यौन व्यवसायलाई कानूनी मान्यता दिने भनाइमा घिमिरेको माफी

काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने धारणा राखेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो भनाइका लागि माफी मागेका छन्।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै घिमिरेले आइतबार विशेष समयमा व्यक्त गरेको धारणा पार्टी र संसदीय दलको आधिकारिक विचार नभएको स्पष्ट पारे। साथै, आफ्ना भनाइले सदनका सदस्यहरू र आम नागरिकमा नकारात्मक प्रभाव परेको स्वीकार्दै माफी मागेका छन्।

उनले भने, “चैत ३ गते सभाको विशेष समयमा राखेको धारण मेरो व्यक्तिगत धारणा हो। यो नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा होइन। यदि मेरा विचारले सम्मानित सदनका सदस्यहरू र आम नागरिकलाई नकारात्मक प्रभाव पारेको छ भने, उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्दछु।”

आइतबारको बैठकमा बोल्दै घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिएमा मनोरञ्जन क्षेत्रको विकास भई अर्थतन्त्रलाई टेवा पुग्ने दाबी गरेका थिए। तर, उनको यो भनाइ व्यापक रूपमा विवादित बनेपछि उनले स्पष्टिकरणसहित माफी मागेका हुन्।