गीतकार गोबिन्द कुइँकेलका गीतहरुले जन्माइदिएको अनुभूति डा. दामोदर रेग्मी, प्रशासनविद तथा गीतकार

नागरिक पाना
२०८२ पुष ४, शुक्रबार ०२:४९

“माया गर्नु दु:ख बाँड्नु पाप हुँदो रहेछ,
आँशु पुछ्नु ‘नरोऊ’ भन्नु भूल हुँदो रहेछ।”
आजभोलि टिकटकको संसार साँच्चै फराकिलो बनेको छ। त्यही फराकिलो संसारको एउटा कुनाबाट उदय सोताङको स्वरमा रहेको एउटा गीत कानमा पर्‍यो। पहिलो पल्ट सुन्दा नै मन छोइहाल्यो। गीत अर्को पटक पनि थप ध्यान दिएर पुरै सुन्ने रहर जाग्यो। शब्दहरूले केवल कान छोएनन्, मनको गहिराइसम्म पुगेर बसे। विशेषगरी अन्तरा झनै मार्मिक लाग्यो—
“भैगो अब नहिँडुला तिमी हिँड्ने बाटो,
नदेखेझैँ गरिदिउँला पाप गर्नु साटो।”
कति सरल तर कति गहिरो भाव! शब्दहरू यति सहज छन् कि जो–कोहीले बुझ्न सक्छ, तर भाव यति तीक्ष्ण छन् कि मन नछोइ बस्नै सक्दैन। यहीँबाट एउटा जिज्ञासा जन्मियो—यस्ता शब्द बुन्ने सर्जक को हुन्? कुन अनुभूतिको भट्टीमा पाकेका हुन् यस्ता पंक्तिहरू?
सिर्जना अत्यन्तै चिनजानजस्तो तर नाम खोजिनु पर्ने । खोज्दै जाँदा नाम भेटिएको नाम भने पूरै परिचित—गीतकार गोबिन्द कुइँकेल। अचम्म लाग्यो—यत्रो गहिरो शब्द–संवेदना बोकेको सर्जक पत्ता लगाउन नाम खोजिरहनु पर्ने ? तर सिर्जना भने कान, मन र स्मृतिमा कतै–कतै पहिले नै बसिसकेको थियो।
यही जिज्ञासाले अर्को ढोका खोल्यो। “यी सर्जकका अरू सिर्जना पनि होलान् नि?” भन्ने हुटहुटीले खोजलाई अघि बढायो। खोज्दै जाँदा झनै अचम्भित बनायो—मैले पहिले–पहिले धेरै पटक सुनेको, मनमा गडेर बसेको अर्को गीत पनि उनकै शब्द रहेछ—
“चन्द्रमामा दाग छ हजुर, सूर्यमानी खोट होला,
मुस्कुराउँदै हिँडे पनि, म भित्रै नि चोट होला।”
कति यथार्थपरक पंक्तिहरू! बाहिरी मुस्कान र भित्री पीडाको द्वन्द्वलाई यति सुन्दर शब्दमालामा कसरी उनेका होलान्? लाग्यो—यस्ता शब्द त केवल अनुभूतिले मात्रै जन्मिन्छन्; जीवनलाई नजिकबाट देखेको, पीडालाई आत्मसात् गरेको कलमबाट मात्रै यस्ता पंक्तिहरू निस्कन्छन्।
तर फेरि प्रश्न उब्जियो—यति सुन्दर, यति कालजयी शब्द बुन्न जान्ने सर्जक किन गुमनाम? हरेक वर्ष गीत–संगीतका विभिन्न विधाका पुरस्कारहरू घोषणा हुन्छन्। मञ्च सजिन्छ, बधाइका फूलहरू ओइरिरहन्छन्। तर यस्ता कालजयी शब्द कोर्ने सर्जक र सिर्जनाहरू किन त्यो सूचीमा अटाउँदैनन्? के त्यस क्षेत्रमा पनि भनसुन, चाकरी र पहुँचकै खेल हाबी भएको हो? के शब्दभन्दा स्वर, भावभन्दा चमक र सिर्जनाभन्दा प्रचार भारी पर्न थालेको हो? वा गीतको जन्मदाता यसरी ओझेलमा पर्दै जानु पर्ने हो ? प्रश्नका सूची धेरै तयार भए । प्रश्न बन्दै पनि जाला तर अव उत्तर खोज्न ढिलो भने गर्नु हुदैन।
