफलताप्रति ईर्ष्या गर्नुको सट्टा त्यसबाट प्रेरणा लिन सकिन्छ। आलोचनालाई व्यक्तिगत अपमान ठान्नुको सट्टा त्यसमा सुधार गर्नुपर्ने कुरा छ कि भनेर विचार गर्न सकिन्छ।
विचार परिवर्तनका लागि नियमित आत्मचिन्तन, स्वाध्याय, सकारात्मक साहित्यको अध्ययन, ध्यान र विवेकपूर्ण संवाद उपयोगी हुन्छन्। दिनको केही समय आफ्ना विचारको समीक्षा गर्दै आफूले आज के सोचें, के बोलें, कसलाई दुःख पुग्यो र भोलि के सुधार गर्न सक्छु भन्ने प्रश्न गर्नु आत्मपरिवर्तनको प्रभावकारी अभ्यास हो। विचार शुद्ध भएमा निर्णयमा स्पष्टता आउँछ, निर्णयमा स्पष्टता आएमा व्यवहारमा सुधार हुन्छ र व्यवहारमा सुधार आएमा चरित्र निर्माणको आधार तयार हुन्छ।

देह अभिमानबाट आत्मचेतनातर्फ : आध्यात्मिक रूपान्तरणको यात्रा
स्वपरिवर्तनको गहिरो आयाम मानिसको आफ्नो अस्तित्वप्रतिको बुझाइसँग सम्बन्धित छ। मानिसले आफूलाई शरीर, पद, सम्पत्ति, जातीय वा सामाजिक पहिचान र बाह्य उपलब्धिसँग मात्र जोडेर हेर्दा तुलना, प्रतिस्पर्धा, अहंकार र असुरक्षाको भावना बढ्न सक्छ। बाह्य पहिचान जीवनका व्यावहारिक पक्षमा महत्त्वपूर्ण भए पनि त्यसैलाई सम्पूर्ण अस्तित्व मान्दा मानिसको दृष्टिकोण सीमित हुन सक्छ। ब्रह्माकुमारीजको आध्यात्मिक दृष्टिकोणमा यस समस्याको एउटा महत्त्वपूर्ण कारण देह अभिमान अर्थात् शरीर र बाह्य पहिचानसँग अत्यधिक तादात्म्यलाई मानिन्छ। यसको विकल्पका रूपमा आत्मचेतना वा आत्मिक स्मृतिमा जोड दिइन्छ। यस दृष्टिकोणअनुसार मानिसको वास्तविक पहिचान केवल शरीरमा सीमित छैन; ऊ चेतन आत्मा हो, जसमा शान्ति, प्रेम, पवित्रता, आनन्द र शक्तिजस्ता आन्तरिक गुणको अनुभूति तथा अभ्यास गर्ने सम्भावना रहेको हुन्छ।
आत्मचेतनाको अभ्यासले आफू र अरूलाई केवल बाह्य भिन्नताका आधारमा मूल्याङ्कन नगर्न प्रेरित गर्छ। जात, धर्म, भाषा, लिङ्ग, राष्ट्रियता वा आर्थिक अवस्थाका भिन्नताभन्दा माथि उठेर प्रत्येक व्यक्तिको मानवीय गरिमा स्वीकार गर्ने दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याउँछ। आत्मचेतना वा आध्यात्मिक अभ्यासले व्यक्तिको सोच, भावना, निर्णय र व्यवहारलाई अधिक जिम्मेवार तथा करुणामय बनाउन सक्ने कुरामा दुई मत हुन सक्दैन ।
जब मानिस आफूलाई केवल अधिकार खोज्ने व्यक्तिका रूपमा होइन, जिम्मेवारी वहन गर्ने चेतन अस्तित्वका रूपमा पनि बुझ्न थाल्छ, तब उसको जीवनप्रतिको दृष्टिकोण बदलिन सक्छ। यही परिवर्तनले परिवारदेखि विश्वसमुदायसम्म आत्मीयता र सहअस्तित्वको आधार बलियो बनाउन सक्छ।

