
काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषिसम्म पुग्ने गरी गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ड्राइभर र भरिया पक्राउ गर्ने तर तस्करीका मुख्य नाइकेहरूलाई उन्मुक्ति दिने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले भने, “नेपाल सरकारले सिन्धुपाल्चोकका कुसान लामा नामक ड्राइभरको ट्रकबाट २५ करोड नेपाली रुपैयाँ बराबरको युरो र डलर बरामद गरेकोमा धन्यवाद। तर, हिजो सुन तस्करीमा जस्तै साना भरिया मात्रै पक्राउ गरेर मालिकसम्म नपुग्ने पुरानै प्रवृत्ति दोहोरिनुहुँदैन।”
सांसद खतिवडाले सरकारलाई गहिरो अनुसन्धान गर्दै तस्करीका मुख्य योजनाकारसम्म पुग्न र दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरे।
त्यस्तै, कांग्रेस सांसद रोशन कार्कीले नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बन्दै गएको आरोप लगाउँदै प्रश्न गरिन्, “नेपाल भ्रष्टाचारका नयाँ कीर्तिमान बनाउँदै छ? जनताको सहनशीलताको धेरै परीक्षा लिइरहे सरकारलाई अप्ठ्यारो पर्न सक्छ।”
गएको मंगलबार प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोड बराबरको अवैध विदेशी मुद्रा बरामद गर्दै सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको थियो। यस घटनामा संलग्न मुख्य नाइकेहरू पक्राउ गर्न सांसदहरूले सरकारलाई दवाब दिएका छन्।