सङ्गीत अभियात्राका कलाकारको विदाइ

नागरिक पाना
२०७९ चैत्र २१, मंगलवार १४:५७
Abhiyatra Ka Kalakar Ko Bidai Ko Kshan

महोत्तरी : ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ का कलाकार आज मङ्गलबार महोत्तरीबाट विदा भएका छन् । जनताको जनजीविका, समुन्नत लोकतन्त्र र समाजवादी राज्यव्यवस्थाको स्थापना अभिष्ठ बोकेका ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ का कलाकारलाई आज महोत्तरीको बर्दिबासबाट विदाइ गरिएको हो । गत आइतबार महोत्तरी आएका यस अभियानका गीत, सङ्गीत सर्जक र गायक टोलीले दिनहुँ कार्यक्रम प्रस्तुत गरेका थिए ।

‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,उमेर भइसक्यो असी , झन् ठूला दुःखले घेरेको !’ बोलको गीत गाएर भरियाको जिन्दगी गीतबाट दर्शाउनु भएका कलाकार गायक जीवन शर्मासँगै एक हजारभन्दा बढी दर्शक र स्रोता झुमेका थिए । त्यसैगरी मणि थापा, उदय श्रेष्ठ, कणर् विद्रोही र चिरण सीसहितका गायक कलाकारले ‘एकताको कुरा गर, विद्रोहको कुरा गर, हामीलाई फुटाउने कुरा गर्दै नगर’ बोलको गीत सामुहिक रुपमा गाउनुहुँदा आम दर्शक स्रोता कलाकारसँगै नाची रहेका देखिन्थे ।

तीन दिने बर्दिबास बसाइमा अभियानका कलाकारले मुलुकलाई राष्ट्रिय एकता, जनउत्तरदायी सरकार र जनजीविकाको परिपूर्तिले नै समुन्नत लोकतन्त्र संस्थागत हुने सन्देश दिइरहनु भयो । कूल १९ सदस्यीय अभियान टोली यस्तै सन्देश दिन आज बर्दिबासबाट कोशी प्रदेशतर्फ प्रस्थान गरेको छ ।

कुनै राजनीतिक विचारको प्रचार नभई आफ्नो कर्म (काम) बाट मुलुकलाई के दिन सकिन्छ भन्ने हुटहुटीले पश्चिम नेपालबाट ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ थालिएको सर्जक तथा गायक मणि थापाले विदाइ मन्तव्यमा व्यक्त गर्नुभयो । पश्चिम नेपालको धनगढीबाट प्रारम्भ गरिएको अभियात्रा मुलुकका १० ठाउँमा साङ्गितिक कार्यक्रम पस्केर राजधानी काठमाण्डौमा समापन गरिने थापाले जानकारी दिनुभयो ।

अभियात्रा अभियानका सर्जक र गायकहरुको अभियानले मुलुकको विकृत राजनीतिले निरास बनाएको जनतामा नयाँ आशा जगाउन सञ्जिवनीको काम गरेको बर्दिबासका सामाजिक कार्यकर्ता शङ्कर फुयाँलले बताउनुभयो । जनताको पङ्ति सजग र सचेत रहे विकृत हुँदै गएको राजनीति सच्याउन सकिने अभियात्रा अभियानका सर्जक र गायकहरुको सन्देश रहेको आम दर्शक र स्रोताले प्रतिकृया दिएका छन् ।