आजको कर्म, भोलिको परिणाम : कर्मसिद्धान्तको जीवनदर्शन-कमल देव रेग्मी र डा. दामोदर रेग्मी

नागरिक पाना
२०८३ मंसिर ४, बिहीबार १५:१७

आजको कर्म, भोलिको परिणाम : कर्मसिद्धान्तको जीवनदर्शन
(Today’s Actions, Tomorrow’s Consequences: The Philosophy of Karma)

विषय प्रवेश : कर्म र जीवनको अन्तरसम्बन्ध
मानव जीवन असंख्य क्रिया, विचार, निर्णय र व्यवहारहरूको समष्टि हो। हामी प्रत्येक क्षण केही न केही सोचिरहेका हुन्छौँ, बोलिरहेका हुन्छौँ वा कुनै न कुनै कर्म गरिरहेका हुन्छौँ। हाम्रा यिनै विचार, शब्द र कर्मले हाम्रो व्यक्तित्व निर्माण गर्छन्, सम्बन्धहरूलाई प्रभावित गर्छन् र जीवनको दिशा निर्धारण गर्छन्। आज हामी जे छौँ, त्यसमा हाम्रा विगतका सोच, निर्णय र कर्महरूको महत्त्वपूर्ण योगदान रहेको हुन्छ। त्यसैगरी आज हामीले गरिरहेका कर्महरूले नै भोलिको हाम्रो जीवनको स्वरूप निर्माण गरिरहेका हुन्छन्।
अङ्ग्रेजी भाषाको एउटा अत्यन्त प्रसिद्ध भनाइ छ— “As you sow, so shall you reap.” यसको शाब्दिक अर्थ हो— जस्तो बीउ रोपिन्छ, त्यस्तै फल प्राप्त हुन्छ। कृषि जीवनको सामान्य अनुभवबाट उत्पन्न भएको यो भनाइ वास्तवमा मानव जीवनको गहन नैतिक, आध्यात्मिक र दार्शनिक सत्यको अभिव्यक्ति हो। किसानले खेतमा धान रोपेर गहुँको अपेक्षा गर्न सक्दैन। त्यस्तै मानिसले आफ्नो व्यवहारमा घृणा, छल, हिंसा र स्वार्थको बीउ रोपेर प्रेम, विश्वास, शान्ति र सद्भावको फल प्राप्त गर्न सक्दैन।
यही शाश्वत सत्यलाई पूर्वीय दर्शनमा ‘कर्मसिद्धान्त’ भनिन्छ। कर्मसिद्धान्तले मानिसको जीवनलाई कर्म र त्यसको परिणामसँग जोडेर हेर्छ। यसले मानिसलाई आफ्नो वर्तमान अवस्थाप्रति मात्र होइन, आफ्नो भविष्यप्रति पनि उत्तरदायी बनाउँछ। यस दृष्टिले कर्मसिद्धान्त केवल धार्मिक वा आध्यात्मिक मान्यता होइन, जीवनलाई नैतिक, अनुशासित, विवेकशील र अर्थपूर्ण बनाउने एउटा महत्त्वपूर्ण जीवनदर्शन पनि हो।

कर्मसिद्धान्तको अर्थ र दार्शनिक आधार
‘कर्म’ शब्द संस्कृतको ‘कृ’ धातुबाट बनेको हो, जसको अर्थ गर्नु, कार्य गर्नु वा क्रियाशील हुनु भन्ने हुन्छ। सामान्य अर्थमा मानिसले गर्ने प्रत्येक क्रियालाई कर्म भन्न सकिन्छ। तर पूर्वीय दर्शनमा कर्मको अर्थ शारीरिक गतिविधिमा मात्र सीमित छैन। मानिसले मनबाट गर्ने विचार, वाणीबाट व्यक्त गर्ने अभिव्यक्ति र शरीरबाट गर्ने व्यवहार यी तीनै कर्मका महत्त्वपूर्ण आयाम हुन्।
कर्मसिद्धान्त अनुसार संसारमा कुनै पनि कर्म पूर्णतः परिणामविहीन हुँदैन। प्रत्येक कर्मले कुनै न कुनै प्रभाव उत्पन्न गर्छ। कहिलेकाहीँ त्यसको परिणाम तत्काल देखिन्छ भने कहिलेकाहीँ लामो समयपछि मात्र प्रकट हुन्छ। कुनै परिणाम प्रत्यक्ष हुन्छ भने कुनै अप्रत्यक्ष रूपमा व्यक्ति, परिवार वा समाजमा प्रभाव पारिरहेको हुन्छ।
कर्मसिद्धान्तको मूल मान्यता कारण र परिणामबीचको सम्बन्ध हो। प्रकृतिमा जसरी प्रत्येक घटनाको कुनै न कुनै कारण हुन्छ, त्यसरी नै मानव जीवनमा पनि विचार, निर्णय र कर्मले परिणाम जन्माउँछन्। यसलाई कारण कार्य सम्बन्ध (Cause and Effect Relationship) का रूपमा बुझ्न सकिन्छ।
तर कर्मसिद्धान्तलाई केवल यान्त्रिक कारण–परिणामको नियमका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यसमा कर्मको उद्देश्य, नियत, नैतिकता, विवेक र त्यसले उत्पन्न गर्ने संस्कारको समेत विशेष महत्त्व हुन्छ। बाहिरबाट एउटै देखिने कर्म पनि त्यसको उद्देश्य र मनसायअनुसार नैतिक दृष्टिले फरक हुन सक्छ।

पूर्वीय दर्शनमा कर्मसिद्धान्त
पूर्वीय दर्शनमा कर्मसिद्धान्तलाई जीवन र जगत्को सञ्चालनसँग सम्बन्धित आधारभूत सिद्धान्तका रूपमा स्वीकार गरिएको छ। हिन्दु, बौद्ध र जैन दर्शनमा यसको विस्तृत व्याख्या पाइन्छ। यद्यपि यी दर्शनहरूले कर्मको स्वरूप, सञ्चय र फलसम्बन्धी व्याख्यामा आ–आफ्नै विशेषता प्रस्तुत गरेका छन्।

१.भगवद्गीतामा कर्मको महत्त्व
भगवद्गीता कर्मसिद्धान्तको व्यावहारिक र दार्शनिक व्याख्या गर्ने विश्वप्रसिद्ध ग्रन्थ हो। गीताले मानिसलाई कर्मबाट विमुख हुन होइन, कर्मप्रति सचेत, उत्तरदायी र निष्काम हुन प्रेरित गर्छ। भगवद्गीताको दोस्रो अध्यायको ४७औँ श्लोकमा भनिएको छ “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥” यसको भावार्थ हो— मानिसको अधिकार कर्म गर्नमा छ, कर्मफलमा छैन। त्यसैले कर्मफललाई मात्र उद्देश्य बनाएर कर्म गर्नु हुँदैन र कर्म नगर्नेतर्फ पनि आसक्त हुनु हुँदैन।
यस श्लोकले कर्मसिद्धान्तको अत्यन्त महत्त्वपूर्ण पक्ष उजागर गर्छ। मानिसले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्छ, तर परिणामप्रतिको अत्यधिक मोह र चिन्ताले आफ्नो कर्मको गुणस्तर प्रभावित हुन दिनु हुँदैन। त्यसैगरी गीताको तेस्रो अध्यायमा कर्मको अनिवार्यताबारे चर्चा गर्दै भनिएको छ “न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत्।”
अर्थात् कुनै पनि व्यक्ति एक क्षण पनि कर्म नगरी रहन सक्दैन। यसले मानव जीवनको स्वाभाविक क्रियाशीलतालाई स्वीकार गर्छ। गीता कर्मलाई केवल व्यक्तिगत उपलब्धिको माध्यम होइन, लोककल्याण र सामाजिक उत्तरदायित्वको आधारका रूपमा पनि व्याख्या गर्छ। निष्काम कर्म, स्वधर्म, लोकसङ्ग्रह र समत्वभाव यसका महत्त्वपूर्ण अवधारणा हुन्।

२. उपनिषद्हरूमा कर्म र जीवनको निरन्तरता
उपनिषद्हरूले मानिसको आन्तरिक चेतना, आत्मा, ज्ञान र कर्मबीचको सम्बन्धलाई गहिराइमा विश्लेषण गरेका छन्। बृहदारण्यक उपनिषद् (४.४.५) मा भनिएको छ “यथाकारी यथाचारी तथा भवति।” अर्थात् मानिसले जस्तो कर्म गर्छ र जस्तो आचरण गर्छ, ऊ त्यस्तै बन्छ।
यसले कर्मको प्रभाव बाह्य उपलब्धिमा मात्र सीमित नरही मानिसको आन्तरिक व्यक्तित्व र अस्तित्वसँग समेत जोडिएको स्पष्ट पार्छ। असल विचार र आचरणले मानिसलाई असल बनाउँछन् भने नकारात्मक विचार र आचरणले उसको व्यक्तित्वलाई नकारात्मक दिशातर्फ लैजान्छन्।
यसरी हेर्दा कर्म केवल परिणाम प्राप्त गर्ने माध्यम होइन, मानिस आफैलाई निर्माण गर्ने प्रक्रिया पनि हो।

३. बौद्ध दर्शनमा कर्म र चेतनाको भूमिका
बौद्ध दर्शनमा कर्मको व्याख्यामा मानिसको चेतना र मनसायलाई विशेष महत्त्व दिइएको छ। बुद्धले अङ्गुत्तर निकायमा भन्नुभएको छ “चेतनाहं भिक्खवे कम्मं वदामि।” अर्थात् भिक्षुहरू म चेतनालाई नै कर्म भन्छु। यसको तात्पर्य कुनै कामको नैतिक मूल्याङ्कन गर्दा त्यसको बाह्य स्वरूप मात्र होइन, त्यसको पछाडि रहेको मनसाय पनि महत्त्वपूर्ण हुन्छ भन्ने हो।
बौद्ध दर्शनले लोभ, द्वेष र मोहलाई अकुशल कर्मका आधार तथा अलोभ, अद्वेष र अमोहलाई कुशल कर्मका आधारका रूपमा व्याख्या गर्छ। यसले मानिसलाई आफ्ना विचार र मनसाय शुद्ध बनाउन प्रेरित गर्छ।बौद्ध दृष्टिकोणमा कर्मको परिणाम कुनै स्थायी आत्माले बोक्ने वस्तु होइन, बरु कारण र परिस्थितिको निरन्तरताबाट उत्पन्न हुने प्रक्रिया हो। यसैले बौद्ध कर्मसिद्धान्त हिन्दु दर्शनको आत्मा र पुनर्जन्मसम्बन्धी व्याख्यासँग केही आधारभूत विषयमा भिन्न छ।

४. जैन दर्शनमा कर्मको सिद्धान्त
जैन दर्शनले कर्मलाई अत्यन्त सूक्ष्म रूपमा व्याख्या गरेको छ। यस दर्शनअनुसार कर्मले आत्माको शुद्ध स्वरूपलाई आवरण गर्छ र मानिसलाई जन्म मरणको चक्रमा बाँध्छ। अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य र अपरिग्रहको पालनद्वारा कर्मबन्धन कम गर्न तथा आत्मशुद्धिको मार्गमा अघि बढ्न सकिन्छ।
यसरी विभिन्न पूर्वीय दर्शनहरूले कर्मको व्याख्यामा केही भिन्नता राखे पनि मानिसका कर्म, मनसाय र नैतिक आचरणले उसको जीवनमा गहिरो प्रभाव पार्छन् भन्ने कुरामा समान महत्त्व दिएका छन्।

