सर्लाही, २०८१ माघ १८ – त्रिभुवन विश्वविद्यालयले यही चैत्र ५ गते स्ववियु चुनावको मिति घोषणा गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ (लोविस) ले संगठन विस्तारलाई तीव्रता दिएको छ।
यसै सन्दर्भमा सर्लाही क्याम्पसमा इकाई कमिटी गठन गर्दै ४३ सदस्य पूर्ण इकाई कमिटी गठन गरिएको छ। बैठकको अध्यक्षता इकाई कमिटी अध्यक्ष रोहित कुमार महतोले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित लोकतान्त्रिक विद्यार्थी संघका जिल्ला अध्यक्ष आकाश कुमार यादवले विद्यार्थी संगठनको भूमिकाको महत्वलाई प्रस्ट्याउँदै नवगठित इकाई कमिटीलाई आगामी स्ववियु चुनावमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिनुभयो।
केन्द्रिय महासचिव सुमन यादवले उक्त अवसरमा लोविसको संगठन विस्तार अभियानलाई सफलताको दिशामा एक महत्वपूर्ण कदमको रूपमा टिप्पणी गर्नुभयो। उहाँले स्ववियु चुनावलाई विद्यार्थीहरूको हकहितको लागि लोकतान्त्रिक शक्ति सुदृढ गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा राख्नुभयो।


