
आज असार ४ गते, २०८२, सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक दिन बन्न पुगेको छ। संघीय संसद्बाट पारित भइसकेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकलाई आज सम्माननीय राष्ट्रपति ज्युबाट प्रमाणीकरण गरिएको छ।
यस विधेयक प्रमाणीकरणसँगै सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गेटामा अब स्वास्थ्य क्षेत्रसम्बन्धी पहिलो विश्वविद्यालयको स्थापना हुने पक्का भएको छ।
गृहमन्त्री रमेश लेखकले आफ्नो सामाजिक सञ्जालमार्फत यो समाचार सार्वजनिक गर्दै भनेका छन् — “सुदूरपश्चिमकालागि यो ठूलो उपलब्धिको विषय हो।” साथै उनले यो विश्वविद्यालय स्थापनाका लागि प्रयत्न, सहयोग र सहजीकरण गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै सुदूरपश्चिमवासी सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
शहीद दशरथ चन्दको नाममा स्थापना हुन लागेको यस विश्वविद्यालयले सुदूरपश्चिमका युवायुवतीलाई गुणस्तरीय स्वास्थ्य शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। साथै यसले क्षेत्रीय असन्तुलन हटाउन, स्वास्थ्य सेवामा सुधार ल्याउन र स्वदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णयलाई प्रदेशका विभिन्न तहका राजनीतिक दल, समाजसेवी, विद्यार्थी तथा नागरिक समाजले स्वागतयोग्य र दूरदर्शी कदमका रूपमा लिएका छन्।
यो विश्वविद्यालय सुदूरपश्चिम प्रदेशको शैक्षिक तथा स्वास्थ्य क्षेत्रको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।