योग ध्यान र आत्मपरिवर्तन

योग र ध्यानले आत्म परिवर्तनमा सहयोग गर्दछ। राजयोगलाई केवल शारीरिक विश्रामको विधिका रूपमा मात्र नभई विचार र चेतनालाई सचेत रूपमा दिशा दिने अभ्यासका रूपमा बुझ्न सकिन्छ। ध्यानको समयमा व्यक्ति आफ्नो मनका विचारलाई नियाल्ने, अनावश्यक नकारात्मकताबाट दूरी बनाउने, शान्तिको अनुभूति गर्ने र उच्च नैतिक मूल्यअनुरूप जीवन बिताउने संकल्पमा केन्द्रित हुन्छ।राजयोगको शिक्षाअनुसार परमात्मालाई सर्वोच्च आत्मिक सत्ता तथा शान्ति, प्रेम र पवित्रताका स्रोतका रूपमा स्मरण गरिन्छ। परमात्मासँगको आत्मिक सम्बन्धको अनुभूतिले मानिसलाई आन्तरिक शक्ति, आशा र नैतिक प्रेरणा प्रदान गर्न सक्छ भन्ने यस परम्पराको विश्वास छ।

यस अभ्यासको व्यावहारिक पक्ष दैनिक जीवनमा निकै महत्त्वपूर्ण छ। बिहान केही समय शान्त भएर दिनको उद्देश्य निर्धारण गर्नु, कठिन परिस्थितिमा तुरुन्त प्रतिक्रिया नदिई केही क्षण रोकिएर सोच्नु, क्रोध उत्पन्न हुँदा आफ्नो भावनालाई पहिचान गर्नु र राति सुत्नुअघि दिनभरका व्यवहारको समीक्षा गर्नु आत्मअनुशासनका उपयोगी अभ्यास हुन्। जब ध्यानबाट प्राप्त शान्ति व्यवहारमा अभिव्यक्त हुन्छ, तब आध्यात्मिक अभ्यासको वास्तविक मूल्य देखिन्छ। शान्त भएर बस्नु मात्र होइन, अशान्त परिस्थितिमा पनि संयमित रहनु; प्रेमको कुरा गर्नु मात्र होइन, मतभेद भएका व्यक्तिप्रति पनि सम्मान कायम राख्नु; पवित्रताको चर्चा गर्नु मात्र होइन, आफ्नो आचरणमा इमानदारी कायम गर्नु नै स्वपरिवर्तनको सार हो।

संस्कार परिवर्तन र चरित्र निर्माण

मानिसको दैनिक व्यवहारमा उसका पुराना बानी, अनुभव र संस्कारले गहिरो प्रभाव पार्छन्। कुनै व्यवहार पटकपटक दोहोरिँदा त्यो बानी बन्न सक्छ र समयसँगै व्यक्तिको सामान्य प्रतिक्रिया प्रणालीको हिस्सा बन्न सक्छ। त्यसैले स्वपरिवर्तनका लागि विचारमा सकारात्मकता ल्याउनु मात्र पर्याप्त हुँदैन; व्यवहारको नियमित अभ्यास पनि आवश्यक हुन्छ।
यदि कुनै व्यक्ति सानो कुरामा रिसाउने बानीबाट मुक्त हुन चाहन्छ भने उसले रिस उठ्ने परिस्थिति पहिचान गर्नुपर्छ। त्यसपछि तुरुन्त प्रतिक्रिया दिनुको सट्टा केही क्षण रोकिने, गहिरो सास लिने, परिस्थितिलाई अर्को दृष्टिकोणबाट हेर्ने र सम्मानपूर्ण भाषामा आफ्नो कुरा राख्ने अभ्यास गर्न सक्छ। यसरी पटकपटक अभ्यास गर्दा नयाँ व्यवहार विकास हुने सम्भावना बढ्छ।
त्यसैगरी इमानदारी, समयपालन, जिम्मेवारी, सहानुभूति, क्षमा र सहयोगजस्ता गुणलाई व्यवहारमा उतार्नुपर्छ। चरित्रको वास्तविक परीक्षा मानिसले अरूले देखिरहेका बेला कस्तो व्यवहार गर्छ भन्नेमा मात्र होइन, कसैले नदेख्दा पनि कति नैतिक र जिम्मेवार रहन्छ भन्नेमा हुन्छ।
संस्कार परिवर्तनका लागि तीनवटा कुरा विशेष महत्त्वपूर्ण छन्—सचेतता, निरन्तरता र आत्मसमीक्षा। गल्ती हुँदा आफूलाई घृणा गर्नुको सट्टा गल्ती स्वीकार गरी सुधारको बाटो रोज्नु आवश्यक छ। परिवर्तनको गति सबैमा समान हुँदैन; त्यसैले धैर्य र निरन्तर प्रयास अपरिहार्य छन्।
यस्ता व्यक्तिहरूको संख्या परिवार, संस्था र समाजमा बढ्दै जाँदा सामूहिक संस्कृतिमा पनि परिवर्तन आउन सक्छ। यही चरित्र निर्माणले विश्वपरिवर्तनका लागि आवश्यक नैतिक आधार तयार गर्छ।