५. ब्रह्माकुमारीजको दर्शनमा कर्मसिद्धान्त : आत्मचेतना, सङ्कल्प र श्रेष्ठ कर्म
ब्रह्माकुमारीजको राजयोग दर्शनले कर्मलाई केवल शारीरिक क्रियाका रूपमा नभई आत्माको आन्तरिक अवस्था, विचार, सङ्कल्प र चेतनासँग जोडेर व्याख्या गर्छ। यस दर्शनअनुसार मानिस मूलतः एक चेतन आत्मा हो र शरीर आत्माले कर्म गर्ने माध्यम हो। आत्माको चेतन अवस्था र त्यसबाट उत्पन्न हुने विचार तथा सङ्कल्पले कर्मको स्वरूप र गुणस्तरलाई प्रभावित गर्छन्।
राजयोग दर्शनमा देह अभिमान र आत्म अभिमानबीचको भिन्नतालाई विशेष महत्त्व दिइएको छ। देह अभिमानमा आधारित भएर गरिने कर्ममा प्रायः अहंकार, स्वार्थ, ईर्ष्या, आसक्ति र अपेक्षाजस्ता विकारहरूको प्रभाव पर्न सक्छ। यसको विपरीत आत्मचेतनामा स्थित भएर गरिने कर्ममा शान्ति, प्रेम, पवित्रता, करुणा, नम्रता र निःस्वार्थताको भाव अभिव्यक्त हुन्छ।
यस दर्शनले मानिसलाई प्रत्येक कर्म गर्नुअघि आफ्नो आन्तरिक अवस्था र सङ्कल्पको समीक्षा गर्न प्रेरित गर्छ। किनकि कर्मको बाह्य स्वरूपभन्दा त्यसको पछाडि रहेको चेतना र भावना पनि महत्त्वपूर्ण हुन्छ। शुद्ध सङ्कल्पबाट प्रेरित कर्मले सकारात्मक संस्कार निर्माण गर्छ भने नकारात्मक सङ्कल्पबाट प्रेरित कर्मले मनमा अशान्ति र विकारजन्य संस्कारलाई बलियो बनाउन सक्छ।
राजयोग ध्यानको अभ्यासद्वारा आत्मचेतनाको विकास गर्दै परमात्मासँग मानसिक तथा आध्यात्मिक सम्बन्ध स्थापित गर्ने प्रयास गरिन्छ। यसबाट आत्मामा अन्तर्निहित शान्ति, प्रेम, शक्ति र पवित्रताजस्ता मौलिक गुणहरू जागृत हुने विश्वास गरिन्छ। यस्तो आन्तरिक जागरणले मानिसलाई आफ्ना विचार, भावना र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ।
ब्रह्माकुमारीजको कर्मदर्शनमा कर्मको परिणामसँगै कर्मको गुणस्तर र त्यसबाट निर्माण हुने संस्कारलाई पनि विशेष महत्त्व दिइन्छ। यसले मानिसलाई केवल असल कर्म गर्न मात्र होइन, असल भावनाबाट प्रेरित भएर श्रेष्ठ कर्म गर्न अभिप्रेरित गर्छ।
यस दृष्टिले राजयोग दर्शनको एउटा महत्त्वपूर्ण सन्देश हो पहिले आफ्नो चेतना र सङ्कल्पलाई श्रेष्ठ बनाऊ, त्यसपछि कर्म स्वतः श्रेष्ठ हुँदै जान्छ। जब व्यक्तिको आन्तरिक अवस्था शुद्ध र सकारात्मक हुन्छ, तब उसको व्यवहार, सम्बन्ध र सामाजिक योगदानमा पनि त्यसको सकारात्मक प्रभाव पर्न सक्छ।
यसरी ब्रह्माकुमारीजको राजयोग दर्शनले कर्मसिद्धान्तलाई आत्मजागरण, आत्मपरिवर्तन र विश्वपरिवर्तनसँग जोड्दै मानिसलाई श्रेष्ठ कर्मद्वारा श्रेष्ठ जीवन निर्माण गर्ने आध्यात्मिक मार्ग प्रदान गर्छ।

