गीतकार डा.दामोदर रेग्मीको जिन्दगीको पाठशाला र आनी छोइङको स्वरमा मेरा अनुभूतिहरु- कीर्ती न्यौपाने,संगीतकार


गीत संगीत भन्ने विषय नै निक्कै आकर्षक मानिदो रहेछ बाहिरी स्वरूप हेर्दाखेरी तर यो विषय यति जटिल र बहुआयमिक छ बुझ्न लाई जति बुझ्दै गयो त्यति नैं गहिरो छ अनि यस भित्र डुब्दै गयो यसको गहिराइ अन्नत छ । मेरो आफ्नै अनुभव‌मा विगत चार दशक भन्दा बढी समयदेखि दिवाकर शर्माको नामबाट म गायक बनेको छु तर गायन मा लाग्दा लाग्दै म कसरी संगीतकार बन्न पुगे त्यो नै मलाई थाहा भएन दिवाकर शर्मा बाट म संगीतकार कीर्ती न्यौपाने को नाममा रूपान्तरण भइसकेछु ।

जब म संगीतकारको फिल्डमा पाइला टेके मेरा अगाडि थुप्रै चुनौती र अवसरहरू देखा पर्न थाले काम गर्दै जाँदा कतिखेर म व्यवसायिक संगीतकार को रूपमा दर्ज भए यो पनि एउटा मेरो लागि सुखद पक्षको सुरूवात भइसकेको थियो ।मैले नेपाली गीत संगीत मा प्रसिद्धि पाईसकेका गायक गायिका र त्यस्तै नाम चलेका गीतकारहरूका  गीत मा संगीत भर्ने अवसर जुर्दै गयो ।

नयां पुरानो सबै गायक गायिका को पुस्ताहरू सँग काम गर्दे जाँदा एकदिन बरिष्ठ गीतकार डा.दामोदर रेग्मी सर सँग भेट्ने मौका मिल्यो जुन मौका लाई रेडियो नेपाल का कार्यक्रम संचालक एवम् गीतकार राम थापा अविरल भाईले रेडियो नेपाल मै जुराइदिएका थिए ।रेग्मी सर लाई म संगीतकार कीर्ती न्यौपाने हुँ र मलाई पनि सर बाट एउटा गीत दिनु भएमा म संगीत सृजना गर्ने थिए र मैंले हाल सम्म स्तरीय काम  गरेको छु र मेरो काममा कुनैपनि हालतमा कमी आउन दिने छुइन भनी आग्रह गरे वहाँले पनि मलाई तत्काल मेरो आग्रह लाई स्विकारी दिनु भयो ।त्यसपछि सर ले मलाई जिन्दगीको पाठशाला शब्दको गीत पठाइदिनु भयो मैंले सो  गीत को शब्द हेरेपछि गीत भित्रको भाव निक्कै गहिरो र सन्देशमूलक पाएं जसले समाजमा रहेका नागरिकमा एउटा सकारात्मक सोच बोक्न आग्रह गरेको थियो।

म पनि राम्रो गीत पाएं भनेर मन मनै खुशी नै थिए किनकि म संगीत कर्ममा लागेपछि मेरो एउटा उद्देश्य थियो कि गीतका भावहरू नमरून र गीतकार ले खोजे अनुरूप संगीत मा न्याय दिन सकौ ।जिन्दगीको पाठशाला शब्द बाट के बुझिन्छ की यसलाई संयमित ढंगले र अनुशासित भई संगीत मा ढाल्नु पर्छ भन्ने मेरो बुझाई थियो । जब म संगीत भर्न थाले एउटा धुन बन्यो र यसको डमी बनाउने तिर म लागे तर पनि मेरो मनले सो शब्दले मागे बमोजिम मेरो संगीत को सृजना भएन की जस्तो लाग्यो तर पनि डमी बनेर आयो  तर मेरो मन र मस्तिष्क ले अर्कै सोचिरहेको थियो ।