मूल्यनिष्ठ नेतृत्व र सामाजिक रूपान्तरण

कुनै पनि समाजको प्रगति त्यसका संस्थाहरूको गुणस्तर, नेतृत्वको नैतिकता र नागरिकहरूको जिम्मेवारीबोधसँग सम्बन्धित हुन्छ। स्वपरिवर्तनको सिद्धान्तले नेतृत्व गर्ने व्यक्तिलाई आफ्नो पदलाई विशेषाधिकारको साधन नभई सेवाको जिम्मेवारीका रूपमा बुझ्न प्रेरित गर्छ। सार्वजनिक स्रोतको सदुपयोग, निर्णय प्रक्रियामा पारदर्शिता, कानुनको निष्पक्ष कार्यान्वयन र आलोचनाप्रति सहिष्णुता मूल्यनिष्ठ नेतृत्वका महत्त्वपूर्ण पक्ष हुन्।
राजनीतिक नेतृत्वदेखि प्रशासन, शिक्षा, व्यवसाय, सञ्चार र नागरिक समाजसम्म सबै क्षेत्रमा नैतिक आचरणको आवश्यकता हुन्छ। शिक्षकको इमानदारीले विद्यार्थीलाई प्रेरित गर्छ। कर्मचारीको निष्पक्षताले सेवाग्राहीको विश्वास बढाउँछ। व्यवसायीको सामाजिक उत्तरदायित्वले आर्थिक गतिविधिलाई मानवीय बनाउँछ।सञ्चारमाध्यमको तथ्यपरक प्रस्तुतिले समाजमा विवेकपूर्ण बहसको वातावरण निर्माण गर्छ। अतः मूल्यनिष्ठ समाज निर्माणमा व्यक्तिगत चरित्र र संस्थागत सुशासन एकअर्काका विकल्प होइनन्; तिनीहरू परिपूरक आधार हुन्।

विश्वशान्ति, सहिष्णुता र सहअस्तित्व

विश्वशान्ति केवल युद्धको अनुपस्थिति होइन। वास्तविक शान्तिका लागि न्याय, मानवअधिकारको सम्मान, सामाजिक सुरक्षा, समान अवसर र मानिसहरूबीच विश्वास आवश्यक हुन्छ। शान्तिपूर्ण विश्व निर्माण गर्न अन्तर्राष्ट्रिय सम्बन्धमा संवाद र सहयोगको संस्कृतिलाई बलियो बनाउनुपर्छ।
अनेक युद्ध र द्वन्द्वका पछाडि ऐतिहासिक विवाद, भू–राजनीतिक प्रतिस्पर्धा, स्रोतको नियन्त्रण, असुरक्षा, पहिचानको राजनीति र शक्तिको संघर्षजस्ता जटिल कारण हुन्छन्। त्यसैले शान्तिका लागि कूटनीति, अन्तर्राष्ट्रिय कानुन, न्यायपूर्ण सम्झौता र संस्थागत सहयोग अनिवार्य छन्। तर यिनलाई प्रभावकारी बनाउन मानिसमा सहिष्णुता, विवेक, करुणा र अरूको दृष्टिकोण बुझ्ने क्षमता पनि आवश्यक हुन्छ।
स्वपरिवर्तनले व्यक्तिलाई आफ्नै विचारलाई मात्र सत्य ठान्ने प्रवृत्तिबाट बाहिर निस्कन मद्दत गर्न सक्छ। फरक विचार राख्ने व्यक्तिलाई शत्रु ठान्नुको सट्टा संवादको साझेदारका रूपमा स्वीकार गर्न सकिन्छ। धार्मिक, सांस्कृतिक र भाषिक विविधतालाई द्वन्द्वको कारण नभई मानव सभ्यताको साझा सम्पदाका रूपमा हेर्न सकिन्छ।यसैगरी घृणा फैलाउने अभिव्यक्ति, गलत सूचना र पूर्वाग्रहपूर्ण धारणाप्रति सजग रहनु पनि आवश्यक छ। विश्वशान्तिको अभ्यास व्यक्तिगत वाणीबाट सुरु हुन्छ, तर त्यसलाई अन्तर्राष्ट्रिय सहकार्य र न्यायपूर्ण संरचनाले संरक्षण गर्नुपर्छ। विश्वका मानिसहरूले आफ्नो आचरणमा शान्ति, सम्मान र जिम्मेवारीलाई स्थान दिँदै संस्थागत रूपमा पनि न्याय र सहकार्यलाई बलियो बनाउँदा दिगो शान्तिको सम्भावना विस्तार हुन्छ।

