कञ्चन नदी जस्तै छन् दामोदरका रचना – नेत्र सुवेदी “प्रयास”


डा. दामोदर रेग्मी नेपाली सार्वजनिक क्षेत्रमा निर्विवादित र स्वच्छ छवी भएका प्रशासकका रुपमा चिनिन्छन् । केही समय अघि निजामती सेवाबाट सेवानिवृत्त भएतापनि उनको सक्रियता लेखकका रुपमा, सार्वजनिक खरिद तथा अन्य व्यवस्थापकीय विषयको प्रशिक्षकका रुपमा होस् वा गीतकारका रुपमा भने अनवरत रहेको छ । डा. दामोदर रेग्मीका थुप्रै फुटकर लेखहरु र केही पुस्तक समेत प्रकाशित छन् । एउटा पुस्तकमा हामी मिलेर सहलेखन गरेको पनि याद ताजै छ । म आफै पनि अध्ययन तथा लेखनमा रुचि राख्ने र यसवर्ष मात्र “प्रयासका कविता” नामक विभिन्न समयमा डायरीमा कोरिएका कविताहरुको संग्रह प्रकाशित भएको सन्दर्भमा अग्रज व्यक्तित्व डा. दामोदर रेग्मीको गीति साहित्य र राष्ट्रसेवामार्फत पुर्याउनुभएको योगदानका सम्वन्धमा केही विचार राख्न पाउँदा हर्षित छु, ऊर्जावान अनुभूत गरेको छु । यो संग्रहको पूर्ण सफलताको शुभेक्षा व्यक्त गर्दछु ।
गीत रचना साहित्यको एक जबर्जस्त विधा हो । गीतमार्फत सन्देश दिनका लागि गीतकारले समाज पढ्न पर्दछ, मनदेखि आत्मासम्मका भावमा घोत्लिनुपर्दछ अनि मात्र जन्मन्छ गीत । गीत रचना हुनु एक पक्ष मात्र हो यसको मर्मअनुसार स्वरमा ढाल्ने काम गायकले गर्दछन् भने गीतकै भावअनुसार संगित भर्नका लागि संगीतकारको भूमिका पनि कम हुँदैन । संगितकार र गायक/गायिकाको छनौटमा पनि डा. दामोदर रेग्मी को उत्तिकै कुशलता देखिन्छ । स्थापित गायक/गायिकाले गीतका शब्दहरु मन पराउनु रचनाकारका लागि आफैमा उपलव्धी हो। डा. रेग्मीले रचना गरेको गीत “जिन्दगीको पाठशालाले….” बोलको गीत चर्चित गायिका आनी छोइङ डोल्माले गाएकी छन् भने “एक अञ्जुली मायाको उपहार छरिदेऊ…..” बोलको गीत चर्चित गायक आनन्द कार्कीको स्वरमा सजिएको छ । अर्को एउटा “सिरेटोले छुँदै छुन्न आगोले छुँदै छुन्न शीतलता के हो कुन्नी….” बोलको गीतमा स्वर तथा संगित दुवै मुरलीधरले दिएका छन् । केही दोहोरी गीत समेत छन् । गीत रचनाको क्रम रोकिएको छैन । गीतकारले बच्चा कोरलेजस्तो गरी जन्मदिन गीतहरु सन्तानभन्दा कम महत्वपूर्ण हुँदैनन् । सन्तानले डाँडाकाँडा ढाकून भने जस्तो गीतहरु धेरै हुँदा गीत सुन्नेका लागि छनौटसमेत उपलव्ध हुन्छन् । त्यसैले त केही गीत बढी सुनिन्छन् भने केही कम । कोरल्न बाँकी गीतकेही गीत रेकर्डको पर्खाईमा छन् ।
डा. दामोदर रेग्मीका गीतहरू नेपाली आधुनिक गीत–साहित्यमा समर्पण, दर्शन, प्रेरणा, प्रेम, संघर्ष र राष्ट्रभावनाको उत्कृष्ट समायोजन हुन् भन्दा फरक पर्दैन। उनका गीतहरू केवल सुन्ने सामग्री होइनन्, आत्मसात् गर्नुपर्ने जीवन-दृष्टिकोण हुन्। यो संग्रह आधुनिक नेपाली गीत–समीक्षामा एउटा उदाहरणीय कोशेलीका रूपमा प्रस्तुत गर्न सकिन्छ। डा. दामोदर रेग्मीका गीतहरू आधुनिक नेपाली गीत–साहित्यमा केवल मनोरञ्जन होइन, चेतना, अनुभूति र आत्मदर्शनको समन्वय हुन्। उनका शब्दहरूमा मिठास मात्र होइन, गहिराइ छ। संगीत, स्वर, भाव र दर्शनको चौतर्फी ताल मिलाई उनले अत्यन्त सन्तुलित ढंगले प्रस्तुत गरेका छन्।यी गीतहरू श्रोताको मन छोएर जान्छन् – कहिले उत्साह दिन्छन्, कहिले आँखा रसाउँछन्, र अन्ततः जीवनलाई नयाँ दृष्टिकोणले हेर्न सिकाउँछन्। रेग्मीका गीतहरू केवल समयको रचना होइनन्, समयभन्दा माथि उठ्ने सन्देश सम्वाहक हुन्। प्रशासन र व्यवस्थापनका ज्ञाता र कुशल प्रस्तोता डा. दामोदर रेग्मीका गीति क्षेत्रमा अलि पछि प्रवेश गरेका हुन तर उनका गीतका शव्दहरु र गायक गायिकाको छनौटलाई हेर्दा उनी एक अनुभवी गीतकारको छवि निर्माण गर्न सफल भएका छन् । सबै गीत सुनुसुनु लाग्ने छन् । उनका गीतले जीवन दर्शनरुपी उज्यालो छर्दछन् अलग अलग दीप बनेर। उज्यालो ग्रहण गर्ने नगर्ने श्रोताको छनौटको विषय हो, उज्यालो ग्रहण गर्नका लागि बलेको दियोको नजिक त पुग्नैपर्दछ । देशको चिन्तन गर्ने व्यक्ति आफैमा भावुक पनि हुन्छन्, भावनालाई व्यवस्थापन गर्दै सकरात्मक बाटोमा हिँडाउन प्रयत्नशील हुन्छन् भन्ने उदाहरण बनेका छन् डा. रेग्मी । एकजना उच्च तहको प्रशासकले समय व्यवस्थापन गर्न सक्दा र क्रियाशिलतालाई व्यापक बनाउन चाँहदा सार्वजनिक क्षेत्र र समाजलाई कहाँसम्मको योगदान संभव हुँदो रहेछ भन्ने सिकाईको स्रोत पनि हो यो संग्रह । सार्वजनिक क्षेत्रमा प्रवेश गर्न चाहने युवाहरु, गीति साहित्यमा चाख राख्ने मनहरु सबैलाई डा. दामोदर रेग्मीको जीवन तथा उनको सिर्जनशील सन्तानका रुपमा रहेका रचनाहरु मार्गदर्शक हुने देखिन्छ । इबुकको रुपमा यो संग्रह प्रकाशनका लागि डा. दामोदर रेग्मीलाई हार्दिक बधाई एवम् बाँकी जीवन पनि राष्ट्र र समाजको लागि समर्पित भएर खुशीपूर्वक वितोस् यही शुभकामना ।
(गल्याङ्ग ६, पिडिखोला, स्याङ्जाका नेत्र सुवेदी “प्रयास”, नेपाल सरकारका सहसचिव, लेखक एवम् साहित्यकार हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीव्दारा लिखित गीतकारको कलमबाट साभार गरिएको हो)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको