प्रशासन र व्यवस्थापनमा पूर्वीय दर्शनका सिध्दान्तको अनुसरण कति संभव छ? – डा. दामोदर रेग्मी

नागरिक पाना
२०८३ भाद्र ३, बुधबार ००:१६

डा. दामोदर रेग्मी पूर्व सचिव नेपाल सरकार। प्रशासन र व्यवस्थापनका नियमित लेखक तथा सुपरिचित प्रशिक्षक तथा गीतकार। दर्जनौ पुस्तक र श्रृंखलाबध्द लेखका लेखक।लेखमा फरक ढंगको प्रस्तुति र विभिन्न आयामहरुवाट विस्तृत विश्लेषण गर्ने क्षमताको पहिचान बनाएका व्यक्ति। विश्वविद्यालय र लोक सेवा परीक्षामा सहभागी हुने हजारौ पाठक व्दारा रुचाइएका लेखक र उत्प्रेरणाका श्रोत । आज हामी यिनै बहुआयामिक व्यक्तित्व संग निजले पूर्वीय दर्शनमा आधारित भएर हासिल गरेको विद्यावारिधि र पूर्वीय दर्शनको प्रशासन र व्यवस्थापनमा सान्दर्भिकताका वारेमा विस्तृत कुराकानी गर्न गैरहेका छौं सम्पादक।

दर्शन के हो पूर्वीय दर्शन के हो र यसको महत्व वारे वताइदिनोस ।

दर्शन निकै बृहत् क्षेत्र ओगटेको विषयवस्तु र निकै पुरानो विधा हो । दर्शन जगत् र जीवनलाई डोर्याउने एक वैज्ञानिक बाटो हो । दर्शन भनेको केवल कुनै कठिन वा अमूर्त विषय होइन। सरल शब्दमा भन्नुपर्दा, मानिस, समाज, जीवन, जगत्, सत्य, ज्ञान, नैतिकता र अस्तित्वका बारेमा गहिरो प्रश्न गर्ने र तिनको तर्कपूर्ण उत्तर खोज्ने बौद्धिक प्रयास नै दर्शन हो।मानिसले म को हुँ, जीवनको उद्देश्य के हो, सत्य के हो, असल र खराब के हो, ज्ञान कसरी प्राप्त हुन्छ, समाज कस्तो हुनुपर्छ र जनता र राज्यको सम्बन्ध कस्तो हुनुपर्छ जस्ता प्रश्न गर्न थालेदेखि दर्शनको विकास भएको हो। त्यसैले दर्शनलाई जीवन र जगतलाई हेर्ने दृष्टिकोण पनि भन्न सकिन्छ।दर्शनले हामीलाई केवल के गर्ने भन्ने प्रश्नको उत्तर दिँदैन, किन गर्ने र कुन मूल्यका आधारमा गर्ने भन्ने प्रश्न पनि गर्न सिकाउँछ। विज्ञानले कुनै काम कसरी गर्ने भन्ने बताउन सक्छ; तर त्यो काम किन गर्ने र त्यसको मानवीय तथा नैतिक उद्देश्य के हो भन्ने प्रश्नमा दर्शनले मार्गदर्शन गर्छ।

पूर्वीय दर्शन भन्नाले सामान्यतः भारत, चीन, जापान, तिब्बत तथा अन्य पूर्वीय सभ्यता र संस्कृतिमा विकसित भएका जीवन, जगत्, मानव, समाज, नैतिकता र आध्यात्मिकतासम्बन्धी चिन्तन परम्परालाई बुझिन्छ। यसको आफ्नै विविधता छ। हिन्दू वा वैदिक दर्शन, बौद्ध दर्शन, जैन दर्शन, सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त आदि भारतीय दर्शनका विभिन्न धाराहरू हुन्। त्यस्तै चीनमा कन्फ्युसियस र ताओ दर्शनजस्ता महत्वपूर्ण परम्परा विकसित भएका छन्।

पूर्वीय दर्शनलाई एउटै विचार वा एउटै सिद्धान्तका रूपमा बुझ्नु हुँदैन। यसभित्र विभिन्न मत र दृष्टिकोण छन्। तर धेरै पूर्वीय चिन्तन परम्परामा मानव जीवनको आन्तरिक सुधार, नैतिकता, आत्मअनुशासन, कर्तव्य, करुणा, समत्व, लोककल्याण र जीवनको समग्र दृष्टिकोणलाई विशेष महत्व दिइएको पाइन्छ।उदाहरणका लागि, भगवद्गीताको कर्मयोगले कर्तव्य र कर्मको महत्व बताउँछ; बौद्ध दर्शनले करुणा, मध्यम मार्ग र दुःखको कारण तथा त्यसबाट मुक्तिको मार्गबारे चिन्तन गर्छ; योग दर्शनले शरीर, मन र चेतनाको अनुशासनमा जोड दिन्छ; उपनिषद्हरूले आत्मा, ब्रह्म र अस्तित्वसम्बन्धी गहन प्रश्न उठाउँछन्। कौटिल्यको अर्थशास्त्रले भने राज्य, प्रशासन, अर्थव्यवस्था, सुरक्षा, न्याय र लोककल्याणलाई व्यावहारिक शासनको दृष्टिले विश्लेषण गर्छ।

पूर्वीय दर्शनको  महत्वपूर्ण पक्ष मानिसलाई केवल भौतिक प्राणीका रूपमा नहेरी नैतिक, सामाजिक र आध्यात्मिक अस्तित्वका रूपमा हेर्नु हो। आधुनिक समाजमा आर्थिक समृद्धि, प्रविधि र भौतिक सुविधाको विकास तीव्र भए पनि मानिसभित्र तनाव, असन्तोष, हिंसा, भ्रष्टाचार र नैतिक संकट देखिन्छ। यस्तो अवस्थामा पूर्वीय दर्शनले मानिसको आन्तरिक विकास र मूल्यबोधतर्फ ध्यान आकर्षित गर्छ। यसले कर्तव्य र जिम्मेवारीमा जोड दिन्छ। अधिकारको कुरा गर्दा कर्तव्यलाई बिर्सन नहुने शिक्षा पूर्वीय चिन्तनमा महत्वपूर्ण छ। सार्वजनिक प्रशासनका लागि यो अत्यन्त उपयोगी मूल्य हो।  यसले आत्मसंयम र नैतिक अनुशासनलाई महत्व दिन्छ। नेतृत्व र सार्वजनिक पदमा रहेका व्यक्तिका लागि यो झन् महत्वपूर्ण हुन्छ। कानूनले बाह्य व्यवहार नियन्त्रण गर्न सक्छ; तर आत्मअनुशासनले व्यक्तिको भित्री आचरणलाई निर्देशित गर्छ। पूर्वीय दर्शनले लोककल्याण र सामाजिक सद्भावलाई महत्व दिन्छ।  पूर्वीय दर्शनले समग्र र सन्तुलित दृष्टिकोण दिन्छ। मानिस, समाज, प्रकृति र राज्यलाई एकअर्काबाट पूर्णतः अलग गरेर होइन, परस्पर सम्बन्धित पक्षका रूपमा हेर्ने प्रवृत्ति यसमा पाइन्छ।

तपाइले आफ्नो पिएचडि पूर्वीय दर्शनमा आधारित भएर गर्नुको कारण के हो यो अलि गाह्रो क्षेत्र पनि हो नि होइन र?