प्रकृतिसँगको सम्बन्ध र पर्यावरणीय चेतना
आज जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास, प्रदूषण र प्राकृतिक स्रोतको अनियन्त्रित दोहन मानव सभ्यताका गम्भीर चुनौती बनेका छन्। यी समस्याको समाधान विज्ञान, प्रविधि, प्रभावकारी नीति र अन्तर्राष्ट्रिय सहकार्यबाट खोज्नुपर्छ। साथै मानिसको उपभोगमुखी सोच र प्रकृतिप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आवश्यक छ।
स्वपरिवर्तनको दृष्टिले मानिसलाई आफ्नो आवश्यकता र अनावश्यक उपभोगबीचको भिन्नता बुझ्न प्रेरित गर्छ। पानी, ऊर्जा र खाद्यवस्तुको विवेकपूर्ण प्रयोग; प्लास्टिकको प्रयोग घटाउने अभ्यास; सार्वजनिक यातायातको उपयोग; वृक्षरोपण; फोहोरको उचित व्यवस्थापन र प्राकृतिक स्रोतको संरक्षण यसका व्यावहारिक उदाहरण हुन्। यसरी प्रकृतिप्रतिको संवेदनशीलता पनि स्वपरिवर्तनद्वारा विश्वपरिवर्तनको अभिन्न अङ्ग बन्छ।

निष्कर्ष : आफू बदलौँ, संसार बदल्ने आधार निर्माण गरौँ

विश्वमा शान्ति चाहने प्रत्येक व्यक्तिले आफ्ना विचार र व्यवहारमा शान्तिको अभ्यास गर्नु पर्दछ। समाजमा इमानदारी चाहने व्यक्तिले आफ्नो जिम्मेवारीमा इमानदार बन्नु पर्दछ। वातावरण संरक्षण चाहने व्यक्तिले आफ्नो जीवनशैली सुधार्नु पर्दछ।
ब्रह्माकुमारीजको आध्यात्मिक दृष्टिकोणमा आत्मचेतना, राजयोग, सकारात्मक संकल्प र संस्कार परिवर्तनलाई आन्तरिक रूपान्तरणका महत्त्वपूर्ण आधार मानिन्छ। यी अभ्यासलाई प्रेम, शान्ति, पवित्रता, सहिष्णुता र सेवाजस्ता गुणको व्यावहारिक अभिव्यक्तिसँग जोड्न सक्दा तिनको सामाजिक महत्त्व अझ बढ्छ।
हामीले संसार बदल्नका लागि अरूको परिवर्तनको प्रतीक्षा मात्र गर्नु हुँदैन। आफ्नो विचारमा विवेक, व्यवहारमा विनम्रता, सम्बन्धमा आत्मीयता, निर्णयमा इमानदारी र कर्ममा जिम्मेवारीको अभ्यास गर्नुपर्छ।
विश्वपरिवर्तनको सुरुवात आफैबाट हुन्छ। एउटा व्यक्तिको सकारात्मक परिवर्तनले परिवारलाई प्रेरित गर्न सक्छ, परिवारको परिवर्तनले समुदायलाई प्रभावित गर्न सक्छ र समुदायहरूको सामूहिक जागरणले समाज तथा राष्ट्रको चरित्र बदल्न सक्छ।
हामी आफैमा परिवर्तनको दीप प्रज्वलित गरौँ, अरूका लागि प्रेरणाको स्रोत बनौँ र न्याय, शान्ति, प्रेम तथा सहअस्तित्वमा आधारित विश्व निर्माणका लागि सक्रिय योगदान दिऔँ। किनकि परिवर्तनको सबैभन्दा व्यावहारिक सुरुवात आफूले आज गर्ने एउटा सही निर्णय, एउटा सकारात्मक विचार र एउटा मानवीय कर्मबाट हुन सक्छ।
शुरुमा आफू बदलिऔँ, नकारात्मक सम्बन्धलाई सकारात्मकतामामा बदलौँ, समाज बदलौँ र सामूहिक प्रयासबाट विश्वलाई अझ शान्त, न्यायपूर्ण र मानवीय बनाऔँ यो नै अहिलेको सामयिक आवश्यकता हो।