रुपन्देहीमा लोकतान्त्रिक विद्यार्थी संघद्वारा भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीको रहस्यमय निधनप्रति आपत्ति


रुपन्देही, २०८१ फागुन ८ – लोकतान्त्रिक विद्यार्थी संघ, रुपन्देहीले भारतको उडीसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय निधनप्रति गम्भीर आपत्ति जनाएको छ। संघले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष आवश्यक पहलको माग गर्दै ज्ञापन पत्र बुझाएको छ।

 

ज्ञापन पत्रमा उल्लेख गरिएअनुसार, मृतक लम्सालले अड्विक श्रीवास्तव नामक युवकबाट चरम यातना तथा मानसिक दवाब भोग्दै आएकी थिइन्। उनले क्याम्पस प्रशासनलाई पटक–पटक लिखित रूपमा जानकारी गराउँदा पनि कुनै कारबाही नहुनु प्रशासनको लापरबाही भएको जनाइएको छ। साथै, घटनापछि नेपाली विद्यार्थी तथा उनका साथीहरूलाई तत्काल शव हेर्न नदिई एकपक्षीय रूपमा मृत घोषणा गरिनु घटनालाई झनै रहस्यमय बनाउने अर्को पक्ष भएको विद्यार्थी संघको दाबी छ।

 

लोकतान्त्रिक विद्यार्थी संघले लम्साललाई यातना दिने युवकलाई कडा कानुनी कारबाही गर्न, परिवारलाई उचित क्षतिपूर्ति दिन, नेपाली विद्यार्थीको सुरक्षाका लागि ठोस कदम चाल्न, तथा KIIT विश्वविद्यालयलाई तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ। साथै, रुपन्देहीमा उक्त विश्वविद्यालयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप सञ्चालन हुन नदिन, परामर्शदाता संस्था (कन्सल्टेन्सी) तथा एजेन्टहरूलाई बोलाई नेपाली विद्यार्थीहरूको वास्तविक अवस्था बुझ्नुपर्ने माग समेत गरिएको छ।

 

संघले KIIT विश्वविद्यालयका प्रशासनिक कर्मचारीहरूबाट नेपाली विद्यार्थीहरूमाथि अपमानजनक टिप्पणी र कुटपिट भएको विषयलाई लिएर पनि कडा आपत्ति जनाएको छ। #JusticeForPrakriti, #JusticeForNation, #JusticeForNepaliStudents जस्ता ह्यासट्यागहरू प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत व्यापक आवाज उठाइरहेको छ।

 

ज्ञापन पत्रमा भैरहवा बहुमुखी क्याम्पस लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष ओक्कार युनुस, केन्द्रीय सचिव जैनुद्दिन देवान, तथा लोकतान्त्रिक विद्यार्थी संघ रुपन्देहीका संयोजक अमन बनियाले हस्ताक्षर गरेकाछन्।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको