दामोदर रेग्मीका गीतहरू श्रुति मधुर र मिठासपूर्ण रहेका छन्- सरिता पराजुली, साहित्यकार

नागरिक पाना
२०८२ श्रावण १२, सोमबार १५:४८

प्रकृतिले सजिएको  श्रीनगर डाँडा र त्यसको काखमा रहेको तानसेन बजार आफैमा सुन्दर छ साथै फेदीमा रहेको माडी फाँटले पनि यसको सुन्दरतालाई अझै उजिल्याउने काम गरेको छ ।यही सुन्दर नगरीमा डा.दामोदर रेग्मीको जन्म भएको थियो।जीवनका केही सुन्दर पलहरू उनले यही बिताएका थिए। हामी दुईका बीच दिदी भाइको नाता छ ।साच्चैं भनौ भने हामी यौटै घर आँगनमा हुर्की बढेका हौं । हामी र हाम्रा दुई परिवारका बीचमा पहिलेदेखि नै गहिरो आत्मीयता रहिआएको छ ।जिज्ञासु र तर्कशील व्यक्तित्वका धनी दामोदर रेग्मी “हुने विरूवाको चिल्लो पात “भनेझैं सानैदेखि  पढ्नमा निकै रुचि राख्ने र अनुशासित पनि थिए।पारिवारिक वातावरण पनि अत्यन्त राम्रो थियो ।अहिले यो लेखिरहदा पनि मैले झोला बोकेर जोशी चौपारीको बाटो हुँदै सेन मा.वि.मा पढ्न जाने स्कुले ठिटोको रूपमा उनलाई सम्झी रहेकी छु ।

समय निकै अघि बढिसक्यो ।अहिले यिनी नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवका रूपमाकार्य गरी विभिन्न प्रशासकीय भूमिका निर्वाह गरेर अवकाश जीवन बिताइरहेका छन्। थुप्रै लेख रचनाहरू प्रकाशित गर्नुका साथै यिनका पुस्तकहरू पनि प्रकाशित छन् ।प्रशासनिक विधिसँग सम्बन्धित  यिनका रचनाहरू अत्यन्त उपयोगीरहेका छन्।सरल तथा मृदुभाषी दामोदरले स्कुले जीवनबाटै लेखन कार्य सुरू गरेका हुन् ।कविता, निबन्धजस्ता विधामा यिनको कलम पहिलेदेखि नै चलेको थियो।

अहिले पछिल्लो समयमा आएर भने यिनले आधुनिक गीतका प्रतिभाशाली गीतकारका रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन्।यिनका गीतमा आनन्द कार्की, छोइङ डोल्मा, मुरलीधर प्रताप दास, अन्नु चौधरी,सुरेश लामा, समीक्षा अधिकारी, दीपा लामा आदिले स्वर दिएका छन् ।वर्तमान पुस्ताका लागि प्रेरणादायी भूमिका निर्वाह भएको छ ।गीतका भावहरू अत्यन्त मार्मिक र हृदय स्पर्शी रहेका छन्।कहिले काहीँ यिनी भावुक पनि देखिन्छन् ।त्यही  भावुक व्यक्तित्व गीतकार दामोदरमा पनि देख्न पाइन्छ ।शब्द चयनमा यिनी निकै कुशल छन्। यिनका गीतहरू श्रुति मधुर र मिठासपूर्ण रहेका छन्।

अन्त्यमा परिश्रम र लगनशीलता नै यिनका जीवनका सफलताका सूत्र हुन् भन्ने मलाई लाग्दछ।साथै जीवनको सर्बोच्च शिखर चुम्न पनि यिनी सफल छन् ।अवकाश पूर्ण जीवन अत्यन्त सुखद र आनन्दमय होस् साथै नेपाली साहित्यको श्रीबृध्दिमा भाइको कलम यथावत्  चलिरहोस्।हामीले राम्रा राम्रा लेख रचनाका साथै कविता र गीतहरू पढ्न सुन्न पाइयोस् यही चाहनाका साथै  भाइको उत्तरोत्तर प्रगतिको कामना गर्दिछु।

(साहित्यकार सरिता पराजुलीको यो आलेख डा .दामोदर रेग्मीको गीतकारको कलम नामक इबुक बाट साभार गरिएको हो)