डा. दामोदर रेग्मी एक कुशल लेखक र अध्येताको परिचय स्थापित गर्न सफल हुनु भएको छ
-रामबाबु नेपाल
प्रतिभा तिमीलाई इश्वरको उपहार हो । यसको उपयोग कुन किसिमबाट गर्छौ त्यो इश्वरको लागि तिम्रो उपहार हुनेछ ।
लियो बुस्काग्लिया (सन् १९ २४–१९९८) – अमेरिकी लेखक तथा प्रेरणा वक्ता
हामीले धेरको संगत गर्छौं उनीहरूको व्यवहार कर्म र त्यसको नतीजा देख्छौं बारे सुन्छौं । त्यसमध्ये केहीको व्यवहार, कर्मको विविधता र त्यसको नतीजा (प्रतिफल) ले हामीलाई सन्तोषको अनुभूति र उनी प्रति आकर्षित गराउँछ । त्यस्ता केही व्यक्तिमा डा. दामोदर रेग्मीको नाम आउँछ मेरो लागि ।
दामोदरज्यूलाई मैले चिनेको ५० बर्ष भन्दा बढी उहाँले हाइस्कूलमा पढ्दा देखि नै हो । उहाँका पिताजी श्री गणेश रेग्मीज्यू तानसेनमा एक अत्यन्त सरल, विनम्र कर्मचारीको रुपमा परिचित हुनु हुन्थ्यो । उहाँका दाजु कमलदेव रेग्मी मेरा समकालीन हुनु हुन्छ । हामी दुइ अलग विद्यालयमा थियौं तर आपसी सम्बन्ध सुमधुर थियो । दामोदरज्यूले नेपालको निजामती सेवामा प्रवेश गर्नु भए देखि आफ्नो बहुमुखी व्यक्तित्व देखाउंदै आउनु भएको छ । उहाँले आफ्नो पदीय जिम्मेवारी दक्षतापूर्वक निर्वाह गर्नुका साथै लेख रचना लेख्नुका साथै प्रशिक्षणको माध्यमबाट ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्दै आउनु भएको छ । दामोदरज्यू लेख रचना र प्रशिक्षणको माध्यमबाट एक कुशल लेखक र अध्येताको परिचय स्थापित गर्न सफल हुनु भएको छ । संगीतको क्षेत्रमा समेत पाइला चालेर छोटो अवधिमै उल्लेख्य सिर्जना सार्वजनिक गर्नु भएकोमा उहाँको रुचि र क्षमताको विविधता देखेर निकै खुसी लागेको छ ।
त्यसैले माथि भनिए झैं आफुलाई प्राप्त क्षमता, कडा मेहनत र निरन्तरको लगनले विकसित गर्नु भएको प्रतिभाको उच्चतम उपयोग गरेर समाजलाई सारगर्भित उपहार दिई रहनु भएको मैले ठानेको छु । आउँदा बर्षहरूमा उहाँको क्षमतामा निरन्तर वृद्धि र विस्तार हुँदै जाओस र समाज लाभान्वित हुन् सकोस भनि शुभकामना दिन चाहन्छु ।
डा. दामोदर रेग्मी सुन्दर शब्द रचनामा चर्चित गायक गायिकाहरुको साथमा सदाबहार गीतहरुका सर्जक
–कृष्ण नेपाल प्रितम (प्रितम नेपाल)
डा. दामोदर रेग्मी सेवा निवृत नहुदाँ सम्म एक कुशल प्रशासकको रुपमा हुनुहुन्थ्यो यस्को साथै उहाँले सार्वजनिक प्रशासन, वित्तीय व्यवस्था, सार्वजनिक लेखा , सार्वजनिक खरिद अनुगमन, आदि विषयको अतिरिक्त साहित्य विधामा कलम चलाईरहनुहुन्छ । उहाँका थुप्रै लेख रचना तथा पुस्तक प्रकाशनको साथै उहाँकै सुन्दर शब्द रचनामा चर्चित गायक गायिकाहरुले गीतहरु सार्वजनिक भैसकेका छन् !
उहाँको गितमा मिठास, प्रेम प्रस्ताव, बिछोड पछि मिलनका भावहरु प्रस्तुत हुँदा स्वभावैले उहाँ सकारात्मक व्यक्तित्व हुनुहुन्छ ।
उहाँ संगै म पनि पाल्पा तानसेनबासी हालको तानसेन वडा नं ७ भएको कारण उहाँलाई म दाजु भनेर सम्बोधन गर्छु भने उहाँ लगायत उहाँको परिवारलाई समेत जान्दछु! उहाँको जन्म तानसेन जैसी चौपारीमा एक राष्ट्रसेवक खरिदार बुवाको घरमा भएको र उहाँको दाजुभाइहरु समेत राष्ट्रसेवकको रुपमा उच्च ओहदामा हुनुहुन्छ । उहाँव्दारा रचित गीतहरुमा सामाजिक संजालमा भएपनी अभिनय गरेको छु। उहाँको प्रायजसो गितले प्रेमको उत्कृष्ट उपमा दिएको पाउँछु।
एक गीतकारको रुपमा समेत परिचित हुनुभएका दामोदर दाजुको गीतहरु सदाबहार रहोस भन्ने शुभकामना सहित अझै उत्कृष्ट गीतहरु रचना गर्ने उत्साह र प्रेरणा मिलोस् हार्दिक शुभकामना दिनचाहन्छु!
(गीतकारको कलम इबुकबाट साभार)

