अन्तर्मनको शक्ति : जीवन परिवर्तनको अदृश्य शक्ति- कमल देव रेग्मी र डा. दामोदर रेग्मी

नागरिक पाना
२०८३ आश्विन ११, आईतवार १४:०८

विषय प्रवेश
मानिसको जीवनमा सबैभन्दा ठूलो शक्ति बाहिर होइन, आफै भित्र लुकेको हुन्छ। हामी प्रायः सफलता-असफलता, सुख-दुःख, जय-पराजय, आरोग्य-रोग, आपसी सम्बन्धमा मित्रता-शत्रुता आदिको कारण बाह्य परिस्थितिलाई मान्ने गर्छौं। तर मनोविज्ञान, आध्यात्मिक विज्ञान तथा जीवनका अनुभवहरूले देखाएका छन् कि हाम्रो जीवनको ठूलो हिस्सा हाम्रो अन्तर्मन (Subconscious Mind) अर्थात् भित्री मन (Inner Mind) द्वारा सञ्चालित हुन्छ।
मानव मस्तिष्कलाई एउटा विशाल हिमशैल (Iceberg) सँग तुलना गरिन्छ। समुद्रको सतहभन्दा माथि देखिने सानो भाग चेतन मन (Conscious Mind) हो भने पानीमुनि रहेको विशाल भाग अन्तर्मन (Sub conscious mind) हो। मनोवैज्ञानिकहरूद्वारा गरिएको खोज र प्रयोग अनुसार हाम्रो दैनिक व्यवहार, बानी, भावना र निर्णयको धेरै हिस्सा अन्तर्मनबाट प्रभावित हुन्छ।
यदि अन्तर्मनमा सकारात्मक विचार, विश्वास र संस्कार छन् भने जीवन उज्यालो बन्छ। यदि अन्तर्मनमा डर, शंका, नकारात्मक धारणा र हीनभावना भरिएको छ भने बाहिरी प्रयासले मात्र दीर्घकालीन परिवर्तन ल्याउन कठिन हुन्छ। त्यसैले अन्तर्मनलाई बुझ्नु र सकारात्मक बनाउनु नै सफल जीवनको आधार हो।

अन्तर्मन भनेको के हो?
अन्तर्मन हाम्रो मस्तिष्कको त्यो भाग हो जसले चौबीसै घण्टा काम गरिरहेको हुन्छ। हामी सुत्दा पनि यो सक्रिय रहन्छ। यसले श्वासप्रश्वास, मुटुको धड्कन, शरीरका विभिन्न जैविक प्रक्रियादेखि लिएर हाम्रो स्मृति, भावना, बानी र विश्वासलाई सञ्चालित गरिरहेको हुन्छ।चेतन मनले तर्क गर्छ, विश्लेषण गर्छ र निर्णय लिन्छ। तर अन्तर्मनले तर्क गर्दैन। यसले जुन कुरा बारम्बार सुन्यो, देख्यो वा विश्वास गर्यो, त्यसलाई सत्य मानेर स्वीकार गर्छ।उदाहरणका लागि, यदि कुनै व्यक्तिले बारम्बार “म असफल हुन्छु” भन्ने सोच राख्छ भने अन्तर्मनले त्यसलाई सत्य मानेर त्यहीअनुसार व्यवहार गर्न थाल्छ। त्यसैगरी “म सक्षम छु”, “म सफल हुनेछु” भन्ने सकारात्मक विश्वासले पनि अन्तर्मनलाई त्यस दिशामा सक्रिय बनाउँछ।

अन्तर्मन कसरी निर्माण हुन्छ?
जन्मँदा बच्चाको अन्तर्मन केही मात्रामा पूर्वजन्मको संस्कारबाट प्रभावित भएपनि धेरै हदसम्म  खाली कागज जस्तै हुन्छ। परिवार, समाज, विद्यालय, साथीभाइ, वातावरण, अनुभव र शिक्षाबाट प्राप्त हुने सबै जानकारी विस्तारै अन्तर्मनमा संस्कारका रूपमा सङ्ग्रह हुन्छन्। बाल्यकालमा धेरै पटक सुनिएका वाक्यहरू अन्तर्मनमा गहिरो छापका रूपमा बस्छन्। जस्तै— “तिमी निकै बुद्धिमान छौ” अथवा “तिमी केही गर्न सक्दैनौ” “संसार राम्रो छ” अथवा “मानिसहरू विश्वास गर्न लायक छैनन्” । यी वाक्यहरू भविष्यमा व्यक्तिको सोच र व्यवहारको आधार बन्न सक्छन्।

