बैज्ञानिक इतिहास लेखन विधिको आलोकमा  नेपाली इतिहास लेखनको विकासक्रम र   इतिहास लेखनमा रेग्मीहरुको भूमिका – कमल देव रेग्मी

नागरिक पाना
२०८३ आश्विन ६, मंगलवार १४:५५

प्रस्तावना
आजको मानव सभ्यताको स्वरूप निर्माण हुनका लागि हजारौँ वर्ष लामो मानव अनुभव, संघर्ष, उपलब्धि, परिवर्तन र निरन्तरताको भूमिका रहेको छ। विगतमा मानिसले गरेका काम, भोगेका घटना, निर्माण गरेका संस्था, विकास गरेका विचार तथा प्राप्त गरेका उपलब्धिहरूको व्यवस्थित अध्ययन नै इतिहास हो।इतिहासले मानव समाजको विकासक्रमलाई प्रमाणका आधारमा अध्ययन गर्छ। यसले कुनै घटना किन भयो, त्यसका कारण के थिए, त्यसको परिणाम के भयो र त्यस घटनाले समाजमा कस्तो परिवर्तन ल्यायो भन्ने प्रश्नको उत्तर खोज्छ। यस दृष्टिले इतिहास मानव सभ्यताको विकासको जानकारी  दिने  विषय मात्र  नभएर समाज परिवर्तनको वैज्ञानिक अध्ययनको विषय पनि हो।

१. इतिहास : अर्थ, महत्त्व र लेखन विधि
१.१ इतिहासको शाब्दिक अर्थ
संस्कृत भाषाको ‘इतिहास’ शब्दलाइ  ‘इति + ह + आस’ को रूपमा ब्युत्पत्ति गर्दा यसको शाब्दिक अर्थ ‘यस्तो नै भएको थियो’ भन्ने हुन्छ अर्थात् विगतमा घटेका वास्तविक घटना, गतिविधि र परिवर्तनहरूको प्रमाणमा आधारित विवरण इतिहास हो।
अङ्ग्रेजी भाषामा इतिहासलाई History भनिन्छ। History शब्द प्राचीन ग्रीक भाषाको Historia बाट आएको मानिन्छ, जसको अर्थ खोज, अनुसन्धान वा जाँचबुझबाट प्राप्त ज्ञान भन्ने हुन्छ।
१.२ परिभाषा
प्रसिद्ध इतिहासकार E. H. Carr ले  इतिहासलाई वर्तमान र विगतबीचको अन्त्यहीन  संवादको रुपमा परिभाषित गरेका छन् । “History is an unending dialogue between the present and the past.”  यस भनाइले इतिहास केवल पुराना तथ्यको थुप्रो नभई इतिहासकारले प्रमाणको आलोचनात्मक अध्ययन र व्याख्या गरेर निर्माण गर्ने ज्ञान हो भन्ने देखाउँछ।

Father of History  को रुपमा प्रसिद्ध   हेरोडोटस ले इतिहासलाई परिभाषित गर्ने क्रममा भनेका छन्  –
“इतिहास भनेको मानवका विगतका कार्यहरुको अन्वेषण हो ताकि समयले तिनलाई मेटाउन नसकोस्।”
यसको अर्थ इतिहासले मानिसका महान कार्यहरुलाई सुरक्षित राख्दै भावी पुस्तालाई  यसको जानकारी गराउँछ। वैज्ञानिक इतिहास लेखनका जनक भनेर चिनिने जर्मन इतिहासकार लियोपोल्ड भन राँके ले भनेका छन् – “इतिहास भनेको वास्तवमा जे घट्यो, त्यसलाई जस्ताको तस्तै देखाउनु हो ” ।
यसको अर्थ इतिहासमा कल्पना होइन, प्रमाणको आधारमा सत्य तथ्यमा आधारित हुनुपर्छ।
जवाहरलाल नेहरूले “इतिहास भनेको विगतलाई हेरेर वर्तमानलाई बुझ्ने र भविष्यको लागि बाटो देखाउने विज्ञान हो।” भनेका छन।
यी विभिन्न परिभाषालाई समग्र रुपमा विश्लेषण गर्दा इतिहास भनेको विगतमा भएका मानविय  तथा सामाजिक घटनाहरूको प्रमाण र स्रोतका आधारमा खोज, परीक्षण, विश्लेषण र व्याख्या गर्दै वर्तमानमा तिनको अर्थ र प्रभाव बुझ्ने वैज्ञानिक तथा आलोचनात्मक अध्ययन हो।
१.३ महत्त्व
इतिहासले विगतका घटनाको विवरण मात्र दिँदैन; ती घटनाका कारण, प्रक्रिया, अन्तर्सम्बन्ध र परिणामको विश्लेषण पनि गर्छ। त्यसैले इतिहासको अध्ययनले वर्तमान समाज बुझ्न, विगतका अनुभवबाट शिक्षा लिन, राष्ट्रिय तथा सांस्कृतिक पहिचान निर्माण गर्न, आलोचनात्मक सोच विकास गर्न र भविष्यका चुनौतीको सामना गर्ने सामर्थ्यको विकासमा सहयोग  पुर्याउछ।
१.४  इतिहास लेखन विधि
इतिहास सत्य  तथ्यमा आधारित हुनु पर्दछ। सत्य तथ्यमा आधारित इतिहासले मात्र वर्तमानलाई यथार्थ रुपमा बुझेर भबिस्यमा अघि बढ्न मदत गर्दछ। त्यसैले सत्य तथ्यमा आधारित अर्थात वैज्ञानिक इतिहास लेखनका लागि स्रोत सामग्री आवश्यक हुन्छ।इतिहासका स्रोतलाई सामान्यतः पुरातात्त्विक, लिखित, मौखिक र अन्य स्रोतमा विभाजन गर्न सकिन्छ।पुरातात्त्विक स्रोतमा  पुराना भवन, मूर्ति, सिक्का, शिलालेख, हतियार, माटाका भाँडा, समाधि तथा उत्खननबाट प्राप्त  विविध वस्तुहरू पर्छन्।लिखित स्रोतमा शिलालेख, ताम्रपत्र, राजकीय अभिलेख, वंशावली, सरकारी कागजात, पत्रपत्रिका, आत्मकथा, यात्रा विवरण तथा साहित्यिक सामग्री पर्छन्।
मौखिक स्रोतमा लोककथा, जनश्रुति, गीत, किंवदन्ती, मौखिक परम्परा तथा प्रत्यक्षदर्शीका बयानहरू पर्दछन्। त्यसैगरी पुराना तस्वीर, नक्सा, श्रव्यदृश्य सामग्री र डिजिटल अभिलेख पनि आधुनिक इतिहासका महत्वपूर्ण स्रोत बन्दै गएका छन्। तर सबै स्रोत समान रूपमा विश्वसनीय हुँदैनन्। त्यसैले स्रोतको उत्पत्ति, समय, लेखक, उद्देश्य, विश्वसनीयता र सम्भावित पक्षपातको परीक्षण आवश्यक हुन्छ।
इतिहास लेखनलाई वैज्ञानिक बनाउन अनुसन्धानकर्ताले निश्चित प्रक्रियाबाट  अघि बढ्नु पर्छ। यस क्रममा आवश्यक सामग्री सकलन गरे पछि सर्वप्रथम  त्यसको विश्वसनीयता परीक्षण गर्नुपर्छ। यो कार्य  बाह्य आलोचना ( External Criticism)  र आन्तरिक आलोचना ( Internal Criticism) का माध्यम बाट गरिन्छ। बाह्य आलोचनाले स्रोत वास्तविक हो कि नक्कली भन्ने परीक्षण गर्छ।आन्तरिक आलोचनाले स्रोतमा प्रस्तुत तथ्य, लेखकको उद्देश्य, दृष्टिकोण र विश्वसनीयताको परीक्षण गर्छ।यस पछि प्राप्त तथ्यलाई समय, स्थान, विषय र महत्वका आधारमा व्यवस्थित गर्दै अलग–अलग स्रोतबाट प्राप्त सूचनाबीच तुलना गर्नु पर्दछ। एक स्रोतको भनाइलाई अर्को स्रोतसँग मिलाएर हेर्दा तथ्यको विश्वसनीयता अझ स्पष्ट हुन सक्छ।तथ्य र प्रमाणको विश्लेषणपछि इतिहासकारले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा  व्यक्तिगत कल्पना वा पूर्वाग्रहबाट मुक्त रहेर  उपलब्ध प्रमाण र तर्कलाई मात्र आधार  बनाउनु पर्छ। पूर्ण निष्पक्षता व्यवहारमा कठिन भए पनि प्रमाणप्रतिको इमानदारी, आलोचनात्मक दृष्टिकोण र विभिन्न पक्षको अध्ययनले इतिहास लेखनलाई बढी विश्वसनीय बनाउन सकिन्छ। यसरी लेखिएको इतिहास मात्र सन्तुलित र वैज्ञानिक हुन्छ।