म पुन : गीत का शव्द माथि हारमोनियम लिएर नयां फेरी अर्को धुन निक्लिन सक्छ भनी प्रयत्न गर्न थाले नभन्दै गीत ले खोजे बमोजिम एउटा मिठो धुन तयार भयो जो सरल थियो सुमधुर थियो र लवजमा बस्ने खालको थियो।   यसपछि एरेन्जमा पठाएं जुन गीत लाई एउटा मिठो एरेन्ज गरेर पुरूषोत्तम सुबेदी भाई लाई पठाए जसमा उनले धेरै नै मेहनत गरेका थिए जव एउटा गीत को खाका तयार भयो साँच्चिकै गीत को भावले खोजे जस्तै गीत बनेर आएको थियो ।

गीत को ट्र्याक तयार भयो तर गीत का लागि उपयुक्त स्वर कसलाई राख्ने यसमा मलाई शंका बढ्न थाल्यो।किनकि गीत का शव्द एकदमै सकारात्मक छ जो पायो उसले गाउदा गीत नै मर्न सक्ने भनौ रचना र संगीत का लागि न्याय  नपुग्ने । यसको अर्थ यो थियो कि फूल को आँखा मा फूलै संसार गीत जसरी कालजयी बन्यो यो पनि सोही स्तर को मापन मैले गरेको थिएँ। र मेरो दिमागले सो गीत गाउने आदरणीय गायिका आनी छोइङ डोल्मा को तस्वीर मेरो सामु आयो र तत्कालै मैंले जिन्दगी‌को पाठशाला वहाँको लागि उपयुक्त हुन्छ भन्ने सोच बनाए किनकि आनी छोइङ डोल्मा का अधिकांश गीतहरु सकारात्मक सोच बोकेका मात्रै छन् र वहाँ को लागि यो शतप्रतिशत ठीक छ भन्ने मैले ठाने ।

तर वहाँ सम्मको पहुँच मेरो लागि सम्भव थिएन किनकि वहाँ लाई हत्तपत्त भेटिन मुश्किल थियो किनकी वहाँ साह्रै व्यस्त प्राय जसो बिदेश का बिभिन्न कार्यक्रमहरु मा वहाँ जाने स्वदेश मा कमै मा मात्र भेटिने ।जब आनी छोइङ ले यो गीत गाउँदा कसो होला भनेर मैंले दामोदर सर सँग एकपटक सल्लाह पनि गरे वहाँ ले मलाई के वहाँ ले गाउनु होला र यो गीत अनि वहाँ को माग के कसो रहन्छ त्यही पनि एकपटक कुरा गर्नुस भनेर वहाँ ले मलाई आँट दिनुभयो।भने जस्तै त आँट म पुर्याउँछु ।

यसपछि म यो गीत मा आनी छोइङ डोल्मा कै स्वर भर्नु पर्छ भन्ने मनलाई दरो बनाएर अघि बढ्न थाले किनकि मेरो लागी पनि एउटा सुनौलो अवसर थियो हाल सम्म धेरै चर्चा मा रहेका गायक गायिका सँग सहकार्य गरे तर आनी छोइङ सँग एउटा पनि  गीतमा सहकार्य गर्ने अवसर जुरेको थिएन ।अब म केवल आनी छोइङ सम्म पुग्ने लक्ष्य बोकेर म हिड्न थाले र चिनेजाने का र संगीत सँग जाेडिएका मान्छे सँग वहाँ सम्मको पहुँच कसको होला भनेर खोज्न थाले ।मैले थाहा पाँए चर्चित एरेन्जर गोपाल रसाइली ज्यू बाट यो सम्भव छ भनेर तब मैले तत्काल वहाँ सँग सम्पर्क गरिहाले र मैंले आफ्ना कुरा राखे वहाँ ले मलाई आनी छोइङ डोल्मा ज्यू को सहायक छिरीड्ग जी को नम्बर दिनुभयो र बरू म वहाँ सम्म  तपाईं को कुरा राखिदिन्छु भन्नु भयो यति भनेपछि मलाई के चाहियो त्यसपछि मैले छिरिङ जी को मोबाइल नम्बरको What’s App मा गीत को डमी पठाए त्यसको केही दिनपछि मलाई वहाँ बाट म्यासेज आयो त्यति बेला आनी जी विदेशमा जानु भएको छ म आएपछि खबर गर्छु। म प्रतिक्षा म बसीरहे अनि फेरी एउटा म्यासेज आयो ल गीत मन पराउनु भयो यसपछि मलाई के चाहियो अनि मैंले वहाँ लाई भेट्न पाए हुन्थ्यो भनेर कुरा राखे तब मलाई समय र दिन तोकियो आनी छोइङ जी लाई भेट्न।