मेरो पिएचडि पूर्वीय दर्शनमा आधारित हुनुको प्रमुख कारण पूर्वीय दर्शनप्रतिको मेरो गहिरो रुचि र त्यसलाई नेपालको समकालीन शासन तथा प्रशासनसँग जोडेर हेर्ने मेरो प्रयास हो। म लामो समय सार्वजनिक प्रशासनमा काम गर्ने क्रममा एउटा कुरा अनुभव गर्दै आएको थिएँ शासन प्रणाली जतिसुकै आधुनिक, प्रविधिमैत्री र संस्थागत भए पनि त्यसको सफलता अन्ततः मानिसको चरित्र, नैतिकता, कर्तव्यबोध, आत्मअनुशासन र सार्वजनिक हितप्रतिको प्रतिबद्धतामा निर्भर हुँदो रहेछ। आधुनिक व्यवस्थापन र प्रशासनले संरचना, प्रक्रिया, प्रविधि र संस्थागत प्रणाली दिन सक्छ तर मानिसले ती साधनहरूको प्रयोग कुन मूल्य र उद्देश्यका लागि गर्छ भन्ने प्रश्नको उत्तर केवल व्यवस्थापकीय सिद्धान्तबाट पूर्ण रूपमा प्राप्त हुँदैन। यही खोजले मलाई पूर्वीय दर्शनतर्फ आकर्षित गर्‍यो।

पूर्वीय दर्शनले शासनलाई केवल राज्य सञ्चालनको प्राविधिक प्रक्रिया मानेको छैन। यसले शासनलाई धर्म, कर्तव्य, लोककल्याण, नैतिकता, आत्मसंयम र न्यायसँग जोडेर हेरेको पाइन्छ। विशेषगरी कौटिल्यको अर्थशास्त्रमा राज्य सञ्चालन, प्रशासन, राजस्व, न्याय, सुरक्षा, आर्थिक व्यवस्थापन र जनकल्याणका विषयलाई अत्यन्त व्यावहारिक ढङ्गले प्रस्तुत गरिएको छ। त्यसैले पूर्वीय दर्शन मेरो लागि केवल आध्यात्मिक वा दार्शनिक विषय रहेन; यो व्यावहारिक शासन र प्रशासनको ऐतिहासिक ज्ञानको स्रोत पनि हो भन्ने लाग्यो।अर्को महत्वपूर्ण कारण, हामी विकास र सुशासनका लागि प्रायः पश्चिमी सिद्धान्त र मोडेलतर्फ हेर्ने गर्छौं। ती सिद्धान्तको आफ्नै ठूलो महत्व छ। तर नेपालजस्तो आफ्नै लामो सभ्यता, संस्कृति, दर्शन र शासन परम्परा भएको मुलुकले आफ्नै बौद्धिक परम्पराबाट के सिक्न सक्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। मेरो पिएचडिमार्फत मैले हाम्रा प्राचीन ज्ञानपरम्परामा रहेका शासन र प्रशासनसम्बन्धी अवधारणालाई आधुनिक सन्दर्भमा कसरी पुनर्व्याख्या गर्न सकिन्छ भन्ने प्रश्नको एउटा सानो उत्तर खोज्ने प्रयास गरेको हुँ।

यस अध्ययनले मलाई एउटा महत्वपूर्ण बोध गरायो पूर्वीय दर्शनलाई केवल अतीतको गौरवका रूपमा हेर्नु पर्याप्त हुँदैन। त्यसमा रहेका कर्तव्यबोध, नैतिक शासन, लोककल्याण, उत्तरदायित्व, अनुशासन र राज्यको प्रभावकारिता जस्ता पक्षलाई समकालीन लोकतान्त्रिक शासन, सुशासन र सार्वजनिक प्रशासनसँग संवाद गराउन सकिन्छ। त्यसैले मेरो पिएचडिको उद्देश्य केवल एउटा प्राचीन दर्शनको अध्ययन गर्नु थिएन। मेरो उद्देश्य थियो पूर्वीय ज्ञान र आधुनिक प्रशासनबीच एउटा सेतु निर्माण गर्नु। हामीले आधुनिक प्रविधि र व्यवस्थापनका उत्कृष्ट अभ्यासहरू ग्रहण गर्दै गर्दा आफ्नै सभ्यता र ज्ञानपरम्परामा रहेका उपयोगी मूल्य र सिद्धान्तलाई पनि पुनः खोज्न सक्यौँ भने हाम्रो शासन प्रणाली अझ बढी मौलिक, नैतिक, जनमुखी र प्रभावकारी बन्न सक्छ भन्ने मेरो विश्वास हो।

तपाइले कौटिल्यको अर्थशास्त्रमा आधरित भएर पिएचडि गर्नु भएको छ कौटिल्यको अर्थशास्त्रका महत्वपूर्ण पक्षहरु के के हुन् ?

कौटिल्यको अर्थशास्त्र प्राचीन भारतको राज्यव्यवस्था, प्रशासन, अर्थनीति, कूटनीति, न्याय, सुरक्षा र जनकल्याणसम्बन्धी अत्यन्त व्यवस्थित र व्यावहारिक ग्रन्थ हो। यसको महत्व के हो भने यसले शासनलाई केवल राजनीतिक शक्ति सञ्चालनका रूपमा होइन, सक्षम राज्य, समृद्ध अर्थतन्त्र, अनुशासित प्रशासन, सामाजिक व्यवस्था र जनकल्याणको समग्र प्रणालीका रूपमा हेरेको छ। यसलाई विभिन्न  आयामहरुवाट हेर्न सकिन्छ।