२.नेपालमा वैज्ञानिक इतिहास लेखनको विकासक्रम
२.१ परिचय
नेपालमा इतिहास लेखनको प्रारम्भ धार्मिक आख्यान, वंशावली, किंवदन्ती र राजकीय प्रशस्तिबाट भएको पाइन्छ। पछि अभिलेख, सिक्का, पुरातात्त्विक अवशेष, हस्तलिखित ग्रन्थ, विदेशी यात्रीका विवरण तथा अन्य प्राथमिक स्रोतहरूको आलोचनात्मक अध्ययन गर्न थालिएपछि नेपाली इतिहास लेखन क्रमशः वैज्ञानिक र अनुसन्धानमुखी बन्दै गयो।

२.२ परम्परागत इतिहास लेखनको अवस्था
नेपालको प्रारम्भिक इतिहास लेखन धार्मिक तथा पौराणिक परम्परासँग गहिरो रूपमा सम्बन्धित थियो।
गोपालराज वंशावली नेपालको प्राचीन इतिहाससम्बन्धी महत्वपूर्ण वंशावली स्रोत हो। यसमा नेपालका विभिन्न राजवंश र शासकहरूबारे जानकारी पाइन्छ। यद्यपि यसको विवरणमा ऐतिहासिक तथ्यसँगै किंवदन्ती र परम्परागत कथाहरू पनि मिसिएका छन्।मल्लकालमा लेखिएका वंशावली, राजकीय अभिलेख, प्रशस्ति तथा धार्मिक ग्रन्थहरूले पनि तत्कालीन नेपालको राजनीतिक तथा सामाजिक अवस्थाबारे महत्वपूर्ण सूचना दिएका छन्।परम्परागत इतिहास लेखनको प्रमुख विशेषता शासक, राजवंश, युद्ध, धार्मिक घटना र चमत्कारिक प्रसंगलाई बढी महत्व दिनु थियो।स्रोतको आलोचनात्मक परीक्षण, कालक्रमको वैज्ञानिक निर्धारण तथा सामाजिक–आर्थिक पक्षको विश्लेषण तुलनात्मक रूपमा कमजोर थियो।

२.३ आधुनिक इतिहास लेखनको प्रारम्भ
नेपालमा आधुनिक इतिहास लेखनको शुरुआत उन्नाइसौँ  शताब्दीबाट भएको देखिन्छ।   उन्नाइसौँ शताब्दीमा नेपाली इतिहास लेखन क्रमशः वंशावली, धार्मिक आख्यान र दरबारी विवरणबाट क्रमशः स्रोतमा आधारित अनुसन्धानमूलक इतिहास लेखनतर्फ विकसित भयो।

१. नेपालमा आधुनिक इतिहास लेखनको प्रारम्भिक चरणमा योगदान दिने विद्वान्  मा William Kirkpatric को नाम अग्रणी स्थान मा रहेको छ।
ब्रिटिस भारतिय सरकारको विशेष दूतका रूपमा  सन् १७९३ मा  नेपाल आएका कर्कप्याट्रिकले नेपालमा रहँदा गरेका अवलोकन, सङ्कलन गरेका सूचना तथा कूटनीतिक मिशनसँग सम्बन्धित सामग्रीलाई पछि पुस्तकको रूप दिइ 1811 मा An Account of the Kingdom of Nepal प्रकाशित गरेका थिए ।प्रत्यक्ष अवलोकनमा आधारित यो पुस्तक  आधुनिक अर्थमा  पूर्ण वैज्ञानिक इतिहासग्रन्थ नभए पनि १८औँ शताब्दीको अन्त्यतिरको नेपालको अवस्थाबारे विदेशी लेखकले प्रस्तुत गरेको सबैभन्दा महत्त्वपूर्ण प्रारम्भिक विवरणमध्ये एक थियो।  कर्कप्याट्रिकले यस पुस्तकमा तत्कालीन नेपाली समाजका विभिन्न पक्षहरु जस्तै नेपालको भौगोलिक अवस्था ,काठमाडौं उपत्यकाको सामाजिक जीवन तथा मन्दिर, दरबार, बस्ती, राजनीतिक, आर्थिक धार्मिक  तथा प्रशासनिक व्यवस्था लाई समेटेका छन्।
२. नेपालको इतिहास लेखनमा योगदान गर्ने अर्का विद्वान्  फ्रान्सिस बुकानन–ह्यामिल्टन  थिए । सन् १८०२ मा नेपाल आइ करिब १४ महिना नेपालमा बिताएका ह्यामिल्टनको नेपाल आगमनको मुख्य उद्देश्य पनि नेपालको  व्यवस्थित अध्ययन र सूचना सङ्कलन गर्नु थियो।उनले नेपालका भूगोल, जातजाति, समाज, अर्थतन्त्र तथा प्रशासनसम्बन्धी तथ्य सङ्कलन गरेर An Account of the Kingdom of Nepal  नामक कृति सन् 1819 मा  एडिन्बर्ग बाट प्रकाशित गरेका थिए। यो केवल यात्रा वृत्तान्त मात्र नभई  तत्कालीन नेपालको इतिहास , भूगोल , समाज, संस्कृति र अर्थव्यवस्थालाई एकै ठाउँमा समेट्ने प्ररम्भिक व्यवस्थित अध्ययन थियो।। त्यसैले यसलाई नेपाली आधुनिक इतिहास लेखनको प्रारम्भिक महत्वपूर्ण आधारग्रन्थ मध्ये एक मान्न सकिन्छ।
३. Daniel Wright  उन्नाइसौँ शताब्दीको उत्तरार्धमा नेपालसम्बन्धी ऐतिहासिक सामग्रीलाई व्यवस्थित रूपमा अंग्रेजी भाषामा प्रस्तुत गर्ने महत्त्वपूर्ण विदेशी विद्वान् हुन्। उनको History of Nepal सन् १८७७ मा Cambridge University Press बाट प्रकाशित भएको थियो। यो कृति नेपाली इतिहासलाई बाह्य संसारमा परिचित गराउने प्रारम्भिक महत्त्वपूर्ण अंग्रेजी कृतिमध्ये एक मानिन्छ।राइट करिब दस वर्ष नेपालमा बसेका थिए। त्यस क्रममा उनले नेपालको भूगोल, समाज, संस्कृति, धर्म, जातीय समुदाय, प्रशासन, दरबार तथा ऐतिहासिक परम्पराका बारेमा प्रत्यक्ष अवलोकन गर्नुका साथै  स्थानीय व्यक्तिहरूसँगको सोधपुछबाट सामग्री सङ्कलन गरेका थिए। उनको पुस्तकमा इतिहाससँगै भूगोल, समाज, धर्म, संस्कृति, जाति, भाषा र परम्पराको पनि विवरण पाइन्छ। त्यसैले यो केवल राजाहरूको राजनीतिक इतिहास मात्र नभई तत्कालीन नेपाली समाजको अध्ययनका लागि पनि उपयोगी स्रोत हो।वंशावली र परम्परागत स्रोतमा निर्भरता बढी भएकाले आधुनिक वैज्ञानिक इतिहासको दृष्टिले यसमा सीमितता छन्।

