शिक्षाप्रेमी तथा साहित्यकार जगतबहादुर जोशीको शतवार्षिकी स्मरण : ‘न्यानो सम्झनामा जगतबहादुर जोशी’ पुस्तक लोकार्पण

नागरिक पाना
२०८३ श्रावण १७, आईतवार ००:५४

गुरु पूर्णिमाको पावन अवसरमा शिक्षा, साहित्य, संस्कार र समाजसेवाका अग्रणी व्यक्तित्व स्वर्गीय जगतबहादुर जोशीको शतवार्षिकी विशेष रूपमा स्मरण गरिएको छ। उहाँको जीवन, विचार, व्यक्तित्व र योगदानलाई समेटिएको ‘न्यानो सम्झनामा जगतबहादुर जोशी’ पुस्तक  नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको हो।

समारोहमा उपस्थित विशिष्ट  अतिथिहरू , सन्तोषलाल श्रेष्ठ, वनमाली लाकौल, डा. दामोदर रेग्मी, डा. प्रकाशराज रेग्मी, पुष्कर अथक रेग्मी, गंगादेवी कसजु कृष्णप्रसाद बस्याल, सूब सेन, मोहन दुवाल, सन्तोषलाल श्रेष्ठले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । त्यसपछि आयोजित शुभकामना मन्तव्य कार्यक्रममा उहाहरुले जगतबहादुर जोशीको बहुआयामिक योगदानबारे चर्चा गर्नुभयो।  वक्ताहरूले उहाँलाई शिक्षा, नैतिकता, अनुशासन, सामाजिक उत्तरदायित्व र मानवीय मूल्यका संवाहक व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँका विचार र जीवनदर्शन वर्तमान पुस्ताका लागि पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो। स्मृति–ग्रन्थले एउटा व्यक्तिको जीवनकथा मात्र नभई एउटा युगको सामाजिक, शैक्षिक र सांस्कृतिक इतिहासलाई समेत अभिलेखीकरण गरेको उनीहरूको भनाइ थियो।

पुस्तकका सम्पादक बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै जगतबहादुर जोशीको जीवन केवल एउटा व्यक्तिको जीवनी नभई समाजलाई सही दिशातर्फ डोर्‍याउने प्रेरणादायी यात्राका रूपमा स्मरणीय रहेको बताउनुभयो।वनमाली लाकौलले कुनै पनि समाज आफ्ना अग्रज स्रष्टा र समाजसेवीलाई कति सम्मान गर्छ भन्ने आधारमा त्यस समाजको सांस्कृतिक परिपक्वता मापन गर्न सकिने उल्लेख गर्दै जगतबहादुर जोशीको योगदानलाई पुस्तान्तरण गर्ने कार्य अत्यन्त प्रशंसनीय भएको बताउनुभयो।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनले जगतबहादुर जोशीजस्ता व्यक्तित्व पाएकोमा गर्व गर्छ। उहाँको योगदान स्थानीय समाजको मात्र होइन, सम्पूर्ण राष्ट्रकै साझा सम्पत्ति हो। यस्ता व्यक्तित्वको सम्मानले नयाँ पुस्तामा सकारात्मक ऊर्जा र प्रेरणा जगाउँछ भन्नु भयो। उहां पनि जगतबहादुर जोशीको पूर्व विद्यार्थी हुनुहुन्छ।

 

नेपाल सरकारका पूर्व सचिव प्रशासक गीतकार तथा जगतबहादुर जोशीका पूर्व विद्यार्थी समेत रहनु भएका  डा. दामोदर रेग्मीले जगतबहादुर जोशीको जीवनलाई ज्ञान, संस्कार र सेवाभावको उत्कृष्ट समन्वयका रूपमा व्याख्या गर्दै यस्ता व्यक्तित्वहरू समाजका जीवित पाठशाला हुने बताउनुभयो। उहाँले शतवार्षिकी मनाउनु केवल विगतको स्मरण नभई समाजलाई मूल्य, नैतिकता र उत्तरदायित्वको बाटोमा अग्रसर गराउने प्रेरणाको अभियान भएको उल्लेख गर्नुभयो। उहाँले स्मृति–ग्रन्थहरू इतिहास, अनुभव र प्रेरणाको सेतु  हुन्  भन्दै व्यक्ति समयसँगै भौतिक रूपमा टाढा हुन सक्छ, तर उसका विचार, मूल्य र कर्म समाजमा सदैव जीवित रहन्छन्। जगतबहादुर जोशीको जीवन आफैंमा एउटा जीवन्त पाठशाला हो। यस्ता व्यक्तित्वको स्मृतिलाई पुस्तान्तरण गर्नु हाम्रो साझा दायित्व हो  भन्ने धारणा व्यक्त गर्नुभयो।