कर्म, नियत र नैतिक उत्तरदायित्व
कुनै पनि कर्मको मूल्याङ्कन गर्दा त्यसको बाह्य परिणाम मात्र हेरेर पुग्दैन। कर्म गर्ने व्यक्तिको नियत, उद्देश्य र चेतनाको अवस्थालाई पनि विचार गर्नुपर्छ। उदाहरणका लागि, कुनै व्यक्तिले गरिबलाई आर्थिक सहयोग गर्छ भने त्यो कार्य बाह्य रूपमा सकारात्मक देखिन्छ। तर उसले सहयोग केवल सामाजिक प्रतिष्ठा प्राप्त गर्न, अरूलाई प्रभावित पार्न वा व्यक्तिगत लाभ लिन गरेको हो भने त्यसको नैतिक मूल्य फरक हुन सक्छ। यसको विपरीत, कुनै व्यक्तिले प्रचार वा प्रशंसाको अपेक्षाविना निःस्वार्थ भावले सहयोग गर्छ भने त्यसमा उच्च नैतिक चेतना अभिव्यक्त हुन्छ।
यही कारणले पूर्वीय दर्शनले शुभ कर्मसँगै शुद्ध भावनालाई पनि महत्त्व दिएको छ।
कर्मको नैतिक पक्षलाई तीन आधारमा विश्लेषण गर्न सकिन्छ—
मनसा: विचार, भावना, सङ्कल्प र नियतको शुद्धता।
वाचा: सत्य, मधुरता र जिम्मेवारीपूर्ण अभिव्यक्ति।
कर्मणा: व्यवहार, आचरण र कार्यको नैतिकता।
हाम्रो विचारले वाणीलाई प्रभावित गर्छ, वाणीले व्यवहारलाई दिशा दिन्छ र व्यवहारले व्यक्तित्व निर्माण गर्छ। त्यसैले असल कर्मको प्रारम्भ असल विचारबाट हुन्छ।

कर्म र संस्कार : व्यक्तित्व निर्माणको प्रक्रिया
मानव जीवनमा कर्मको प्रभाव केवल तत्काल प्राप्त हुने सफलतामा मात्र सीमित हुँदैन। मानिसले बारम्बार गर्ने कर्मले उसको बानी निर्माण गर्छ, बानीले स्वभाव निर्माण गर्छ र स्वभावले व्यक्तित्वको स्वरूप निर्धारण गर्छ। यदि मानिसले नियमित रूपमा सत्य बोल्ने, अरूलाई सम्मान गर्ने, सहयोग गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने अभ्यास गर्छ भने यी कार्यहरू क्रमशः उसको स्वभाव र संस्कारको हिस्सा बन्छन्। त्यसैगरी झूट बोल्ने, छल गर्ने, ईर्ष्या गर्ने वा अरूको अधिकार हनन गर्ने व्यवहार दोहोरिँदै जाँदा नकारात्मक संस्कार विकसित हुन सक्छन्।
यस प्रक्रियालाई आधुनिक मनोविज्ञानको Habit Formation तथा Behavioral Conditioning का अवधारणासँग पनि जोडेर बुझ्न सकिन्छ। यस दृष्टिले ‘As you sow, so shall you reap’ भन्ने भनाइको अर्थ अझ व्यापक हुन्छ। हामीले केवल कर्मको फल मात्र काटिरहेका हुँदैनौँ, हामीले आफ्नै कर्मबाट निर्माण गरेको व्यक्तित्वको परिणाम पनि भोगिरहेका हुन्छौँ। त्यसैले प्रत्येक कर्म गर्दा आफूलाई एउटा प्रश्न सोध्नु आवश्यक हुन्छ— आज मैले गरिरहेको कामले कस्तो संस्कार निर्माण गरिरहेको छ र भविष्यमा म कस्तो मानिस बन्नेछु?

