डा. दामोदर रेग्मी ओजिला शव्दलेयुक्त गीतकार – भरत प्रसाद बांस्कोटा

नागरिक पाना
२०८२ भाद्र १४, शनिबार १४:५१

नेपाल सरकारका पूर्ब सचिव, सार्वजनिक ब्यबस्थापन बिषयमा उच्च स्थान राख्नु हुने र बिगतको केहि बर्ष यता समसामयिक गीत रचना गर्ने ब्यक्तित्वहरु मध्ये एक अग्रणी ब्यक्तित्वको रूपमा आफूलाई नेपाली समाजमा चिनाउन सफल हुनु भएका डा. दामोदर रेग्मीको बारेमा “गीतकारको कलम” नामक E Book प्रकाशन हुन लागेको खबर पाउंदा मलाई धेरै खुशी लागेको छ ।

डा. रेग्मीसंगको मेरो चिनजान २७ बर्ष पुरानो हो । बि. स. २०५५ सालमा म तत्कालीन बाणिज्य मन्त्रालयमा शाखा अधिकृतको रूपमा कार्यरत थिएं । त्यसबेला लोक सेवा आयोगबाट खुला परीक्षा पास गरी सामान्य प्रशासन मन्त्रालयको सिफरिशमा डा. दामोदर रेग्मी सहित ३ जना अधिकृतहरू बाणिज्य मन्त्रालयमा आउनु भयो । म २ बर्ष अगाडी देखिनै सो मन्त्रालयमा काम गरिरहेको अधिकृत भएको नाताले प्रशासन महाशाखा प्रमुखले मलाई बोलाई ३ जना नयाँ आउनु भएका अधिकृतहरुलाई मन्त्रालय भित्रका सबै शाखाहरुमा घुमाएर मन्त्रालयको कामहरुको बारेमा समान्य जानकारी गराइ दिन अनुरोध गर्नु भयो ।

मैले सहसचिबको आदेश बमोजिम आफ्नो काम पुरा गरे । मन्त्रालय घुमाउने क्रममा त्यसबेला नै मैले डा. रेग्मीसंग अरु दुई अधिकृतहरु भन्दा अलि फरक गुण पाएको थिएं । उहांमा धेरै सुन्ने र कम बोल्ने गुण त्यो बेलामा नै प्रष्ट थियो । र उहांले बोल्ने कुराहरु पनि ओजिलो देखिन्थ्यो । एउटै मन्त्रालयमा बसेर काम गर्दा उहांको काम गर्ने शैली र टिम वर्कमा उहांको योगदानलाई अहिले सम्झदा हुने बिरुवाको चिल्लो पात भन्ने बुढा पाकाको उखान झुटो होइन रहेछ भन्ने मलाई लाग्छ । लामो समयसम्म बणिज्य मन्त्रालयको बिश्व ब्यापार सङ्ठन महाशाखाको शाखा अधिकृतको रूपमा डा. रेग्मीले काम गर्नु हुन्थ्यो भने म शार्क क्षेत्रको ब्यापार शाखाको अधिकृतको रूपमा काम गर्थे । हामीहरु बीच धेरै नै सहकार्य हुन्थ्यो । नेपालको तत्कालिन प्रशासन संस्कारमा ५ मिनेट ढिलोसम्म अफिसमा हाजिर हुनेलाई सामान्य रुपमा लिने चलन थियो तर डा. रेग्मीको स्वभाब संधै ५ मिनेट अगाडिनै कार्यालय पुग्ने थियो । केहि बर्ष पछी म अध्ययनको सिलसिलामा नेदर्ल्यान्ड्स गएं । म फर्केर आउंदा डा. रेग्मी लिखित परीक्षाबाट उप सचिव पदमा बढुवा हुनु भएको पाए ।

त्यसको छोटो अबधि पछी नै मेरी श्रीमतिलाई अमेरिकाको ग्रीन कार्ड लटरी परेकोले म अमेरिकातिर लागे । तर डा. रेग्मीसंगको मेरो संपर्क भने टुटेन । त्यसपछि उहांले सहसचिब पद लिखित परिक्षाबाटै उत्तिर्ण गर्नु भएको, बिद्याबारिधि हासिल गर्नु भएको र नेपाल सरकारको सचिब पदमा समेत बढुवा हुनु भएको सबै कुराहरुमा म अपडेट थिए । नेपाल सरकारको निजामती सेवाबाट केहि बर्ष अगाडी अबकाश हुनु भएपछी उहां नेपालको साहित्यको आकाशमा चम्किलो ताराको रूपमा उदाउनु भएको देख्दा र उहां जस्तो ब्यक्तित्वलाई आफ्नो एक घनिष्ट मित्रको रुपमा संबोधन गर्न पाउदा मलाई गर्ब लागेको छ ।

अन्त्यमा, गीत संगीत क्षेत्रमा डा. रेग्मीका लेख रचनाहरु र उहांसंग संबन्धित अन्य लेखहरुको सगालो “गीतकारको कलम्” शिर्षकको E Book को पूर्ण सफलताको कामना गर्दै डा. रेग्मीबाट हालसम्म भएका सबै प्रकारका योगदानको उच्च कदर गर्दै उहांबाट भबिष्यमा समेत नेपाल आमाको मुहार अरु सुन्दर पार्ने कामको लागी शुभेच्छा समेत ब्यक्त गर्दछु!

(भरत प्रसाद बांस्कोटा हाल ओरेगन राज्य सरकार अमेरिकामा कार्यरत हुनुहुन्छ उहांको यो आलेख डा. दामोदर रेग्मीको गीतकारको कलमबाट साभार गरिएको हो)