अन्तर्मनको कार्यप्रणाली
अन्तर्मनले मुख्य रूपमा पाँच कार्य गर्दछ।
(क) स्मृति सुरक्षित राख्ने
बाल्यकालदेखि अहिलेसम्मका धेरै अनुभव अन्तर्मनमा सुरक्षित रहन्छन्।
(ख)  बानी निर्माण गर्ने
साइकल चलाउने, गाडी चलाउने, लेख्ने, पढ्ने जस्ता सीप अन्तर्मनमा स्थापित भएपछि सजिलै गर्न सकिन्छ।
(ग)  भावनालाई नियन्त्रण गर्ने
डर, खुशी, दुःख, रिस, प्रेम, आत्मविश्वासजस्ता भावनामा अन्तर्मनको ठूलो प्रभाव हुन्छ।
(घ) शरीरलाई सञ्चालन गर्ने
श्वासप्रश्वास, रक्तसञ्चार, पाचन प्रक्रिया आदि अन्तर्मनकै नियन्त्रणमा हुन्छन्।
(ङ) विश्वासअनुसार जीवन निर्माण गर्ने
हामीले आफूलाई जस्तो ठान्छौं, अन्तर्मनले त्यसैअनुसार जीवन निर्माण गर्न सहयोग गर्छ।

सकारात्मक चिन्तन र अन्तर्मन
सकारात्मक चिन्तन भनेको समस्यालाई नदेख्ने होइन, समाधान खोज्ने दृष्टिकोण हो। यदि कुनै व्यक्तिले प्रत्येक दिन सकारात्मक विचार दोहोर्याउँछ भने विस्तारै अन्तर्मनमा नयाँ संस्कार बन्न थाल्छ। उदाहरण स्वरुप “म स्वस्थ छु”, “म शान्त छु”, “म आत्मविश्वासी छु”, “म सफल बन्नको लागि जन्मेको व्यक्ति  हुँ”, “सफलता मेरो जन्मसिद्ध अधिकार हो”, “भगवान् मेरो साथमा हुनुहुन्छ” आदि सकारात्मक विचारले मनमा आशा, उत्साह र साहस बढाउँछन्। यसको विपरीत नकारात्मक चिन्तनले अन्तर्मनमा डर, चिन्ता, तनाव र निराशा बढाउँछ। बारम्बार नकारात्मक चिन्तन गर्ने व्यक्तिले आफूलाई कमजोर ठान्छ, अवसर गुमाउँछ, निर्णय लिन डराउँछ, सम्बन्ध बिगार्छ, शारीरिक तथा मानसिक स्थितिलाई कमजोर बनाउँछ । यसप्रकार नकारात्मक चिन्तनले जीवनको गुणस्तर घटाउँदै लैजान्छ।

अन्तर्मनलाई परिवर्तन गर्ने उपायहरू
(क) सकारात्मक पुष्टि (Affirmation)
हरेक बिहान र राति सकारात्मक वाक्य दोहोर्याउनु। जस्तै— “म शान्तस्वरुप आत्मा हुँ”, “दिन प्रतिदिन मेरो जीवन सफल बन्दै गइरहेको छ”, “म स्वस्थ र ऊर्जावान छु”, “म सबैलाई सम्मान गर्छु”, “म भगवानको सन्तान हुँ”,  “म भगवानको छत्रछायामा छु” “म सफलता प्राप्तिको अधिकारी हुं” “असफलता वा व्यवधानहरु क्षणिक हुन् तिनलाई परास्त गर्न म सफल हुन्छु”  आदि।
(ख) ध्यान (Meditation)
ध्यानले चेतन मनलाई शान्त बनाएर अन्तर्मनमा सकारात्मक ऊर्जा पुर्‍याउँछ।
विशेष गरी राजयोग ध्यानले आत्मचेतनालाई जागृत गरेर शान्ति, शक्ति, प्रेम जस्ता दिव्यगुणको बिकासमा सहयोग गर्छ।
(ग) दृष्यकरण (Visualization)
आफूले चाहेको सफल अवस्थालाई स्पष्ट रूपमा कल्पना गर्नु। जस्तै— आफू स्वस्थ भएको, सफल भाषण दिएको, परीक्षामा उत्कृष्ट अंक ल्याएको,
परिवारमा खुशीयाली छाएको आदि। अन्तर्मनले कल्पना र वास्तविकता बीचको भिन्नता धेरै हदसम्म छुट्याउन सक्दैन। त्यसैले सकारात्मक कल्पनाले सकारात्मक प्रभाव पार्छ।
(घ) राम्रो सङ्गत
सकारात्मक व्यक्तिसँगको सङ्गतले अन्तर्मनमा राम्रो संस्कार निर्माण गर्छ।
(ङ) राम्रो साहित्य अध्ययन
प्रेरणादायी पुस्तक, आध्यात्मिक साहित्य र महान् व्यक्तिहरूको जीवनी पढ्दा अन्तर्मन सकारात्मक बन्छ।