कर्मफल र समयको सम्बन्ध
कर्मसिद्धान्तसम्बन्धी एउटा महत्त्वपूर्ण जिज्ञासा हो असल कर्म गर्ने मानिसले कहिलेकाहीँ दुःख किन भोग्नुपर्छ र गलत कर्म गर्ने मानिसले तत्काल सुख वा सफलता किन प्राप्त गर्छ?यो प्रश्नले कर्मसिद्धान्तको सूक्ष्म पक्षतर्फ ध्यान आकर्षित गर्छ। हरेक कर्मको परिणाम तत्काल र प्रत्यक्ष रूपमा देखिन्छ भन्ने छैन। कुनै कर्मको प्रभाव तत्काल देखिन सक्छ, कुनैको प्रभाव लामो समयपछि प्रकट हुन सक्छ।
कृषिमा बीउ रोप्नेबित्तिकै फल प्राप्त हुँदैन। बीउ उम्रिन, बिरुवा बन्न, हुर्किन र फल दिन निश्चित समय लाग्छ। त्यस्तै मानिसका कर्महरूको परिणाम पनि समय, परिस्थिति र अन्य कारणहरूसँग अन्तरसम्बन्धित हुन्छ। तर यहाँ एउटा सावधानी आवश्यक छ। कसैको दुःख, रोग, गरिबी वा विपत्तिलाई उसको पूर्वकर्मको सजाय भनेर ठोकुवा गर्नु उचित हुँदैन। यस्तो व्याख्याले पीडितप्रति असंवेदनशीलता र अन्यायलाई समेत प्रोत्साहन गर्न सक्छ। कर्मसिद्धान्तको वास्तविक नैतिक सन्देश अरूको दुःखको कारण खोजेर दोषारोपण गर्नु होइन, आफूले गर्नुपर्ने असल कर्मप्रति सचेत हुनु हो।

कर्मसिद्धान्त र आधुनिक विज्ञान : समानता र भिन्नता
आधुनिक विज्ञानले पनि प्रकृतिमा कारण र परिणामबीचको सम्बन्धलाई महत्त्व दिएको छ। भौतिकशास्त्रमा कारण–कार्य सम्बन्ध, जीवविज्ञानमा वंशाणुगत तथा वातावरणीय प्रभाव र मनोविज्ञानमा व्यवहार तथा त्यसका परिणामको अध्ययन गरिन्छ। मानव व्यवहारका सन्दर्भमा सकारात्मक अभ्यासले सकारात्मक बानी विकास गर्न र नकारात्मक अभ्यासले प्रतिकूल व्यवहारलाई बलियो बनाउन सक्छ। यसले कर्म, संस्कार र व्यक्तित्व निर्माणबीचको सम्बन्ध बुझ्न सहयोग गर्छ।
तर आधुनिक विज्ञानले आध्यात्मिक कर्मफल, पूर्वजन्म वा पुनर्जन्मसम्बन्धी मान्यतालाई प्रमाणित वैज्ञानिक नियमका रूपमा स्थापित गरेको छैन। त्यसैले कर्मसिद्धान्त र वैज्ञानिक कारण–परिणामको नियमबीच सम्बन्ध देखाउँदा तिनलाई पूर्णतः एउटै ठान्नु हुँदैन। कर्मसिद्धान्तको महत्त्वलाई वैज्ञानिक प्रयोगबाट प्रमाणित भएको दाबी गर्नुभन्दा पनि यसले प्रदान गर्ने नैतिक विवेक, आत्मअनुशासन र उत्तरदायित्वको सन्देशका आधारमा बुझ्नु उपयुक्त हुन्छ।