खोज निरन्तर रह्यो। गोबिन्द कुइँकेलको नाममा गीतहरू खोज्दै जाँदा झण्डै चार दर्जन जति गीत भेटिए। अझ रोचक त के भने—ती गीतहरू कुनै साधारण गायक–गायिकाले होइन, नेपाली संगीतका स्थापित र लोकप्रिय स्वरहरूले गाएका रहेछन्। आनन्द कार्की, दीप श्रेष्ठ, प्रताप दास, अनु चौधरी, किरण भुजेल, रामकृष्ण ढकाल, उदय सोताङ, रचना रिमाल, मेलिना राई, अञ्जु पन्त, मिलन अमात्य, अस्मिता अधिकारी, करन परियार, बुद्ध लामा, सुजाता वर्मा, रोजिना बस्नेत, बेनिशा पौडेल, समीक्षा अधिकारी र दिवाकर शर्माजस्ता चर्चित स्वरहरू उनका शब्दमा जीवन भरेर गाएका रहेछन्। शव्दमा प्राण थियो। स्वर र संगीतले थप जीवन दिए। संगीतकारहरूको सूची पनि कम प्रभावशाली छैन—उदय सम्शेर, राजु सिंह, शक्ति बल्लभ, प्रमोद निर्माण, किर्ति न्यौपाने, डीबी लामा र पुष्कर सुनुवार। यस्ता गायक, यस्ता संगीतकारको रोजाइमा पर्ने शब्द रचनाकार गुमनाम हुनु आफैंमा एउटा विडम्बना हो।
यहाँ प्रश्न सिर्जनाको गुणस्तरको मात्र होइन, पहिचान र सम्मानको पनि हो। गीतलाई लोकप्रिय बनाउने तीनवटा आधार मानिन्छ—शब्द, संगीत र स्वर। अहिले आएर अभिनय पनि। पर्दामा नदेखिने सर्जकहरु अव नचिनिने भए। हामी गीत गुनगुनाउँछौं, तर गीतकारको नाम सम्झँदैनौं। वा सम्झिने गरि प्रस्तुति गरिदैन।
आफैं पनि केही शब्द कोरी सकेको गीतकारको नाताले मन रोकिएन। हुन त यस्ता लेखहरु यसपूर्व पनि लेखेकै हुं। तर अहिले गीतकार गोविन्द कुइंकेललाई प्रतिनिधि पात्र बनाएर केही लेख्न मन लाग्यो । मनको एउटा कुनाबाट आवाज आयो—सिर्जनालाई माया गरौं, सर्जकलाई सम्मान गरौं। शायद यो आवाज मेरो वा गीतकार गोविन्द कुइंकेलको मात्र होइन आम सर्जकहरुको हो ।किनकि सिर्जना बिना संगीत अधुरो हुन्छ, र सर्जकको सम्मान बिना सिर्जनाको भविष्य अध्यारो हुन्छ। आज सिर्जनशील कलमले लेखेका शब्दहरूले हाम्रो मन छोइरहेका छन् भने भोलि ती कलमहरू मौन नबनून्। कलमका मसीहरु नसकिउन। यसर्थ शब्दको कदर गरौं, अनुभूतिलाई सलाम गरौं, र क्षमतावान तर विविध कारणले ओझेलमा परेका यस्ता प्यारा सर्जकहरूलाई उज्यालोमा ल्याऔं प्रकाश छरिदिउं—यही नै सिर्जनाप्रतिको साँचो सम्मान हो।