सशक्त अभिव्यक्ति रेग्मीका गीतका मूल विशेषता- त्रिविक्रम पाण्डे, साहित्यकार

नागरिक पाना
२०८२ श्रावण ८, बिहीबार ११:५८

म दामोदर रेग्मीलाई ३६ वर्षभन्दा अगाडिदेखि चिन्दछु । वि.सं २०४६ सालमा कर्मचारी सञ्चय कोषमा जागिर खाने क्रममा हामी सहकर्मीका रुपमा पहिलोचोटि भेटिएका थियौं । यसरी उहाँलाई मैले गीतकारको रुपमा भन्दा पनि पहिले सफल प्रशासनविदको भूमिकामा देख्दै भेट्दै र चिन्दै आएको हुँ । भगवानले “तँ चिता, म पुर्याउँछु” भन्छन् भनेझैँ स्कूले जीवनमा शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा सहभागी हुन कविता र निबन्ध लेख्ने गरेका रेग्मीलाई त्यही लेखन बानीले अन्ततः सफल गीतकार बन्नमा आडटेवा दिएको बुझिन्छ ।

गीत एक प्रभावकारी अनि सहजै मानव हृदय स्पर्श गर्ने सशक्त विधा हो । यसैले त गीतले झुपडीदेखि दरबारसम्मै आफ्नो वर्चश्व कायम राख्न सक्छ । नबुझेरै उहिलेका मान्छेले गाना बजाना दरबारियाको काम भन्ने गरेका हुन् भन्दा अतिशयोक्ति नहोला । सुखका बेलाझैँ दु्रःखका बेलामा पनि सर्वोत्कृष्ट गीतले मानव मनलाई बहलाउन सक्छ । तब त विद्वानहरुले सङ्गीतलाई “टुटेको दिल जोड्ने ओखती हो” भनेका छन् । फुर्सदको समयको सदुपयोगको सोचले साहित्यिक कर्ममा तल्लीन रहेका उनी हाल चर्चित गीतकारका रुपमा स्थापित भइसकेका छन् । श्रव्य–दृश्य सामाग्री सहित प्रसारणमा रहेका उहाँका केही गीतहरु यस प्रकार रहेका छन् –

’एक अञ्जुली मायाको उपहार छरिदेऊ, त्यो मुटुभित्रको सन्दुकको हिरा फोरिदेऊ’ बोलको गीत किरण कँडेलको सङ्गीत र आनन्द काक्र्रीको स्वरमा त्यसको श्रव्य–दृश्य रेकर्ड तयार भई २०८० साल वैशाख १ गतेबाट रेडियो नेपाल, टेलिभिजन लगायतका अन्य प्रसारण माध्यमबाट सार्वजनिक हुनथालेको र सोही दिन गीतकार रेग्मी अनि गायक कार्की दुवै सुप्रवल जनसेवाश्री पदकबाट विभूषित भएको अनौठो संयोग समेत बनेको थियो । ’अलिकति हाँस्नु तिमी अलिकति म हाँसुला, बादलुले ढाकेको घुम्टो म खोलुँला’ गीतकार रेग्मीको दोश्रो रेकर्डिङ्ग जसमा डि. बि. लामाको सङ्गीत, प्रताप दास र अनु चौधरीको स्वर सुन्न सकिन्छ ।

’डाँडापारि घाम डुब्यो तिमी किन आएनौ, चराहरु बास बसिसके तिमी अझै आएनौ’ उक्त गीत डि. बि. लामाकै सङ्गीत र समीक्षा अधिकारीको स्वरमा सजिएको छ । गीतकार रेग्मीको गीतसङ्ग्रहको नाम ’सिरेटोले छुँदै छुन्न’ बोलको गीतबाट रहेको र उक्त गीतलाई बहुमुखी प्रतिभाका धनी लोकप्र्रिय अभिनेता एवम् (कालीको उपनामले गीत लेख्ने) गीतकार, सङ्गीतकार तथा गायकको रुपमा बहुचर्चित मुरलीधरले आफ्नै सङ्गीत अनि स्वर प्रदान गर्नुभएको छ । आध्यात्मिक तथा दार्शनिक धारका गीतहरुमा आवाज दिन रुचाउनुहुने गायिका आनी छोइङ्ग डोल्माले कीर्ति न्यौपानेको सङ्गीतमा ’जिन्दगीको पाठशालाले धेरै पढायो’ बोलको गीत गाउनु भएको छ । यी गीतहरुले रेडियो टेलिभिजनमा राम्रै स्थान पाइरहेका छन् । त्यस्तै गरी ’मनको चाहना अल्झियो तिमीमा’  लाई सुरेश लामा र दीपा लामाले डि. बि. लामाको सङ्गीतमा गाएका छन् । यस्ता गीतहरु लेख्ने र धमाधम ती गीतहरुको श्रव्य–दृश्य सामाग्री तयार गर्ने क्रममा व्यस्त रेग्मीको बालबालिकाहरुको समूह स्वर र बि. पि. वाग्लेको सङ्गीतमा बालगीत समेत रेकर्ड भइ प्रसारणमा आइसकेको छ ।

गहिरो भाव, समाजप्रतिको उत्तरदायित्व बहन र जीवन दर्शनले भरिएका, सन्देशमूलक एवम् प्रेरणादायी विचार उनका गीतहरुमा प्रशस्तै झल्किएका छन् । देश प्रेम, नैतिकता, आत्मचिन्तन, सकारात्मक सोचको झल्को दिने खालका सहज सरल शब्दको प्रयोगसहितका सशक्त अभिव्यक्ति रेग्मीका गीतका मूल विशेषता हुन् भन्न हिचकिचाउनु पर्दैन । हाल स्वतन्त्र रुपमा प्रशिक्षक, लेखक र सल्लाहकारको भूमिकामा क्रियाशील रेग्मी गीतमार्फत समाज, राष्ट्र हुँदै विश्व मानव समुदायमा सदाचारिता, उच्च नैतिकता अनि आदर्शको चेतना फैलाउन चाहन्छन् ।

विशिष्ट श्रेणीका पूर्व सचिव, सङ्घीय सार्वजनिक वित्त व्यवस्थापन, प्रशासन र नीति निर्माणका विज्ञको पहिचान बनाएका पाल्पा, तानसेनमा जन्मिएका रेग्मीले सङ्घीयता, प्रशासन र सुशासनसम्बन्धि २००० भन्दा बढी लेखहरु र एक दर्जनभन्दा बढी पुस्तकहरु प्रकाशनमा ल्याइसक्नु भएको छ । यसरी सफल प्रशासक हुँदै गीतकारको पङ्क्तिमा थुप्रै लोकप्रिय गीतहरु सहित आफ्नो दरोखरो उपस्थिति जनाउनु भएका प्रशासनविद एवम् कुशल गीतकार डा. दामोदर रेग्मीले ’गीतकारको कलम’ नामक E BOOK तयार गर्न लागेको खबरले म स्वयम् पनि गीतकार भएकोले औधि खुशी भएको छु । ’गीतकारको कलम’ E BOOK को उच्च सफलताको कामना सहित उहाँको लेखन क्रियाशीलता झनझन मौलाउँदै जाओस् । सङ्घर्षशील अनुभवी प्रशासनविदलाई नेपाली गीति क्षेत्रले आखिर एक कुशल गीतकारको रुपमा पाएको छ , उहाँको समग्र लेखन यात्रा निरन्तर थप यसरी नै चुलिँदै जाओस् , नेपाल नेपालीले उहाँबाट अझै उल्लेखनीय पुस्तक, लेख अनि गीतहरु पाउन्…यही नै मेरो ’गीतकारको कलम’ E BOOK र प्रशासनविद एवम् कुशल गीतकार डा. दामोदर रेग्मीलाई हार्दिक–हार्दिक बधाईका साथ हार्दिक–हार्दिक शुभकामना !

(त्रिविक्रम पाण्डे चीरपरिचित गीतकार तथा साहित्यकार हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीको इ पुस्तक गीतकारको कलमबाट साभार गरिएको हो)