२.४ बीसौं  शताब्दीमा नेपाली इतिहास लेखन

बीसौँ शताब्दीको उत्तरार्धदेखि एक्काइसौँ शताब्दीको पहिलो दुई दशक (लगभग १९७०–२०२०) लाई हेर्दा नेपालको इतिहास लेखन राजनीतिक इतिहासबाट सामाजिक, आर्थिक, सांस्कृतिक, क्षेत्रीय, जातीय, लैङ्गिक, ज्ञान–उत्पादन र जनजीवनको इतिहासतर्फ विस्तार भएको देखिन्छ।बीसौं  शताब्दीको प्रारम्भ  सगै नेपाली इतिहास लेखनमा नयाँ चरण शुरु भयो। यस चरणमा स्वदेशी विद्वान्हरुले इतिहास लेखनमा अग्रसरता लिइ महत्त्वपूर्ण योगदान गरेका छन् ।
१. बाबुराम आचार्य (वि.सं. १९४४२०२९)
बाबुराम आचार्य  नेपालको आधुनिक इतिहास लेखनका प्रारम्भिक र अत्यन्त महत्वपूर्ण इतिहासकारमध्ये एक हुन्  । वि.सं. २००८ सालमा राजा त्रिभुवनबाट ‘इतिहासशिरोमणि’ उपाधि प्राप्त गरेका आचार्य मूलतः राणा शासनकालदेखि पञ्चायतकालको प्रारम्भिक समयसम्म सक्रिय इतिहासकार थिए। श्री ५ बडा महाराजाधिराज  पृथ्वीनारायण शाहको दिव्य–उपदेश २०१०, पृथ्वीनारायण शाहका राजनीतिक विचार र उपदेश, नेपाल–चीन–तिब्बत सम्बन्ध, नेपालको सङ्क्षिप्त वृत्तान्त, अब यस्तो कहिल्यै नहोस् आदि बाबुराम आचार्यका प्रमुख कृतिहरु हुन् । उनको इतिहास लेखनको मुख्य विशेषता मौलिक ऐतिहासिक स्रोतको खोज, अभिलेख तथा शिलालेखको अध्ययन, घटनाको कारण–परिणाम खोज्ने प्रयास आदि हुन् ।
उनले नेपालको इतिहासलाई केवल राजाहरूको वंशावलीका रूपमा मात्र नभई राजनीतिक घटना,  कूटनीति, संस्कृति र सामाजिक परिवेशसँग जोडेर हेर्ने प्रयास गरे। त्यसैले उनलाई आधुनिक नेपाली इतिहास लेखनको महत्त्वपूर्ण आधारस्तम्भ मानिन्छ।
२. यस चरणमा इतिहास लेखनमा विशेष योगदान दिने  विद्वान् हरुमा डा. डिल्लीरमण रेग्मी र महेशचन्द्र रेग्मीको नाम उल्लेखनीय छ जसको चर्चा रेग्मी हरुको योगदान को क्रममा विस्तृत रुपमा पछि गरिने छ।
३. योगी नरहरिनाथ (वि.सं. १९७१–२०५९)  नेपाली इतिहास लेखनको विकासको चर्चा गर्दा बिर्सन नसकिने अर्को महत्त्वपूर्ण नाम हो। उनी अन्य इतिहासकारभन्दा फरक प्रकृतिका, तर अत्यन्त महत्त्वपूर्ण स्रोत–संकलक, सम्पादक, अनुसन्धानकर्ता र इतिहास–पुरातत्त्वका अन्वेषक थिए। विशेषगरी नेपालका दुर्गम क्षेत्रबाट पुराना वंशावली, सन्धिपत्र, शिलालेख, ताम्रपत्र, हस्तलिखित ग्रन्थ तथा मौखिक परम्परा संकलन गरेर प्रकाशनमा ल्याउनु उनको सबैभन्दा ठूलो योगदान मानिन्छ। ‘इतिहास प्रकाशमा सन्धिपत्र संग्रह’लाई उनका  कृतिहरु मध्ये उत्कृष्ट मानिन्छ।

४.धनवज्र वज्राचार्य (१९३२१९९४) नेपालका प्रसिद्ध इतिहासकार, अभिलेखविद् र प्राचीन लिपिका ज्ञाता थिए। लिच्छविकालका अभिलेख (१९७३) — उनको सबैभन्दा महत्वपूर्ण कृतिमध्ये एक हो। उनको सबैभन्दा ठूलो योगदान अभिलेखलाई इतिहासको प्राथमिक स्रोतका रूपमा प्रयोग गरी प्राचीन नेपालको इतिहास पुनर्निर्माण गर्नु हो। उनले शिलालेख तथा अन्य अभिलेखमा रहेका संस्कृत र नेपालभाषाका सामग्रीलाई पढेर, लिप्यन्तरण र व्याख्या गरेर इतिहास अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरे।
५. ज्ञानमणि नेपालको नेपाली इतिहास, संस्कृति, भाषा र अभिलेखीय सामग्रीको अध्ययनमा योगदान छ। विशेषतः ऐतिहासिक तथ्य र सांस्कृतिक सामग्रीलाई जोडेर अध्ययन गर्ने प्रयास उनले गरेका थिए। नेपालको महाभारत, नेपाल निरुक्त उनका मुख्य कृति हुन् ।

  ६. दिनेशराज पन्तले  नेपालको मध्यकालीन तथा वंशावलीसम्बन्धी अनेक अनुसन्धान गरेका छन् । वंशावली, अभिलेख र पुराना दस्तावेजको आलोचनात्मक अध्ययनमा उनको  महत्वपूर्ण योगदान छ ।
नेपाली इतिहासका प्राथमिक स्रोतको प्रमाणीकरण र पुनर्व्याख्यामा विशेष भूमिका छ।
७. लुडविग एफ. स्टिलर (Ludwig F. Stiller, S.J.)
लुडविग एफ. स्टिलर अमेरिकी जेसुइट विद्वान् तथा नेपालका इतिहासकार थिए। नेपाली इतिहास लेखनमा विदेशी इतिहासकारमध्ये उनको स्थान अत्यन्त महत्वपूर्ण छ। विशेष गरी उनले नेपालको एकीकरण, पृथ्वीनारायण शाह, भीमसेन थापा र उन्नाइसौँ शताब्दीको राजनीतिक इतिहासलाई नयाँ स्रोतका आधारमा अध्ययन गरे। उनका प्रमुख कृतिहरू The Rise of the House of Gorkha : A Study in the Unification of Nepal,  The Silent Cry: The People of Nepal, 1816–1839, Nepal: Growth of a Nation, Letters from Kathmandu: The Kot Massacre हुन् । ऐतिहासिक दस्तावेज, पत्राचार र समकालीन स्रोतहरूको प्रयोग स्टिलरको मुख्य विशेषता  हो।     उनले नेपालको एकीकरणलाई केवल “पृथ्वीनारायण शाहको विजय”का रूपमा प्रस्तुत नगरी त्यसपछिको राजनीतिक, आर्थिक तथा प्रशासनिक विकाससँग जोडेर व्याख्या गरे।
८. Leo E. Rose
Leo E. Rose  अमेरिकी राजनीतिक वैज्ञानिक तथा नेपालसम्बन्धी महत्वपूर्ण अध्येता थिए।  पहिलोपटक सन् १९५७ मा नेपाल आएका उनले  सन् १९५९ मा University of California बाट नेपाली इतिहास विषयमा विद्यावारिधि गरेका थिए।उनको सबैभन्दा चर्चित कृति Nepal: Strategy for Survival (1971) हो। यसमा भारत र चीनजस्ता दुई ठूला छिमेकीबीच नेपालको स्वतन्त्रता, राष्ट्रिय हित र सुरक्षा जोगाउने प्रयासलाई ऐतिहासिक तथा भूराजनीतिक दृष्टिले व्याख्या गरिएको छ। उनको विशेषता राजवंश र युद्धहरूको परम्परागत इतिहासभन्दा आधुनिक राजनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषणमा देखिन्छ। उनको “Strategy for Survival” अवधारणा आज पनि नेपालको भूराजनीतिक अवस्थाको व्याख्यामा व्यापक रूपमा उद्धृत हुन्छ।

९. त्रिभुवन विश्वविद्यालयको इतिहास अध्ययनअनुसन्धान परम्पराका  प्रमुख विद्वानहरु

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय बिभागमा लामो समय सम्म प्राध्यापन सेवामा रहेर उक्त सेवा अवधि मा विभिन्न समयमा बिभागको नेतृत्वदायी भूमिकामा समेत रहेर इतिहास विषयको अध्ययन अनुसन्धानलाई अघि बढाइ इतिहास लेखन कार्यलाई थप उचाइमा पुर्याएका विद्वानहरु निम्न छन् ।
(क) प्रा. डा. तुलसीराम वैद्य   त्रिभुवन विश्वविद्यालयको इतिहास अध्ययन–अनुसन्धान परम्पराका  प्रमुख विद्वान् हुन्। उनका महत्त्वपूर्ण कृतिहरुमा Prithvinarayan Shah: The Founder of Modern Nepal, Advanced History of Nepal: 1737–1839, Jaya Prakash Malla: The Brave Malla King of Kantipur, 1736–1769, मुख्य छन् ।तुलसीराम वैद्यको योगदान विशेषतः मध्यकालीन र आधुनिक नेपालको राजनीतिक–प्रशासनिक इतिहासलाई अनुसन्धानमूलक ढंगले प्रस्तुत गर्नु हो।
(ख) प्रा. डा. प्रेमरमण उप्रेती  नेपालको कूटनीतिक इतिहास  र नेपाल–तिब्बत सम्बन्धका विशेषज्ञका रूपमा  परिचित छन्। उनको सबैभन्दा प्रसिद्ध  कृति Nepal-Tibet Relations, 1850–1930: Years of Hope, Challenges and Frustrations र NEPAL: A small country in the vortex of international conflicts हुन् ।  नेपालको इतिहासलाई आन्तरिक राजनीतिक घटनामा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय सम्बन्धको कोणबाट अध्ययन गर्नु  प्रेमरमण उप्रेतीको मुख्य विशेषता हो। ।
(ग) प्रा. डा. त्रिरत्न मानन्धर समकालीन नेपालका चर्चित इतिहासविद् हुन्।  नेपालको राजनीतिक, सैनिक, मध्यकालीन तथा राणा इतिहासका विभिन्न पक्षमा अनुसन्धान गरेका  मानन्धरका प्रमुख कृतिहरू Nepal : The years of Trouble,नेपालको इतिहासमा जङ्गबहादुर, नेपाल–भोट विवाद (वि.सं. १९३३–४१), Some Aspects of Rana Rule in Nepal हुन् ।    इतिहासमा उपेक्षित वा कम महत्त्वपूर्ण ठानिएका घटनाहरूलाई पुनः अनुसन्धान गरि तिनको ऐतिहासिक महत्व स्थापित गर्ने प्रयास गर्नु उनको मुख्य विशेषता हो।

(घ) प्रा. डा. कृष्णकान्त अधिकारी  नेपालका  इतिहास–लेखनशास्त्र (Historiography) र इतिहास लेखन विधि ( Methodology) का विशेषज्ञ रुपमा मानिन्छन् । राणा शासन त्यसमा पनि विशेषगरी जङ्गबहादुरकालीन नेपाल उनको अनुसन्धानको  क्षेत्र हो। उनका प्रमुख कृतिहरू Nepal under Jang Bahadur, 1846–1877 र A Brief Survey of Nepali Historiography हुन् ।
(ङ) प्रा. डा.  तीर्थप्रसाद मिश्र आधुनिक नेपाली इतिहास लेखनका स्थापित इतिहासकार हुन् । उनले नेपालको वैदेशिक सम्बन्ध विशेषगरी  नेपाल–तिब्बत सम्बन्ध, राणा शासन र आधुनिक नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण अनुसन्धान गररेका छन् । उनका प्रमुख कृतिहरू The Taming of Tibet, नेपाल–तिब्बत सम्बन्धमा ग्याल्बु काण्ड (२०५३), अंग्रेज–तिब्बत विवादमा नेपालको भूमिका (१९०३–०४ ई.) (२०५४) हुन् । नेपाल–तिब्बत सम्बन्धको गहिरो अध्ययन गरेका मिश्रले नेपाल–ब्रिटिस भारत  सम्बन्धलाई तिब्बत र हिमाली राजनीतिसँग जोडेर व्याख्या गरेका छन् ।

(च) प्रा. डा.   विजयकुमार मानन्धर आधुनिक नेपालको नेपाल–चीन सम्बन्धको इतिहास लेखनमा योगदान गर्ने इतिहासकार हुन्। उनको सबैभन्दा महत्त्वपूर्ण कृति A Comprehensive History of Nepal-China Relations up to 1955 A.D. हो। उनको सबैभन्दा ठूलो योगदान नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक दस्तावेज र अभिलेखका आधारमा पुनर्निर्माण गर्नु हो।

(छ) प्रा. डा. राजाराम सुवेदी  विशेषतः मध्यकालीन नेपाल, पश्चिम नेपाल र बाइसी–चौबिसी राज्यहरूको इतिहास लेखनमा महत्वपूर्ण योगदान दिने इतिहासकार हुन्। उनका अध्ययनमा स्थानीय स्रोत, वंशावली, अभिलेख तथा उपलब्ध ऐतिहासिक सामग्रीको प्रयोग देखिन्छ। उनका प्रमुख कृतिहरू कर्णाली प्रदेशको मध्यकालीन इतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५५), कर्णाली क्षेत्रमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको इतिहास (२०५८),कास्की राज्यको इतिहास (२०६०) सुवेदीले काठमाडौं–केन्द्रित इतिहासभन्दा बाहिर गएर कर्णाली, डोटी, बाइसी राज्य तथा पश्चिम नेपालका क्षेत्रीय इतिहासलाई अनुसन्धानको मूल प्रवाहमा ल्याउन योगदान दिएका छन्।
(ज)  प्रा. डा. शंकर थापाको योगदान आर्थिक इतिहासको अध्ययनलाई अनुसन्धानात्मक दृष्टिले अगाडि बढाउने प्रयासको रुपमा  देखिन्छ। उनका कृतिहरुमा Historical Study of Agrarian Relations in Nepal, 1846–1951 विशेष उल्लेखनीय  छ।

एक्काइसौँ शताब्दीमा नेपाली इतिहास लेखनको विकास र नयाँ आयाम
एक्काइसौँ शताब्दीमा नेपाली इतिहास लेखन परम्परागत राजनीतिक तथा राजवंशीय इतिहासबाट सामाजिक, सांस्कृतिक, आर्थिक, लैङ्गिक, जातीय र जनसाधारणको इतिहासतर्फ विस्तार भएको छ। इतिहास लेखनमा नयाँ स्रोत, नयाँ सिद्धान्त र अन्तरविषयक विधिको प्रयोग बढेको छ।सामाजिक इतिहास, आर्थिक इतिहास, सांस्कृतिक इतिहास, महिला इतिहास, श्रम इतिहास, स्थानीय इतिहास, वातावरणीय इतिहास, जनजातीय इतिहास तथा मौखिक इतिहासजस्ता नयाँ क्षेत्रहरूमा अनुसन्धान हुन थालेका छन्।इतिहास लेखनमा समाजका सामान्य मानिस, किसान, मजदुर, महिला, सीमान्तकृत समुदाय तथा स्थानीय समुदायका अनुभवलाई पनि समेट्ने प्रयास बढेको छ। यसले इतिहासलाई शासक र अभिजात वर्गको मात्र कथा नभई सम्पूर्ण समाजको विगत बुझ्ने माध्यमका रूपमा स्थापित गरेको छ।     सूचना प्रविधिको विकासले नेपाली इतिहास अनुसन्धानमा नयाँ सम्भावना सिर्जना गरेको छ। पुराना दस्तावेजको डिजिटल अभिलेखीकरण, अनलाइन पुस्तकालय, डिजिटल डेटाबेस, पुरातात्त्विक सामग्रीको डिजिटल अभिलेख तथा डिजिटल नक्साको प्रयोग बढ्दै गएको छ।
त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रिय  विभागले  विश्वविद्यालयस्तरीय अनुसन्धानमुखी र स्रोत–आधारित इतिहास लेखनको संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।
यसरी एक्काइसौँ शताब्दीको नेपाली इतिहास लेखन “शासक र घटनाको इतिहास” बाट “समाज र मानिसको इतिहास” तर्फ उन्मुख भएको देखिन्छ।स्रोतको विविधता, नयाँ अनुसन्धान विधि, डिजिटल प्रविधि र सीमान्तकृत समुदायको आवाजलाई समेट्ने प्रयास यसको प्रमुख विशेषता हो।यद्यपि अभिलेखको अपूर्णता, स्रोतको विश्वसनीयता, राजनीतिक आग्रह तथा पर्याप्त अनुसन्धानको अभाव अझै चुनौतीका रूपमा रहेका छन्।

३.नेपालको इतिहास लेखनमा रेग्मीहरुको भूमिका
उपलब्ध  स्रोतका आधारमा रेग्मी थर भएका प्रमुख नेपाली इतिहासकारमा  दुई व्यक्तित्वहरुको योगदान उल्लेखनीय रहेको देखिन्छ।
३.१ डा. डिल्लीरमण रेग्मी (1913–2001)
   नेपालको इतिहास लेखनको आधुनिक विकासक्रममा डा. डिल्लीरमण रेग्मीको स्थान अत्यन्त महत्वपूर्ण मानिन्छ। राजनीतिज्ञ, अर्थशास्त्री तथा अनुसन्धानकर्ताको रुपमा प्रसिद्ध  डा.रेग्मीले आफ्नो जीवनको ठूलो हिस्सा नेपालको प्राचीन, मध्यकालीन र आधुनिक इतिहासको अध्ययन तथा लेखनमा समर्पित गरेका थिए । विशेषतः अंग्रेजी भाषामा नेपालको इतिहासलाई व्यवस्थित र विस्तृत रूपमा प्रस्तुत गरेर उनले नेपाली इतिहासलाई अन्तर्राष्ट्रिय शैक्षिक जगतसम्म पुर्‍याउने कार्य  गरेका थिए।  इतिहाससम्बन्धी कृतिहरूको परिमाण, विषयगत विस्तार र स्रोत-सामग्रीको प्रयोगका कारण उनी आधुनिक नेपाली इतिहास लेखनका प्रमुख अभियन्तामध्ये एक मानिन्छन्। डा. रेग्मीका इतिहाससम्बन्धी प्रमुख कृतिहरूमध्ये Ancient Nepal, Medieval Nepal र Modern Nepal विशेष उल्लेखनीय छन्। Ancient Nepal मा नेपालको प्राचीन इतिहास, विशेषतः किराँत, लिच्छवि तथा त्यसपछिको संक्रमणकाललाई राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक पक्षबाट अध्ययन गरिएको छ। अभिलेख, वंशावली, पुरातात्त्विक सामग्री तथा अन्य उपलब्ध स्रोतहरूको प्रयोग गरेर उनले प्राचीन नेपालको इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।
त्यसैगरी Medieval Nepal उनका सबैभन्दा महत्वपूर्ण अनुसन्धानात्मक कृतिमध्ये पर्दछ। यसमा मध्यकालीन नेपालको राजनीतिक इतिहाससँगै काठमाडौं उपत्यकाका काठमाडौं, पाटन र भक्तपुरका राज्य, मल्लकालीन शासन व्यवस्था, अर्थतन्त्र, समाज, धर्म, कला,  तथा संस्कृतिको अध्ययन गरिएको छ। Medieval Nepal विभिन्न भागमा प्रकाशित भएको थियो र यसमा १५२० देखि १७६८ सम्मको तीन राज्यको इतिहासका साथै स्रोत-सामग्रीसमेत समेटिएको पाइन्छ।
उनको अर्को महत्वपूर्ण कृति Modern Nepal हो। यसको पहिलो भागमा अठारौँ शताब्दीमा गोरखा राज्यको उदय र विस्तार तथा पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपालको एकीकरणलाई केन्द्रमा राखिएको छ। दोस्रो भागमा नेपालको विस्तार, उत्कर्ष र पतन, विशेषतः गोरखा राज्यको विस्तारदेखि एङ्ग्लो–नेपाली युद्धसम्मका घटनाक्रमलाई समेटिएको छ।      यी प्रमुख कृतिबाहेक A Century of Family Autocracy in Nepal,The Nepali Democratic Struggle, तथा Inscriptions of Ancient Nepal पनि उनका उल्लेखनीय रचनाहरू हुन्।

निष्कर्षमा डा. डिल्लीरमण रेग्मी नेपाली इतिहास लेखनका एक अग्रणी व्यक्तित्व हुन्। उनले Ancient Nepal, Medieval Nepal र Modern Nepal जस्ता कृतिहरु मार्फत नेपालको प्राचीनदेखि आधुनिक कालसम्मको इतिहासलाई एउटा बृहत् ढाँचामा प्रस्तुत गर्दै  इतिहासलाई राजनीतिक घटनाको विवरणबाट माथि उठाएर समाज, अर्थतन्त्र, संस्कृति, धर्म, कला, प्रशासन र स्रोत-सामग्रीसँग जोड्ने प्रयास गरे। उनका कृतिमा केही सीमितता र कमजोरी भए पनि नेपालको इतिहासलाई अनुसन्धानमूलक ढंगले लेख्ने परम्पराको विकास तथा नेपाली इतिहासलाई अन्तर्राष्ट्रिय बौद्धिक क्षेत्रमा परिचित गराउने कार्यमा उनको योगदान अत्यन्त महत्वपूर्ण छ। त्यसैले डा. रेग्मीलाई आधुनिक नेपाली इतिहास लेखनको विकासक्रममा एक महत्वपूर्ण सेतु र अग्रणी इतिहासकारका रूपमा मूल्यांकन गर्न सकिन्छ।

३.२ महेशचन्द्र रेग्मी (1929–2003)
नेपालको आधुनिक इतिहास लेखनको विकासमा महेशचन्द्र रेग्मीको स्थान अत्यन्त महत्वपूर्ण छ। उनले नेपालको इतिहासलाई केवल राजदरबार, राजा–महाराजा र राजनीतिक घटनाक्रममा सीमित नराखी भूमि व्यवस्था, कर प्रणाली, आर्थिक सम्बन्ध, प्रशासन, सामाजिक संरचना तथा किसान–जमिनदार सम्बन्धका आधारमा अध्ययन गर्ने नयाँ परम्पराको विकास गरे।    विशेषतः अठारौँदेखि बीसौँ शताब्दीको पूर्वार्धसम्मको नेपालको आर्थिक तथा सामाजिक इतिहास बुझ्न उनका कृतिहरू महत्वपूर्ण स्रोत मानिन्छन्।
उनको इतिहास लेखनमा मौलिक दस्तावेज, लालमोहर, सनद, सवाल, इस्तिहार, तमसुक तथा प्रशासनिक अभिलेखहरूको व्यापक प्रयोग पाइन्छ।     महेशचन्द्र रेग्मीका प्रमुख कृतिहरूमध्ये Land Tenure and Taxation in Nepal, A Study in Nepali Economic History, 1768–1846, Thatched Huts and Stucco Palaces: Peasants and Landlords in 19th-century Nepal, Landownership in Nepal, Imperial Gorkha: An Account of Gorkhali Rule in Kumaun, Garhwal and Sirmur, तथा Regmi Research Series विशेष उल्लेखनीय छन्।
Land Tenure and Taxation in Nepal  महेशचन्द्र रेग्मीको प्रमुख अनुसन्धानात्मक कृति हो।   कृतिमा नेपालको परम्परागत भूमि व्यवस्था र कर प्रणालीका विभिन्न स्वरूपको अध्ययन गरिएको छ। विशेष   गरेर यसम  नेपालको परम्परागत भूमि स्वामित्व, जग्गा बन्दोबस्त, कर असुली र राज्य तथा कृषकबीचको सम्बन्धको विश्लेषण गरिएको छ। यसबाट रेग्मीले नेपालमा Economic History तथा Agrarian History को अध्ययनलाई व्यवस्थित आधार प्रदान गरे। पछि प्रकाशित उनको Landownership in Nepal ले पनि यही अनुसन्धान परम्परालाई अगाडि बढाएको देखिन्छ।
उनको अर्को कृति A Study in Nepali Economic History, 1768–1846 मा पृथ्वीनारायण शाहद्वारा काठमाडौं विजय देखि राणा शासन प्रारम्भ सम्मको आर्थिक संरचना, राज्यको आयस्रोत, कर व्यवस्था, व्यापार, कृषि तथा भूमि सम्बन्धको अध्ययन गरिएको छ।
उनको Thatched Huts and Stucco Palaces: Peasants and Landlords in 19th-century Nepal नेपाली इतिहास लेखन, विशेषतः आर्थिक तथा सामाजिक इतिहासको अध्ययनमा अत्यन्त महत्त्वपूर्ण योगदान हो।  शीर्षकमा रहेका दुई प्रतीकले पुस्तकको मूल भाव स्पष्ट गर्छन्— Thatched Huts (परालका झुपडी) → किसान, श्रमिक तथा ग्रामीण सर्वसाधारण र Stucco Palaces (प्लास्टर गरिएका भव्य दरबार) → जमिनदार, उच्च वर्ग तथा शासकीय/अभिजात वर्ग अर्थात्, पुस्तकले एकातिर गरिब किसानको जीवन र अर्कोतिर भूमि तथा राजनीतिक शक्तिमा पहुँच भएका अभिजात वर्गबीचको आर्थिक सम्बन्धलाई केन्द्रमा राखेको छ। यस पुस्तकमा उन्नाइसौँ शताब्दीको नेपालको आर्थिक जीवन का विभिन्न  पक्षहरू जस्तै भूमि र कृषि,  किसान र जमिनदारबीचको सम्बन्ध, कर तथा भूमि–राजस्व व्यवस्था, गाउँका अभिजात वर्ग आदिको विस्तृत अध्ययन पाइन्छ।