पहिलो:सक्षम र उत्तरदायी राज्य। कौटिल्यका अनुसार राज्यको शक्ति केवल शासकको अधिकारमा होइन, राज्यका संस्थाहरूको क्षमता र प्रभावकारितामा निर्भर हुन्छ। शासकले व्यक्तिगत स्वार्थभन्दा राज्य र जनताको हितलाई प्राथमिकता दिनुपर्छ। शासकको सुख जनताको सुखसँग जोडिएको हुनुपर्छ भन्ने उनको मूल भावना आजको जनकेन्द्रित शासा सँग पनि जोडिन्छ। दोस्रो:प्रशासनिक संगठन र कर्मचारीतन्त्र। अर्थशास्त्रमा विभिन्न अधिकारी, कार्यालय, जिम्मेवारी र कार्यविभाजनको स्पष्ट व्यवस्था पाइन्छ। अधिकारीको नियुक्ति, योग्यता, जिम्मेवारी, अनुगमन र आचरणमा कौटिल्यले विशेष जोड दिएका छन्। यस दृष्टिले हेर्दा यो प्राचीन समयमा लेखिएको भए पनि यसमा आधुनिक मानव श्रोत व्षवस्थापन, उत्तरदायित्व र कार्यसम्पादन व्यवस्थापनसंग नजीकको सम्बन्ध रहेको छ । तेस्रो:राजस्व प्रशासन। यो मेरो अनुसन्धानसँग विशेष रूपमा जोडिएको पक्ष हो। कौटिल्यले राज्यको आर्थिक आधारलाई अत्यन्त महत्व दिएका छन्। कर तथा राजस्व सङ्कलन, भन्सार, व्यापार, उत्पादन, बजार तथा विभिन्न आर्थिक गतिविधिबाट राज्यले प्राप्त गर्ने आम्दानीको व्यवस्थापनबारे विस्तृत व्यवस्था पाइन्छ। विशेषगरी भन्सार प्रशासन, व्यापार नियमन र राजस्व चुहावट नियन्त्रणका विषय अत्यन्त रोचक छन्।

चौथो:सार्वजनिक वित्त व्यवस्थापन। राज्यको आम्दानी मात्र होइन, खर्चको औचित्य, कोषको सुरक्षा, लेखा, परीक्षण तथा आर्थिक अनुशासनमा पनि कौटिल्यले जोड दिएका छन्। राज्यकोषलाई व्यक्तिगत सम्पत्तिजस्तो प्रयोग गर्न नहुने र सार्वजनिक स्रोतको दुरुपयोग नियन्त्रण गर्नुपर्ने धारणा आजको सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय उत्तरदायित्व सँग सम्बन्धित देखिन्छ।

पाँचौँ:भ्रष्टाचार नियन्त्रण। कौटिल्यले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुन सक्ने अनियमितता र भ्रष्टाचारलाई गम्भीर समस्याका रूपमा लिएका छन्। सार्वजनिक स्रोतको दुरुपयोग कसरी हुन सक्छ भन्नेबारे उनले अत्यन्त व्यावहारिक ढङ्गले चर्चा गरेका छन्।।

छैटौँ:कानून, न्याय र आन्तरिक सुरक्षा। राज्यमा कानूनको शासन, अपराध नियन्त्रण, न्याय प्रशासन र सामाजिक अनुशासन कायम गर्ने विषयमा पनि अर्थशास्त्रमा विस्तृत व्यवस्था छ। राज्यको स्थायित्वका लागि न्यायपूर्ण र प्रभावकारी कानूनी व्यवस्था आवश्यक हुन्छ भन्ने यसको मूल मान्यता हो।

सातौँ:आर्थिक विकास र उत्पादन। कौटिल्यले कृषि, पशुपालन, उद्योग, व्यापार, खानी, वन, जलस्रोत र बजारलाई राज्यको आर्थिक समृद्धिको आधार मानेका छन्। अर्थात् राज्य समृद्ध हुन उत्पादनशील अर्थतन्त्र आवश्यक छ भन्ने उनको दृष्टिकोण थियो।

आठौँ:बजार र व्यापार नियमन। बजारमा मूल्य, नापतौल, गुणस्तर, व्यापारिक आचरण र उपभोक्ता हितसँग सम्बन्धित विषयमा राज्यको भूमिका हुनुपर्ने धारणा अर्थशास्त्रमा पाइन्छ। यसले आधुनिक बजार नियमन र उपभोक्ता संरक्षणको अवधारणासँग समीपताता रहेको छ।

नवौँ:कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध। कौटिल्यको मण्डल सिद्धान्त, सन्धि, युद्ध, शान्ति, मित्रता, रणनीति र गुप्तचर व्यवस्थासम्बन्धी विचारहरू उनको अर्थशास्त्रको अर्को महत्वपूर्ण पक्ष हो। यसबाट उनले राज्यको सुरक्षा र राष्ट्रिय हितलाई अत्यन्त रणनीतिक दृष्टिले हेरेको देखिन्छ।

दशौं:गुप्तचर तथा सूचना प्रणाली। राज्य सञ्चालनमा सही सूचना अत्यन्त महत्वपूर्ण हुन्छ भन्ने कौटिल्यको धारणा थियो। त्यसैले उनले सूचना सङ्कलन, गुप्तचर परिचालन र राज्यका गतिविधिको निगरानीलाई विशेष महत्व दिएका छन्। आधुनिक शासनमा यसलाई सूचना व्यवस्थापनको ऐतिहासिक पूर्वरूपका रूपमा अध्ययन गर्न सकिन्छ।

एघारौँ:जनकल्याण। कौटिल्यलाई केवल कठोर राज्यशक्तिका पक्षधरका रूपमा बुझ्नु पूर्ण हुँदैन। राज्यको स्थायित्वका लागि जनताको आर्थिक तथा सामाजिक अवस्था राम्रो हुनुपर्छ भन्ने दृष्टिकोण अर्थशास्त्रमा देखिन्छ। राज्यको उद्देश्य केवल राजस्व उठाउनु होइन; उत्पादन, सुरक्षा, व्यवस्था र समृद्धिको वातावरण निर्माण गर्नु पनि हो। कौटिल्यको अर्थशास्त्रको सबैभन्दा ठूलो विशेषता यसको व्यावहारिकता हो। यसले आदर्श मात्र प्रस्तुत गर्दैन; शासन कसरी सञ्चालन गर्ने, कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने, राजस्व कसरी परिचालन गर्ने, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने, बजार कसरी नियमन गर्ने, सुरक्षा कसरी कायम गर्ने र राष्ट्रिय हित कसरी संरक्षण गर्ने भन्ने विषयमा व्यावहारिक दृष्टिकोण प्रस्तुत गर्दछ।त्यसैले म कौटिल्यको अर्थशास्त्रलाई केवल प्राचीन अर्थशास्त्रको ग्रन्थभन्दा बढी प्राचीन शासन तथा सार्वजनिक प्रशासनको एउटा व्यापक र व्यावहारिक ज्ञानकोषका रूपमा हेर्छु। आधुनिक शासनका लागि यसको सबै कुरा जस्ताको तस्तै लागू गर्नुपर्छ भन्ने होइन; तर यसको मूलभूत विचारलाई आजको लोकतन्त्र, मानवअधिकार, विधिको शासन र समावेशी शासनका मूल्यसँग जोडेर हेर्दा यसबाट अझै पनि धेरै कुरा सिक्न सकिन्छ।

तपाइको पिएचडि थेसिसमा आधारित पुस्तक कौटिल्यको आलोकमा नेपालको भन्सार वारे वताइदिनोस न ।