अन्तर्मन र स्वास्थ्य
चिकित्सा विज्ञानले पनि मानसिक अवस्थाको  स्वास्थ्यमा गम्भीर प्रभाव  पर्ने कुरालाई स्वीकार गरेको छ। सकारात्मक सोच भएका व्यक्तिमा तनाव कम हुने, रोगसँग लड्ने क्षमता बढ्ने, निद्रा राम्रो हुने, रक्तचाप नियन्त्रणमा रहने आदि राम्रो स्वास्थ्यका लक्षणहरु पाइन्छन् । यसको बिपरित चिन्ता र तनावले धेरै शारीरिक समस्यालाई बढाउने कुरा पनि अनुसन्धानबाट पुष्टि भएको छ।

अन्तर्मन र सफलता
सफल व्यक्तिहरूमा एउटा समान गुण पाइन्छ—उनीहरू पहिले आफ्नो मनमा सफलता देख्छन् अनि व्यवहारमा उतार्छन्। थोमस एडिसन, अब्राहम लिंकन, स्वामी विवेकानन्द, ए. पी. जे. अब्दुल कलाम लगायतका धेरै महान् व्यक्तित्वहरूले कठिन परिस्थितिमा पनि सकारात्मक विश्वास कायम राख्दै सफलताको शिखरमा पुगेको कुरा इतिहासमा अंकित छ त्यसको हामी साक्षी पनि छौं।

आध्यात्मिक दृष्टिकोण
आध्यात्मिक दर्शनअनुसार मानिस शरीर होइन, एक चेतन आत्मा हो। आत्माको मूल गुणहरू हुन्— शान्ति, प्रेम, आनन्द, शक्ति, पवित्रता, ज्ञान, सुख। जब हामी शरीरभन्दा आत्मालाई सम्झन्छौं, अन्तर्मनमा सकारात्मक ऊर्जा भरिन थाल्छ।
परमात्माको स्मृति, ध्यान, प्रार्थना र सकारात्मक संकल्पले अन्तर्मनलाई अझ शक्तिशाली बनाउँछ।

दैनिक जीवनमा अन्तर्मनको प्रयोग
हरेक दिन केही समय आफ्नो अन्तर्मनलाई सकारात्मक बनाउने अभ्यास गर्नुपर्छ।बिहान उठ्नेबित्तिकै पाँच मिनेट सकारात्मक सोच, दिनभर सकारात्मक भाषा प्रयोग, रिस उठ्दा केही समय मौन बस्ने, राति सुत्नुअघि दिनभरका राम्रा काम सम्झने, सवै प्रति कृतज्ञता व्यक्त गर्ने आदि कार्यद्वारा  बिस्तारै अन्तर्मनलाई सकारात्मक  परिवर्तन तर्फ उन्मुख गराउन सकिन्छ।

अन्तर्मनलाई शक्तिशाली र कमजोर बनाउने बानीहरू
नियमित ध्यान, सकारात्मक सोच, राम्रो सङ्गीत, प्रेरणादायी पुस्तक अध्ययन, सेवा भावना, क्षमाभाव, कृतज्ञता, आत्मअनुशासन, नियमित व्यायाम जस्ता बानीले अन्तर्मनलाई शक्तिशाली बनाउन सहयोग पुर्याउछन् भने चिन्ता, क्रोध, ईर्ष्या, घृणा, गुनासो, आत्महीनता, नकारात्मक समाचारमा अत्यधिक ध्यान, खराब सङ्गत, अस्वस्थ जीवनशैली आदिले अन्तर्मनलाई कमजोर बनाउँछन्।

अन्तर्मन र राजयोग
राजयोग ध्यानले अन्तर्मनलाई शुद्ध र शक्तिशाली बनाउने सरल विधि प्रस्तुत गर्दछ। राजयोगले “म यो शरीर होइन”,  “शान्त, पवित्र र शक्तिशाली आत्मा हुँ”, “सर्वशक्तिमान परमपिता परमात्माको प्रिय सन्तान हुँ “, ” सर्वशक्तिमान परमात्माको सन्तान मास्टर सर्वशक्तिमान हुँ ” भन्ने कुरालाई अन्तर्मनको गहिराई सम्म पुर्याउने कार्य गर्दछ। जब आत्माले परमात्मासँग मानसिक सम्बन्ध जोड्छ, तब मनमा शान्ति, प्रेम, शक्ति र आनन्दको अनुभूति बढ्दै जान्छ। परिणामस्वरूप नकारात्मक संस्कार क्रमशः कमजोर  र सकारात्मक संस्कार बलियो हुँदै जान्छ।

उपसंहार
अन्तर्मन मानव जीवनको सबैभन्दा ठूलो अदृश्य शक्ति हो। हाम्रो सोच, विश्वास, बानी, व्यवहार, स्वास्थ्य, सम्बन्ध र सफलताको आधार अन्तर्मनमै रहेको हुन्छ। त्यसैले बाहिरी परिस्थितिलाई मात्र परिवर्तन गर्ने प्रयासभन्दा पहिले आफ्ना विचार, विश्वास र संस्कारलाई सकारात्मक बनाउनु आवश्यक छ। सकारात्मक सोच, ध्यान, आत्मचिन्तन, राम्रो सङ्गत, प्रेरणादायी अध्ययन तथा परमात्माको स्मृतिको अभ्यासले अन्तर्मनलाई शुद्ध, शक्तिशाली र उज्यालो बनाउन सकिन्छ। अन्तर्मन परिवर्तन भयो भने व्यवहार परिवर्तन हुन्छ; व्यवहार परिवर्तन भयो भने व्यक्तित्व परिवर्तन हुन्छ; व्यक्तित्व परिवर्तन भयो भने जीवन परिवर्तन हुन्छ। मानिसको वास्तविक शक्ति धन, पद वा बाहिरी साधनमा होइन, आफ्नै अन्तर्मनमा लुकेको हुन्छ। जसले अन्तर्मनलाई जित्न सक्छ, उसले जीवनलाई पनि जित्न सक्छ। मानिसको वास्तविक विजय बाहिरी संसारमाथि प्रभुत्व जमाउनुमा होइन, आफ्नै अन्तर्मनमाथि विजय प्राप्त गर्नुमा निहित हुन्छ। परिस्थितिले हामीलाई चुनौती दिइरहन सक्दछ, असफलताले रोक्न सक्दछ, आलोचनाले विचलित बनाउन सक्छ र कठिनाइले हाम्रो बाटो छेक्न सक्छ; तर दृढ विश्वास, सकारात्मक सोच र आत्मअनुशासनले अन्तर्मनलाई शक्तिशाली बनाउन सकेमा कुनै पनि चुनौती स्थायी बनिरहन रहँदैन। जसले आफ्नो डरलाई साहसमा, निराशालाई आशामा, कमजोरीलाई शक्तिमा र नकारात्मक सोचलाई सकारात्मक संकल्पमा रूपान्तरण गर्न सक्छ, उसले आफ्नो जीवनको दिशालाई सकारात्मक क्षणहरुमा परिवर्तन गर्न सक्छ। बाहिरी संसार बदलिनुअघि हाम्रो भित्री संसार बदलिनुपर्छ, किनकि विचारले विश्वास जन्माउँछ, विश्वासले व्यवहार निर्माण गर्छ, व्यवहारले व्यक्तित्व बनाउँछ र व्यक्तित्वले जीवनको गन्तव्य निर्धारण गर्छ। त्यसैले हामीले आफ्नो अन्तर्मनमा निराशाका होइन, सम्भावनाका बीउ रोपौँ; भयका होइन, विश्वासका स्वर सुनौँ र सुनाऔं; असफलताका होइन, सिकाइका कथा सम्झौँ; र आफूभित्र निहित शान्ति, शक्ति, प्रेम, पवित्रता र आत्मविश्वासलाई जागृत गरौँ। जसले आफ्नो अन्तर्मनलाई जित्न सक्छ, उसले परिस्थितिको दास भएर होइन, आफ्नो जीवनको शिल्पकार भएर बाँच्न सक्छ। अन्तर्मनको विजय नै आत्मविजय हो, आत्मविजय नै व्यक्तित्वको विजय हो र व्यक्तित्वको विजय नै जीवनको वास्तविक विजय हो।