मेरो लागि के चाहियो त्यसपछि म भित्र खुशीको लहर दौडिन थाल्यो तब दिन जुर्यो वहाँ लाई भेट्न म समय मै  पुग्न को लागि वहाँ को निवासमा पुगें । जब म वहाँ को नजिक पुगें तब वहाँले मलाई भेट्न साथ कति राम्रो गीत बनाउनु भएको भनेर मलाई खुसी ब्यक्त गर्नुभयो। मेरो लागि यो भन्दा खुसी के हुन्थ्यो अनि मैंले गीत मन पराइदिनु भएको  हार्दिक आभार  व्यक्त गरें। त्यसपछि मैले गीत को भाव गीतकारज्यू को परिचय दिए।

र फेरी एकपटक दामोदर सर ले पनि भेट्ने ईच्छा व्यक्त गर्नुभएको छ के गरौ भने त्यसपछि वहाँ ले सहमति जनाउनु भयो र दोश्रो पटक पनि दामोदर सर र म पुग्यौ वहाँ को निवासमा र केही समय बसेपछि हामी ले गीत रेकर्ड गर्ने दिन पनि तोक्यौ र वहाँ को घरबाट वाहिरीयौ । अब हामी यति ढुक्क भयौ की हाम्रो सृजना मा आनी छोइङ डोल्मा को स्वर पक्कै हुने भो ।

रेकर्डिङ्ग को तयारीका म लागे हामी ले ए वान म्युजिशियन स्टुडियो मा डेट राखेका थियौँ त्यहाँ रेकडिष्ट राजेश श्रेष्ठ भाई म अनि एरेन्जर भाई पुरूषोत्तम सुवेदी तीन जना थियौ।सो दिन दामोदर सर को विशेष कामका कारण वहाँ स्टुडियो मा उपस्थित हुन सक्नुभएन। ठीक समयमा आनी छोइङ जी आउनु भयो केही समय गीत को अभ्यास गरी वहाँ भोकल रूम जानु भयो ।त्यो समय यति मिठो गाईदिनु भयो कि हामी सबै जना खुशी भयौ साच्चै गीत ले भने बमोजिम स्वर पायो अनि मलाई आनी जी ले मोबाइल बाट पनि एउटा मैंले गाएको भिडियो खिच्नु पछि काम लाग्न सक्छ भनेर भन्नुभयो मैले सोही बमोजिम काम गर्न थाले ।

रेकर्डिङ्ग को काम सिद्धिए पछि वहाँ सँग फोटो खिच्ने र वहाँ लाई धेरै धेरै आभार व्यक्त गर्दे विदाइ गरियो र आजको  रेकडिड्ग निक्कै राम्रो भयो वहाँ ले साह्रै मिठो गाईदिनु भयो भनेर मैले दामोदर सर लाई रिपोर्टिङ पनि गरे । जब गीत रेकर्डिङ सम्पन्न भयो एक किसिमको आनन्दको अनुभव भयो किनकि धेरै गीतहरू गरियो त्यसमा धेरै सन्तुष्टि पाउने कमै गीतहरू हुन्छन् जुन गीत थियो जिन्दगीको पाठशाला।