मेरो पिएचडि अनुसन्धान  Effectiveness of Nepalese Customs Administration in the Context of Kautilya’s Customs Administration  को विकसित स्वरुप कौटिल्यको आलोकमा नेपालको भन्सार  पुस्तक हो। यो पुस्तक लेख्नुको मूल उद्देश्यमा आम पाठकलाई यसको पहुंच सरह बनाउनु नै हो। यसै गरि  कर वा भन्सारका प्राविधिक पक्षको मात्र अध्ययन गर्नु थिएन; नेपालको आधुनिक भन्सार प्रशासनलाई हाम्रो आफ्नै प्राचीन शासन ज्ञानको दृष्टिकोणबाट पनि हेर्ने प्रयास गर्नु थियो।कौटिल्यको अर्थशास्त्र अध्ययन गर्दा मलाई एउटा महत्वपूर्ण कुरा अनुभूति भयो आज हामीले आधुनिक भन्सार प्रशासनका रूपमा प्रयोग गरिरहेका धेरै विषयको आधारभूत चिन्तन प्राचीन कालमै कुनै न कुनै रूपमा देखिन्छ। वस्तुको आवागमनमा नियमन, व्यापारको व्यवस्थापन, आयात–निर्यातमा शुल्क, राजस्व सङ्कलन, तस्करी नियन्त्रण, व्यापारिक गतिविधिको अनुगमन, अधिकारीको जिम्मेवारी र राज्यको आर्थिक हितको संरक्षणजस्ता विषय कौटिल्यको अर्थशास्त्रमा व्यवस्थित रूपमा उल्लेख भएका छन्। यसै आधारमा मैले कौटिल्यकालीन भन्सार प्रशासन र नेपालको वर्तमान भन्सार प्रशासनबीच तुलना गर्ने प्रयास गरेको हुँ। स्वाभाविक रूपमा दुई हजार वर्षभन्दा बढी समयको अन्तरमा राज्यको स्वरूप, अर्थतन्त्र, प्रविधि, अन्तर्राष्ट्रिय व्यापार र कानूनमा ठूलो परिवर्तन आएको छ। त्यसैले कौटिल्यका व्यवस्था आज जस्ताको तस्तै लागू गर्न सकिन्छ भन्ने मेरो निष्कर्ष होइन। तर उहाँका केही मूलभूत प्रशासनिक सोच र सिद्धान्त आज पनि सान्दर्भिक छन् भन्ने मेरो अध्ययनको महत्वपूर्ण निष्कर्ष हो।

विशेषगरी कौटिल्यले भन्सारलाई केवल राजस्व उठाउने कार्यालयका रूपमा हेरेका छैनन्। भन्सार राज्यको राजस्व, व्यापार नियमन, आर्थिक सुरक्षा र राष्ट्रिय हित संरक्षण गर्ने महत्वपूर्ण संस्थागत संयन्त्र हो। आजको भाषामा भन्दा यो राजस्व संकलन गर्ने अंग मात्र होइन, व्यापार सहजीकरण र सीमा राजस्व व्यवस्थापन, सँग पनि सम्बन्धित छ। मेरो अध्ययनमा अर्को महत्वपूर्ण विषय भन्सार प्रशासनमा अधिकारीको भूमिका र उत्तरदायित्व हो। कौटिल्यले सार्वजनिक पदमा रहने अधिकारीको इमानदारी, कार्यसम्पादन, अनुगमन र उत्तरदायित्वमा विशेष जोड दिएका छन्। नेपालको भन्सार सुधारमा पनि केवल कानून र प्रविधि परिवर्तन गरेर मात्र पर्याप्त हुँदैन; मानव स्रोतको क्षमता, नैतिकता, उत्तरदायित्व र संस्थागत संस्कार उत्तिकै महत्वपूर्ण हुन्छन्।त्यसैगरी कौटिल्यले राजस्व चुहावट र सार्वजनिक स्रोतको दुरुपयोगलाई गम्भीर रूपमा लिएका छन्। आधुनिक नेपालको सन्दर्भमा यसलाई कम मूल्य घोषणा, गलत घोषणा, राजस्व चुहावट र भ्रष्टाचार जस्ता चुनौतीसँग जोडेर अध्ययन गर्न सकिन्छ। यस दृष्टिले कौटिल्यको प्रशासनिक सोचले आजको भन्सार सुधारका लागि एउटा ऐतिहासिक ऐना उपलब्ध गराउँछ।

मेरो अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष भन्सार सुधारको प्रभावकारिता हो। नेपालमा समयक्रममा भन्सार सुधारका विभिन्न प्रयास भएका छन् कानूनी सुधार, संगठनात्मक सुधार, कम्प्युटराइजेसन, जोखिम व्यवस्थापन, स्वचालन, विद्युतीय प्रणाली, एकीकृत जाँच प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूलन तर सुधारको वास्तविक सफलता प्रविधि वा संरचना परिवर्तनमा मात्र होइन, त्यसले राजस्व परिचालन, व्यापार सहजीकरण, पारदर्शिता, पूर्वानुमानयोग्यता र तस्करी नियन्त्रणमा कति सुधार ल्यायो भन्ने कुराबाट मापन गर्नुपर्छ। यस पुस्तकको एउटा विशेष सन्देश के हो भने राजस्व वृद्धि र व्यापार सहजीकरणलाई परस्पर विरोधी विषयका रूपमा हेर्नु हुँदैन। आधुनिक भन्सारको उद्देश्य हरेक वस्तुलाई रोक्ने वा धेरैभन्दा धेरै शुल्क उठाउने मात्र होइन; जोखिमका आधारमा नियन्त्रण गर्दै वैध व्यापारलाई छिटो, सरल, पारदर्शी र पूर्वानुमानयोग्य बनाउनु पनि हो। यो दृष्टिकोण आजको आधुनिक भन्सा प्रशासनको मूल भावना हो।

तपाइले प्रशासनमा व्यावसायिकता र सदाचारिता संघीय शासन प्रणाली प्रशासनका नवीनतम आयामहरु लगायतका दर्जनौ पुस्तकहरु प्रकाशन गर्नु भएको छ यस वारेमा पनि बताइदिनोस न।

मैले सार्वजनिक प्रशासनमा लामो समय काम गर्ने क्रममा जे देखेँ, भोगेँ, सिकेँ र अनुसन्धान गरेँ, त्यसलाई पुस्तक तथा लेखमार्फत अभिलेखीकरण र सार्वजनिक गर्ने प्रयास गरेको छु। त्यसैले मेरा पुस्तकहरूलाई म केवल कृति मात्र होइनन् यी मेरा प्रशासनिक अनुभव, अनुसन्धान र सार्वजनिक सेवाप्रतिको चिन्तनका दस्तावेज हुन् जसलाई म मेरा पुस्तकवाट अनलाइन पत्रिका मार्फत र मेरा सामाजिक सञ्जालहरुबाट समेत नियमित रुपमा सार्वजनिक गर्ने गर्दछु  ।मेरो लेखनका विषयहरू मूलतः सार्वजनिक प्रशासन, सुशासन, संघीय शासन प्रणाली, प्रशासनिक सुधार, राजस्व प्रशासन, सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, व्यावसायिकता, सदाचारिता, नेतृत्व, व्यवस्थापन, क्षमता विकास तथा समसामयिक शासकीय विषयसँग सम्बन्धित छन्।

सार्वजनिक प्रशासनको प्रभावकारिता केवल संरचना, कानून र प्रविधिले निर्धारण गर्दैन; प्रशासनमा काम गर्ने व्यक्तिको व्यावसायिक क्षमता, निष्पक्षता, नैतिकता, इमानदारी, उत्तरदायित्व र सेवाभावले पनि निर्धारण गर्छ। त्यसैले मैले व्यावसायिकता र सदाचारितालाई सुशासनका आधारभूत पूर्वशर्तका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु। मेरो विचारमा सक्षम तर सदाचारहीन प्रशासन र सदाचारयुक्त तर अक्षम प्रशासन दुवैले अपेक्षित परिणाम दिन सक्दैनन्। आधुनिक प्रशासनलाई दक्षता र इमान्दारिता दुवै चाहिन्छ।

त्यस्तै संघीय शासन प्रणाली  लगायतका मेरा लेखनमा नेपालको संघीय संरचनाले प्रशासनिक प्रणालीमा ल्याएको परिवर्तन र चुनौतीलाई विश्लेषण गर्ने प्रयास गरेको छु। संघीयता भनेको केन्द्रबाट प्रदेश र स्थानीय तहमा अधिकारको हस्तान्तरण मात्र होइन; यो शासन संस्कृतिमा परिवर्तन, जिम्मेवारीको पुनर्वितरण, अन्तरसरकारी सम्बन्ध, वित्तीय संघीयता, प्रशासनिक क्षमता र नागरिकसँगको सम्बन्धमा परिवर्तन पनि हो। त्यसैले संघीय शासन सफल बनाउन संरचनासँगै क्षमता, समन्वय र जवाफदेहिता आवश्यक हुन्छ भन्ने विषयमा मैले जोड दिएको छु।

प्रशासनका नवीनतम आयामहरू पुस्तकमा मैले परम्परागत प्रशासनबाट आधुनिक र गतिशील प्रशासनतर्फ भइरहेको रूपान्तरणलाई समेट्ने प्रयास गरेको छु। आजको प्रशासन पदसोपान मात्र छैन; यसमा नागरिक केन्दित सेवा प्रवाह,  एजाइल व्यवस्थापन, सहकार्य, कृतिम बौध्दिकता र नेटवर्क गभर्नेन्स जस्ता नयाँ आयामहरू प्रवेश गरिरहेका छन्। त्यसैले प्रशासनिक सोच पनि समयसँगै परिवर्तन हुनुपर्छ भन्ने मेरो धारणा हो।मेरा अन्य पुस्तक तथा अनुसन्धानमा सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, राजस्व प्रशासन, स्थानीय शासन, प्रशासनिक सुधार र विकास व्यवस्थापनजस्ता विषय पनि समेटिएका छन्। मैले सरकारी सेवामा काम गर्दा नीति निर्माणदेखि कार्यान्वयनसम्मका विभिन्न तहमा काम गर्ने अवसर पाएँ। त्यसैले मेरा लेखनमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अनुभवलाई जोड्ने प्रयास गरेको छु।मलाई लाग्छ, प्रशासनमा काम गर्ने व्यक्तिका लागि अनुभव अत्यन्त महत्वपूर्ण हुन्छ, तर अनुभवलाई लेखन र अनुसन्धानमा रूपान्तरण गर्न सकिएन भने त्यो व्यक्तिगत स्मृतिमै सीमित हुन्छ। मैले आफ्नो अनुभवलाई पुस्तकमा रूपान्तरण गरेर आफूले सिकेको कुरा नयां पुस्ताका प्रशासक, विद्यार्थी, अनुसन्धानकर्ता र सार्वजनिक नीति निर्मातासम्म पुर्‍याउने प्रयास गरेको छु।

प्रशासन र व्यवस्थापनमा पूर्वीय दर्शनका सिध्दान्त अनुसरण गरिनु किन आवश्यक देख्नुहुन्छ

मेरो विचारमा प्रशासन र व्यवस्थापनमा पूर्वीय दर्शनका सिद्धान्तको आवश्यकता आज झन् बढेको छ। यसको अर्थ हामीले आधुनिक व्यवस्थापनका सिद्धान्तलाई छोडेर पुराना सिद्धान्तमा फर्किनुपर्छ भन्ने होइन। बरु आधुनिक व्यवस्थापनले दिएको दक्षता, प्रविधि र वैज्ञानिक पद्धतिलाई पूर्वीय दर्शनले दिएको नैतिकता, कर्तव्यबोध, आत्मअनुशासन र लोककल्याणको दृष्टिकोणसँग जोड्नुपर्छ भन्ने मेरो धारणा हो।पूर्वीय दर्शनको पहिलो महत्वपूर्ण योगदान कर्तव्यबोध हो। भगवद्गीताको कर्मयोगले परिणामको लोभभन्दा कर्तव्यलाई प्राथमिकता दिन सिकाउँछ। सार्वजनिक प्रशासनमा पनि कर्मचारीले व्यक्तिगत लाभ, पदोन्नति वा पुरस्कारभन्दा आफ्नो जिम्मेवारी र सार्वजनिक हितलाई प्राथमिकता दिन सक्नुपर्छ। यसले प्रशासनमा व्यावसायिकता र प्रतिबध्दताको विकास गर्न सहयोग गर्छ। यसै गरि पूर्वीय दर्शनले सदाचार र नैतिक नेतृत्वमा जोड दिन्छ। प्रशासनमा कानून र नियन्त्रण आवश्यक छन्, तर हरेक व्यवहारलाई कानूनले मात्र नियन्त्रण गर्न सक्दैन। जब व्यक्तिको आन्तरिक नैतिकता बलियो हुन्छ, तब बाह्य नियन्त्रणको आवश्यकता कम हुन्छ। आज भ्रष्टाचार नियन्त्रणका लागि हामी कानून, अनुगमन र अख्तियारजस्ता संस्थागत संयन्त्रको कुरा गर्छौं; तर त्यससँगै आत्मअनुशासन र नैतिक चेतना पनि आवश्यक हुन्छ यो पक्षलाई पूर्वीय दर्शनको अवधारणाले बलियो बनाउँछ।

पूर्वीय दर्शनको लोककल्याणको अवधारणा सार्वजनिक प्रशासनका लागि अत्यन्त महत्वपूर्ण छ। राज्य र प्रशासनको अन्तिम उद्देश्य नागरिकको हित र कल्याण हो। कौटिल्यको राज्यदर्शनदेखि बौद्ध दर्शनसम्म विभिन्न पूर्वीय परम्परामा जनकल्याण, सामाजिक सद्भाव र शान्तिलाई महत्व दिइएको पाइन्छ। यसलाई आजको भाषामा नागरिक केन्द्रित शासन र सार्वजनिक मूल्यसँग जोड्न सकिन्छ।