कर्मसिद्धान्त र आत्मपरिवर्तन
कर्मसिद्धान्तको सबैभन्दा महत्त्वपूर्ण व्यावहारिक पक्ष आत्मपरिवर्तन हो। मानिसले आफ्नो जीवनमा परिवर्तन ल्याउन चाहन्छ भने सबैभन्दा पहिले आफ्ना विचार, भावना, सङ्कल्प र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। हाम्रो मनमा उत्पन्न हुने विचारले हाम्रो भावनालाई प्रभावित गर्छ। भावनाले सङ्कल्प निर्माण गर्छ, सङ्कल्पले कर्मलाई दिशा दिन्छ र कर्मले संस्कार निर्माण गर्छ। संस्कारले पुनः भविष्यका विचार र व्यवहारलाई प्रभावित गर्छ। यसरी विचारदेखि कर्म र कर्मदेखि संस्कारसम्मको चक्र निरन्तर चलिरहन्छ।
यसलाई निम्न प्रक्रियाबाट बुझ्न सकिन्छ—
विचार – भावना – सङ्कल्प – कर्म – संस्कार – व्यक्तित्व – जीवनको परिणाम।
त्यसैले आत्मपरिवर्तनको पहिलो चरण विचारको शुद्धीकरण हो। सकारात्मक चिन्तन, आत्मनिरीक्षण, ध्यान, क्षमाभाव, करुणा र निःस्वार्थ सेवाको अभ्यासले मानिसलाई आन्तरिक रूपमा परिष्कृत बनाउन सहयोग गर्छ।

निष्कर्ष : आजको कर्म नै भोलिको जीवनको आधार
कर्मसिद्धान्त मानव जीवनको नैतिक, आध्यात्मिक र व्यावहारिक पक्षलाई एकै सूत्रमा जोड्ने शाश्वत जीवनदर्शन हो। “As you sow, so shall you reap” भन्ने भनाइले मानिसलाई आफ्ना विचार, वाणी र कर्मप्रति सचेत गराउँदै जीवनको वास्तविक जिम्मेवारी आफैँले वहन गर्नुपर्ने सन्देश दिन्छ।
हामीले रोपेको बीउअनुसार नै फल प्राप्त हुने प्राकृतिक नियमलाई मानव जीवनमा रूपान्तरण गर्दा एउटा महत्त्वपूर्ण सत्य स्पष्ट हुन्छ— हाम्रो भविष्य आजका हाम्रा कर्महरूबाट निर्माण भइरहेको हुन्छ। आजको विचारले भोलिको व्यवहारलाई दिशा दिन्छ, आजको व्यवहारले संस्कार निर्माण गर्छ र आजका निर्णयहरूले भविष्यको जीवनलाई प्रभावित गर्छन्।
हामीले जीवनमा प्रेम चाहन्छौँ भने प्रेमको बीउ रोप्नुपर्छ। सम्मान चाहन्छौँ भने अरूलाई सम्मान गर्न सिक्नुपर्छ। विश्वास चाहन्छौँ भने इमानदारीको अभ्यास गर्नुपर्छ। शान्ति चाहन्छौँ भने आफ्ना विचार र व्यवहारमा शान्तिको संस्कार विकास गर्नुपर्छ। समृद्ध समाज चाहन्छौँ भने नैतिकता, न्याय, सहयोग र उत्तरदायित्वको संस्कार स्थापित गर्नुपर्छ।

श्रोत सामग्री :
१. श्रीमद्भगवद्गीता — ( विशेषतः अध्याय २, ३, ४ र १८ )
२. बृहदारण्यक उपनिषद् — कर्म र आचरणसम्बन्धी विवेचन
३. धम्मपद — चित्त, कर्म र नैतिक आचरण
४. स्वामी विवेकानन्द — Karma Yoga
५. William James — The Principles of Psychology
६. James Allen — As a Man Thinketh
७. Awakening With Brahmakumaris ( TV programme )
८. Awakening TV
९. Peace of Mind ( TV Channel)