यो पुस्तक केवल आर्थिक विषयमा सीमित छैन। Politics and Government तथा The Landowning Elite जस्ता अध्यायहरूले भूमि स्वामित्व र राजनीतिक शक्तिबीचको सम्बन्ध देखाउँछन्। राणा शासनलाई यथार्थमा बुझ्न यसको ठूलो  महत्त्व रहेको छ। समग्रमा, Thatched Huts and Stucco Palaces महेशचन्द्र रेग्मीको मात्र होइन, आधुनिक नेपाली इतिहास लेखनकै मीलको ढुंगा  ( Mile Stone)  मान्न सकिने कृति हो।
यसले नेपालको इतिहासमा “दरबारमा के भयो?” भन्ने प्रश्नसँगै “गाउँमा किसानको अवस्था के थियो, भूमि कसको नियन्त्रणमा थियो, राज्यले कसरी राजस्व उठाउँथ्यो र त्यसबाट सामाजिक शक्ति कसरी निर्माण हुन्थ्यो?” भन्ने प्रश्नलाई केन्द्रमा ल्यायो।
उनको अर्को कृति Imperial Gorkha मा गोरखा राज्यको विस्तार तथा गोरखाली शासनको प्रभावलाई विशेषतः कुमाउँ, गढवाल र सिरमौरजस्ता क्षेत्रमा केन्द्रित भएर अध्ययन गरिएको छ। यसबाट नेपालको राज्य विस्तारलाई केवल सैन्य विजयको दृष्टिले नभई प्रशासन, भूमि र स्थानीय समाजसँगको सम्बन्धका आधारमा बुझ्न सहयोग पुग्छ। यसका अतिरिक्त महेशचन्द्र रेग्मीले Regmi Research Series 1969–1989 सम्म २१ खण्डमा प्रकाशित गरे।  Regmi Research Series (RRS) नेपालको आधुनिक इतिहास, विशेषतः आर्थिक, सामाजिक, प्रशासनिक तथा राजनीतिक इतिहासको अध्ययनका लागि अत्यन्त महत्त्वपूर्ण प्राथमिक स्रोत–संकलन हो। यो सामान्य अर्थमा एउटा पुस्तक नभई करिब दुई दशकसम्म प्रकाशित भएको शोध–पत्रिका/अनुसन्धान श्रृंखला हो।यसको मुख्य उद्देश्य नेपालका पुराना ऐतिहासिक दस्तावेजलाई खोजी, संकलन, अनुवाद र प्रकाशन गर्नु थियो। Regmi Research Series महेशचन्द्र रेग्मीको सबैभन्दा विशिष्ट र दीर्घकालीन बौद्धिक योगदानमध्ये एक हो। यसले नेपालका छरिएर रहेका ऐतिहासिक अभिलेखलाई अनुसन्धानकर्ताको पहुँचमा ल्यायो, मौलिक स्रोतमा आधारित इतिहास लेखनलाई प्रोत्साहित गर्‍यो र नेपालको आर्थिक–सामाजिक इतिहास अध्ययनका लागि नयाँ आधार तयार गर्‍यो।
निष्कर्षमा महेशचन्द्र रेग्मी नेपाली इतिहास लेखनलाई दस्तावेज, तथ्य र आर्थिक–सामाजिक विश्लेषणमा आधारित बनाउने अग्रणी इतिहासकार हुन् । उनका कृतिले नेपालको भूमि व्यवस्था, कर प्रणाली, ग्रामीण अर्थतन्त्र, प्रशासन र सामाजिक संरचनाबारे महत्वपूर्ण ज्ञान प्रदान गरेका छन्। त्यसैले नेपालको आधुनिक इतिहास लेखनको विकासक्रममा उनलाई आर्थिक तथा सामाजिक इतिहास लेखनका एक प्रमुख आधारस्तम्भका रूपमा मूल्यांकन गर्न सकिन्छ। उनको अभिलेख संकलन र प्रकाशनको कार्यले भावी पुस्ताका इतिहासकारका लागि अमूल्य अनुसन्धान सामग्री समेत सुरक्षित गरेको छ।

४.निष्कर्ष
नेपाली इतिहास लेखन परम्परागत वंशावली र आख्यानबाट प्रमाण, स्रोत–आलोचना र अनुसन्धानमा आधारित वैज्ञानिक इतिहास लेखनतर्फ विकसित भएको छ।प्रामाणिक इतिहास लेखनको आधार केवल तथ्य संकलन होइन; स्रोतको विश्वसनीयता परीक्षण, तुलनात्मक अध्ययन र आलोचनात्मक व्याख्या हो।बीसौँ शताब्दीको उत्तरार्धमा नेपाली इतिहास लेखन राजनीतिक घटनाबाट सामाजिक, आर्थिक, प्रशासनिक र कूटनीतिक विषयतर्फ विस्तार भयो। यस कालखण्डमा अन्य  इतिहासकारका अतिरिक्त रेग्मी कूलका २ व्यक्तित्वहरु
नेपालको  इतिहास लेखनलाई आधुनिकता तर्फ डोर्‍याउने प्रमुख विद्वान् का रुपमा देखा परे। विशेषतः डिल्लीरमण रेग्मीको राजनीतिक इतिहास र महेशचन्द्र रेग्मीको आर्थिक–सामाजिक तथा अभिलेखीय इतिहासले नेपाली इतिहास अनुसन्धानमा दीर्घकालीन प्रभाव पारेको छ।एक्काइसौँ शताब्दीमा इतिहास लेखन अझ बहुआयामिक, समावेशी र अन्तरविषयक बन्दै गएको छ।

(त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागका पूर्व सह प्राध्यापक कमल देव रेग्मीले कौशिक गोत्रीय रेग्मी बन्धु समाजव्दारा आयोजित बौध्दिक बहस कार्यक्रममा प्रस्तुत गर्नु भएको कार्यपत्रमा आधारित)