पूर्वीय दर्शनले आत्मसंयम र इन्द्रियनिग्रहलाई महत्व दिन्छ। नेतृत्वको पदमा पुगेको व्यक्तिका लागि यो अत्यन्त महत्वपूर्ण गुण हो। शक्ति, पद र स्रोतमा पहुँच भएका व्यक्तिले आफ्नो व्यक्तिगत इच्छा र सार्वजनिक जिम्मेवारीबीच सीमा कायम गर्न सकेन भने सुशासन कमजोर हुन्छ। त्यसैले असल नेतृत्वका लागि बाह्य शक्ति मात्र होइन, आन्तरिक अनुशासन पनि आवश्यक हुन्छ।  पूर्वीय दर्शनमा समग्र दृष्टिकोण पाइन्छ। आधुनिक व्यवस्थापनले प्रायः उत्पादकत्व, दक्षता र प्रभावकारितामा जोड दिन्छ। ती आवश्यक त हुन्  तर मानिसलाई केवल उत्पादकत्वको साधनका रूपमा मात्र हेर्नु उपयुक्त हुँदैन। मानिसको भावनात्मक, सामाजिक, नैतिक र आध्यात्मिक पक्षलाई पनि व्यवस्थापनले बुझ्नुपर्छ। पूर्वीय दर्शनले मानिसलाई समग्र मानवका रूपमा हेर्न प्रेरित गर्छ। पूर्वीय दर्शनमा सन्तुलन र समन्वयको विचार महत्वपूर्ण छ। शासनमा पनि अधिकार र कर्तव्य, विकास र वातावरण, आर्थिक वृद्धि र सामाजिक न्याय, राज्यशक्ति र नागरिक स्वतन्त्रताबीच सन्तुलन आवश्यक हुन्छ। आज हामी दिगो विकास, समावेशी विकास र सन्तुलित विकासको कुरा गर्छौं यी विषयलाई पूर्वीय दृष्टिकोणसँग सम्मिलन गराउन सकिन्छ।  पूर्वीय दर्शनले नेतृत्वलाई सेवासँग जोड्छ। नेतृत्व भनेको अरूमाथि शासन गर्ने अधिकार मात्र होइन; अरूको हितका लागि जिम्मेवारी वहन गर्ने अवसर पनि हो। सार्वजनिक प्रशासनमा यो सोच अत्यन्त आवश्यक छ। पद ठूलो हुँदै जाँदा अहंकार बढ्ने होइन, जिम्मेवारी र उत्तरदायित्व बढ्नुपर्छ भन्ने संस्कार विकास गर्नुपर्छ।तर यहाँ एउटा कुरा स्पष्ट गर्न चाहन्छु पूर्वीय दर्शनका सबै अवधारणालाई आजको प्रशासनमा जस्ताको तस्तै लागू गर्नुपर्छ भन्ने मेरो मान्यता होइन। समय, समाज, संविधान, लोकतन्त्र, मानवअधिकार र प्रविधि परिवर्तन भइसकेका छन्। त्यसैले हामीले पूर्वीय दर्शनको सारलाई समकालीन लोकतान्त्रिक मूल्यसँग समन्वय गर्नुपर्छ। मेरो दृष्टिमा आधुनिक प्रशासनको एउटा कमजोरी के देखिन्छ भने हामीसँग प्रणाली धेरै छ, तर संस्कार कमजोर हुन सक्छ; कानून धेरै छ, तर आत्मअनुशासन कमजोर हुन सक्छ; प्रविधि धेरै छ, तर मानवीयता कमजोर हुन सक्छ। पूर्वीय दर्शनले यही खाली ठाउँ पूर्ति गर्न सक्छ। त्यसैले म प्रशासन र व्यवस्थापनमा पूर्वीय दर्शनको आवश्यकता तीन शब्दमा देख्छु—दक्षता, सदाचार र लोककल्याणको समन्वय। आधुनिक व्यवस्थापनले हामीलाई How to manage सिकाउँछ भने पूर्वीय दर्शनले Why should we manage, for whom should we manage and with what values should we manage भन्ने प्रश्नको उत्तर खोज्न सहयोग गर्छ।

नेपालको प्रशासन र शासकीय व्यवस्थाहरु पश्चिमा दर्शनतिर झुक्दै गएको हो त

नेपालको प्रशासन र शासकीय व्यवस्था पश्चिमी दर्शन र आधुनिक पश्चिमी संस्थागत अभ्यासबाट प्रभावित हुँदै गएको कुरा केही हदसम्म सत्य हो। तर म यसलाई पश्चिमीकरण मात्र नभई विश्वव्यापी शासनका उत्कृष्ट अभ्यासलाई ग्रहण गर्ने क्रममा नेपालको आफ्नै पूर्वीय शासन परम्परासँगको सम्बन्ध कमजोर हुँदै गएको अवस्थाका रूपमा हेर्न चाहन्छु। नेपालको वर्तमान संविधान, लोकतान्त्रिक शासन प्रणाली, शक्ति पृथकीकरण, मौलिक अधिकार, विधिको शासन, मानवअधिकार, प्रतिस्पर्धात्मक निर्वाचन, प्रतिनिधिमूलक संस्था, संसदीय अभ्यास, आधुनिक सार्वजनिक प्रशासन, बजेट प्रणाली, लेखापरीक्षण, सार्वजनिक खरिदलगायतका धेरै संस्थागत अभ्यासमा पश्चिमी राजनीतिक तथा प्रशासनिक चिन्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव देखिन्छ। यीमध्ये धेरै कुरा आधुनिक लोकतन्त्र र सुशासनका महत्वपूर्ण उपलब्धि पनि हुन्। त्यसैले पश्चिमबाट आएको भन्दै कुनै अवधारणालाई अस्वीकार गर्नुपर्ने मेरो धारणा होइन।  हामीले बाहिरबाट अवधारणाहरू त ग्रहण गर्‍यौँ, तर ती अवधारणाहरूलाई आफ्नै सामाजिक, सांस्कृतिक र दार्शनिक परिवेशअनुकूल बनाउन कति सकेका छौँ भन्ने प्रश्न को उत्तर भने खोजिनु आवश्यक छ। नेपालको आफ्नै लामो शासन र प्रशासनिक परम्परा छ। कौटिल्यको राज्यदर्शन, वैदिक चिन्तन, बौद्ध दर्शन तथा स्थानीय सामाजिक परम्पराहरूमा कर्तव्य, धर्म, लोककल्याण, आत्मसंयम, सामाजिक सद्भाव, न्याय र शासकको नैतिक जिम्मेवारीजस्ता विषयलाई महत्व दिइएको पाइन्छ। तर आधुनिक प्रशासन निर्माण गर्ने क्रममा हामीले यी स्वदेशी ज्ञानपरम्परालाई पर्याप्त रूपमा अध्ययन र संस्थागत गर्न सकेका छैनौँ। मलाई लाग्छ, समस्या पश्चिमी दर्शन ग्रहण गर्नुमा होइन; समस्या एकतर्फी अनुकरणमा हुन सक्छ। उदाहरणका लागि हामीले उत्तरदायित्वको संरचना बनायौँ, तर उत्तरदायित्वको आन्तरिक संस्कार कति विकास गर्‍यौँ? हामीले कानून बनायौँ, तर कानूनपालनको नैतिक चेतना कति विकास गर्‍यौँ? हामीले संस्थाहरू निर्माण गर्‍यौँ, तर ती संस्थामा सार्वजनिक सेवाको संस्कार कति स्थापित गर्‍यौँ? यी प्रश्न महत्वपूर्ण छन्।पश्चिमी आधुनिक प्रशासनले हामीलाई संस्थागत क्षमता, वैज्ञानिक व्यवस्थापन, विधिको शासन, नागरिक अधिकार, पारदर्शिता, उत्तरदायित्व, दक्षता र प्रविधिको प्रयोगजस्ता महत्वपूर्ण कुरा सिकाएको छ। यी हाम्रो प्रशासनका लागि आवश्यक छन्। तर पूर्वीय दर्शनले हामीलाई कर्तव्य, सदाचार, आत्मसंयम, लोककल्याण, मानवीयता र नैतिक नेतृत्वको पक्ष सम्झाउँछ। त्यसैले मेरो दृष्टिमा नेपालको भविष्यको शासन प्रणाली “पूर्व वा पश्चिम” रोज्ने होइन, “पूर्व र पश्चिम”का उपयोगी पक्षको समन्वय गर्ने हुनुपर्छ।त्यसैले म नेपालको प्रशासनलाई “पश्चिमी दर्शनतर्फ गएको” भन्दा “पश्चिमी संस्थागत अभ्यासबाट बढी प्रभावित भएको, तर आफ्नो पूर्वीय ज्ञानपरम्परालाई पर्याप्त रूपमा आधुनिक शासनसँग जोड्न नसकेको” अवस्था भन्न रुचाउँछु।मेरो विचारमा अबको आवश्यकता पूर्वीय दर्शनमा फर्किने होइन, पूर्वीय ज्ञानलाई पुनः खोजेर आधुनिक लोकतान्त्रिक शासनसँग जोड्ने हो।

समृध्द र सुशासनयुक्त नेपालको यात्रा यी दर्शनहरुमा आधारित भएर कसरी अगाडी बढाउन सकिन्छ

समृद्ध र सुशासनयुक्त नेपाल निर्माणका लागि मेरो दृष्टिमा अब हामीले पूर्व र पश्चिममध्ये कुनै एउटालाई रोज्ने होइन, दुवैका उत्कृष्ट पक्षको सिर्जनात्मक समन्वय गर्नुपर्छ। पूर्वीय दर्शनले हामीलाई मूल्य, नैतिकता, कर्तव्य, आत्मअनुशासन र लोककल्याणको आधार दिन्छ भने पश्चिमी आधुनिक चिन्तनले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, संस्थागत क्षमता, वैज्ञानिक व्यवस्थापन र प्रविधिको आधार दिएको छ। यी दुवैलाई नेपालको आफ्नै सामाजिक, सांस्कृतिक र आर्थिक यथार्थसँग जोड्न सक्यौँ भने समृद्ध र सुशासनयुक्त नेपालको बलियो आधार तयार हुन्छ।सबैभन्दा पहिले शासनमा मूल्य र सदाचारको पुनर्स्थापना आवश्यक छ। सुशासन कानून र संस्थाले मात्र आउँदैन; शासन गर्ने र प्रशासन सञ्चालन गर्ने व्यक्तिको चरित्रले पनि निर्धारण गर्छ। कौटिल्यको कर्तव्यबोध, पूर्वीय दर्शनको आत्मसंयम र आधुनिक प्रशासनको व्यावसायिकता तथा उत्तरदायित्व लाई एकीकृत गर्नुपर्छ। सार्वजनिक पदलाई अधिकारको अवसरभन्दा जनसेवाको जिम्मेवारीका रूपमा बुझाउने संस्कार विकास गर्नुपर्छ। कानूनको शासन र संस्थागत सुशासनलाई बलियो बनाउनुपर्छ। व्यक्तिको इच्छाभन्दा प्रणाली बलियो हुनुपर्छ। नियुक्ति, सरुवा, पदोन्नति, सार्वजनिक खरिद, बजेट, राजस्व, सेवा प्रवाह र निर्णय प्रक्रियामा पारदर्शिता तथा पूर्वानुमानयोग्यता हुनुपर्छ। पूर्वीय दर्शनले दिने नैतिक अनुशासनलाई आधुनिक लोकतान्त्रिक संस्थागत नियन्त्रणसँग जोड्न सकियो भने “कानूनले रोक्ने” र “अन्तरात्माले रोक्ने” दुवै प्रकारको सुशासन निर्माण गर्न सकिन्छ।

आर्थिक समृद्धिलाई उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्छ। कौटिल्यले पनि राज्यको समृद्धिको आधार उत्पादन, कृषि, व्यापार, उद्योग र राजस्वलाई मानेका थिए। आज नेपालको प्राथमिकता पनि उत्पादन वृद्धि, रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, उद्यमशीलता, कृषि आधुनिकीकरण, पर्यटन, जलविद्युत्, सूचना प्रविधि र नवप्रवर्तनमा केन्द्रित हुनुपर्छ। राज्यले व्यवसाय आफैँ गर्नेभन्दा व्यवसाय गर्न सक्ने वातावरण निर्माण गर्ने भूमिका बलियो बनाउनुपर्छ।

राजस्व र सार्वजनिक वित्त व्यवस्थापनमा सदाचार तथा दक्षता आवश्यक छ। राज्य बलियो हुन स्वस्थ राजस्व प्रणाली आवश्यक हुन्छ। करको दायरा विस्तारसँगै कर प्रशासनमा पारदर्शिता, करदातामैत्री सेवा, चुहावट नियन्त्रण र डिजिटल प्रणाली विकास गर्नुपर्छ। सार्वजनिक खर्चलाई पनि परिणामसँग जोड्नुपर्छ कति पैसा खर्च भयो भन्नेभन्दा त्यसबाट नागरिकले के प्राप्त गरे भन्ने प्रश्न महत्वपूर्ण हुनुपर्छ।

शिक्षा र मानव पूँजीमा लगानीलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ। समृद्धि भौतिक पूर्वाधारबाट मात्र आउँदैन; ज्ञान, सीप, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताबाट आउँछ। विशेषगरी युवालाई केवल रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने शक्ति बनाउनुपर्छ। नेपालको ठूलो युवा जनसंख्यालाई सही ढंगले परिचालन गर्न सकियो भने यही जनसांख्यिक संरचना समृद्धिको ठूलो आधार बन्न सक्छ। समावेशी विकास र सामाजिक न्यायलाई विकासको केन्द्रमा राख्नुपर्छ। पूर्वीय दर्शनको लोककल्याण र आधुनिक लोकतन्त्रका अवधारणा दुवैलाई जोड्नुपर्छ। विकासको लाभ केही व्यक्ति वा क्षेत्रमा मात्र केन्द्रित नभई महिला, युवा, पिछडिएका समुदाय, ग्रामीण क्षेत्र र कमजोर वर्गसम्म पुग्नुपर्छ। समृद्धि केवल आर्थिक बृध्दिमात्र वृद्धि होइन; अवसरको न्यायोचित वितरण र जीवनको गुणस्तर सुधार पनि हो।

प्रशासनिक संस्कार परिवर्तन गर्नुपर्छ। फाइल, प्रक्रिया र नियन्त्रण केन्द्रित प्रशासनबाट परिणाम, सेवा र नागरिक केन्द्रित प्रशासनतर्फ जानुपर्छ। कर्मचारीलाई केवल आदेश पालना गर्ने संयन्त्रका रूपमा होइन, समस्या समाधान गर्ने व्यावसायिक जनशक्तिका रूपमा विकास गर्नुपर्छ। कार्यसम्पादनमा उत्कृष्टता, सिर्जनशीलता र उत्तरदायित्व लाई प्रोत्साहन गर्नुपर्छ। नेतृत्वको गुणस्तर सुधार अर्को निर्णायक पक्ष हो। असल प्रणालीलाई पनि खराब नेतृत्वले कमजोर बनाउन सक्छ र सीमित स्रोत भएको देशलाई पनि असल नेतृत्वले ठूलो उपलब्धि हासिल गराउन सक्छ। त्यसैले राजनीतिक र प्रशासनिक नेतृत्वमा दूरदृष्टि, नैतिकता, क्षमता, निर्णयक्षमता र सार्वजनिक उत्तरदायित्व आवश्यक छ। यसरी हेर्दा नेपालको समृद्धिको यात्रा केवल आर्थिक विकासको यात्रा होइन; यो संस्कार, संस्था, प्रणाली, अर्थतन्त्र र नेतृत्वको रूपान्तरणको यात्रा हो।

तपाइ अहिले पूर्वीय दर्शनको परिवेशमा समेत रहेर प्रशासन व्यवस्थापनका प्रशिक्षण र पिएचडि गर्नेहरुको शोध विशेषज्ञको रुपमा समेत काम गर्दै हुनुहुन्छ यसमा कस्तो अनुभूति भैरहेको छ ?

अहिले पूर्वीय दर्शनको परिवेशमा समेत रहेर प्रशासन तथा व्यवस्थापनका प्रशिक्षण सञ्चालन गर्ने र पिएचडि शोधार्थीहरूको शोध विशेषज्ञका रूपमा काम गर्ने अवसर पाउँदा मलाई अत्यन्तै सुखद र अर्थपूर्ण अनुभूति भइरहेको छ। यसलाई म आफ्नो लामो प्रशासनिक यात्राको एउटा स्वाभाविक र महत्वपूर्ण चरणका रूपमा लिन्छु। सरकारी सेवामा रहँदा मैले प्रशासनलाई काम गरेर सिकेँ। विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा काम गर्दा नीति निर्माण, कार्यान्वयन, प्रशासनिक सुधार, सार्वजनिक वित्त, राजस्व, सार्वजनिक खरिद र संस्थागत व्यवस्थापनका व्यावहारिक पक्षसँग नजिकबाट परिचित हुने अवसर पाएँ। अहिले प्रशिक्षण र अनुसन्धानमा संलग्न हुँदा मैले ती अनुभवलाई ज्ञानमा रूपान्तरण गर्ने र अर्को पुस्तासँग बाँड्ने अवसर पाइरहेको छु। यसले मलाई निकै सन्तुष्टि दिएको छ। विशेषगरी प्रशिक्षणमा एउटा कुरा मैले गहिरोसँग महसुस गरेको छु—आजका प्रशासक र व्यवस्थापकलाई केवल कानून, प्रक्रिया र प्रविधिको ज्ञान दिएर पुग्दैन। उनीहरूलाई निर्णय क्षमता, नेतृत्व, नैतिकता, सदाचार, सकारात्मक सोच, समस्या समाधान गर्ने क्षमता र सार्वजनिक उत्तरदायित्व पनि आवश्यक छ। यही ठाउँमा पूर्वीय दर्शनका मूल्यहरू अत्यन्त उपयोगी देखिन्छन्। पूर्वीय दर्शनमा रहेको कर्म, कर्तव्य, आत्मअनुशासन, सत्य, संयम, लोककल्याण र नैतिक नेतृत्वको अवधारणालाई आधुनिक प्रशासन र व्यवस्थापनसँग जोडेर प्रशिक्षण गर्दा सहभागीहरूमा पनि एउटा फरक प्रकारको जिज्ञासा देखिन्छ। मलाई लाग्छ, “के गर्ने?” मात्र सिकाउनु पर्याप्त हुँदैन; “किन गर्ने?” र “कुन मूल्यका आधारमा गर्ने?” भन्ने प्रश्न पनि सिकाउनुपर्छ।

पिएचडि शोधार्थीहरूसँग काम गर्दा मेरो अनुभूति अझ फरक हुन्छ। अनुसन्धान भनेको केवल तथ्य सङ्कलन र निष्कर्ष निकाल्ने प्रक्रिया होइन; यो प्रश्न गर्ने, प्रमाण खोज्ने, स्थापित मान्यतालाई परीक्षण गर्ने र नयाँ ज्ञान सिर्जना गर्ने बौद्धिक यात्रा हो। शोध विशेषज्ञका रूपमा काम गर्दा युवा अनुसन्धानकर्ताका जिज्ञासा, नयाँ दृष्टिकोण र अनुसन्धानप्रतिको उत्साह देख्दा आफू पनि निरन्तर सिकिरहनुपर्छ भन्ने प्रेरणा मिल्छ। मेरा लागि सबैभन्दा रोचक पक्ष भनेको पूर्वीय ज्ञान र आधुनिक अनुसन्धान पद्धतिबीचको संवाद हो। पूर्वीय दर्शनमा हजारौँ वर्षदेखि शासन, नैतिकता, नेतृत्व, समाज र मानव व्यवहारबारे गहिरो चिन्तन भएको छ। तर त्यसलाई आधुनिक अनुसन्धानको मापदण्डबाट पुनः अध्ययन गर्न आवश्यक छ। त्यसैले म पूर्वीय ज्ञानलाई अन्धरूपमा महिमामण्डित गर्ने पक्षमा पनि छैन र पश्चिमी ज्ञानलाई मात्र अन्तिम सत्य मान्ने पक्षमा पनि छैन। प्रमाण, तर्क र समकालीन आवश्यकताका आधारमा उपयोगी ज्ञानलाई पुनर्व्याख्या गर्नुपर्छ भन्ने मेरो मान्यता हो। यस यात्राले मलाई एउटा महत्वपूर्ण अनुभूति दिएको छ ज्ञानको सबैभन्दा ठूलो मूल्य त्यसलाई आफूभित्र राख्नुमा होइन, अरूसँग बाँड्नु र नयाँ ज्ञान सिर्जनाका लागि प्रेरित गर्नुमा रहेछ।