
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सरकार फास्ट ट्रयाक प्रक्रियाबाट अघि बढाउने तयारीमा रहेको छ। यस क्रममा संसदीय विषयगत समितिमा दफावार छलफल नगराई प्रतिनिधि सभाबाटै पारित गराउने योजना बनाइएको छ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयकमाथि सदनमै दफावार छलफल गर्न प्रस्ताव पेश गर्नेछन्। साथै, विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
संसदमा विधेयक पारित गर्ने दुई विधि छन्— पहिलो, सभामै छलफल गरेर पारित गर्ने (फास्ट ट्रयाक विधि) र दोस्रो, संसदीय समितिमा पठाएर सरोकारवालासँग छलफल गरी अन्तिम प्रतिवेदनका आधारमा पारित गर्ने। फास्ट ट्रयाक प्रक्रियाले विधेयक छिटो पारित भए पनि सांसदहरूलाई विस्तृत छलफल गर्ने अवसर कम प्राप्त हुने आलोचना हुँदै आएको छ।
सरकारले १५ माघ २०८१ मा नागरिकता संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको थियो। अब यसलाई आजै सदनबाट पारित गर्ने तयारी भइरहेको छ। साथै, गृहमन्त्री लेखकले आजकै बैठकमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।