
काठमाण्डू, ६ चैत – संघीय संसद सचिवालयले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम मुद्दा दायर भएकाले प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन भएको जनाएको छ।
संसद सचिवालयले हालै प्रकाशित संसद दर्पण पत्रिकाको ३६औं अंकमा लामिछानेको निलम्बनबारे जानकारी दिएको हो। लामिछानेमाथि सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ्ग), सहकारी ठगी, तथा संगठित अपराध सम्बन्धी अभियोग दर्ता भएपछि सभामुख देवराज घिमिरेले गत ८ पुसमा उनको सांसद पद निलम्बन गर्ने निर्णय गरेका थिए।
०८१ कात्तिक ३ गते कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम लामिछाने फौजदारी कसुर अनुसन्धान का लागि पक्राउ परेका थिए। त्यसपछि प्रहरीले सभामुखलाई जानकारी गराएपछि संसद सचिवालयले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ अनुसार सूचना प्रकाशित गरेको हो।
कानुनी आधार:
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २२ अनुसार मुद्दा दायर भएका व्यक्तिको हकमा दफा २७ को व्यवस्था लागू हुने भएकाले सभामुखको निर्देशनअनुसार सूचना प्रकाशन गरिएको जनाइएको छ। ऐनअनुसार थुनामा रहेसम्म र मुद्दाको किनारा नभएसम्म कुनै पनि पदाधिकारी, राष्ट्र सेवक वा सांसद स्वतः निलम्बित हुने कानुनी व्यवस्था छ।
लामिछानेविरुद्ध मुद्दा चलिरहेको अवस्थामा अब संसद सचिवालयको निर्णयपछि उनले सांसदका रूपमा कार्य गर्न नपाउने भएका छन्।