गंगादेवी कसजुले जगतबहादुर जोशी केवल एउटा नाम होइन, उहाँ संस्कार, सदाचार र समर्पणको पर्याय हुनुहुन्थ्यो। उहाँको जीवनबाट समाजले अझै धेरै सिक्न बाँकी छ भन्नु भयो भने साहित्यकार पुष्कर अथक रेग्मीले स्मृति–ग्रन्थहरू विगतका गौरवशाली व्यक्तित्वलाई वर्तमानसँग जोड्ने सेतु हुन् न्यानो सम्झनामा जगतबहादुर जोशी  त्यस्तै एउटा महत्त्वपूर्ण दस्तावेज बनेको छ भन्नु भयो। मुटुरोग विशेषज्ञ तथा जगतबहादुर जोशीका पूर्व विद्यार्थी डा. प्रकाशराज रेग्मीले जगतबहादुर जोशीको व्यक्तित्वमा शिक्षा, अनुशासन र मानवीय संवेदनाको सुन्दर समन्वय थियो। उहाँका आदर्शलाई पुस्तान्तरण गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हो भन्दै आफू उहांको विद्यार्थी २०२६ देखि २०२८ सम्म बन्दा का अनुभवहरु सुनाउनु भयो।

कृष्णप्रसाद बस्यालले कुनै पनि समाज आफ्ना प्रेरणादायी व्यक्तित्वलाई सम्झन सक्यो भने मात्र आफ्नो इतिहास र पहिचानलाई सुरक्षित राख्न सक्छ। यो पुस्तक त्यही अभियानको महत्त्वपूर्ण कडी हो भन्नु भयो।सूब सेनले नयाँ पुस्तालाई आदर्श व्यक्तित्वसँग परिचित गराउने सबैभन्दा प्रभावकारी माध्यम यस्ता कृतिहरू नै हुन्। यस ग्रन्थले प्रेरणा र मूल्य शिक्षाको काम गर्नेछ भन्नु भयो भने मोहन दुवालले साहित्यले केवल शब्द होइन, समाजको स्मृति पनि जोगाउँछ। जगतबहादुर जोशीको जीवनलाई पुस्तकमार्फत अभिलेखीकरण गर्नु नेपाली साहित्यिक जगतका लागि प्रशंसनीय कार्य हो भन्नु भयो।

सभाध्यक्ष रेणुकादेवी जोशी श्रेष्ठले यो पुस्तक हाम्रो परिवारको मात्र होइन, जगतबहादुर जोशीलाई माया गर्ने सम्पूर्ण शुभेच्छुकहरूको साझा श्रद्धाञ्जलि हो। यसलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण लेखक, सम्पादक, सहयोगी र उपस्थित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु भन्नु भयो । उहाँले यो ग्रन्थ केवल श्रद्धाञ्जलि नभई भावी पुस्ताका लागि प्रेरणा, अध्ययन र अनुसन्धानको महत्त्वपूर्ण दस्तावेज बन्ने विश्वास व्यक्त गर्नुभयो। वि.सं. १९८३ असार २५गते गुरु पूर्णिमाको दिनमा  जन्मिनुभएका जगतबहादुर जोशीको शतवार्षिकीका अवसरमा आयोजित यस समारोहले एउटा व्यक्तित्वको मात्र सम्मान गरेको छैन, नेपाली समाजमा ज्ञान, संस्कार, सेवा र मानवीय मूल्यको निरन्तरताप्रतिको सामूहिक प्रतिबद्धतालाई पनि पुनः स्मरण गराएको छ। कार्यक्रममा उहांले मुठीदानको आधारमा खोलेको जनता विद्यालय र सेन माध्यमिक विद्यालय र शिक्षाको क्षेत्रमा गरेको योगदान समेतको चर्चा भएको थियो। गुरु पूर्णिमाको दिन आयोजित यो समारोहले गुरु–परम्परा, जीवनमूल्य र प्रेरणादायी व्यक्तित्वहरूको सम्मानलाई अझ अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

केशवबहादुर थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार, शिक्षाविद्, अनुसन्धानकर्ता, पत्रकार, संस्कृतिकर्मी, सेन मा वि र जनता मा वि का पूर्व  विद्यार्थीहरु, जगतबहादुर जोशीका पूर्व विद्यार्थीहरु, परिवारजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू जसमा जयदीप जोशी, जीवनज्योति बज्राचार्य, राजेन्द्र गोपाल सिंह, रामचन्द् मान सिंह, , नारायणगोपाल मलेगो, शालिकराम शर्मा, प्रमी श्रेष्ठ उपेन्द्रमान कर्माचार्य, सुरेन्द्र श्रेष्ठ, दिवाकर देवकोटा लगायतको सहभागिता रहेको थियो। २३० पृष्ठको न्यानो सम्झनामा जगतबहादुर जोशी पुस्तकमा  विभिन् ३७ वटा लेख र अनुभूतिहरु समावेश भएका छन्।