सोही रेकडिड्ग का झलक र आनीले गाउनु भएको छोटो भिडियो जब मैले सामजिक संजाल मा राखे र आज एउटा राम्रो गीत रेकर्डिङ्ग गर्ने अवसर जुरेको भनी लेखे तब तत्कालै निक्कै राम्रो प्रतिक्रिया आयो धेरै ले गीत लाई राम्रो दृष्टिकोणले हेरेको पाए मन भित्र एउटा खुशीको संचार भएको पाए र सुनेका धेरै ब्यक्तिहरुले मलाई भोली पल्टै बधाई दिन भ्याए ल राम्रो गीत बनाउनु भो भनेर। तर त्यो एउटा मिक्सिड्ग नभएको गीत थियो मलाई भने अब मिक्सिड्ग भएर कहिले आउला भनी खुल्दुली बढ्दै गयो जब मिक्सिड्ग माष्टरिड्ग का सिद्धहस्त किशोर थापा जीको हातमा सो गीत पुगेको थियो । मलाई पूर्ण आशा थियो गीत मिक्सिड्ग मा अझ खारिएर आउने छ ।

सो दिन पनि आयो जब म र गीतकार डा.दामोदर रेग्मी सर मिक्सिड्ग स्टुडियो पुग्यौं गीत श्रवण गर्न थाल्यौ साह्रै राम्रो बनेको अनुभव गर्यो अनि मिक्सिड्ग माष्टरिड्ग का सिद्धहस्त किशोर थापा जी ले समेत गीत को निक्कै तारिफ गर्नुभयो र भन्नुभयो साँच्चै यो गीत एउटा कालजयी बन्न सक्छ हामी पनि वहाँ को कुरा लाई मनन गर्दै गीत सारेर त्यहाँ बाट फर्कियौं अनि गीतलाई अब कसरी मिडियामा पुर्याउने अनि जति सक्दो श्रोता सम्म पुर्याउने यो अभियान नै थियो दामोदर सर र मेरो किन की स्टुडियोमा खिचिएको एउटा सानो भिडियो दामोदर सरले पनि आफ्नो सामाजिक सञ्जालमा राखिसक्नु भएको थियो त्यसबेला पनि अत्यधिक मात्रामा राम्रो प्रतिक्रिया आएको थियो जसले गर्दा दामोदर सर पनि निक्कै उत्साहित हुनुभएको थियो गीत लाई बाहिर ल्याउन ।

म सो गीतको अडियो लाई लिएर काठमाडौं भित्र का चर्चित एफ.एम.र रेडियो नेपाल मा समेत बजाउने काममा लागे । यसमा बिशेष गरि कान्तिपुर एफ एम मा पुगे र मैले आफ्नो कुरा बिष्णु बस्नेत भाई र स्टेशन म्यानेजर पवन आचार्य ज्यू समक्ष राखे वहाँहरू ले जब गीत सुन्नु भयो तब गीत  निक्कै राम्रो बनेको कुरा गर्नु भयो र तत्कालै मलाई संगीतकारको रूपमा हट प्रोप्पटी शिर्षक मा एक महिना सम्म राखी सो गीत लाई नै बढि भन्दा बढी प्राथमिकता दिने काम भयो यो पनि एउटा मेरो लागि ठूलो अवसर थियो।

यस बाहेक ईमेज एफएम का कृष्ण आचार्य जी ले समेत गीत लाई song of the week मा गीतकार दामोदर सर लाई राखि गीत को माईलेज लाई बढाउने काम भयो । यसका साथै अन्य एफएम स्टेसन हरू बाट पनि निरन्तर गीत बज्न थाल्यो यति मात्र होइन देशको सबैभन्दा पुरानो सशक्त संचार माध्यम रेडियो नेपाल मा समेत दिनहुँ जसो सो गीत बज्न थाल्यो ।

रेडियो स्टेसन बाट गीत सुन्ने सबै ले गीत साह्रै राम्रो छ भन्न थाले ।

समय प्रविधिको विकास ले यतिबेला गीत उत्पादन गरेर मात्र नपुग्ने र अडियो मा केन्द्रीत गर्दा मात्र गीत ले सोचे अनुरूप नहुने यसका साथै जिन्दगीको पाठशाला जस्तो गीत केवल सुन्न को लागि बनाए पनि अहिले को परिवेश ले जस्तो गीत लाई पनि म्युजिक भिडियोको रूप मा ल्याउनु पर्ने बाध्यता छ । यतिमात्रै होइन जिन्दगीको पाठशाला गीत लाई म्युजिक भिडियोमा ल्याउनुपर्ने दबाब दामोदर सर लाई पनि बढ्दैगएको थियो। मैले पनि रेग्मी सरलाई म्युजिक भिडियो बनाउनु पर्ला भन्दा वहाँले पनि सो कुरा लाई मनन गर्न थालिसक्नु भएको थियो। अन्त्यमा म्युजिक भिडियो बनाउने तय भयो यसको लागि मैले नी म्युजिक भिडियो निर्देशन गरिरहेका कृष्णदेव रूपाखेती जी लाई भेट गराएको थिए ।

एउटा कथामा केन्द्रीत भएर सभ्य र राम्रो भिडियो बनाउनु पर्ने चुनौती थियो मिलेमा आनी छोइङ जी लाई समेत समेट्न पाए सुनमा सुगन्ध हुनेथियो भन्ने सोच हामीमा थियो ।

तर हामीले सोचे अनुरूप आनी जी लाई लिन नपाए पनि नेपाली चलचित्र की उत्कृष्ट अभिनेत्री मिथिला शर्माज्यू  खेल्ने तय भयो निर्देशक कृष्णदेव जी ले भने अनुसार वहाँले असाध्यै मन पराउनु भयो गीत र वहाँ खेल्न राजी हुनुभयो ।

गीत को शुटिङ को दिन पनि तय भयो र निर्माण कार्य पनि सकियो गीत को भाव ले बमोजिम म्युजिक भिडियो आयो र OSR Digital बाट प्रसारण भैरहेको छ ।गीत को Feedback भने निरन्तर रूपमा आइरहेको छ ।

जब मैले जिन्दगी को पाठशाला गीत लाई संगीत भरे अनि आनी छोइङ डोल्मा ले गाउनु भयो तब मलाई मेरो गीत पनि वहाँ को लागि गरिदिनुस् ।

भन्ने मान्छे भेटे तब मैले हुन्छ नी बाहेक अरू जवाफ दिन सकेको छैन मलाई लाग्छ गीत धेरै बनाई रहनु पर्दैन केवल उत्कृष्ट शैली लाई अपनाउँदै अघि बढ्दै गएमा नै आफूलाई सफल बनाउन सकिन्छ ।

अन्त्यमा जिन्दगी को पाठशाला गीत को अडियोमा  संलग्न एरेन्जर रेकडिष्ट वाध्यवादक साथीहरु जसका कारण ले एउटा कर्णप्रिय र कालजयी गीत बन्न पुग्यो यसका साथै म्युजिक भिडियो मा मेहनत गर्ने निर्देशक कृष्णदेव रूपाखेती पनि धन्यवाद को पात्र हुनुहुन्छ र मलाई आनी छोइङ डोल्मा सम्म जोडिदिने गीतकार डा.दामोदर रेग्मी सर प्रति पनि आभार व्यक्त गर्दछु र बिशेष गरि मेरो संगीत लाई मन पराई आफ्नो गलामा सजाई दिनुहुने  आदरणीय आनी छोइङ डोल्मा ज्यू प्रति धेरै धेरै आभारी छु र नेपाली गीत संगीत ले जहिले पनि सुगम संगीतका पाटो लाई अंगाल्दै अगाडी बढ्न सकोस् अनि संख्यात्मक होइन गुणात्मक गीत संगीत ले बिशेष स्थान पाउन सफल रहोस् ।

 

( संगीतकार कीर्ती न्यौपाने गीतकार डा.दामोदर रेग्मी व्दारा रचित गीत जिन्दगीको पाठशाला र अन्य धेरै गीतहरुका संगीतकार  हुनुहुन्छ।यो गीत नेशनल म्यूजिक अवार्डमा उत्कृष्ट गीतकार र उत्कृष्ट संगीतकार गरि दुइ विधाहरुमा मनोनयनमा परेको थियो। संगीतकार कीर्ती न्यौपानेको यो आलेख गीतकार डा.दामोदर रेग्मीको इबुक गीतकारको कलमबाट साभार गरिएको हो)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको