नेपालको प्रशासनिक क्षेत्रका निश्कलङ्क व्यक्तित्व, कुशल प्रशासक एवं सिद्ध हस्तलेखक डाक्टर दामोदर रेग्मी सार्वजनिक प्रशासन क्षेत्रमा सुपरिचित नाम हो। सरकारी सेवामा रहेर केवल उहाँले “जागिर” मात्रै खानु भएन अपितु नेपालको आर्थिक सामाजिक एवं प्रशासनिक क्षेत्रमा दिशाबोध गर्ने हिसाबले राष्ट्रिय स्तरका पत्र पत्रिका, जर्नलहरुमा झन्डै २ हजार भन्दा बढी लेख रचना लेख्नुभएको छ। निश्चितरूपमा लेखन कार्य असाध्यै कठिन एवं चुनौतीपूर्ण हुन्छ नै। लेख रचना लेखनका लागि अध्ययन, मिहिनेत, अनुसन्धान गरेर आफ्ना विचारहरु प्रस्तुत गर्नु पर्ने हुन्छ।यसकालागि समय पनि उत्तिकै दिनुपर्ने हुन्छ।
उहाँले लेख रचनाको साथसाथै संघीयता, प्रशासन र सुशासनसम्बन्धी १२ पुस्तक वटा पुस्तकहरु प्रकाशित गरि सक्नु भएको छ। साथै उहाँको Damodar Regmi नामक फेसबुक सामाजिक सञ्जाल Mini e-Library को रुपमा रहेको छ भने युट्युब च्यानलमार्फत पनि आफ्ना अनुभव र ज्ञानलाई प्रवाह गर्दै आउनु भएको छ।
विगतमा राष्ट्रको सेवामा समर्पित हुदै लेख रचना लेखन गरेर तथा पुस्तकहरु प्रकाशन गरेर उहाँले ठुलो योगदान त पुर्याउने काम गर्नु भएको छ। साथ साथै आफ्नो प्रशासनिक क्षेत्रको अवकाश जीवन पछि आफ्ना व्यक्तिगत अनुभव, अनुभूति र समाजको अवस्थाको वारेमा छचल्किदै डा. दामोदर रेग्मी आधुनिक गीतसाहित्यमा पनि सशक्त योगदान दिने बहुप्रतिभाशाली गीतकार स्रष्टाको रुपमा देखा पर्नु भएको छ।
लेखन,अध्ययन र साहित्यका बारेमा डाक्टर रेग्मी भन्नु हुन्छ ” पेसा कर्म वा वृत्तिप्रति अनुशासनसहितको निरन्तर समर्पणले जीवनमा एक प्रकारको गहिरो सन्तुष्टि दिने गर्छ। यही अनुशासन र सतत कर्मको प्रेरणाले मेरो प्रशासनिक यात्राले निरन्तरता पाएको थियो । यहि धारको अवलम्बनले लेखन यात्रामा जब अक्षरहरू मेरा अनुभवका साक्षी बनि उद्देश्यमा केन्द्रित हुन हौस्याइरहेका छन् । गीत लेखनको नवीन यात्राक्रमले पनि यो मार्ग समात्न प्रेरणा पाइरहेका छन् । यी सबै यात्रामा एउटा समान तत्व छ कर्ममा रमाउनु, अनुशासनमा बाँच्नु, र सिर्जनामा समर्पित रहनु। जब कर्म स्वयं साधना बन्छ, तब त्यो थकान होइन, ऊर्जा बन्दछ। यही ऊर्जा र प्रेरणाले मलाई निरन्तर अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ । सिर्जना गरिरहन र यसमा रमाइरहन तथा जीवनका प्रत्येक पललाई सार्थक बनाउने प्रयास गरिरहन उत्प्रेरित गरिरहेको छ ।”
निश्चय पनि डाक्टर रेग्मी सिध्दहस्त लेखक मात्रै होइन साहित्य क्षेत्रको गीत लेखनको नवीन यात्रामा हिड्नु भएको छ। यस बाट पुष्टि हुन्छ,उहाँमा बहुआयामिक क्षमता रहेको छ। म उहाँलाई हार्दिक बधाई भन्न चाहन्छु । मलाई आशा एवं विश्वास छ, उहाँले आगामी दिनमा अझबढी रचनाहरु नेपाली साहित्यमा पस्केर योगदान पुर्याउनु हुनेछ । अन्त्यमा, फेरि पनि सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(प्रेमलकुमार खनाल पेसागत महासंघ नेपालका अध्यक्ष,प्रेसिडेन्सियल काउन्सिल सदस्य विश्व ट्रेड युनियन महासंघ ( WFTU) हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीको गीति इबुक गीतकारको कलमबाट साभार गरिएको हो)

तपाईको प्रतिक्रिया !