आक्रोशित मिटरब्याज पीडितहरू: सरकारको उदासीनताविरुद्ध जनकपुरधाम बाट चौथो चरणको आन्दोलन घोषणा



जनकपुरधाम, माघ १४ – मिटरब्याजको चपेटामा परेका हजारौं किसान र मजदुरहरूले सरकारको उदासीनता र वचनविपरीतको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै चौथो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। “मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपाल” का अध्यक्ष अवधेश कुशवाहाले जनकपुरधामबाट जनजागरण अभियान सुरु गर्दै देशव्यापी संघर्षलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका छन्।

 

देशभरिबाट ६० हजारभन्दा बढी पीडितहरूले मिटरब्याजको समस्यासम्बन्धी निवेदन दिए पनि १० प्रतिशत मुद्दासमेत समाधान नगरेकोमा पीडितहरूको आक्रोश थपिएको छ। सरकारसँग तीन चरणका वार्ताहरू भए पनि कुनै सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन समिति सरकारविरुद्ध कठोर कदम चाल्ने तयारीमा जुटेको छ।

 

“मिटरब्याज पीडितहरूको समस्या राज्यको प्राथमिकतामा पर्न सकेको छैन। अबको आन्दोलन झन् सशक्त र प्रभावकारी हुनेछ,” अध्यक्ष कुशवाहाले चेतावनी दिएका छन्। जनजागरण अभियानमार्फत आर्थिक शोषणको वास्तविकता उजागर गर्दै राज्यलाई दवाव दिने रणनीति अख्तियार गरिएको छ।

 

अभियानको क्रममा जनकपुरधाम लगायतका स्थानमा पीडितहरूको दयनीय अवस्था र आर्थिक शोषणको यथार्थलाई आमजनसमक्ष प्रस्तुत गरिनेछ। स्थानीय समुदायलाई संगठित गर्दै आन्दोलनलाई व्यापक बनाउने योजना आन्दोलन समितिले बनाएको छ।

 

सरकारले समस्या समाधानमा तत्परता नदेखाए अझ कठोर आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनीसहित कुशवाहाले भने, “यो संघर्षले पीडितहरूको न्याय सुनिश्चित गर्दै सरकारलाई निर्णयात्मक कदम चाल्न बाध्य पार्नेछ।”

 

मिटरब्याज पीडितहरूको आवाज दबाउन खोज्ने सरकारी प्रवृत्ति प्रति तीव्र असन्तोष जनाउँदै आन्दोलन समितिले आगामी दिनहरूमा सशक्त जनसहभागिताका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। “अबको आन्दोलन निर्णायक हुनेछ,” कुशवाहाको आक्रोशपूर्ण भनाइले आन्दोलनको गम्भीरता झल्काएको छ।

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको