गीतसङ्गीतलाई भौगोलिक सीमाले बाँध्न सक्दैन । यिनीहरुको भाषा अन्तर्राष्ट्रिय स्तरको हुन्छ । बोल र शब्द नै नबुझे पनि त्यसबाट उत्पन्न हुने तरङ्गबाट जोकोही तरङ्गित हुन्छन् । सीमा र भाषाको बन्धनभन्दा माथिको गीत प्रसिद्ध हुन्छ तर गीतकार ओझेलमा परिरहेको हुन्छ । गीतकारको गीतमा सबै झुमिरहेका हुन्छन् तर नजिकै उभिएको उसलाई कसैले चिन्दैनन् र महत्त्व दिइरहेका हुँदैनन् । कतिपय अवस्थामा यस्ता चर्चित गीतका गीतकारकै अगाडि बजिरहेको गीतबाट श्रोता मुग्ध भइरहेका बेला ‘यो गीत मैले लेखेको हो’ भन्यो भने पनि पत्याउँदैनन् । शङ्का गर्छन् । वक्रदृष्टिले हेर्छन् । ‘नाउ न जस खरानी घस्’को यो स्थितिसँग प्रायः गीतकारको साक्षात्कार भएकै हुन्छ ।
यसो भए पनि गीतकारले गीत लेख्ने धर्मलाई छाड्दैन भने मात्र ऊ वास्तविक गीतकार हुन्छ । नामकै पछाडि दौडिएर जस्तो पनि गीत लेख्ने र चर्चित हुन ‘मान न मान मै तेरा मेहमान’को शैलीमा जहाँसुकै अनुहार देखाउने व्यक्ति साँचो अर्थमा गीतकार हुनै सक्तैन । तालीको पछाडि मात्र लाग्दा गीतकार त भइएला तर त्यसको आयु छोटो हुन्छ । यसर्थ शब्दका माध्यमबाट श्रोताको हृदय झङ्कृत पार्न सक्ने शब्दशिल्पी नै गीतकारको तहमा उक्लिन योग्य हुन्छन् ।
गीतसङ्गीतको सुरुआत नै गीतकारको गीतबाट हुने भएकोले कुनै पनि गीत श्रोताको दिलमा भिज्न र ओठमा बज्न जरुरी हुन्छ । यस्तो कालजयी गीत लेख्न सक्ने नै सफल हुन्छन्; जीवनकालमा मात्र होइन, त्यसपछि पनि । यस्तै गीत लेख्ने प्रयत्नमा दिलोज्यानले लागेका गीतकार हुन् डा. दामोदर रेग्मी । यस्ता साधनाशील स्रष्टा गीतकारका ‘सिरेटोले छुँदै छुन्न’ (गीतिसङ्ग्रह) यसअघि नै प्रकाशित भइसकेको छ । यसपछि उनका गीतसङ्गीतसँग सम्बन्धित लेख रचना र उनका बारेमा स्वनामधन्य सर्जकहरूबाट लेखिएका लेख एवम् अन्य सान्दर्भिक सामग्रीको सँगालोका रुपमा गीतकारको कलम प्रकाशित हुन लागेको थाहा पाउँदा अत्यन्त हर्षित भएको छु । नेपाल सरकारको उच्च पदमा रही सफलतापूर्वक देश र जनताको सेवा गरिसकेका प्रतिभाले सिर्जनाका क्षेत्रमा पनि कलम चलाउनु वास्तवमै प्रेरणादायी छ । उहाँको यस पुस्तकले पनि गीतले झैँ प्रसिद्धि र सफलता प्राप्त गरोस् । छोटो समयको चिनारीबाट कायम भएको अभिन्न मित्रताको स्मरण गर्दै हार्दिक शुभकामना प्रकट गर्न चाहन्छु । धन्यवाद ।
(धीरकुमार श्रेष्ठ, सम्पादक शव्दाङ्कुर मासिक तथा साहित्यकार हुनुहुन्छ उहांको यो आलेख गीतकार डा. दामोदर रेग्मीको इबुक गीतकारको कलमबाट साभार गरिएको हो)

तपाईको प्रतिक्रिया !