आवागमनमा निर्भर रोजगारीका अवसर र चुनौतीहरु- डा. दामोदर रेग्मी

नागरिक पाना
२०८३ बैशाख ९, बुधबार २३:३९

आधुनिक शहरीकरण र आर्थिक संरचनाको विकाससँगै रोजगारीको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ। यस परिवर्तनको एउटा प्रमुख पक्ष हो आवागमनमा निर्भर (Commute Dependence) रोजगारी  (Employment) । आवागमनमा निर्भर रोजगारीले अवधारणाले यसले त्यस्तो अवस्थालाई जनाउँछ जहाँ व्यक्तिले आफ्नो कार्यस्थल पुग्न नियमित रूपमा यात्रा गर्नुपर्ने हुन्छ। घर र कार्यस्थलबीचको भौगोलिक दूरी, बसोबासको ढाँचा, यातायात पूर्वाधारको अवस्था तथा श्रमबजारको संरचनाले यस्तो निर्भरता बढाउँछ।उसले प्रयोग गर्ने यातायातको साधनङ्क आधारमा कार्यालय पहुंचमा सहजता वा गाह्रोपन भैरहेको हुन्छ।

आवागमनमा निर्भर रोजगारी भन्नाले कामदारले आफ्नो पेशागत दायित्व पूरा गर्न दैनिक रूपमा यात्रा गर्नुपर्ने अवस्थालाई बुझाउँछ। यस्तो व्यवस्था प्रायः ती क्षेत्रमा देखिन्छ जहाँ:

  • आवासीय क्षेत्र र औद्योगिक/व्यावसायिक क्षेत्र अलग अलग भौगोलिक क्षेत्र वा दूरीमा हुन्छन्
  • कार्यअवसरहरू निश्चित केन्द्रहरूमा केन्द्रित हुन्छन् र ती अवसर उपयोग गर्न व्यक्तिहरु दैनिक  टाढाको यात्रा गर्न बाध्य हुन्छन्
  • जनसंख्या विस्तारसँगै शहरहरू फैलिएका हुन्छन् । यस अवस्थामा कार्यालय र बसोवास गरिने ठाउं ठूलो दूरीमा रहेका हुन्छन्।

यसले कामदारलाई समय, दूरी र साधनको हिसाबले यातायातमा निर्भर बनाउँछ।

सकारात्मक पक्षहरू

यस अवस्थालाई प्रायः चुनौतीका रूपमा हेरिन्छ, आवागमनमा निर्भर रोजगारीका केही सकारात्मक पक्षहरु पनि छन्:

  • रोजगारीको पहुँच विस्तार: मानिसहरूले आफ्नो बसोबास परिवर्तन नगरी टाढाका अवसरहरूमा काम गर्न सक्छन्।
  • श्रम बजारको लचकता: दक्ष जनशक्ति विभिन्न स्थानमा सहज रूपमा प्रवाहित हुन सक्छ।
  • आर्थिक एकीकरण: विभिन्न क्षेत्रबीच आर्थिक सम्बन्ध सुदृढ हुन्छ।

समस्याहरू

यसको प्रभाव सधैं सकारात्मक नहुन पनि सक्दछ । दीर्घकालीन रूपमा यसले विभिन्न समस्या निम्त्याउन सक्छ:

  • समय र उत्पादकत्वको ह्रास: दैनिक लामो यात्रा गर्दा थकान बढ्छ र कार्यक्षमता घट्न सक्छ।
  • आर्थिक भार: यातायात खर्चले व्यक्तिगत आयमा दबाब पार्छ।
  • सामाजिक असर: परिवारसँग बिताउने समय घट्छ, सामाजिक सम्बन्ध कमजोर हुन सक्छ।
  • पर्यावरणीय प्रभाव: बढी आवागमनले प्रदूषण र ऊर्जा खपत बढाउँछ।

संरचनात्मक कारणहरू

आवागमनमा निर्भर रोजगारीको वृद्धि केही मूलभूत कारणहरूसँग सम्बन्धित छ:

  • असन्तुलित शहरी योजना
  • रोजगारी अवसरहरूको केन्द्रीकरण
  • सस्तो आवासको अभाव (job–housing mismatch)
  • सार्वजनिक यातायातको अपर्याप्तता

यी कारणहरूले कामदारलाई बसोबास र कार्यस्थलबीच दूरी सहन बाध्य बनाउँछन्।

व्यक्तिगत कार वा सवारी साधनको अनिवार्यता

विकसित देश र शहरी क्षेत्रहरुमा व्यक्तिगत कार लगभग अनिवार्य जस्तै देखिनुको कारण केवल मानिसहरूको चाहना मात्र होइन, संरचना, नीति र बजार व्यवहार सबै मिलेर बनेको हो। यो केवल व्यक्तिगत रोजाइ मात्र होइन, यो प्रणालीले निम्त्याएको आवश्यकता पनि हो।

१. शहरी संरचना र जीवनशैली

शहर र विकसित देशहरुमा धेरै शहरहरू “car-centric” ढंगले विकास भएका छन्।

  • आवासीय क्षेत्र (suburbs) र कार्यस्थलबीच दूरी धेरै हुन्छ
  • सार्वजनिक यातायात (bus, train) सबै ठाउँमा प्रभावकारी हुदैन वा यी साधनहरुको उपयोगवाट समयमै कार्यालय पुग्न गाह्रो हुन्छ
  • दैनिक काम (school, grocery, office) का लागि गाडी आवश्यक पर्छ

२. सार्वजनिक यातायातको सीमितता

  • सारेवजनिक बस सेवा सीमित  हुनु
  • समयमै बस नआउने समस्या
  • सबै क्षेत्रमा बस सेवा उपलब्ध नहुने
  • यसले गर्दा मानिसहरू स्वतः कार वा अन्य कुनै निजी साधनतर्फ आकर्षित हुन्छन्

 

३. कार कम्पनीहरूको बजार रणनीति

आफ्नो बजार वढाउन सवारी साधन जस्ता कम्पनीहरूले:

  • सस्तो फाइनान्सिङ (Loan, Lease, किस्तामा तिर्दै जाने सुविधा)
  • Zero डाउन Payment जस्ता अफर ल्याउने गर्दछन्

४.  आर्थिक र सामाजिक पक्ष

  • आफ्नो सवारी साधन हुदा काममा जादा सहजता
  • रोजगारका अवसर पनि धेरैजसो Commute Dependent हुन्छन्
  • केही ठाउँ खासगरी निजी क्षेत्रहरुमा आफ्नो सवारी साधन बिना रोजगारी पाउन गाह्रो हुन्छ

समाधानका उपाय

यस अवस्थालाई व्यवस्थापन गर्न बहुआयामिक नीति हस्तक्षेप आवश्यक हुन्छ:

  • व्यवस्थित वा एकीकृत शहरी योजना
    • आवास र रोजगारीबीच सन्तुलन कायम गर्ने
  • सार्वजनिक यातायातको सुदृढीकरण
    • सुरक्षित, सस्तो र विश्वसनीय सेवा विस्तार
  • लचिलो कार्यप्रणाली
    • दूरकार्य (Remote Work), हाइब्रिड मोडेलको प्रवर्द्धन
  • आवास नीतिमा सुधार
    • कार्यस्थल नजिक सुलभ आवासको विकास
  • हरित यातायात प्रवर्द्धन
    • साइक्लिङ, पैदलमैत्री पूर्वाधार, विद्युतीय साधन

आवागमनमा निर्भर रोजगारी आधुनिक आर्थिक प्रणालीको अपरिहार्य यथार्थ बन्दै गएको छ। यसले एकातिर रोजगारीका अवसरहरू विस्तार गर्ने सम्भावना राख्छ भने अर्कोतर्फ सामाजिक, आर्थिक र वातावरणीय चुनौतीहरू पनि सिर्जना गर्छ। कार्यालयले एकीकृत परिवहन सुविधाको व्यवस्था वा कर्मचारी आवास गृहको व्यवस्था गर्न सक्दछ। साथै सवारी साधन खरिदको लागि सुविधायुक्त कर्जाको व्यवस्था समेत गर्न सकिन्छ।

डा. दामोदर रेग्मी,  प्रशासनविद तथा गीतकार  हुनुहुन्छ